Sunday, April 28, 2024

-->

महिलामाथि हिंसा र दुर्व्यवहारको पर्याय बनेको होली पर्व बन्दैछ संयम

डेढ दशक अघिसम्म होली आउनुभन्दा एक महिना अघिदेखि महिलालाई बाटोमै लोला हान्ने र जबर्जस्ती अबिर दलेर आनन्द लिने प्रचलन थियो। अहिले भने त्यस्तो प्रवृत्तिमा कमी आएको छ।

महिलामाथि हिंसा र दुर्व्यवहारको पर्याय बनेको होली पर्व बन्दैछ संयम
तस्वीरहरू: रासस

काठमाडौँ– कोटेश्वरकी अजिता दाहाललाई १०–१५ वर्षअघि स्कुले जीवनमा छँदाको होली पर्व सम्झँदा अहिले पनि अत्यास लाग्छ। पुराना दिन सम्झिँदै उनी भन्छिन्, “त्यसबेला म हाईस्कुल पढ्दै थिएँ। होली आउनुभन्दा महिनादिन अघिदेखि नै केटीहरूलाई जथाभावी रङ दल्ने, लोला हान्ने र पानीका फोहोरा फ्याँक्ने गर्थे। स्कुल आउजाउ गर्दा बाटोमा सधैँ असुरक्षित महसुस हुन्थ्यो। त्यो डरत्रासले होलीभरि स्कुल बन्द भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, कतिपय स्कुल त बन्द पनि हुन्थे।” 

होली सामूहिकरूपमा एकापसमा रङ दलेर मनाइने पर्व भए पनि त्यसबेला उद्दण्ड स्वभावका पुरुषले समूह बाँधेर महिलालाई मात्र निशाना बनाउँथे। कतिबेला कँहाबाट रङ र लोला बर्सिने हो पत्तो हुँदैनथ्यो। अवस्थाको ख्यालै नगरी होलीको नाममा गरिने त्यस्ता जबर्जस्ती व्यहोरेको अनुभव अजितासँग छ। त्यसबेला उनलाई होली पर्व कहिल्यै नआओस् जस्तो लाग्थ्यो। उनी भन्छिन्, “त्यसबेला होली र महिला त एकअर्काका शत्रुु नै हुन् कि झैँ लाग्थ्यो।”

होलीका नाममा सोच्नै नसकिनेसम्मको दुर्व्यवहार हुने गरेको देखेकी उनले त्यही निहुँमा कतिपय महिला मानसिक समस्यामा पर्ने गरेकोसमेत पाएकी थिइन्। तर पुरानो परिवेश अहिले बदलिएको छ। काठमाडौँमै बाल्यकाल बिताएकी अजिताले केही वर्षयता होलीका गतिविधिलाई नजिकबाट नियाल्न पाएकी छन्। सुरक्षित वातावरणमा पर्वको अनुभूति गर्न पाएपछि मात्र होली रमाइलो लाग्न थालेको उनी बताउँछिन्।

पत्रकार तथा सामाजिक अभियन्ता अमृता लम्साल काठमाडौँमा व्यहोरेको पुरानो समय सम्झन पनि चाहन्नन्। अहिले भने होली मनाउने प्रवृत्तिमा आएको परिवर्तनले उनी खुशी छिन्। करिब डेढ दशक अघिसम्म होली पर्व महिलाहरूका लागी ‘पाप’ नै हुने गरेको उनी बताउँछिन्। लम्सालको बुझाइमा त्यसबेलाको होली पर्वलाई महिलामाथि हिंसा र दमन गर्ने माध्यम बनाइएको थियो। उनी भन्छिन्, “त्यति बेलाको समाज नै त्यस्तै थियो। होली पर्व के हो भनेर नबुझेका ९–१० वर्षका बालकहरूसमेत ठूलाबडाको देखासिकी गरेर महिला देख्यो कि लोला हान्न थालिहाल्थे।” 

