Saturday, April 27, 2024

-->

जाजरकोट भूकम्प
भाइटीका लगाउन घर पुगेका दाजुले बचाए दुई बहिनीको ज्यान

शुरूमै ढुंगाले लागेपछि आयुष ब्युँझिए। बहिनीहरू पुरिइसकेका थिए। बत्ती पनि थिएन। बोलाउँदा सानी बहिनीको आवाज आयो, छाम्दा ठूली बहिनीको खुट्टा भेटे। काठमाडौँबाट भाइटीका लगाउन गएका उनले दुवै बहिनी बचाए।

भाइटीका लगाउन घर पुगेका दाजुले बचाए दुई बहिनीको ज्यान
भूकम्पमा सकुशल रहेका छोरा आयुष र छोरी समृद्धिसँग आमा उर्मिला। तस्वीर: लोकेन्द्र/उकालो

लिम्सा (जाजरकोट)– बारेकोट गाउँपालिका–२ लिम्साकी उर्मिला सिंहको घर ठडिएकै छ। तर उनी त्रिपाल टाँगेर खेतमा बसेको दुई साता भयो। कात्तिक १७ गतेको भूकम्पले उनको आधा परिवारलाई खेतमा पुर्‍याएको हो। बाँकी सदस्य त अस्पतालको बेडमा छन्।

बाहिरबाट सग्लो देखिए पनि घर भित्रबाट बस्न नमिल्ने गरी भत्किएको छ। भूकम्पमा पुरिएका दुई जनाको पछि उद्धार नै गर्नु परेको थियो। “यस्तो (खेतको) बास होला भन्ने सोचेकै थिएनौँ। बाहिरबाट हेर्दा घर ठिकै छ,” उर्मिला भन्छिन्, “के गर्नु यही घरले ज्यान लिइसक्ने थियो। अहिले यसरी कहाँ कुरा गर्न पाउनू! ज्यान बच्यो, त्यही ठूलो कुरा हो।”

उर्मिलाको घर गाह्रोसाह्रो परेका पूर्वको धुमा र पश्चिमको मुल्सामसम्मका मान्छेलाई ओत लाग्ने ठाउँ थियो। त्यो घर अहिले बस्ने अवस्थामा छैन। “धुमादेखि मुल्सामसम्मका मान्छे आएर बस्थे घरमा, बस्न नहुने भइगयो। अब बारीमा चिसा रात काट्नुपर्ने भयो” उर्मिलाले दुखेसो पोखिन्।

बाहिरबाट ठीकठाक देखिने उर्मिलाको घर।

भूकम्पमा परेर उर्मिलाका श्रीमान् गणेशमान सिंह र छोरी सम्पदा (१३) घाइते भए। उनीहरू दुवैलाई भूकम्पको भोलिपल्ट कात्तिक १८ गते सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ। उनीसहित छोरी समृद्धि (१२) र छोरा आयुष (१८) सकुशल छन्। “चोट पछि देखिएला, अहिले जिउ अलिअलि दुख्छ। हेलिकोप्टरमा छोरीको बुवा र छोरीलाई मात्रै लिएर उपचार गर्न लगिएको छ।” 

उर्मिलाको घर चार वर्षअघि मात्रै बनाइएको थियो। बारेकोटको केन्द्र लिम्सामै भएको घर किन्ने ग्राहक पनि आएका थिए। तर विद्यालय र स्वास्थ्य संस्था नजिक भएका कारण उनीहरूले बेचेनन्।

गणेशमान स्वास्थ्यकर्मी हुन्। उनी प्राथमिक स्वास्थ्य चौकी लिम्सामै कार्यरत छन्। उनका दुवै छोरी लिम्साकै वीरेन्द्र ऐश्वर्य माविमा पढ्छन्। छोरो आयुष भने बानेश्वर बहुमुखी क्याम्पस काठमाडौँमा पढ्थे। “छोरो बहिनीहरूकै लागि तिहार मान्न काठमाडौँबाट आएको थियो। भूकम्पले लैजाने थियो,” उर्मिलाले भनिन्, “तीन भाइबहिनी एउटै कोठामा सुतेका थिए। हामी एक ठाउँ सुतेका थियौँ। छोराछोरी भएको कोठा भत्किएर छोरीहरूलाई च्यापेको रहेछ।”

