Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
सुनोग्राफी लाइभ: बादल, वर्षा, बार्बी र सुनको खानी

यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला।

सुनोग्राफी लाइभ बादल वर्षा बार्बी र सुनको खानी

दुनियाँको एउटा कुना
लगभग समस्त विश्व अहिले ‘हाइपर ऐक्टिभिटी’सँग जुझ्दै छ। कतै युद्ध चलिरहेको छ, अधिकांश देशहरू ‘ग्लोबल वार्मिङ’को असरले उच्च तापक्रम, आँधी, र भीषण वर्षासहित बाढी–पहिरो झेलिरहेका छन्। विभिन्न विषयका पढी नभ्याउने समाचार बुकमार्क गरेर छोडिएको छ। यसबीच, पुलपारिको संसारबाट मलाई सबैभन्दा रोचक लागेको ‘माइक्रोसफ्टले गेमिङ–दुनियाँको सबैभन्दा ठूलो नाम ‘एक्टिभिजन ब्लिजर्ड’ अधिग्रहण गर्ने’ खबर हो। ‘कल अफ ड्युटी’, ‘डायाब्लो’लगायत गेम बजारमा ल्याएको ब्लिजर्डले आफ्ना केही गेमहरू निःशुल्क गरिरहेको बेला माइक्रोसफ्टले ६९ बिलियन डलरको ‘एक्विजिसन अफर’ दिनु उसका लागि वरदान साबित भएको छ।

उक्त कम्पनीको पछिल्लो ट्रिपल–ए गेम डियाब्लो–४ ले एक हप्तामा ६६६ मिलियन डलर कमाउँदै अत्यधिक सफलता हासिल गरेको समयमा भएको यो सम्झौताले बजारमा माइक्रोसफ्टको एकाधिकार सिर्जना गर्ने र सबै प्रतिस्पर्धालाई नष्ट गर्ने दाबी गरिएको छ।

यस्तै, अर्को रोचक घटना हलिवुडतिर घट्दैछ। आज बहुप्रतीक्षित ‘बार्बेनहाइमर’ इभेन्ट– दुइटा ठूला निर्माण स्टुडियो, ठूला निर्देशकको सिनेमाहरू बार्बी र ओप्पनहाइमर प्रदर्शन हुने दिन। 

बार्बनहाइमरबारे विस्तृतमा पढ्नूहोस् – बारबेनहाइमर : दुई सिनेमाबीच हुनगइरहेको टकरावको तरंग

प्रदर्शन अघिदेखि नै चर्चा बटुलिरहेको यो इभेन्टबारे उत्सुकता अहिले सगरमाथाको उचाइभन्दा माथि चुलिएको छ। इन्टरनेट, मिडिया, बाटो–घाटो,  खासगरी युवा–पुस्तामाझ सर्वत्र यसैको चर्चा छ। मान्छे बार्बी हेर्न माथिदेखि तलसम्म ‘पिंक गेटअप’मा सजिएर गएका छन्, जुन दृश्य सामाजिक सञ्जालतिर देख्दा हाम्रो गुरु प्राडा. कुरोलोजिस्टले ‘यी बबुराहरू सिनेमा हेर्न गएका हुन् कि गुलाफको पत्रमा चिप्लेर सिनेमा घरमा पुगेका हुन्’ भन्ने टिप्पणी गर्ने अवस्था सिर्जना भएको थियो। के गर्नु, बूमर हुन्, यस्तै कुरा गर्छन्।

यसैगरी ओप्पन्हाइमरको ‘कल्चरल इम्प्याक्ट’ पनि कुनै हिसाबले बार्बीको भन्दा कम छैन। यो सिनेमाका दर्शक पनि सन् १९४०–५० तिर चल्तीमा रहेको पोसाक पहिरी ठाँटिएर सिनेमा हेर्न पुगेका छन्। यसबारे भने प्राडा कुरोलजिस्टको प्रतिक्रिया लिन चाहँदा उनले ‘सभ्य, सुसंस्कृत रङ र कपडा लगाएका भद्र भलाद्मी माथि के को टिप्पणी’ भनेर पन्छाइदिए। बूमर कहिँका!

कुरोलोजिस्ट सरलाई लबिम मलको क्यूएफएक्स छाडेर फर्किऔँ बार्बेनहाइमरको सन्दर्भतिर। हाल न्युयोर्क टाइम्सजस्ता ठूला पत्रिका, इन्डिपेन्डेन्ट विश्लेषक, सिनेफाइल र आमदर्शक यी दुई फिल्मबारे छुट्टाछुट्टै र डबल फिचर रिभ्युमाथि रिभ्यु लेखिरहेका छन्- यस्तो लाग्दै छ, आज संसारमा भइरहेका अरू गतिविधि पनि छुट्टी लिएर सिनेमा हेर्न गएका छन्।

 यस्तो हाइपर एक्टिभिटीबीच तपाईं मेरो यो गनगन पढिरहेको हुनुहुन्छ भने मान्नुस्, यु निड टु टच ग्रास! 