होली आउनुभन्दा एक महिना अघिदेखि लागुपदार्थ र मदिरा सेवन गरेर इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, पानीका फोहोराहरू प्रयोेग गरी आनन्द लिने प्रचलन नै होलीको पर्याय बनेको थियो। त्यही कारण बाटोमा निष्फिक्री हिँड्न नपाउँदा काठमाडौँका अधिकांश महिला घरभित्र लुकेर बस्ने गरेको समयको अप्रिय अनुभव सम्झँदै लम्साल भन्छिन्, “एक पटकको होलीमा म सडक पेटीमा हिँडिरहेको थिएँ, जुनबेला गर्भवती थिए। सडक पारिबाट टिनेजर केटाहरूले पानीमा रङ मिसाएका लोला बर्साउन थाले, धन्न मलाई केही भएन। यस्तो प्रचलन थियो कि जे जस्तो अवस्था भए पनि ख्यालै नगरी केटीलाई निशाना बनाउने अनि त्यसमा आनन्द मान्ने पुरुष मनोविज्ञान हाबी थियो।” 

कवि डा. गीता त्रिपाठी पनि होलीले आफ्नो जीवनमा नराम्रो छाप छोडेको बताउँछिन्। २०४७ सालताका उनी बागबजारको पद्मकन्या क्याम्पसमा स्नातक पढ्दै थिइन्। होली आउन तीन–चार दिन बाँकी थियो। क्याम्पसबाट घरतर्फ जाँदै गर्दा उनलाई बागबजार क्षेत्रमा घरको छतबाट किशोरहरूको जमातले रङसहितको लोला प्रहार गर्‍यो। टाढाबाट फालेको लोला शरीरमा बर्सिंदा उनलाई कडा दुखाइ महसुस भयो, क्याम्पसको ड्रेस पनि भिज्यो।

त्यो क्षण सम्झँदै त्रिपाठी भन्छिन्, “त्यसबेला मैले देवीमाथि राक्षसहरूबाट आक्रमण भएको ठानेँ। किनभने ममाथि त्यसरी लोला प्रहार हुँदा वरपरका मानिसहरू हाँसेर मजा लिइरहेका थिए। मलाई त्यो शारीरिक र मानसिक आक्रमणको चोटले तीन दिनसम्म सहनै नसक्ने पीडा भयो। त्यसयताका होलीमा मेरो कुनै उत्साह छैन।” २०४५ सालमा उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ आएकी उनले धेरै पटक यस्ता दुर्व्यवहारको सामना गर्नुपरेको थियो। सानै उमेरबाट संवेदनशील स्वभावकी उनी त्यसपछि सधैँका लागि रङहरूबाट टाढै रहिन्।  

बदलियो मनाउने तरिका 
होली पर्व भूगोलअनुसार छुट्टाछुट्टै तरिकाले मनाइन्छ। तर यस्तो प्रचलन विशेषगरी शहरी क्षेत्रमा बढी पाइन्छ। अझ काठमाडौँ उपत्यकामा यो प्रचलन विकृतिकै रूपमा रहेको जानकारहरू बताउँछन्। अहिले भने होली मनाउने तरिका बदलिएको छ। विगत १० वर्षयता होलीमा प्रदर्शन हुने ‘स्त्रीद्वेषी प्रचलन’ विस्तारै कम हुँदै गएको मानवशास्त्री सुरेश ढकाल बताउँछन्। 

उनका अनुसार होलीमा व्यक्ति र समुदाय दुवै संयमित हुँदै गएका छन्। होली खेल्ने तरिकाबारे सामाजिक चेतनाको विकास भएको उनको भनाइ छ। मनोरञ्जन लिने अन्य माध्यमहरूको विकास भएका कारण पनि पुरानो प्रवृत्तिमा सुधार आएको ढकालको बुझाइ छ। उनी भन्छन्, “मानिस र समुदायको संयमतासँगै मनोरञ्जनका नयाँ माध्यमहरूको विकासले होलीको बेला हुने महिलामाथिको दुर्व्यवहारमा कमी आएको हो।”

