दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।
काठमाडौँ– सात वर्षअघि युरोप छिरेकी चितवनकी दीपा काफ्लेको वैदेशिक रोजगारी अनुभव पहिलो गाँसमै ढुंगा परेझैँ भएको थियो।
पोर्चुगलको एक रेस्टुरेन्टमा काम गर्ने क्रममा उनलाई महाशिवरात्रिको दिन गाईको मासु काट्न लगाइयो। व्रत बसेकी दीपालाई त्यो काम नगरी सुखै थिएन, चुपचाप गरिन्। तर त्यसबेला परदेशमा आफैलाई धिक्कारेर धुरुधुरु रोएको कहिल्यै बिर्सन नसक्ने उनी बताउँछिन्।
तिनै दीपा अहिले पोर्चुगलमै होटेल व्यवसायी बनेकी छन्। त्यहाँको राजधानी शहर लिस्बनमै छ, उनको रेस्टुरेन्ट ‘ओदान’। नाममै नेपालीपन बोकेको यस रेस्टुरेन्टका ग्राहक भने धेरैजसो विदेशी नै हुन्। दीपाका अनुसार १० प्रतिशत जति मात्र नेपाली ग्राहक आउँछन्। कहिलेकाहीँ नेपालीहरूलाई नै ओदानको अर्थ सम्झाउनुपर्दा भने दिक्क लाग्ने उनको अनुभव छ।
त्यसैले उनले भित्तामा ओदानको चित्र पनि टाँसेकी छन्। काउन्टरमा गौतमबुद्धको ठूलो मूर्ति छ। त्यहाँ आउने विदेशी ग्राहकलाई ‘नमस्ते’ र ‘सञ्चै हुनुहुन्छ?’ भन्न सिकाइहाल्छिन् उनी।
युरोपेली देशको रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकको समस्या भनेको एउटै काममा नटिक्नु, काम फेरिरहनु हो। त्यसको विपरीत दीपाले पाँच वर्ष एकै ठाउँमा काम गरिन्। भाँडा माझ्ने भूमिकाबाट प्रवेश गरेकी उनी पछि किचन हेल्पर हुँदै वेटर बनिन्। त्यतिबेला उनको तलब ८०० युरो थियो। त्यो बीचमा अन्य होटलबाट राम्रो तलबको प्रस्ताव नआएको होइन। त्यहाँको भन्दा बढी तलब दिन्छु भनेर छिमेकी होटल सञ्चालकले आग्रह गर्दा पनि उनले स्विकारिनन्।
अर्का होटल सञ्चालकको प्रस्ताव र दीपाको जवाफ सुनिरहेकी रोजगारदाताले उनलाई प्रश्न गरिन्, “५० डलर बढी दिन्छु भन्दा पनि किन नगएको त तिमी?” प्रत्युत्तरमा उनले भनेकी थिइन्, “यता छोड्ने नै भए त म आफ्नै व्यवसाय गर्छु नि।”
त्यही होटलमा सामान्य कामदारका रूपमा पाँच वर्ष बिताएपछि आफ्नै व्यवसाय गर्ने अठोटसहित सन् २०२२ मार्चमा उनले रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन्। छोटो अवधिमै उनले त्यसको शाखा विस्तार गरिसकेकी छन्। अहिले उनका दुई रेस्टुरेन्ट छन्। गज्जबको कुरा त उनले पहिले काम गर्ने होटलभन्दा धेरै चल्छ उनको रेस्टुरेन्ट।
“मैले राम्रो गरेको भनेर पहिलाको साहुले भनिरहनुहुन्छ, अझै पनि केही समस्या भए भन है भनेर सम्झाइराख्नुहुन्छ, अर्काको प्रगतिमा रिसईबी छैन यता,” उनले भनिन्।
पोर्चुगलका नेपालीहरू दीपालाई विदेशमा छोटो समयमा राम्रो प्रगति गर्ने नेपाली महिलाका रूपमा चिन्छन्। त्यहाँ कार्यरत तमु समाजका पूर्वअध्यक्ष राजकुमार गुरुङका नजरमा दीपा ‘निकै संघर्ष गर्ने महिला’ हुन्।
“उहाँले त्यही भएर छोटो समयमै राम्रो प्रगति गर्न सफल हुनुभयो,” उनी भन्छन्, “त्यो भन्दा धेरै उहाँ समाजसेवी हुनुहुन्छ, समस्यामा परेका नेपालीहरूको उद्धार गर्न दिनरात नभनेर लागिरहनुभएको छ। आफ्नै खल्तीबाट पैसा हालेर पनि उहाँले कतिलाई सहयोग गर्नुभएको छ।”
अहिले दीपाको रेस्टुरेन्टमा १० जनाले रोजगारी पाएका छन्। ती सबै नेपाली हुन्। कामदारको रूपमा युरोप छिरेर अहिले व्यवसायी बनेकी दीपा आफूलाई व्यवसायी भन्दा पनि कामदार र ‘सोसल वर्कर’कै रूपमा चिनाउन रुचाउँछिन्।