लिम्सा गाउँ।

भित्ता खसेपछि सम्पदा र समृद्धि पुरिएका थिए। उनीहरूलाई ढुंगा पन्छाएर आयुषले उद्धार गरेका थिए। “शुरूमै मलाई ढुंगा लागेपछि ब्युझिएँ। तर बहिनीहरू सुतेको ठाउँ पुरिइसकेको थियो। त्यो दिन बत्ती पनि गइसकेछ, भुईंचालोले ढोका बन्द गरिसकेछ,” आयुष भन्छन्, “पुरिएको ठाउँमा सानी (समृद्धि)को आवाज आयो। ठूलीलाई खोज्छु पाउँदिन। केही समयपछि ठूलीको खुट्टा पनि भेटियो। दुवैलाई निकालेर बाहिर तानेँ।”

आयुष यसपटक तिहारमा घर नजाने सुरमा थिए। तर बहिनीहरूले कर गरेपछि भाइटीकाका लागि गएका थिए। भाइटीका लगाउन गएका उनैले दुवै बहिनीलाई मृत्युको मुखबाट निकाले।

उर्मिलाको परिवारका सदस्यजस्तै लिम्साका अधिकांशको बास अहिले त्रिपालमुनि छ। गाँस र बासको समस्या भोगिरहेका उनीहरूलाई तिहार आएको छैन। बरु, भूकम्पले दुःखको पहाड छाडेर गएको छ। चिसोमा ज्यान जोगाउन नै मुस्किल भएको उनीहरूको गुनासो छ। “बारेकोटको चिसो सानो छैन। राहतस्वरूप दिएको त्रिपालले चिसो छेक्दैन,” उर्मिलाले भनिन्, “सबैको समस्या उस्तै हो। यसतर्फ सरकारको ध्यान गयो भने बचौँला, नत्र मर्छौं।”

बारेकोटको लिम्सा गाउँपालिकाकै सबैभन्दा बढी भूकम्प प्रभावित ठाउँ हो। यहाँका अधिकांशको बास घरबाहिर छ। तीमध्येका एक हस्त रोकायले २० वर्षअघि घर बनाएकी थिइन्। भूकम्पले पूर्णरूपमा भत्काइदिएको छ। ६ दशक पार गरिसकेकी हस्त भन्छिन्, “हामी के गरेर बाच्यौँ भन्ने अहिलेसम्म होस आउँदैन। हावाहुरी, चट्याङले नफालेको घर भूकम्पले भत्काइदियो, दैवले हामीलाई बचायो र बाबु मुलाकात भयो...।”

हस्त रोकाय।

कात्तिक १७ गते दिनभरको काम सकेर हस्तसहित आठ जनाको परिवार दुई तले घरमा सुतिरहेको थियो। कान्छो छोराले खाना नखाएका कारण उनी ११ बजेसम्म निदाउन सकिरहेकी थिइनन्। “छोरो (निराजन) बाहिर गएको थियो। खाना खाएको थिएन। कतिबेला आउला भनेर बसिरहेकी थिएँ” उनी भन्छिन्, “छोरो भर्खरै आएर भात हाल्न लागेको थियो, आइसक्यो। सबै परिवार यताउता पार्‍यो। घर भत्किन लागिसक्यो। सबै ब्युँझै थियौँ र निस्किएर बच्यौँ।”

हस्त रोकायको भत्किएको घर।

घर दायाँबाट भत्किँदै गर्दा परिवारका सबै सदस्य बायाँतर्फको ढोकाबाट निस्किएर बचेको उनले बताइन्। उनीहरू निस्किसकेपछि घर पूर्णरूपमा भत्कियो। “दोखी भुईंचालोले त परिवार बचायो। चिसोले बचाउने हो की होइन खै?” हस्तले भनिन्। 

उर्मिला र हस्त मात्रै नभइ बारेकोटका भूकम्पपीडितलाई त्रिपालले चिसो छेकेको छैन। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी छिट्टै अस्थायी बासको व्यवस्था हुने बताउँछन्। उनी भन्छन्, “अहिलेसम्म अस्थायी बासका लागि व्यवस्था भएको छैन। छिट्टै यसको व्यवस्थापनमा जुट्छौँ।”


सम्बन्धित सामग्री