Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
असारै मास पानी पर्‍यो रुझाउने, बोलैया मेरो मुख कसरी चुप ला’उने...

जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ।

असारै मास पानी पर्‍यो रुझाउने बोलैया मेरो मुख कसरी चुप ला’उने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनगिन्ती कुराका लागि चर्चित छन्। विशेषगरी उनी जता गयो, जोसँग भेट्यो साखुल्ले पल्टिएर खुसाउनका लागि जे पनि बोली दिने बानीका लागि झन् प्रख्यात छन्।

ओली भेट्यो ‘तिमी मेरो सोलमेट’, देउवा भेट्यो ‘तिमी मेरो गोल्डन टिकट’ भन्या’छ। मधेशतिर गयो मधेशसँग ‘लभ’, पहाड गयो ‘यही मेरो मुटुको हब’ भन्या’छ। अगाडि बसेका मान्छे खुशी हुन्छन् भने जेको पनि जिम्मा लिने, हैन जस्तो लागे हिजै गरेको कुराबाट पनि टकटकिने।        

यसरी नै प्रधानमन्त्रीको बोली फुस्किएर समय हल्लिरहेको धेरै मध्यको एक आर्को अध्यायमा तपाईंलाई फेरि स्वागत छ।

सन्दर्भ: लेखक किरणदीप सान्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली - द लेगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’को विमोचन समारोहमा प्रमले दिएको वक्तव्य।

रमाइलो कुरा के भने, उक्त समारोहको आमन्त्रण–कार्डमा असावधानीवश (जानाजान हो भन्ने जानकारी भए जिम्मा लिनु होला) सम्माननीय महोदयको नाम पुष्पकमल ‘धमाल’ भनेर छापिएको थियो। अनि त ‘दैवले आहारा जुराए, मैले खाइदिएँ’ भन्याजस्तो भएपछि के चाहियो? भारतीय राजदूतको उपस्थितिमा प्रधानमन्त्रीले बोलेका शब्दले धमाल नै मच्चाए।

के भने पीकेडीले?

सो विमोचन कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले दिल्ली र नेपाल कैयन् पटक दौडधुप गरेको स्मरण गरेका थिए। प्रमको स्टेट्मेन्ट जस्ताको त्यस्तै: ‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरू, नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्‍यो।’

उनले यति के भनेका थिए, पहिले त सामाजिक सञ्जालका प्रतिगामी, प्रतिक्रियावादी, परिवर्तन नरुचाउने हुँडारहरूको हुँडारी शुरू भयो। स्पिन–डक्टरहरूले सिधा कुरा फनफनी स्पिन गर्न थाले। त्यसपछि मिडिया ताते, एकपछि अर्को हेडलाइन पेले। एउटै कुरालाई फिल्टर गर्दै तीनचोटि पोस्ट गरे। अनि संसद् जाग्यो। प्रतिनिधिसभामा कथन कहिए, रमिता देखिए। विपक्षी दलले दाहालको भनाइ राष्ट्रिय आत्मसम्मान विपरीत भएको दाबी गरे, राजीनामा मागे। केहीले मागी सकेको माग सच्चाए। गठबन्धन दलकै एकाध नेताहरू नै ‘प्रधानमन्त्रीको अभिव्यक्तिले अप्ठ्यारो भएको, ठेस पुगेको’ जस्तो कुरा गर्न थाले।

अन्त्यमा प्रमको खोइरो खन्ने ट्रेनमा जोडिन आइपुग्यो बालेन्द्र शाहको बोगी - किनकि हिरोको इन्ट्री सदैव लास्टमा नै हुने हो। अर्बपतीहरूले सार्वजनिक जग्गा हडपे जसरी कुरोग्राफरले शुक्रबारको स्पेस खाइदिएर होला शायद (मलाई डिल्युजनमा बाँच्नदिनुस् केही बेर), आजकाल उनी हरेक बिहीबार फेसबुक र ट्विटरको माध्यमबाट एक्स्प्लोसिभ कन्टेन्ट पस्किन थालेका छन्। त्यही सिलसिलामा हिजो उनले दाहालको साथै उनलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका पहिलेका र अहिलेका सांसदलाई ‘अत’ भएको आरोप लगाएका छन्।

आफू मात्र ‘लास्ट राष्ट्रवादी म्यान स्ट्यान्डिङ’, बाँकी सब भारतलाई इमान-जमान बेचिसकेका ‘यस्-मेन’ भन्ने भाव दिने उनको 'रेग्युलर-र्यान्ट' शब्द यताउता गरेर अर्को 'कविता' कोरे। (उनले त्यो कविता लेख्दा आफूलाई एमिनेम सम्झिए होलान् कि लील् वेन?)

