संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्।
नमस्कार! म कुरोग्राफर– उकालोतिर यदाकदा भेटिने, बिर्सिनलायकै भए पनि कहिलेकाहीँ सम्झिदिँदा खासै फरक नपर्ने पात्र। त्यै पनि बिर्सिनुभएको हो कि भनी सम्झाउन हाजिर भएको छु।
पछिल्लो पटक म किबोर्ड र स्क्रिनको सदुपयोग गर्न बस्दा संसद् अवरुद्ध थियो। यकिनसाथ भन्न त सक्दिनँ, तर सदन नचलुन्जेल मेरो ल्यापटप (मलाई डेस्कटपको सुविधा दिइएको छैन, त्यसबारे अर्को कुराग्राफीमा) चल्दैन भनेर आन्दोलनमा गएकोसम्म मलाई याद छ।
धन्य होस् दलहरूबीच हुने मौन–सम्झौताको, धुलाम्मे भएको मेरो किबोर्डले फेरि सूर्यको दर्शन पायो र मैले मेरो मनको बह खटखटखटखट लेख्ने मौका पाएँ।
यहीबीच केही विशिष्ट परिस्थितिका कारण केही समयका लागि म प्रतिनिधिसभा सदस्य बन्न पुगेको थिएँ। आज यस पावन प्लेटफर्ममार्फत मेरो छोटो संसद् यात्राको इतिवृत्त यहाँहरूलाई सुनाउन गइरहेको छु।
आउनुहोस्, स्क्रिनको वरपर झुम्मिनुहोस्।
संसद्–यात्राको संस्मरण
औपचारिक राष्ट्रिय पोसाकमा ठाँट्टिएर निकै उत्साहित हुँदै सवारी पार्क गरेर म संघीय संसद् भवनको मुख्य गेटतिर लागेँ। त्यहाँबाट आफूलाई तोकिएको सिटतिर पुगेर ट्याक्क एक सेल्फी लिई फेसबुकतिर टाँस्ने विचार गरेर अगाडि लम्किएँ। मुख्य कक्षतिर छिर्न भनेर लखरलखर अगाडि बढ्छु त मर्यादापालकले भित्र छिर्न दिएको हैन। “यो को हो? कताबाट छिर्न खोज्यो? युट्युबे वा टिकटकर हो कि? संसद्को भिडियो खिचेर घर बनाउन आएको?” भन्दै हल्ला गर्न थाल्यो। म अकमकिएँ। कोमल हृदयी म, मेरा आँबाट झन्डै आँसुको मेलम्ची बगेन। बल्लबल्ल कसैले चिनेर 'यी त नयाँ सर्प्राइज सांसद हुन्' भनेपछि बल्ल त्यो मर्यादापालकले भित्र छिर्न दियो– तर साइड लुक्स दिँदै।
जसोतसो आफूलाई सम्हालेर भित्र छिरेको मात्र के थिएँ, सदनको माथिल्लो पल्लामा बसेका एउटा काका-भाइब्स दिने मान्छे 'माननीयहरू हल्ला नगर्नुस्', आफ्नो आफ्नो सिटतिर बस्नुस्,' 'दुई मिनेटभन्दा बढी नबोल्नुस्' भन्दै एकोहोरो कराइरहेका थिए। तर कसैले टेरपुच्छर लगाएका हैनन्। उल्टै 'सभामुख महोदय हल्ला गर्ने, सिटमाथि उफ्रिने हाम्रो संविधानप्रदत्त अधिकार हो' भन्दै थर्काइरहेका थिए। ती सभामुख भनिने काका थर्किरहेका थिए। उद्दण्ड विद्यार्थीले भरिएको स्कुलका प्रिन्सिपलजस्तै। हैनहैन परीक्षाहलमा विद्यार्थीलाई चिट चोराउन राखिएका जगेडा मास्टरजस्ता।
अर्कोतिर एक माननीय त सर्ट खोलखाल पारेर कराइरहेका रहेछन्। संसद्को सट्टा कतै साउना लिने ठाउँतिर त आइपुगिनँ भनेर यताउति हेर्छु, अरूहरू कोटपाइन्ट-लबेदामै ठाँटिएर बसेका थिए। कक्षको एसी बिग्रेर यिनलाई घमौरा आएछ भन्ठानेर अगाडि बढेँ। आफ्नो सिट भेटेँ, बसेँ।
