Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
जलहरीमा कुँदिएको नाम, ह्वाट्सएप काकाहरूको क्रन्दन

आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो।

जलहरीमा कुँदिएको नाम ह्वाट्सएप काकाहरूको क्रन्दन

हरेक शुक्रबारझैँ तपाईंले चाहे पनि नचाहे पनि, पढे पनि नपढे पनि, पढेर मन पराए पनि, मन नपराए पनि गच्छेअनुसारको कमेन्ट्री लिएर उपस्थित भएको छु। 

उसो त, कसैले चाहँदैमा वा नचाहँदैमा मेरो किबोर्ड चल्ने–बन्द हुने हुँदैन– देशको स्वाधीनताको रक्षा गर्न हाम्रो शहरको मेयरजस्तै मेरो किबोर्ड हरदम स्ट्यान्डबाइ रहिरहन्छ।

आज संयोगले धान दिवस, कृषिप्रधान देश नेपाललाई अपुग हुने ५० अर्ब बराबरको चामल आयात हुने वास्तविकताले झकझकाउने दिन। यो वर्ष २०औँ राष्ट्रिय धान दिवस 'जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाइँदै छ, जसले बताउँछ कृषि– उत्पादनमा देशको स्थान जतासुकै होस्, नारा उत्पादनमा हामी पूर्ण रूपमा आत्मनिर्भर छौँ।

नारा–आत्मनिर्भरताले दिएको आत्मविश्वास र जोस सँगाल्दै अब लागौँ सप्ताहका केही खास खबरहरू तर्फ।

जलहरीमा नाम, काम तमाम
एकादेशमा एउटा मार्क्सवादी, लेनिनवादी, वामपन्थी, कम्युनिस्ट सरकारका प्रधानमन्त्रीलाई एक्कासि पशुपतिनाथको गजुरमा सुनको जलहरी चढाउने उत्कट रहर उत्पन्न भयो। कोरोनाभाइरस महामारीको बिचोबीच, देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त भइरहँदा यस प्रायोजनका लागि २०–३० करोड कति हो कुन्नि रुपैयाँ छुट्याउने उनले सगर्व घोषणा गरे। आफूले नेतृत्व गरेको सरकारको अकर्मण्यताबारे पूर्णरूपमा ज्ञात भएर होला शायद, हातखुट्टा छोडेर आफू र देश दुवै पशुपतिको शरणमा राख्दिनु नै उपयुक्त ठाने। र, त्यसै अनुरूप कार्य थाले।

आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो। तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानमन्त्री–पत्नी, संस्कृति मन्त्री, पुजारी, भट्ट–भण्डारी लगायतले आफ्नै व्यक्तिगत खजानाबाट नगद निकालेर चढाए जसरी आफ्नो नाम (ग्लोबल वार्मिङले रहन दिए) हजारौँ हजार वर्ष अजर–अमर रहने हिसाबले लेख्न लगाएका होलान् भन्ने अनुमान गर्न सकिन्छ।

यो आश्चर्यजनक बहादुरी भनौँ कि धृष्टताको प्रतिरक्षामा आएका यावत् वक्तव्यहरू त्योभन्दा आश्चर्यचकित पार्ने खालका थिए। भन्नेले 'कुनै महत्त्वपूर्ण परियोजनाको निर्माण पूरा भएर उद्घाटन गर्दा यसरी नै नाम कोर्ने चलन संसार भरी रहेको' देखि त्यसरी कतै नामै लेखिएको छैनसम्म भन्न भ्याए। पत्याउने ले पत्याए, नपत्याउने चकित भए।

मान्छे चकित हुने नहुने पनि आफ्नै तरिका हुन्छ होला, म व्यक्तिगत रूपमा सुनको अभिलेख गरिएको तौलमा ७०–८० तोला सुन कम भएको पुष्टि भएको खबरभन्दा जलहरीमा विशिष्ट व्यक्तिहरूको नाम रोपिएको खबरले बढी रोमाञ्चित भएको थिएँ। भ्रष्टाचार नभएको ठहर हुँदो हो त म विस्मित हुन्थेँ होला। भयो, मैले वास्ता गरिनँ, अगाडि बढेँ।

