Saturday, April 27, 2024

-->

यौनकर्मी महिलाप्रतिको 'नजरिया' र नीति बदलौँ

राज्यले यौनपेसालाई अपराधीकरण गर्ने तथा यौनकर्मीहरूले पनि सधैँ राज्यसँग भूमिगतजस्तो र आफू अपराधीजस्तो नै मानेर समस्या अगाडि नल्याउने चलन थियो र अझै छ।

यौनकर्मी महिलाप्रतिको नजरिया र नीति बदलौँ

कुनै एउटा गैरसरकारी संस्थाले एचआईभी-एड्सको जोखिम र जोखिम समूहको विषयलाई लिएर नीति निर्माण तहको धारणा तथा उनीहरूबीच यो विषयका मुद्दाहरूबारे छलफल कार्यक्रम सञ्चालन गरिरहेको थियो। कार्यक्रममा उपस्थित एक जना संघीय सांसदले आफूलाई यौनकर्मी महिलाबारे आजको दिनसम्म थाहा नै नभएको बताउनुभयो। कार्यक्रममा उपस्थित एक जना सहभागीले आफू यौनकर्मी महिला भएको र एउटा समूहको अध्यक्षसमेत रहेको बताइरहँदा सांसदले भने आफू अचम्ममा परेको प्रतिक्रिया दिनुभयो।

नेपालको संविधानले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भन्ने उल्लेख गरेको छ। सँगै गोपनीयताको हकको समेत व्यवस्था गरेको छ। महिलाको हक, रोजगारी छनोटको हक, स्वास्थ्यसम्बन्धी हकहरूले मानवअधिकारलाई जोड दिन्छन्। तर जब यौनकर्मी महिला र फरक लिंगीको हक अधिकारको विषय उठ्छ, त्यसपछि हाम्रो समाजमा संस्कृति, रीतिथिति, चलन र 'इज्जत'का कुराहरूले यौनकर्मीहरूको मानवअधिकारका कुरा ओझेलमा पर्छन्। 

मानिसले आफूलाई यौनिक रूपले कसरी प्रस्तुत गर्छन्, त्यसैले उस/उनको यौनिक परिचय र स्वभाव झल्कन्छ। यसमा जैविक, मनोवैज्ञानिक, शारीरिक, भावनात्मक, सामाजिक भावना र व्यवहारका कुरा पनि पर्न आउँछन्। यौनको जैविक र शारीरिक पक्ष मानव प्रजननसँग पनि जोडिएको छ। मानव यौनले सांस्कृतिक, राजनीतिक, कानूनी, दार्शनिक, नैतिक र आध्यात्मिक पक्षलाई असर गर्छ र प्रभावित गर्छ। 

समाजमा 'महिलाले यो गर्न हुन्छ र यो गर्न हुँदैन' भन्ने अलिखित कानून बनेका छन्। एकातिर सामाजिक रीतिथितिका नियम छन् भने अर्कातिर जीविकोपार्जनको सिलसिलामा होस् या यौनलाई पेसा बनाएरै काम गरिरहेका हुन्, त्यस्ता महिलाको संख्या उल्लेख्य छ। औपचारिक/अनौपचारिक रूपमा ५० हजारदेखि झन्डै २ लाखको हाराहारीमा नेपालमा यौन पेसाकर्मीहरूको संख्या रहेको बताइन्छ। 

लाञ्छना र भेदभाव, हिंसाविरुद्ध उजुरी गर्ने वातावरण नहुनु, सुरक्षाकर्मीबाट नै हिंसा भोग्नु र बलात्कार हुनु यौनकर्मीहरूका साझा समस्यामा पर्छन्। यी यावत् कुरालाई निर्धक्कसँग आवाज उठाउने हैसियत यौनकर्मीहरूको अझैसम्म पनि बन्न सकेको छैन। अहिले पनि महिलाले पाउने हक अधिकार महिला यौनकर्मीको पनि अधिकार हो कि होइन भन्दै प्रश्नसमेत उठ्ने गर्छन्। 

हामी पुँजीवादी विश्वबजारका उपभोक्ता हौँ। जसरी हुन्छ, जीविकोपार्जनका लागि पैसा कमाउनुपर्ने बाध्यता छन् आममानिसलाई। त्यसो हुँदा, महिलालाई पनि आर्थिक आत्मनिर्भरताका लागि कुनै न कुनै काममा संलग्न हुनुपर्ने नै हुन्छ। शिक्षादीक्षामा पहुँच नहुनु, रोजगारीका अरू उपाय नभेट्नु र सेवाहरूमा सजिलै पहुँच नहुँदा पनि महिलाहरू यौनकर्मीलाई नै पेसा बनाएर आफ्नो आफ्नो र परिवारका आवश्यकता पूरा गरिरहेका छन्। बजारमुखी अर्थतन्त्रका कारण देखासिकी र सुविधामुखी जीवनचर्याको लालसा त हरेक पेसा अपनाउनेहरूमा देखिँदै आएका छन्। 

