Saturday, April 27, 2024

-->

पृथ्वीको ज्वरो:  सबै पृथ्वीवासी जुट्नुपर्‍यो

पृथ्वीका 'एअर कुलर' भनी चिनिएका 'अन्टार्क्टिक', 'ग्रीनल्यान्ड' र हिमालयन क्षेत्रको हिउँ सन् २०४० पछि रहने सम्भावना देखिँदैन। वनजंगल विनाशले त तोकिएको सीमारेखा पार गरिसकेको छ।

पृथ्वीको ज्वरो  सबै पृथ्वीवासी जुट्नुपर्‍यो

हामी जो कोहीलाई टाउको दुख्दा, शरीर गल्दा, थकाइ लाग्दा वा सञ्चो नभएका लक्षणहरू देखा पर्दा डाक्टरकहाँ गएर 'चेकअप' गर्छौं। डाक्टरले प्रारम्भमा थर्माेमिटरले जिउको ताप नाप्छन्, शरीर जाँच्छन्, ज्वरो आएको छ कि छैन भने यकिन गर्छन्। ज्वरोजन्य तापमान घटबढबाट हाम्रो स्वास्थ्य ठीक छ कि छैन भनी थाहा दिन्छन्। ठीक यसै गरी पृथ्वीको स्वास्थ्य अवस्थाको मुख्य परिसूचक पनि नियमित रूपमा मौसम फेरिनु, मनसुन अनियमित हुनु, 'इल निनो' र 'ला निना'को चक्र अस्वाभाविक हुनु, समुद्र सतह तात्नु जस्ता जलवायु र तापमानको अस्थिरताले संकेत गर्ने भएकाले वैज्ञानिकहरूले त्यसको मापन गर्ने गरेका छन्। 

स्वास्थ्यको 'सीमापार' 
अहिले पृथ्वीका डाक्टरहरू (हरित डाक्टर र वातावरणविदहरू) ले पृथ्वीको तापमान नाप्दा त्यसमा अस्वाभाविक वृद्धि भएको र पृथ्वी पनि अधिक तातेर अस्वस्थ देखिएकाले यसलाई पनि ज्वरोको लक्षण मान्न सकिन्छ। सोही कारण पृथ्वी बिरामी परेको छ भनी हालसालै वैज्ञानिकहरूले प्रतिवेदन पनि निकालेका छन्। प्राध्यापक जोयिता गुप्ता र 'पोष्टडाम इन्स्टिच्युट'का अर्का प्राध्यापक जोन रक स्ट्रमले नेतृत्व गरेको करिब एकाउन्न जनाको वरिष्ठ विज्ञ समूहमार्फत 'अर्थ कमिसन'ले मे, २०२३ मा गरेको शोधअनुसार पृथ्वीको 'हेल्थ ब्यारोमिटर' नापिएको थियो जसमा आठ वटा मुख्य स्वास्थ्य परिसूचकमध्ये सात वटा परिसूचकहरूले 'प्लानेटोरी लिमिट' वा 'थ्रेसहोल्ड' पार गरेका देखिन्छन्। 

शोधपत्रमा उक्त आठ वटा प्लानेटोरी सीमा/थ्रेसहोल्ड वा परिसूचकहरूको 'क्वेन्टिफिकेसन'समेत गरिएको थियो, सो परिमाणात्मक फ्रेममा राखेर हेर्दा मानवीय क्रियाकलापका कारण नै पृथ्वी 'ओभरसुट' (अति दोहन) भएको, पृथ्वीको सतह (जल र स्थल) बढी 'हिटिङ' भएको र यसले प्रमुख प्राकृतिक तथा पारिस्थितिक प्रणालीका क्षेत्रहरू पनि गुमाएको देखाएको छ। ती सात वटा क्षेत्रमा 'सेफ एन्ड जस्ट'  भनिए तापनि  केही परिसूचकले 'सीमालाइन' वा 'फ्रेमलाइन' नाघेर बाहिर गएको देखिन्छ। जस्तो, यतिखेर वायुमण्डलमा कार्बनको मात्रा ४२५ पिपिएम भएको छ, जबकि २०० वर्षअघि यो स्तर २८० पीपीएम थियो। कार्बन बढेका कारण पृथ्वीको तापमान पनि लगातार बढेको देखिन्छ। 'पेरिस सहमति'ले यो शदीभित्र पृथ्वीको तापमान १.५ डिग्रीभित्र स्थिर राख्नु पर्ने लक्ष्य निर्धारण गरेकोमा सन् २०२७ पछि नै यो पनि सीमारेखा नाघेर बाहिर जाने छाँटकाट देखिएको छ। 