ढकालका अनुसार पहिले महिलामाथि हिंसा गर्नुलाई होलीको विशेषता नै ठानिने हुँदा होलीमा महिलाहरू मनोरञ्जनको पात्र बनाइन्थे। बिस्तारै जनस्तरबाट कुरा उठ्ने, महिलाहरूले प्रतिकार गर्ने, कानूनीरूपमा गम्भीरतापूर्वक लिने चेतनाको विकास र नैतिक आचरणका कारण पनि सुधार हुँदै गएको उनी बताउँछन्। “बिस्तारै यस्ता उछृंखल गतिविधि गर्नेहरूलाई कानूनी दायरामा ल्याउन थालियो। कारबाहीको डरले पनि यस्ता गतिविधिमा कमी आउँदै गयो। त्यसका साथै जनयुद्धका बेला रमेर होली मनाउन सम्भव भएन। त्यसले पनि प्रभाव पारेको मान्न सकिन्छ,” ढकाल भन्छन्।  

प्रहरीको प्रयास 
एक दशक अघिसम्म कानून भएता पनि कार्यान्वयनमा आएको थिएन। किनकि होलीका बेला महिलाप्रति उद्दण्ड प्रवृत्ति देखाउनुलाई मनोरञ्जनको रूपमा लिइन्थ्यो। अझ पञ्चायतकालमा त उजुरी कमै मात्रामा पर्दथे। परेका उजुरी पनि पञ्चायतका स्थानीय ‘भद्रभलाद्मी’ राखेर समाधान खोजिन्थ्यो, जुन शैली पीडितमैत्री थिएन। त्यसैले पनि त्यसबेला गलत प्रवृत्तिलाई प्रोत्साहन मिलेको पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) केशव अधिकारी बताउँछन्। 

त्यस्तै, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अनन्तराम भट्टराई एक दशक अघिसम्म भएको कानून पनि लागू नभएको बताउँछन्। उनी भन्छन् “होलीमा नाजायज क्रियाकलाप गर्नेमा विषेशगरी टिनेजर केटाहरू बढी पर्थे। तिनीहरूलाई पक्राउ गरेर हिरासतमा राख्ने गरिँदैनथ्यो, सम्झाइबुझाइ मात्र गरेर पठाइन्थ्यो।” 

उनका अनुसार उछृंखल गतिविधि गर्नेहरूलाई बिस्तारै कानूनी दायरामा ल्याउन थालियो। प्रहरी जनशक्ति बढाउन थालियो, होलीजस्ता पर्वहरूमा प्रहरी निगरानी बढ्न थाल्यो। प्रहरी उपस्थित नभएको ठाउँमा प्रविधिको प्रयोग गरेर निगरानी बढाउने, विद्यालयहरूमा नैतिक आचरणका शिक्षा दिनेजस्ता गतिविधिका कारण पनि विकृतिमा कमी आएको उनको भनाइ छ। “यो परिवर्तन एकैचोटिमा आएको होइन। कानूनीरूपमा हामीले गरेको लामो प्रयास र प्रत्येक नागरिकको योगदानका कारण सुधार आएको हो,” भट्टराईले भने।

पछिल्लो समय होली पर्व छरछिमेक वा वरपरको समुदायबाट फराकिँदै गएको आममानिसको अनुभव छ। प्रविधिले धेरै मानिसलाई एकापसमा जोडेको छ। अहिले घर वरपरका साथीसंगीसँगै विद्यालय तथा क्याम्पसका साथी, कार्यालयका सहकर्मी र समाजिक सञ्जालबाट जोडिएकाहरूबीच पनि आत्मीयता साटासाट गर्दै होली मनाउने चलन बढेको छ। 

संस्कृति बदलिँदै जाँदा विभिन्न रङहरू र पानी छ्यापाछ्यापमा मात्र पनि होली सीमित छैन। साथीसंगी र आफन्तसँगको भेटघाट, नयाँ ठाउँको भ्रमण, नाचगान, जमघट र खानपानले उत्सवको रूप लिँदैछ। त्यसबाहेक विभिन्न संघसंस्थाहरूले होटल तथा रेष्टुरेन्टहरूमा भेटघाट र भोजका कार्यक्रम आयोजना गरेर पनि होली मनाउने गरेका छन्। 


सम्बन्धित सामग्री