समय क्रममा बाध्यता र विवशताले मात्र नभई स्वैच्छिक रूपमा नै यौनपेसा अँगाल्नेहरू पनि छन्। यौनकर्मीहरूको अधिकारको विषयमा छलफल भइरहँदा एक महिला माननीयले 'आफूलाई यसरी महिलाले म यौनकर्मी महिला हुँ भन्लान् भन्ने नै नलागेको र यौनकर्मी हुनु साह्रै दर्दनाक हुन्छ भन्ने सोचेको' बताइरहँदा समाजमा भएका यथार्थबारे अगुवाहरू पनि बेखबर हुने रहेछन् भन्ने पनि लाग्छ। नाफाको बजारमा आफ्नो शरीरकै उपयोग किन गर्नु भन्ने प्रश्न पनि एकातिर छन्, तर जो यौनपेसा नै गरेर जीवनयापन गरिरहेका छन्, उनीहरूले यौनपेसा गरेकै आधारमा अमानवीय व्यवहार भोग्नु स्वाभाविक हो भन्ने तर्क जायज हुन सक्दैन। यौनपेसा धेरै बाध्यता र विवशता हो।

अर्को कुरा, यौनकर्मी महिलाको कुरा गरिरहँदा उनीहरूकहाँ सेवा लिन जाने पुरुष ग्राहकहरूको विषयबारे भने समाज मौन रहने गर्छ। साँच्चै, यौनको किनबेच नहुने समाज हुँदो हो त यौनकर्मी पनि हुने थिएनन् र तिनका ग्राहक पनि हुने थिएनन्। सँगै, यौनकर्मीहरू विभिन्न स्वास्थ्य लगायतका समस्यामा छन् भनेपछि पक्कै पनि उनीहरूका ग्राहकहरू पनि समस्यामा पर्ने भइहाले। त्यसैले पनि यौनकर्ममा संलग्नहरूलाई सरक्क पन्छाएर महिला मात्र या यौनिक अल्पसंख्यकलाई मात्र अपमान गर्नु, शोषण गर्नु या 'आइसोलेटेड' गरेर हेर्नु तथा मानवअधिकारको सवालमा तिनका कुरालाई ओझेलमा राख्नु समाजको पछाडि पारिएको एउटा समुदायलाई नै बेवास्ता गर्नु हो। 

राज्यले यौनपेसालाई अपराधीकरण गर्ने तथा यौनकर्मीहरूले पनि सधैँ राज्यसँग भूमिगतजस्तो र आफू अपराधीजस्तो नै मानेर आफ्ना समस्याहरू अगाडि नल्याउने चलन थियो र अझै पनि छ। तर अब बिस्तारै स्थानीयस्तरमा नै समुदायमा आधारित संस्थामार्फत यौनकर्मी महिलाहरू पनि संगठित हुने, आफ्ना हकहितबारे बोल्ने र राज्यबाट प्राप्त सेवा सुविधाहरूबारे जानकारी राख्ने क्रम बढिरहेकै छ। 

यसमा केही सुधार पनि हुँदै आएका छन्। मानवअधिकारका सवालमा भएका कतिपय कार्यक्रममा यौनकर्मी महिलाले आफ्नाबारे खुलेर कुरा गर्ने, स्वास्थ्य समस्याको सेवा लिने र आफ्ना समुदायमा हुने गरेका झैझगडा र जोडिएका घरेलु हिंसालाई न्यूनीकरण गर्ने कार्य पनि सम्बद्ध संस्थाहरूले गर्दै आइरहेका छन्। तर समाजमा हेय भावले हेरिने र घृणाको शिकार भइएला भन्ने डरले नै कतिपय यौनकर्मीहरूले विभिन्न किसिमका प्रजनन तथा यौनजन्य संक्रमणको उपचारसमेत नगर्ने र उपचार सेवाबारे समेत जानकारी नलिँदा उनीहरू यस्ता संक्रमणको जोखिममा पर्ने देखिन्छ। यस खालको समस्या समाधानका लागि स्वास्थ्य सेवा प्रदायकहरूले यौनकर्मीहरूलाई प्राथमिकताका साथ समेट्नुपर्ने हुन्छ। 