यी तिनै बालेन शाह हुन् जसले मंगलबार राति सामाजिक सञ्जालमार्फत गगन थापाले फ्यालेका 'विद्यार्थी राजनीति'को गुगली बललाई बाउन्डरी कटाउने शट प्रहार गर्दै स्टेडियम बाहिर पुर्‍याइदिएका थिए।

अर्कोतर्फ आफूउपर एकपछि अर्को शब्दवाण प्रहार हुँदा धरी रतिभर विचलित नभई प्रम धमाल, माफ गर्नुहोला दाहाल दोहोर्‍याइ-तेहेर्‍याइ टङ-स्लिप माथि टङ-स्लिप गरिरहेका छन्। नर्थ कोरियाको न्युक्लियर हतियार परीक्षण गर्दा पश्चिमा मिडियाले आक्षेप लगाएभन्दा चर्को आलोचना खेपिरहेका उनी बाध्यतावश, नचाहँदा नचाहँदै मुखबाट कुरो फुस्किने मर्म बुझ्ने एउटा मान्छेको खोजीमा छन्। त्यो एउटा मान्छे म हुँ, तर मलाई आजकल थरी-थरीको सोसल मिडिया चलाउन भ्याइनभ्याइ भएको हुनाले उनी अर्को त्यस्तै मान्छेको खोजीमा छन्।

म – किनकि, देशको सबैभन्दा जिम्मेवार पदमा आसीन व्यक्तिले त्यति जाबो सानो गैरजिम्मेवार कुरा गर्दा यती बिघ्न हु-हा मच्चाउन जरुरी केही देख्दिनँ। मलाई अल्टर भन्नुस् (हुन त तास खेलेर अल्टर पर्दा पनि म कहिले त्यसलाई मालको गिन्तीमा राख्दिनँ) चाहे पिक-मी भाइब्स दिने मान्छे भन्नुस्, फरक पर्दैन।       

मलाई केही कुराले फरक पार्छ भने सोझा साझा, मनमा एक थोपा पाप राख्न नसकेर मुखबाट ओकल्दिहाल्ने यस्ता नेतालाई हाम्रो समाजले बुझ्न नसकेकोमा। जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ। तसर्थ मलाई अहिलेको अहिले कुनै अर्को देशको दूतावासले भिसा दिए देश छोडेर पलायन हुम् भन्ने लागेको छ।

यसै पनि उनले आफूले नबोलेको कुरालाई उचालेर बबन्डर गर्न खोजिएको तर त्यसबाट विरोधीको केही उपलब्धि हुनेवाला छैन भनेर स्पष्टीकरण (झूटो वा साँचो) दिइसके। उनको सचिवालयले भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतीकरण गर्नु दुःखद छ भनिसक्यो। प्रचण्ड सरकारले एकपछि अर्को फड्को मारिरहँदा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय तोडमरोड गरेर एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु संयोग मात्र हैन, यसको पछाडि अरू कसैको होस्, नहोस्, भारतको हात अवश्य छ भन्ने मेरो मत बलियो भएको छ।

यसरी बिरक्तिएको मलाई न यो समाजमा बस्ने मन थियो, न सामाजिक सञ्जालमा– खास गरी ट्विटरमा।

उसै त म्यानचाइल्ड एलोन मस्कको तारन्तार चकचकले विरक्त बनाइरहेको बेला प्रधानमन्त्रीमाथि देखिएको यस्तो असहिष्णुता, हैन, आतंकवादले ट्विटर बसिनसक्नु बनायो। भलो होस् मोडर्न क्यापिटलिस्मका मसिहा मार्क जुकरबर्गको जसको बिजनेस–एक्क्युमेनले लगभग लोप हुन लागेको धागो बुन्ने कलाले पुनर्जीवन मात्र पाएन, राजनीति र भिजिबिलिटी लिमिटले माइक्रो ब्लगिङ साइटबाट पलायन हुने सोच बनाएका मजस्ता वैरागीले नयाँ ठाउँ पनि पायौँ।

धमाल र धागोले बालेको आगो यहीँ निभाएर मचाहिँ मीनबहादुरहरूको सपनाको मलामी जानतिर लागेँ। आज शुक्रबार, ढर्रा मिलाउन जाने चाहे जसो गर्न सम्भव हुन्छ, कसैको सपनाको मलामी जान पनि। म ढर्रा मिलाउन गएँ, तपाईंहरू तल लेखिएका समय–सान्दर्भिक र मार्मिक कविताका दुई वाक्य पढ्दै गम खाँदै गर्नुहोला– बोल्न मनलाग्यो बोलिदिए, उनले के बिराए? उनले के बिराए?


सम्बन्धित सामग्री