कहिले रहरले, कहिले करले, त कहिले ख्यालख्यालैमा हरेक शुक्रबार केही लेख्नैपर्ने बाध्यताका बीच आज फेरि कुरोग्राफर बुलेटिन फर्म्याटमा बितेको हप्ताका ‘बिग–न्युज’ लिएर आएको छ।
मनसुन जोडतोडले चल्दैछ। सिमसिमे पानी र घरखेत बगाउने भेल, रोपाइँ र पहिरो, राहत र आहतको सिलसिला प्राकृतिक हिसाबले एकातिर चल्दैछ। अर्कोतिर राज्य, सरकार आफ्नै गतिमा मस्त छ। बर्सेनि दोहोरिने प्राकृतिक विपत्तिबाट हुने क्षति नियन्त्रण गर्न पूर्वतयारीका योजना अपडेट गर्न नसक्ने राज्यको ‘गोर्खाली’ पारा हाम्रो बुझाइभन्दा कोशौँ टाढा छ। पूर्वतयारी गरेर क्षति न्यूनीकरण गर्नभन्दा घटनापछि हात–खुट्टा फ्याल्दै हिँड्ने सरकारी रवैया एउटा नसुल्झिने कोनन्ड्रम बनिसकेको छ।
यो कोनन्ड्रमबाट अगाडि बढौँ यो साता धेरै नै ठूलो हेडलाइन बन्नुपर्ने तर नबनेको पहिलो खबरतिर।
स्वास्थ्यमत्रीलाई ट्रायलबिना क्लिनचिट
सोमबार भएको एउटा औपचारिक कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरुवा–पत्र बुझ्न नमान्ने कर्मचारीलाई ‘मन्त्रालयमा आएर झुन्डिनू’ भन्ने विवादास्पद वक्तव्य दिएका थिए। काठमाडौँमा दरबन्दी हुँदाहुँदै नुवाकोट गएको र काज फिर्ता गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा नै बस्न पाउनुपर्ने भनेर सचिवहरूलाई आत्महत्याको धम्की दिएका एक स्वास्थ्यकर्मीलाई उनले ‘झुन्डिने ठाउँ नपाए मन्त्रालय आउनू, डोरी मैँ दिउँला’ भन्ने सन्देश उक्त कार्यक्रममार्फत सार्वजनिक रूपमा पठाए।
स्वास्थ्य मन्त्रालय सम्हालेका जिम्मेवार मन्त्रीले मानसिक स्वास्थ्य, आत्महत्या जस्तो संवेदनशील मुद्दामा यति हलुका र गैरजिम्मेवार अभिव्यक्ति दिँदा, को कसरी उभिएकोदेखि कसले के लुगा लगाएको भन्ने 'गसिप'मा घण्टौँ बहस हुने थलोहरू सुक्खा थिए। यत्तिकै गैरजिम्मेवार 'विभागीय' बोलीका लागि सामाजिक सञ्जाल र मिडिया तातेको अनि फलस्वरूप मन्त्रीहरू बर्खास्तगीमा परेको, कारबाही भोगेको विगतका उदाहरणहरू छन्।
मन्त्री बस्नेतको केसमा भने शायद अरू समाचारको छायामा परेर हो कि, न मिडिया, न नागरिक, न उनको पार्टी, न सरकार– कतै केही प्रतिक्रिया छैन। मानव बेचबिखन जस्तो गम्भीर मामिलाको आरोपमा जेल चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न नसक्ने दलबाट एउटा 'जाबो' अभिव्यक्तिका लागि स्पष्टीकरण वा कारबाहीको आस गर्ने पटमूर्ख नठान्नु होला है मलाई। वर्ड-काउन्ट मेन्टेन गर्न ऋषि-धमलीय जिब्बर-ज्याब्बर टेक्निक उपयोग गर्न पोख्त व्यक्ति भनेर बुझिदिनु होला।
जे होस् नेताहरूको नानादेखि खानासम्म समाचार बनाउने मिडियाको यो सन्दर्भमा मिस्प्लेस्ड प्रायोरिटी चाखलाग्दो नै छ।
मिडियाको मिस्प्लेस्ड प्रायोरिटीको कुरा चल्दैगर्दा याद आयो अर्को 'इभेन्ट'को ...