पृथ्वीका 'एअर कुलर' भनी चिनिएका 'अन्टार्क्टिक', 'ग्रीनल्यान्ड' र हिमालयन क्षेत्रको हिउँ सन् २०४० पछि रहने सम्भावना पनि देखिँदैन। वनजंगल विनाशले त तोकिएको सीमारेखा पार गरिसकेको देखिन्छ। समुद्र तह बढेर मालद्वीप, सलोमन, भानुआटुजस्ता ससाना टापु मुलुकहरू डुब्ने अवस्था पैदा हुँदै छ। यी सबै परिणाम पृथ्वीको स्रोतसाधनमाथिको अधिक दोहनका कारण उत्पन्न भएको देखिन्छन्, साथै मानिसहरूले प्लानेटोरी सीमाको (हाम्रो ग्रहको उत्पादन क्षमता र उत्पादन परिधिभन्दा बाहिर गएको) उल्लंघन गर्दा यस्तो डरलाग्दो समस्या उत्पन्न भएको भनिएको छ।

के हो प्लानेटोरी सीमा?
वैज्ञानिकहरूका अनुसार ४.५ बिलियन वर्षअघि पृथ्वीको उत्पत्ति भएपश्चात् एक कोषीय र बहुकोषीय जीव उत्पन्न हुँदै रुखबिरुवा र जन्तु जनावरसमेतको परस्पर अन्तरनिर्भरता रहेको जीवन प्रणाली (इकोसिस्टम) ले सन्तानोत्पादन गरी स्थायित्व पाउन करिब २.५ बिलियन वर्षको समय लिएको थियो। ६६ मिलियन वर्षअघि स्तनपायी जनावर पैदा भएको मानिन्छ भने मान्छे त २.८ मिलियन वर्षअघि मात्रै उत्पन्न भएको हो। आजभन्दा ११ हजार वर्षअघि मात्र मान्छेहरू चेतनशील र विकसित भई सामाजिक क्रियाकलापमा संलग्न भएका हुन्। 

अझै 'एन्थ्रोपोसिन' भन्ने समय खण्ड त १९५० बाट शुरू भएको मानिन्छ। यसले के देखाउँछ भने मानिसहरूले पृथ्वीको चरम दोहन गरेको, ओभरसूट गरेको, इकोसिस्टम खलबल पारेको र प्लानेटोरी सीमारेखा नाघेको अवधि त जम्मा पचास वर्षमात्रै भएको देखिन्छ। 'जिओलोजिक टाइमलाइन'को लाखौँ करोडौँ वर्षसम्म अर्थात् यतिका लामो समयावधिमा प्राकृतिक रूपले सन्तुलन–असन्तुलन–सन्तुलनजस्तो 'इभोलुसनरी’ प्रक्रिया हुँदै अघि आएको पृथ्वीको गतिशीलता र स्थिरीकरणमा अडिएको जीवन प्रणाली 'एन्थ्रोपोजिनिक' क्रियाकलापले गर्दा विस्फोट हुने गरी खतरामा परेको देखिन्छ। 

पृथ्वीमा रहेका साधन स्रोत, प्राकृतिक वस्तु र प्रणालीहरूका पनि सीमारेखा हुन्छन्, सोही सीमाभित्र रहेर नै 'इकोलोजी'ले 'नेचुरल सेलेक्सन'को माध्यमबाट 'सेल्फ रेगुलेसन' गरी जीवन प्रक्रिया सन्तुलनमा चलाउने गर्दछ। तर मानिसहरूको उपभोगको असीमित दबाबका कारण प्राकृतिक स्रोतहरू हराएर प्रणाली नै विलोपनको खतरामा जाने डर बढ्दै छ। 