समय क्रममा उल्लेखित पूर्वप्रधानमन्त्री र उनको दलले शुरूआती चरणमा जलहरी बनाउने क्रममा कुनै तलमाथि नभएको दाबी गरे पनि आधिकारिक निकायले जोख्दा पहेँलो धातुको तौल कम देखिएपछि "अरूले के गरे मलाई थाहा छैन, म संलग्न छैन" भनेर टकटकिए।  स्वाभाविक हो‌। मैले भए पनि भन्ने त्यही हो, तपाईंले भए पनि त्यही।

यसरी दर्जन बढी मानिसले पशुपतिनाथको गजुरमा नाम लेखाउने आँट गरिसक्दा म भने आफ्नो हातमा अरू कसैको नभए पनि आफ्नै नामको ट्याटु खोपाउन नसक्दा मर्माहत भएर शुक्रबारको दिन, मौसमले चुनौती दिँदै गर्दा पनि कागती पानी पिएर बस्न विवश भएको छु।

बढ्दो ह्वाट्सऐप अंकलवाद आतंक
विवशतालाई साइड लगाएर समीक्षा गरौँ ह्वाट्सऐप अंकलहरूको बढ्दो चुमुक–चुमुकबारे। यद्यपि, यो समीक्षा अहिले बजार हल्लाएको कुनै महानुभावका सुपुत्रको अलौकिक, रोलमोडल शुभ विवाहको समीक्षा जस्तो हुने छैन।

कारण? एक त म त्यस्तो विद्वता प्रदर्शन गर्न असक्षम छु र दोस्रो 'कलम चल्छ भन्दैमा मन परेको व्यक्तिको पक्षमा अनावश्यक प्रशस्ति लेखिनु हुँदैन। मेरो सिद्धान्तका कसीमा रहेर समीक्षा लेख्छु,' भन्ने पूर्वेली पत्रकारिता दर्शनको म घोर समर्थन गर्दछु। तसर्थ विकृत ह्वाट्सऐप संस्कृतिको विवेचना कुरोलोजीकै सिद्धान्तभित्र रहेर गर्नेछु।

हालका दिनहरूमा बहुमत–मैत्री ह्वाट्सऐप अंकलवाद भारतबाट बिस्तारै नेपालतिर सर्दै गएको प्रमाणहरू छ्यापछ्याप्ती भेटिन थालेका छन्।  

तन सन् २०२३मा भए पनि मन–मस्तिष्क  सन् १७०० तिरबाट लोनमा ल्याएका ह्वाट्सएप काकाहरूको प्रभुत्ववादी–संस्कृतिको चिन्ता उच्चतम बिन्दुमा पुगेका कारण आजकल आफैँ डार्विन आफैँ न्युटन बनेर के प्राकृतिक के अप्राकृतिक भन्दै छुट्याउने नयाँ हबीतिर लागेका छन्। उनीहरू कहिले कसैको लुगाको नाप लिइरहेका हुन्छन् भने कहिले कसैको राष्ट्रवादको मापन गर्ने गुगल फर्म बनाइरहेका हुन्छन्। 

काकाहरूका नजरले अल्पसंख्यक र सीमान्तकृत समूहको कुरा उठ्ने बित्तिकै डलर खाएको र पश्चिमाले दिमाग भुटेको दृश्य स्वचालित रूपमा कल्पना गर्ने ट्रेन्डमा २०१५ देखि २०२३ सम्म आइपुग्दा १२५% बढोत्तरी भएको डाटाहरू बताउँछन्।