नभएको ट्विस्ट बेच्ने मिडिया
लामो समय अस्वस्थ रहेकी माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको बुधबार निधन भयो। उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरू पशुपतिनाथ मन्दिरस्थित आर्यघाट पुगेका थिए। यही सिलसिलामा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोशिमा कार्की पनि पुगिन्। अन्तिम संस्कारको फुटेज लिन पुगेका सञ्चारकर्मीले उनलाई समवेदना सन्देश दिन आग्रह गर्दा उनले 'अलि लामै' मन्तव्य दिइन्। केही कुरा भनिन्, केही कुरा भनिनन्।
यहाँ कुरोग्राफरको एन्टेना नचलेको कारण उनले के बोलिन, बोलिनन् भन्दा पनि उनको सन्देशलाई काँटछाँट गरेर नभनेको कुरा भनेसरि र भनेको कुरा नबुझिने गरी प्रसारित गर्ने मिडियाको छुकछुक देखेर हो। विभिन्न कारणले समस्त सञ्चार जगतको छवि ओरालो लागिरहेको बेला आगो निभाउनुको सट्टा झन् मट्टितेल छर्किन के विशेष ट्रेनिङ लिनुपर्ने रहेछ, भेउ पाउन नसकेर हो।
यसैगरी अर्को बडेमानको मिडिया हाउसले पनि नाबालिग बलात्कार जस्तो गम्भीर विषयलाई मजाक बनाएपछि चर्को आलोचना खेपेको कार्यक्रम 'फिर्ता' लिनुपरेको छ। तर कहिले रंगभेद, अहिले यौन उत्पीडनलाई हल्का रूपमा प्रस्तुत गर्न माहिर कार्यक्रमका प्रस्तोता वा सम्बन्धित सम्पादकले न आमरूपमा माफी मागे, न उनीहरुमाथि केही कारबाही गरेको खबर बाहिर आयो।
व्यावसायिकतालाई तिलाञ्जलि दिँदै भ्युज मात्र बढाएर 'नाफा' कमाउने केही पब्लिकेसनको टेक्निक म बबुरोले बुझ्न सकिनँ, तपाईं ज्ञानीले बुझ्नुभयो भने मलाई @kurographer मा सन्देश पठाएर भन्नुहोला।
एउटा घेराउको टाइमलाइन
यसबाहेक यो हप्ता सुन्धाराको घेराउ र त्यसको वरपर भएका वार्तालापहरू सम्झनयोग्य थिए, जसको फेहरिस्त यस्तो छ– सार्वजनिक पदमा एक व्यक्ति आसीन छन्, उनको केही कुरासँग चित्त नबुझेर केही थान नागरिक उनको कार्यालय घेराउ गर्न पुग्छन्। केहीले घेराउको समर्थन गर्छन्, केहीले शैलीप्रति प्रश्न उठाउँछन् भने केहीले विरोध गर्छन्।
समर्थन गर्नेले विभिन्न कारण देखाएर समर्थन गर्छन्, विरोध गर्नेले अनेक तर्क गरेर गर्छन्। विरोध गर्नेले 'यहाँ मात्र किन घेराउ गरेको, त्यहाँ किन नगरेको' भनेर प्रश्न उठाउँछन्। विरोधीको विरोध गर्नेले 'उसलाई यही मुद्दा उठाउन मनलाग्यो उठायो, तँलाई त्यो मुद्दा चित्त बुझे तैँ जा न मोर्चा लिएर, सबैको आ-आफ्नै प्राथमिकता हुन्छ' भन्छन्। विरोध, प्रतिरोध, प्रति-प्रतिरोध चलिरहन्छ। यो बीचमा महानगरले जुन सन्दर्भमा विरोध भएको हो, त्यसलाई सम्बोधन गर्दै सुधार गर्ने आश्वासन दिएको छ।
यीबाहेक, प्रमुख दलका टाउकेहरूको कुरा मिले खुल्ने, छिसिक्क कुरा उन्नाइस-बिस भए बन्द हुने सदनको एकाध अपडेटबारे पनि यो हप्ता चर्चा भयो। त्यसै सदनका एक जना बहुप्रतिभाशाली मानानीयले पनि बितेका दिन निकै फुटेज पाए– त्यही माननीय जोसँग यति धेरै प्रतिभा छ, यति धेरै प्रतिभा छ कि शायद उनी आफैँलाई ठ्याक्कै थाहा छैन होला उनीसँग कति प्रतिभा छन् र जिन्दगी नामक सिनेमामा उनको खास भूमिका के हो। साथै, कोशी प्रदेशको भाँडभैलो बल्झिँदै, सुल्झिँदै, उकालीओराली गर्दै चल्दैछ। शशांक कोइरालाले फेरि यु–टर्न लिएका छन्।
यी यावत् अपडेटका साथै यति धेरै कन्ट्रोभर्सी गराएर एक महिना पनि कुनै सिनेमा हलमा टिक्न नसकेको आदिपुरुष नामक चलचित्रलाई थ्यान्क यु फर नथिङ भन्दै आजका लागि किबोर्ड बन्द गर्दछु। अर्को शुक्रबार यस्तै केही समसामयिक विषयवस्तुका साथ प्रस्तुत हुने नै छु।
अभिवादन।