यसरी पृथ्वीमा स्वचालित रूपले अर्थात् 'इकोलोजी सेल्फ रेगुलेट' भई नियमित रूपले उत्परिवर्तन बढाउन सक्ने गरी कायम भएको प्रकृतिको यसै प्रणालीगत वस्तु तथा सेवा उत्पादन गर्ने र उपलब्ध गराउन सक्ने सीमा, थ्रेसहोल्ड, चौहद्दी, चार किल्ला, लक्ष्मण रेखा र धान्न सक्ने उच्चतम क्षमता बिन्दु वा दबाब थेग्न सक्ने परिधिगत ढाँचालाई गणितीय प्रारूपमा ढालेर तयार गरेको (क्वेन्टिफाइड) मोडललाई वैज्ञानिकहरूले प्लानेटोरी सीमा भनी नामकरण गरेका हुन्। 

बढ्दो जनसङ्ख्या र अर्थतन्त्रको क्षमता निर्धारण गर्नका लागि 'क्लब अफ रोम'का तर्फबाट जार्गेन रेन्डर र डोनेला मिडोसमेत गरी सत्र जना अर्थशास्त्रीहरूले लिमिट टु ग्रोथ (सन् १९७२) सोध प्रकाशन गरेपछि पृथ्वीमा रहेका स्रोत साधनहरूको सञ्चय सीमित मात्रामा रहेका तर मानवीय आवश्यकता भने असीमित हुने भएकाले भविष्यमा अन्तरपुस्ताका स्रोतहरूउपर संकटजन्य अवस्था आउने भनी अर्थशास्त्रको दिगो स्वरूप निर्धारण गर्न महत्त्वपूर्ण सुझाव पेस गरेका थिए। 

सोही समूहले नै 'बियोन्ड द लिमिट' भनी सन् १९९२ र सन् २००४ मा अर्को सोध प्रकाशन गरी पृथ्वीमा रहेको प्राकृतिक संसाधन, उपभोगको स्तर, जनसङ्ख्या वृद्धि, खाद्य उत्पादन, औद्योगीकरण र प्रदूषणजस्ता छ वटा 'भेरिएबल'को अध्ययन गरी कम्प्युटरीकृत डब्लू–३ मोडलमा प्लानेटोरी सीमाको कार्य ढाँचा प्रस्तुत गरेका थिए। यसैको निरन्तरतामा हालै जोयिता गुप्ता र जोन रकस्ट्रमले नेतृत्व गरेको विज्ञ समूहले ‘पृथ्वीले धान्न सक्ने क्षमताको परिमाणात्मक ढाँचा–२०२३’ प्रकाशन गरेका हुन्। 

यो ढाँचालाई 'स्टकहोम रेजिलेन्स सेन्टर'का प्रमुख डा. सारा कोर्नेलले उपयोगी भनेकी छन्। खासमा यसरी पेश भएको सीमा फ्रेममा हेर्दा उनीहरूले पृथ्वीको स्वसञ्चालन/स्वनियमन हुने महत्त्वपूर्ण आठ वटा मूल चालक तत्त्वमध्ये 'एरोसोल लोडिङ' बाहेक अन्य सात वटाले सीमारेखा छोएको वा सोको नजिकै रहेको वा कतिपयले त सीमा पार पनि गरिसकेको अवस्था हुँदा पृथ्वीले यस्तो थप दबाब झेल्न नसकी ज्वरो आई बिरामी भएको भन्ने निष्कर्ष दिएको छ।

कसरी भएको छ सीमा उल्लंघन?
अर्थ कमिसनका उल्लिखित शोधकर्ताहरूका अनुसार पृथ्वीका स्रोत साधनहरू सीमित छन् र यी एक आपसमा अन्तरसम्बन्धित छन्।  नियमित चक्रमा हुने यस्ता प्रणालीगत अन्तरसम्बन्धमा कहीँ कतै असन्तुलन हुँदा समग्र इकोसिस्टम नै खतरामा पर्ने डर हुने हुन्छ। त्यसले बृहत्तर तहको आम विनाश (मास एक्स्टिङ्सन) सृजना गर्छ। अहिलेकै ओभरसुटको अवस्था निरन्तर हुने हो भने छैटौँ आम विनाश हुन धेरै समय पर्खिनु नपर्ने भनी शोध समूहले सचेत गराएको छ। 