समाज, सामाजिक परिवर्तनलाई आफ्नो विशेषाधिकारको लेन्सले मात्र हेर्न जानेका काकाहरूले समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतले बुधबार जारी गरेको फैसलामा त्रुटि नै त्रुटि देखेका छन्। यही समाजले कुनै बेला केही आवश्यकता महसुस गरेर स्थापना गरेको महिला–पुरुष 'विवाह' बाहेकको सम्बन्ध अपवित्र र त्यस्ता सम्बन्धको वैधानिकीकरणले सामाजिक विकृति निम्त्याउने देखेका छन्। तर कुरोग्राफरको कुरा बुझ्ने ग्राफ सर्वज्ञताका पर्याय उनीहरूको 'युनिटरी–सुप्रिमसिस्ट' सोचले अरूको अधिकारमाथि भइरहेको हस्तक्षेप नदेखेको नोट गर्दा झन् झन् डिग्रेड भइरहेको छ।

विविध
यही सप्ताह भाटभटेनी साहु मीनबहादुर गुरुङ लगायतका सम्बन्धित आरोपी पक्राउ परेसँगै 'ललिता निवास' पुनः चर्चाको बीचमा तानिएको थियो। आधुनिक नेपालको कानूनी इतिहासमा पछिल्ला २–४ महिना जतिको 'धरपकड' भएको उदाहरण बिरलै होलान्। नक्कली शरणार्थी मुद्दा र ललिता निवासमा शक्तिशालीहरू पक्राउ पर्ने सिलसिला शुरू भएपछि कुनै क्राइम–मिस्ट्रीमा झैँ अब कुन पुराना तर अस्पष्ट कारणले रफादफा गरिएका मुद्दा फेरि खुल्लान्, र तपाईं हामीले चिनेका को–को पक्राउ पर्लान् भन्ने प्रश्न व्यापकरूपमा उठ्न थालएको छ।

यसैगरी जुनको अन्तिम हप्ता शुरू हुँदै गर्दा मौसमी विश्लेषकहरूको ध्यान रुसमा वाग्नर समूहको विद्रोहले ल्याएको तरंगले पूरै कब्जा गरेको थियो। दिनैपिच्छे रोटेसनमा कहिले वैज्ञानिक, कहिले समाजशास्त्री, कहिले मौसमविद्, कहिले सुरक्षाविद्, धेरैजसो राजनीतिक विश्लेषक, र हालसालै अत्यधिक लामो समयसम्म अर्थ–बजेटविद् भएका स्व-विश्लेषकहरूको अन्तरस्त्रीय मामिलासम्बन्धी रोलप्ले धेरै रोचक थियो।

यसबाहेक, लगभग दुई हप्ता 'घनिभूत' छलफल गरेर एउटा अंक त पर जाओस्, एक अक्षर पनि संशोधन नगरी नेपाल सरकारले आव २०७९/८० का लागि ल्याएको बजेट 'मैले टाइमपास गर्नपो बजेटसत्र बोलाको' पाराले पारित गरेको छ मेरो भने मेरो घरमा पाहुना लाग्न आएको एक जना काका त हैन टाढाको नाता पर्ने ह्वाट्सऐप भाइलाई स्काइ–वाकमा लगेर घुमाउन ढिलो भइसकेको छ। तरुण दलको केन्द्रीय सदस्य मनोनीत भएदेखि खुट्टाले भुइँ नटेकेको भाइलाई एक चक्कर राजधानी घुमेर होस ठेगानमा आएपछि अरू दुई जना सम्मिलित बिदाइ टोलीले विमानस्थलमा छोडेर टिकटक–रिल बनाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुपर्ने अभिभारा आइपरेको छ।

नेपाल पहिला नै ठीक थियो कि अहिले ठीक छ भन्ने बहस जारी राख्दै गर्नु होला, तबसम्म म किबोर्डमा जम्मा भएको धूलो टकटक्याएर आउँछु। 

तमसोमा ज्योतिर‌्गमय‌। 


सम्बन्धित सामग्री