Saturday, April 27, 2024

-->

माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना

स्थानीय नेपाल राष्ट्रिय प्राविमा कक्षा तीनमा पढिरहेकी प्रेमकलाले अहिले सिंगो चिउरी गाउँ छटपटाइरहेको देखेकी छन्। तर उनको डाक्टर बन्ने सपना भने अडिग र अविचलित छ।

माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना
भूकम्पले थोपरेको शोक र पीडाबाट गुज्रेर आफूमा दृढता भर्दै गरेकी प्रेमकला। तस्वीरहरू: लोकेन्द्र/उकालो

जाजरकोट– रूकुमपश्चिमको चिसापानी र जाजरकोटको चिउरी गाउँलाई भेरी नदीले छुट्ट्याएको छ। नलगाड नगरपालिका–१, चिउरी पुग्न आठबिसकोट नगरपालिका– ११, चिसापानीको ‘बेलिब्रिज’ तर्नुपर्छ। 

भूकम्पले चिरैचिरा पारेको उकालो बाटो छिचोलेर पुगिने चिउरीमा गत कात्तिक १९ गते शोक र भोकले शिथिल बनेका गाउँलेहरू गहुँबारीमा आश्रय लिइरहेका थिए। त्यही समूहबीच शोकाकुल भेटिइन् ९ वर्षीय प्रेमकला विक।

कात्तिक १७ गतेसम्म प्रेमकलालाई कुनै चिन्ता थिएन। बाबु हिरे भर्खर भारतबाट घर फर्केका थिए। उनले छोरीलाई प्रेमपूर्वक ल्याइदिएका नयाँ कपडा प्रेमकलाले पाएकी थिइन्। तिहारमा ती कपडाको रहर मेट्ने धोको उनमा थियो। लगाइरहेको ज्याकेट देखाउँदै प्रेमकलाले भनिन्, “यो ज्याकेट त लगाइसकेको थिएँ। बुवाले अरू कपडाहरू पनि ल्याइदिनुभएको थियो।” 

तर उनको नयाँ कपडा लगाउने रहरसँगै बुवा, आमा र दाइलाई समेत विनाशकारी भूकम्पले सदाका लागि अलग्याइदिएको छ। भूकम्पमा परेका बुवा हिरे र आमा चन्द्रकलीसँगै १४ र १२ वर्षका दाइहरू विमल र सुनिललाई प्रेमकलाले एकैसाथ गुमाइन्। चार जनाको ज्यान लिने घरबाट प्रेमकला र काकाकी छोरी रूपाले भने नयाँ जीवन पाए।

“म माथिल्लो कोठामा दिदीसँग सुतेँ। खाना खाएर बुवाआमा तल्लो कोठा (भुइँतला) मा सुत्नुभयो। पछि भुइँचालो आएर हामी सबैलाई च्यापिदियो,” प्रेमकला भन्छिन्, “दाइहरूले के भन्नुभयो सुनिनँ। बुवाआमाले बचाऊ बचाऊ, मेरो छातीमाथि नटेक भन्नुभएको थियो। पछि मेरो आँखा–कान माटोले बन्द गरिदिएछ, केही थाहा पाइनँ।”

होसमा आएपछि थाहा पाइन्– “बाआमा त बितिसकेछन्। त्यही बचाऊ भनिरहेको बोली नै अन्तिम भएछ।” प्रेमकला र रूपालाई रूपाका बुवा भद्रवीर र दाइ अभिलालले उद्धार गरेर बचाए। “हातले कति नै पन्छाउन सकिँदो रहेछ र! ढुंगामाटो सोहोर्दासाहोेर्दै छोरीहरूलाई मात्र बचाउन सकियो,” भद्रवीरले भने। उनले ढुंगामाटो पन्छाउँदा पन्छाउँदै परिवारका अरू चार जनाको ज्यान गयो।

प्रेमकला (बायाँबाट दोस्रो) का साथमा भूकम्पमा परेर जोगिन सफल उनका साथीसंगीहरू।


भद्रवीर र हिरेको घरबीचको दूरी ५० मिटर जति मात्र छ। भद्रवीर त्यहाँ पुग्दा ‘निकाल निकाल, बचाऊ बचाऊ’ भन्ने आवाज सुने। पुगेको आधा घण्टासम्ममा ढुंगामाटो पन्छाएर रूपा र प्रेमकलालाई निकाले। तर तल्लो तलासम्मको माटो पन्छाउन पाँच घण्टा लाग्यो। भद्रवीरले बताएअनुसार एक घण्टासम्म ‘माटो पन्छाऊ, माटो पन्छाऊ, मलाई निकाल’ भन्ने हिरेको आवाज सुनिएको थियो। तर रातिको समयमा उद्धार गर्ने मान्छे कम भएपछि चारै जनाको गुहार माग्दामाग्दै प्राण गयो।  

अहिले प्रेमकलाको मन एक ठाउँमा छैन। अब उनको बाँकी आधार दाइ कविराज र दिदी हजारी छन्। हजारीको बिहे भइसकेको छ। कविराज भने भारतमा काम गर्दै थिए। आमाबुवा र भाइहरूको एउटै चिहानमा दाहसंस्कार भएको खबर उनीहरूले सुने। त्यो दृश्य फोटोमा मात्र देखे। तर प्रेमकलाले भने चारै जनालाई आफ्नै हातले बिदा गरिन्। 

दाइ र दिदी बाँकी भए पनि प्रेमकलालाई एक्लो महसुस हुन्छ। “दिदी हुनुहुन्छ। ठूल्दाइ इन्डियामा हुनुहुन्छ। अहिले अंकलहरूसित बस्छु। पछि कोसँग बस्ने हो खै! दिदी आफ्नो घर गइजाने,” उनले चिन्ता पोखिन्।  

काका भद्रवीरलाई पनि आफ्नी छोरी रूपाभन्दा प्रेमकलाको बढी चिन्ता छ। माटोढुंगा खोस्रिएर प्रेमकलालाई बचाए पनि दाइभाउजू र भतिजाहरूलाई बचाउन नसकेमा उनलाई पछुतो छ। भन्छन्, “मान्छेहरू धेरै भएको भए, माटोढुंगा छिट्टै पन्छाउन पाएको भए दाइभाउजूलाई बचाउन सकिन्थ्यो। अब यही छोरी (प्रेमकला) मात्र छ चित्त बुझाउने।” 

स्थानीय नेपाल राष्ट्रिय प्राविमा कक्षा तीनमा पढिरहेकी प्रेमकलाले अहिले सिंगो चिउरी गाउँ छटपटाइरहेको देखेकी छन्। तर उनको डाक्टर बन्ने सपना भने अडिग छ। उनले आफ्नो सपना सुनाइन्, “बुवा सधैँ चुलोमा बसेका बेला मेरी छोरीलाई पढाएर डाक्टर बनाउँछु भन्नुहुन्थ्यो। पढेर डाक्टर बन्ने, जागिर खाने मन छ।”

चिउरीमा मात्र भूकम्पबाट १३ जनाले ज्यान गुमाए। यो वडाका ७०० घरधुरी विस्थापित छन्। नलगाड नगरपालिका–१ को चिउरीमा १३, पालीमा सात र कल्पतमा पाँचसमेत २५ जनाले ज्यान गुमाए। वडाध्यक्ष धनबहादुर महर भन्छन्, “सहाराविहीन बालबालिकाको पठनपाठनमा सहयोग गर्नुपर्‍यो भनेर विभिन्न निकायमा पहल गरिरहेको छु। प्रेमकलाको पढ्ने इच्छा पूरा गर्नु छ।”


सम्बन्धित सामग्री