जोन रक स्ट्रमको समूहले अहिलेको अवस्थामा के सुझाएको छ भने पृथ्वीको 'क्यारिङ क्यापासिटी'को  सीमा अतिक्रमण गर्ने कार्य मानिसहरूले नै गरेका हुन्, मानिसबाहेक रुख बिरुवा, माछा, बाघ, मृग वा अन्य जीवजन्तु वा 'नेचुरल फेनोमेना'हरूले खासै बिगार गरेका छैनन्। यसर्थ, मानिसहरू नै अब सुध्रनु पर्छ, मानिसहरू एउटा सीमामा बस्नुपर्छ। बिरामी भएको पृथ्वीलाई पुन: स्वस्थ, ऊर्जावान् र उत्पादक बनाउन जरुरी छ। प्रस्तुत शोधमा आठ वटा प्लानेटोरी सीमाको विद्यमान अवस्थाबारे यसरी परिचर्चा भएको देखिन्छ।

१) पृथ्वीको तापक्रम सीमा 
ऐतिहासिक रूपमा जलवायु परिवर्तन पहिले पनि हुने गरेको हो। पहिले यो कार्य प्राकृतिक रूपमा भई आफैँ सन्तुलनमा आउने गरेको थियो। तर अहिले जलवायु परिवर्तनको मूल कारण मानवसिर्जित औद्योगीकरण र अधिक 'फोसिल ऊर्जा' जलनबाट पैदा भएको कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडहरूको कारण नै समस्या निम्तेको हो। विगत बीस लाख वर्षयताको सबैभन्दा बढी भई वायुमण्डलमा कार्बन डाइअक्साइडको तह सन् २०२३ मे महिनामा ४२२ पीपीएम पुगेको छ।

जलवायु वैज्ञानिकहरूका अनुसार कार्बन डाइअक्साइडको प्लानेटोरी लिमिटको मात्रा ३५० पीपीएमसम्म हो, जसले गर्दा आउँदो शदीमा तापक्रमलाई औसत १.५ डिग्री सेल्सियसभित्रको सीमित थ्रेसहोल्डमा राख्न सकिन्छ। तर अहिले यो सीमा पार हुनेगरी तापमान १.१ डिग्री सेल्सियसको उकालोतिर आएको देखिन्छ। अहिले उक्त ४२२ पीपीएम कार्बनले वायुमण्डलको माथिल्लो तहमा सिर्जना गरेको 'रेडिएटिभ फोर्सिङ भ्यालू' ३.१ वाट प्रति वर्गमिटर देखिन्छ, जबकि १ वाट प्रति वर्गमिटरभन्दा बढी यसको मान हुन नहुने भनिएको छ। 

सन् २०३० सम्म यो तापमान 'सेफ एन्ड जस्ट' मानिए पनि यसपछि  तापमान २ देखि ४ डिग्रीतिर गयो भने भयंकर विनाशक हुनेछ। यस्तो तापमान वृद्धिले जलवायु सुरक्षा कवच (क्लाइमेट निस) पनि सीमित गर्दछ। फलस्वरूप, अनियमित वर्षा, बाढी, चक्रवातजस्ता विनाशकारी प्रलय निम्त्याउने हुन्छ, जसका कारण हरेक साल २ सय मिलियन मानिस जलवायु सिर्जित समस्यामा पर्छन्। यदि कार्बनको यो मात्रालाई डिकार्बनाइजेसन र नेट जिरो नीतिबाट सन् २०५० भित्रै घटाई ३५० पीपीएमको परिधिमा ल्याउने हो भने बल्ल जलवायु सन्तुलन तथा स्थिरीकरण हुन्छ भनिएको छ।

२) जैविक विविधताको सीमा 
पृथ्वीको समग्र इकोसिस्टम जैविक र अजैविक वस्तुको अन्तरनिर्भरताबाट अघि बढेको छ। यी एकआपसमा जोडिएका छन्। तर मानवीय क्रियाकलापले यो 'बायोस्फेयर कनेक्टिभिटी' (जल–थल जैविक महास्थान) माथि नोक्सानी गरेको छ। मुख्यतः ट्रपिकल, टेम्परेट र बोरियल जैविक महास्थानको 'इन्टिग्रेसन'ले पृथ्वीमा बाँच्नका लागि अक्सिजन, पानी र खाना उपलब्ध गराएको छ। कार्बन चक्र र त्यसको सञ्चित हुने स्थान प्राप्त भएको छ। पानीको भण्डारण र चक्रीय स्वरूप सन्तुलनमा रहेको छ। त्यही 'इन्टिग्रेसन'ले माटोको उर्वरापन र गुणस्तर कायम गरेको छ साथै परागसेचन सम्भव हुने गरेको छ। 