“म अहिले पनि कामदार नै हो, व्यवसायी भएँ जस्तो लाग्दैन मलाई,” उनले हाँस्दै भनिन्, “शुरूमा त भाँडा नै माझेको हो नि मैले। अहिले पनि मेरो होटलमा धेरै भाँडा थुप्रियो भने म आफै माझ्छु, किनकि यस काममा मेरो दख्खल छ।”
गर्न त नेपालमै मन थियो
रोजगारीका लागि परदेसिएकी दीपालाई स्वदेशमै केही गर्ने रहर थियो। तर नेपालमा गरेको संघर्षले उनलाई लाभभन्दा बढी दुःखकष्ट र पीडा दियो। पोर्चुगल गइसकेपछि पनि केही महिनाअघि मात्र उनी नेपालमै व्यवसाय गर्नुपर्यो भनेर आएकी थिइन्। जग्गा धितो राखेर ऋण लिन एउटा बैंकमा पुगिन्। एक करोडको जग्गालाई बैंकले ३० लाख पनि ‘मूल्यांकन’ नगर्दा उनको आशा र आँट एकैसाथ ओइलायो।
अहिले उमेरले ४० पुगिन् दीपा। उनले स्नातकसम्म अध्ययन गरेकी छन्। नेपालमा शिक्षण पेसादेखि निर्माण व्यवसायसम्म गरिन्। पहिलेदेखि नै आफ्नै पेसा गर्नुपर्छ भन्ने मान्यता थियो उनको। त्यही भएर भरतपुरमै कन्स्ट्रक्सन कम्पनी खोलेकी थिइन्। लाखौँको कारोबार हुन्थ्यो। जग्गा खरिदबिक्री व्यवसाय पनि गरिन्। महिला भएर नेपाली समाजमा यी सबै गर्न निकै चुनौतीपूर्ण थियो। उनले आँट गरिन्। तर व्यवसायमा धेरै विश्वास गरेकाहरूबाट धोका पाइन्।
कमाइभन्दा धेरै उधारो जान थाल्यो। यसरी घाटाको व्यापार गरेर अल्झिनुभन्दा बरु विदेश जान्छु भन्ने लाग्यो। त्यही बेला उनका श्रीमान् पनि एजेन्टमार्फत पोर्चुगल गएका थिए। दीपा पनि भिजिट भिसामा डेनमार्कको बाटो हुँदै सन् २०१७ मा पोर्चुगल पुगिन्।
“आम्दानी जति सबै उधारोमा जान थाल्यो, पैसा उठाउन धाउँदाधाउँदै बिरामै नै परेँ, छोरीहरूको भविष्य सम्झेँ। अनि यसरी त हुन्न भन्ने ठानेर बिदेसिएकी हुँ,” उनले भनिन्, “अहिले पनि २३ लाख रुपैयाँ उठाउन बाँकी नै छ।”
दीपाका अनुसार नेपालमा बैंकहरू व्यवसायीमैत्री छैनन्। नेपालमै केही गर्छु भन्नेलाई पनि ऋण सुलभ नहुँदा आफूजस्तै धेरै नेपाली बिदेसिएको र स्वदेश फर्किन चाहनेहरू पनि फर्किन नसकेको उनको गुनासो छ। पोर्चुगलमा भने व्यवसायमा लगानी गर्न चाहने विदेशीलाई पनि बैंकले सजिलै पत्याउने गरेको उनले सुनाइन्।
“व्यवसाय राम्रो नचल्दा पनि यहाँका बैंकहरूले हौसला दिन्छन्, तपाईंको व्यवसाय साह्रै राम्रो छ भनेर फुर्क्याउँछन्, ब्याजदर घटाइदिन्छन्। जसरी भए पनि व्यवसाय गर्ने वातावरण बनाउन लाग्छन्,” यस्तो सोच नेपाली बैंकहरूको भइदिए पोर्चुगल चटक्कै छाडेर फर्किने उनी बताउँछिन्।
नेपालमा उनले आफ्नो मात्र नभई नजिकका साथीहरूको हालत पनि बुझेकी छन्। अधिकांशको अवस्था उस्तै छ। शुरूमा पोर्चुगल जाँदा ‘बरु नेपाल फर्क, व्यवसाय गर्न १५/२० लाख रुपैयाँ सहयोग गर्छु’ भन्ने साथीकै व्यवसाय डुबेको छ। बैंकबाट सहज ऋण नपाउँदा र उच्च ब्याजदरले व्यवसाय धान्न नसकेका आफ्ना साथीलाई केही महिनाअघि नेपाल आएको बेला उल्टै उनले आर्थिक सहयोग गर्नुपरेको थियो।
कतिपय नेपाली व्यवसायी अवसरवादी हुन खोज्दा पनि व्यवसायप्रतिको विश्वास घटेको हुनसक्ने दीपाको अनुमान छ। आफ्नो रेस्टुरेन्टमा आउने एक जर्मन ग्राहकलाई उनले नेपालको बारेमा बताएकी थिइन्। अरू पर्यटकलाई झैँ तिनलाई पनि नेपाल जान हौस्याएकी थिइन्। नभन्दै ती पर्यटक नेपाल आए। तर नेपालका व्यवसायीको व्यवहारबारे दीपालाई यहीँबाट फोन गरेर गुनासो पोखे।
“सेवा सुविधा केही नदिएर पैसा मात्र धेरै लिएको भन्ने गुनासो थियो उनको,” दीपाले असन्तुष्टि पोखिन्, “धेरैजसोले पाएको बेला लुटिहालौँ भन्ने सोच्छन्, त्यसको असर नेपालको पर्यटनमै पर्छ, यसबारे हाम्रो सरकारले कहिले सोच्ने?”
