Saturday, April 27, 2024

-->

जाजरकोट भूकम्पः नदी आसपासका घरहरूमा बढी क्षति देखियो, थप अध्ययन जरुरी

हामी आइतबार बिहान नलगाड नगरपालिका– १ चिउरे पुग्दा शवहरू उठेकै थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।

जाजरकोट भूकम्पः नदी आसपासका घरहरूमा बढी क्षति देखियो थप अध्ययन जरुरी

शुक्रबार राति गएको भूकम्पले गरेको क्षति र त्यसपछि त्यहाँको जमिनको अवस्थाबारे अध्ययन गर्न शनिबार नै हाम्रो समूह प्रभावित क्षेत्रमा आएको छ। आज (आइतबार) हामी भूकम्पले सबैभन्दा बढी क्षति गरेको क्षेत्र जाजरकोटको नलगाड पुगेर आयौँ। 

नलगाड नगरपालिका वडा नं. १ मा २६५ घर भएको एउटा गाउँ रहेछ। चिउरे भन्ने ठाउँमा बिहान हामी पुग्दा पनि शवहरू उठेका थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।

यहाँ भूकम्पका कारण जमिन धेरै चर्किएको छ। त्यही अध्ययनका लागि हामी प्रभावित क्षेत्र आएका हौँ। तर यहाँको जमिन भूकम्पले चिरा पारेको होइन रहेछ। बालुवाले पुरेको ठाउँमा जमिन धसिएको छ। धेरै ठूलो पहिरो गएको छैन। स–साना पहिरो छन्। ढुंगा खसेका छन्।

गत वर्ष डोटीमा योभन्दा केही शक्तिशाली भूकम्प आउँदा पनि क्षति भएको थिएन। अहिले किन यति ठूलो क्षति भयो भनेर पनि प्रश्नहरू आउने गर्छन्। भूकम्पको प्रकृतिअनुसार क्षतिमा फरक पर्छ।

यहाँको क्षतिको अवस्था हेर्दा नदीको दायाँबायाँका घरहरूमा बढी क्षति भएको देखिन्छ। त्यस्तो किन भयो, कारण के हो जस्ता प्रश्नको जवाफ अध्ययनपछि मात्र दिन सकिन्छ। त्यस्तो ठाउँमा कम्पन बढी भएको हुनसक्छ। भूकम्पको केन्द्रविन्दुभन्दा दक्षिणपूर्वतर्फ बढी क्षति भएको छ।

क्षतिको सम्पूर्ण वस्तुस्थिति हेर्दा मुख्य कारण कमजोर भौतिक संरचना नै देखिन्छ। ढुंगामाटोका घरहरू भए पनि एकदमै सानो सानो ढुंगाहरू प्रयोग गरेर बनाइएको छ। अहिले बनेका नयाँ घरहरू पनि त्यसरी नै बनाइएको छ। जनचेतनाको अभाव रहेको पाइयो। हामीले मानिसहरूसँग कुरा गर्दा पनि ‘हामीलाई थाहा नै थिएन’ भनेका छन्। उनीहरूले ‘यदि, थाहा भएको भए किन दुई तीन तलाका घर बनाउथ्यौँ? एकतलाका घर बनाएर बस्थ्यौँ’ भन्ने कुरा गर्छन्। 

घरहरू बनाउँदा स्थानीय तहबाट स्वीकृत लिनुपर्ने वा जानकारी दिनुपर्ने व्यवस्थासमेत लागू रहेनछ। स्थानीयलाई भूकम्पबारे यसअघि कसैले केही जानकारी गराएका रहेनछन्। पिल्लरसहितका ९९ प्रतिशत घरहरू जस्ताको तस्तै छन्। माटो, ढुंगाले बनेका र पुराना घरहरू भत्किएका छन्। मानवीय क्षति पनि तिनै घरका कारण भएको छ। सानो भूकम्पमा पनि त्यसरी क्षति भएको छ भने, ठूलो भूकम्पमा के होला? हामीले त त्यसको कल्पना पनि गर्न सक्दैनौँ। तर हामीले ‘ठूलो भूकम्पको तयारी’ भनिरहेका छौँ।

यो ठूलो भूकम्प होइन। हामीले भनिरहेको त ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प आउँछ भनेका हौँ। त्यस्तो भूकम्पका लागि जोखिममा छौँ। अहिलेको भन्दा हजार गुणा ठूलो भूकम्प आउँछ भनेर तयारी गर्नुपर्ने बेलामा मध्यम खालको भूकम्प अर्थात्, हजार गुणा सानो भूकम्पले यति ठूलो क्षति गर्‍यो। यसमा ठूलो भूकम्पले गर्ने क्षति सोच्न नसकिएको देखाउँछ। जाजरकोट भूकम्पले हामी पूर्वतयारीमा कति कमजोर रहेछौँ भन्ने ठूलो पाठ सिकाएको छ।

भूकम्पबाट हुने क्षतिलाई कम गर्ने कुरा त धेरै गर्‍यौँ, तर हामीले व्यवहारमा त्यसको कार्यान्वयन कहिल्यै पनि गरेनौँ। मनिसहरूलाई ‘यो भूकम्प जाने ठाउँ हो, मैले भूकम्पबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्छ’ भन्ने जानकारी दिनुपर्छ। कम्तीमा पनि नयाँ बनाउने संरचना साना तथा मझौला भूकम्पले क्षति गर्न नसक्ने खालका बनाउनुपर्ने हो, हामीले गर्न सक्ने पनि गरेका छैनौँ।

भूकम्पसम्बन्धी जानकारी स्थानीय तह र केन्द्रीय सरकारका साथै सञ्चारमाध्यमले पनि अलि बढी नै प्रवाह गरेर सचेतना जगाउनुपर्छ।


(राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् अधिकारीसँगको कुराकानीमा आधारित)


सम्बन्धित सामग्री