दुनियाँको अर्को कुना
दुनियाँको अर्को कुना, अर्थात् हाम्रो गोलातिर यो हप्ता समाचारको खडेरी परेको थियो। सर्वत्र बादल, वर्षा, बिजुलीको बाढी आउँदा पनि धित–मार्ने कन्टेन्टको हाहाकार थियो। मान्छे गरिष्ठ खबर नपाएर अत्तालिए, केही उटपट्याङ भइहालेको छ कि भन्दै एउटा च्यानलबाट अर्को च्यानल, एउटा पोर्टलबाट अर्को पोर्टल भौतारिए।

एकछिन सोच्नुस् त– सबैभन्दा ठूलो दलको केन्द्रीय समिति बैठक लाइभ गर्ने खबरले तरंगित हुने समय कस्तो हुँदो हो? भयो त्यस्तै! नेपाली कांग्रेसले बैठक लाइभ गर्ने भन्नेबित्तिकै 'कहिले रुखबाट नरिवल खस्ला र खाउँला' भनेजसरी कुरिरहेकाहरू गरर मैदानमा उत्रिए। विपक्षी के कम थिए, दलकै गुट र उपगुट पनि यही प्रिमाइसलाई लिएर एकअर्कालाई खुइल्याउन उत्तिकै सक्रिय भए। जे होस् दुई दिन नेपालीहरूको राम्रै मनोरञ्जन गराइदिएको नेकाको बैठक एक महामन्त्रीलाई 'ह्यापी बर्थडे' भन्दै केक काट्दै, खुवाउँदै सकियो। खुवाए पनि यसरी, यस्तो लाग्थ्यो सभापति र महामन्त्रीले पाए एकअर्कालाई केक कोचाउँथे होलान्, लोकलाजको ख्याल गरेर ज्युनार गराउने मञ्चन गर्नुपर्‍यो।

म स्वयं कन्टेन्टको अभावमा यति विचलित भएको थिएँ, आफैँ ‘कसैलाई दुई–चार हजार पैसा दिई उपद्रो मच्चाउन लगाएर सन्सनीखेज खबर बनाइदिऊँ कि क्या हो’ भन्ने बिन्दुमा पुगेको थिएँ। किनकि, मलाई यहाँ बेलिबिस्तार लगाउन कन्टेन्ट चाहिएको थियो, र मसँग कन्टेन्ट थिएन।   

धन्न होस् त्यस महामानवको जसको दिमाग सही टाइममा सट्किएर क्विन्टल बढी सुनको सूचना चुहियो! माइक्रोसफ्टले ब्लिजर्ड अधिग्रहण गरे जसरी नै विकेन्ड मनाउन आएको यो सूचना क्षणभरमै नेपालभर समाचार बनेर फैलियो– ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको लगभग एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागद्वारा बरामद भएको छ।’

ट्याक्सी चढेर भागेको मनचिन्ते सुन। बरामद हुँदा सय किलो, जोखिन जाँदा मिनट–मिनटमा वजन बढ्दै १५५ किलो पुगेको सुन। 

अनि त कसलाई के चाहियो? यतै सुनको कुरा, उतै सुनको कुरा। पल–पलका अपडेट छँदै थिए, जफत भएको सुनमाथि कथा लेखिए, कविता कोरिए, विभिन्न कोणबाट विश्लेषण गरिए, ऐन्गल ऐन्गलबाट प्रश्न सोधिए, सन्दिग्ध माथि आरोप लगाइए, सन्दिग्धद्वारा आरोप पन्छाइए। हलिवूडको मेगा इभेन्ट बार्बेनहाइमरलाई मात दिने गरी सुनौला मिम बने। हामी सबैको मनपसन्द कन्स्पिरेसी थियरी पनि आफ्नै गतिमा छेउछेउ चल्दै थिए।

यो प्रकरणमा १० जनाभन्दा बढी पक्राउ परेका छन्, अनुसन्धानको सिलसिला जारी छ भने राजनीतिक दलहरूका निम्ति क्विन्टल–सुनकाण्ड पोलिटिकल स्कोर सेटल गर्ने मौका बन्न पुगेको छ। गृहमन्त्री कुनै 'टार', 'कोट' वा 'पार्टी'को मलाई मतलब छैन भन्दै छन् भने, केही सांसद गृहमन्त्रीकै राजीनामा माग्दै छन्।

एकबारको जुनीमा १००–१५५ किलो सुन बोक्ने मौका पाएको भाग्यमानी ट्याक्सीले एक दिनका लागि राजेश हमालले नपाएको भाउ पायो।

सानोतिनो आँधी-बेरी नै ल्याएको यो प्रकरण माझ मेरो कमलो मन भने 'त्यति बिघ्न किलो सुन हराएको मान्छे को होला? उसको मनमा के चलिरहेको होला? सुन हराएको मान्छे बढी अभागी कि चिना हराएको मान्छे? उसले को गम खाएर नै पेट भर्‍यो होला कि खाना पनि खायो होला? खाए साउनको महिना माछा–मासु बार्‍यो होला कि खायो होला? चिन्तामा डुबेर पेग लगायो कि? बारे त पाप कट्थ्यो कि थोरै?" लगायत नानाभाती चिन्ता गर्दै छ। 

यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला। कतै भाग्यले साथ दिइहाल्छ कि?


सम्बन्धित सामग्री