उनका अनुसार सरकार र व्यवसायी दुवै इमान्दार भए मात्रै देशको इज्जत र समृद्धि उकासिन्छ। पोर्चुगलको हकमा त्यही भएको उनी बताउँछिन्।
“नेपाललाई पर्यटनबाटै विकसित देश बनाउन सकिन्छ। त्यसको लागि सरकारले पूर्वाधार तयार गरिदिनुपर्यो। केही गर्छु भन्ने व्यवसायीलाई सहज ऋणको प्रबन्धलगायत व्यवस्था गरिदिनुपर्यो। एउटा ठोस नीति ल्याउनुपर्यो,” उनले भनिन्।
व्यवसायभन्दा समाजसेवा प्यारो
दीपा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको वरिष्ठ उपाध्यक्ष पनि हुन्। पोर्चुगलमा रहेका विभिन्न नेपाली समाजका गतिविधिमा सक्रिय रहेकै कारण त्यहाँ समस्यामा परेकाहरूले सबैभन्दा पहिले उनलाई नै सम्झिन्छन्।
पोर्चुगलमा कार्यरत दीपेश थापा भन्छन्, “उहाँजस्तो एनआरएन पदाधिकारी कमै हुन्छन्, उहाँ जहिले पनि सडकमै देखिनुहुन्छ, पीडितहरूलाई भेटेर आफ्नै दाजुभाइजस्तो सम्झाइबुझाइ कसले गर्छ, उहाँमा त्यो माया छ।”
दीपा आफै भन्छिन्, “मेरो होटलमा धेरै नेपाली नआउनुको कारण म उनीहरूसँग रिसाउने भएर नै हो। कमाउन आएकाहरूले रक्सी खाएर पैसा सक्नुहुन्न भनेर म रिसाउँछु। त्यही भएर पनि रक्सी खाने उद्देश्यले मेरो होटलमा आउँदैनन्।”
दीपाले नेपालमै छँदा पनि धेरैको मुद्दामामिला मिलाउन सघाएकी छन्। कहिले टेकु प्रहरी त कहिले अदालतका दैला चाहार्दै वर्षौं बिताइन् उनले। कोही समस्यामा परे, कसरी त्यसलाई सहयोग गर्न सकिन्छ भनेर सधैँ तत्पर रहने दीपा पोर्चुगलमा पनि त्यही अभियानमा छिन्। भन्छिन्, “विदेशबाट लास होइन, सास फर्काउनुपर्छ भन्ने मेरो मान्यता हो।”
उनका अनुसार पोर्चुगलमा धेरै नेपाली अलपत्र छन्। उनीहरू अवैधानिक क्रियाकलापमा संलग्न हुँदा विभिन्न समस्या र दुव्र्यसनीमा पर्ने जोखिम छ। त्यसैले दिनरात उनी त्यस्ता नेपालीहरूको खोजी गर्दै व्यवस्थापनका लागि खट्छिन्।
अरूको देखासिकी गर्दै युरोपेली देश जानेहरू धेरै छन्। त्यसले गर्दा उनीहरू त्यहाँ समस्यामा पर्ने गरेका छन्। नेपालीहरू एकै ठाउँमा टिक्न सक्दैनन्। काम परिवर्तन गरिरहने, भनेको कुरा चाँडै नटिप्ने, पटक–पटक भनिरहनुपर्ने कारण त्यहाँका स्थानीय व्यवसायी नेपालीहरूलाई काममा राख्न नचाहने उनी बताउँछिन्। त्यसैले भाषा र सीप सिकेर मात्रै आउन उनको सल्लाह छ।
“साथीभाइको लहलहैमा लागेर आइहाल्छन्, न राम्रोसँग अंग्रेजी बोल्न आउँछ न त कुनै सीप नै सिकेको हुन्छ, केही अह्रायो भने फिटिक्कै बुझ्दैनन्। धेरैमा यस्तो समस्या देखिन्छ,” उनले भनिन्, “यति बुझेर आयो भने दुःख कम हुन्छ। नत्र यहाँ आएका धेरै नेपाली समस्यामा पर्छन्।”