म योभन्दा पहिले ७५ जनाभन्दा बढीको भेलामा कहिल्यै गएको थिइन। एकैपटक २५०-२७५ मान्छेको माझ जाँदा कस्तो होला भन्ने सोचेरै रोमाञ्चित भइरहेको थिएँ। म भित्र पस्दैगर्दा २०–२५ जना थिए। समय बित्दैगर्दा आउँदै गर्लान् भन्ने सोचेको थिएँ, तर के हुन्थ्यो। चन्द्रमा झुल्किने बेलासम्म पनि ६५ जनाभन्दा बढी आएका भए त मेरो नाम कुरोग्राफरबाट बदलेर राख्दिनु। ७६ भन्दा बढी जनाको भेलामा गएको रेकर्ड कटाउने मेरो सपना अधुरै रह्यो।
म बसेभन्दा अगाडि तीनवटा खण्डमा मैले तीन जना गमक्क परेर बसेका फुलेल महाशय देखेँ। मेरो छेउमा मजस्तै अल्टर सांसद थिए– शेयर ब्रोकरी गर्न हिँडेका तर ज्याकपट लागेर चुनाव जितेका। त्यस्ता अकस्मात् चिट्ठा परेका हरेक दलमा टन्नै छन् रे। उनका अनुसार उनीहरू संसद् र देशकै खेला चलाउने सर्वेसर्वा त्रिमूर्ति हुन् रे– दाइ, बा र कामरेड। कसैको वास्ताब्यास्ता नगरेर निन्द्राले ग्रस्त भई हाइ काढिरहेका दाइ, वरिपरिका बालबच्चाले घेरिएर उनीहरूको स्वस्ति स्विकार्दै गरेका बा अनि दाइ र बा दुवैलाई चनाखो दृष्टिले निहार्दै कुम हल्लाइरहेका कामरेड।
उसै त महिलाको प्रतिनिधित्व कम भएको सभामा हाफ-अटेन्डेन्सका दिन औँलामा गन्न सकिने महिला माननीय थिए। तीमध्ये एउटा अलिक फरक थिइन्। धपक्क बलेकी, आत्मविश्वासले भरिपूर्ण देखिने उनी कृषकको छोरी रे। आफू पनि कुनै बेला कृषितिर लागेको भएर उनका बारेमा थप जान्न मन लाग्यो, छेउकालाई सोधेँ। 'उनका बाउबाजेले रैती पाल्थे' हतार भए जसरी उनले छोटोमा टुंग्याए। मैले अरू सोधिनँ।
यो संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाएछन्। जम्मा दुई विधेयक पनि किन पास गरेका, पलेटी कसेर तास खेलेरै समय बिताए हुन्थ्यो बरु।
अगाडि दुई जना फोनमा क्यान्डी क्रस खेलिरहेका थिए, एउटा माइन्क्राफ्ट खेल्ने टेक-स्याभी सांसद पनि रहेछन्। पछाडि एक हुल जग्गा–भाउको छलफल गर्दै थिए भने एकथरि बेलुकी कता बस्ने भनेर रक, पेपर, सिजर गर्दै थिए। कोही विद्युतीय कारोबारको छलफलका लागि विद्युत् व्यापारको तयारी गर्दै थिए भने कोही जतातिर हावा बग्छ, त्यतै बहँदै थिए। माथिल्लो तहमा बसिरहेका पत्रकारको ताल उस्तै दिक्कलादो। कोही संसद्मा आएर बियरको भाउ बढेको तनाव सुनाउँदै थिए, कोही सम्पादक/प्रकाशकको कुरा काट्दै थिए भने कोही तलब नपाएको भन्दै रोइरहेका थिए। संसद्को गतिविधिबाहेक नभएको विश्वयुद्धदेखि बिट्कोइनसम्म सब छलफल गरी भ्याए।
त्यहाँ मुस्किलले चारपाँच जना मात्रा चाहिने कुरा गरिरहेका, अध्ययन गरेका कुरा छलफल गरिरहेका, सरकारलाई चाहिँदो प्रश्न गरिरहेका भेटिए (प्रश्न गर्नका लागि मात्र प्रश्न गर्ने त टन्नै छन्)। दावाका साथ भन्न सक्छु, ती चारपाँच जना बेसिक संसदीय काज गर्नेको राजनीतिक भविष्य त्यति उज्ज्वल छैन।
संसद्को यो ताल देखेर म अवाक् भएँ। के ग्रह बिग्रेछ र सांसद बन्न आइपुगेछु भनेर पदत्याग गर्ने निष्कर्षमा पुगेँ। धत्, यो संसद्मा भन्दा गतिला गफ त हाम्रो चोकको म:म पसलमा हुन्छ भन्ने सत्यबोधका साथ कुराकानी म:म सेन्टरतिर टकटक पाइला बढाएँ....!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