यौनपेसाको इतिहास सदियौँ लामो देखिन्छ। यौनपेसा नै आफ्नो पुस्तैनी पेसा भएको एक समुदायसमेत हाम्रो समाजमा छन् भने, अन्यले पनि यसलाई पेसाका रूपमा अपनाएका छन्। ‘वेश्यावृत्ति’ शब्दले नैतिकताको घेरा राखेको हुँदा यो पनि एउटा काम हो र जीविकोपार्जनको लागि यौनपेसामा लागेका हुन् भन्ने जनाउन अचेल 'यौन कार्य र यौनकर्मी' जस्ता शब्दहरू प्रयोग हुने गर्छन्।  

पितृसत्तात्मक संरचनाले महिला र फरक लिंगलाई दोस्रो तथा तेस्रो दर्जाको मानवभित्र समेटेको छ। आजपर्यन्त पुरुषबाहेक अन्य लैंगिक पहिचानप्रति समाजको दृष्टिकोण नै विभेदकारी छ। त्यस्तो, अवस्थामा यौनकर्मी महिला तथा यौनिक अल्पसंख्यक समुदायले पितृसत्तालाई चुनौती दिएका हुन् कि भन्ने पनि लाग्न सक्छ। तर यौनकर्मीहरूलाई भने अन्य मान्छेले 'यस ग्रहका मानिस नै होइनन्, इज्जत गुमाई हिँडेका समाज भँडुवा'को रूपमा पनि लिएको पाइन्छ। यी कारणले पनि यौनकर्मी महिलाले खुलेर आफ्ना स्वास्थ्यलगायत अन्य समस्या लुकाएर राख्ने गरेको पाइन्छ। 

सम्पूर्ण परिवारको पालनपोषण यौनपेसाबाट गरिरहेका तर सामाजिक अपमान तथा प्रहरीले समातेर लैजाला भन्ने डरका कारण भूमिगतझैँ जीवन जिउने महिला र फरक लैंगिक पहिचान भएकाहरू पनि छन्। यस्तो अवस्थामा यौनकर्मी समुदायलाई समग्र मानवअधिकार र आत्मसम्मानका आँखाबाट हेर्न आवश्यक छ। 

मानवअधिकार, महिलाअधिकार, कानून नियम र शिक्षाबारे सुसूचित गराउँदै लाँदा हामीले के पनि ख्याल गर्नुपर्‍यो भने हाम्रोजस्तो समाजमा यौनपेसा अति नै जोखिमपूर्ण र असुरक्षित छ। त्यसो हुँदा, अर्को पेसा या व्यवसायमा जाने/नजाने निर्णयसमेत स्वैच्छिक रूपले महिला या फरक लिंग/पहिचान भएकाले छनोट गर्न पाउनुपर्छ। त्यसो हुँदा पो सामाजिक न्यायको सिद्धान्तले यौनकर्मीहरूलाई पनि काम गर्ने थियो। 

सबैभन्दा पहिले त यौनकर्मीहरूले सुरक्षित भएर आफ्नो पेसा गर्न सक्ने, समस्या पर्दा सेवा केन्द्र या प्रहरी प्रशासन गुहार्न सक्ने वातावरण हुन पर्‍यो। 'नैतिक, अनैतिक' र 'हुन्छ र हुँदैन'को बहसभन्दा पनि जीविकोपार्जनको सिलसिलामा अपनाइएको यौनपेसालाई कामको मान्यता दिँदै उनीहरूलाई बाँकी विषयमा सुसूचित गर्दै जाँदा अवश्य पनि यौनकर्मीहरूले आफ्नोबारे, आफूलाई विपन्न र कमजोर बनाउने विश्व उपभोक्तावाद, व्यवस्था र यसको मारबारे पनि बुझ्ने मौका पाउनेछन्। 

यौनकर्मीलाई उनीहरूको अधिकारको बहसलगायत अन्य महिला सशक्तीकरणका मुद्दामा बढीभन्दा बढी सहभागी गराउँदै राज्यले पनि यस विषयमा चासो देखाए हाम्रा यौनकर्मीप्रतिका मनस्थिति र व्यवहारमा शायद परिवर्तन आउँथ्यो। त्यसो भएपछि शिक्षा र चेतनाले नै व्यक्ति वा समुदायले आफूलाई कसरी अगाडि लैजाने भन्ने निर्णय तहमा पुग्ने र पेसा छनोट गर्ने स्वतन्त्रतासमेत प्राप्त गर्नेछन्।


सम्बन्धित सामग्री