विगत पचास वर्षयता जैविक प्रणालीमा व्यापक अपूरणीय खलल पुगेको छ। मलेसियन र अमेजनजस्तो विशाल जंगलमा विनाशको दर तीव्र बढेको छ। प्रतिवर्ष १० मिलियन हेक्टर वन क्षेत्र विनाशको चपेटामा परेको छ। वैज्ञानिकहरूका अनुसार विश्वको ५०–६०% 'बायोस्फेयर रिजन इन्ट्याक्ट' राखिनुपर्छ। यो प्लानेटोरी लिमिट हो, तर हाल 'बायोस्फेयर इन्ट्याक्ट' ४५% मात्रै छ। यो सुरक्षित भए पनि खतराजन्य अवस्थामा छ। 

अझ दक्षिण एसियामा यो बायोस्फेयर इन्टिग्रिटी जम्मा २२ प्रतिशत भएकाले निकै खतराजन्य अवस्थामा पुगेको बताइन्छ। बायोस्फेयरको प्लानेटोरी लिमिटका लागि प्रतिवर्ग किलोमिटरमा कम्तीमा २०% भूभाग हरियाली हुनु जरुरी छ, तर यो अवस्था कमजोर छ। यसरी नै जैविक विविधताको प्राकृतिक विलोपन दरको थ्रेसहोल्ड बढीमा १० (दश) प्रजाति प्रतिमिलियन प्रतिवर्ष तोकिएको छ। तर पृथ्वीमा सबभन्दा विडम्बनाका रूपमा देखिएको यो बिलोपन दर एक हजार प्रजाति प्रतिमिलियन प्रतिवर्ष देखिन्छ। यो अवस्था 'सीमारेखा' नाघेको, अत्यन्त डरलाग्दो र भयावह अवस्था हो।  

३) जैविक–रासायनिक चक्रको सीमा
पृथ्वीमा हालसम्म फेला परेका ११५ वटा रासायनिक पदार्थमध्ये प्रमुख रूपले जीवनोपयोगी रासायनिक पर्दाथका रूपमा कार्बन, नाइट्रोजन र फस्फोरसलाई मानिन्छ। अहिले औद्योगिक र कृषि उत्पादनका कारण यस्ता तत्वबाट भएको रासायनिक प्रदूषण पचास गुणा बढी देखिन्छ। यी तत्त्वको सीमारेखा अन्तर्गत कार्बनको कुरा त माथि आयो नै, तर नाइट्रोजनको पनि उत्तिकै महत्त्वपूर्ण सीमा तोकिएको छ। खासगरी वायुमण्डलमा धेरै अनुपातमा रहने नाइट्रोजन ६२ मिलियन टन प्रतिवर्षसम्म ह्रास वा उपयोग गर्नु पर्नेमा मानवीय क्रियाकलापका कारण १५० मिलियन टन प्रतिवर्षका दरले विस्थापन वा ह्रास भइरहेको छ। यो निकै अस्वाभाविक हो। 

यसरी नै जमिनबाट 'सर्फेस रन अफ' हुँदै फस्फोरस समुद्रमा मिसिन जाँदा ११ मिलियन टन प्रतिवर्षका दरको सीमाभित्र हुनु पर्नेमा दोब्बर मात्रामा मिसिएको छ जसले समुद्री जैविक प्रणालीमा असन्तुलन निम्त्याएको देखिन्छ। यसले के देखाउँछ भने कृषि प्रणाली अन्तर्गत किसानले प्रयोग गरेको फस्फोरस तत्त्व माटोभित्र अडिन सकेको देखिन्न र माटोले क्रमशः उर्वराशक्ति गुमाउँदै गएको छ जसका कारण खाद्य उत्पादन घट्दो छ। 

४) समुद्रको अम्लीयकरणको सीमा 
समुद्री प्रणालीको नियमितताका लागि अर्को महत्त्वपूर्ण पदार्थ क्याल्सियम कार्बोनेट हो। समुद्रमा हाइड्रोजन आयन बढी भएर अम्लीयकरण भएकाले यो पनि बढेको छ, क्याल्सियम कार्बेनेट २.७५ को मानकभित्र हुनु पर्नेमा २.९० पुगेको देखिएको छ। अहिलेका लागि यो सुरक्षित देखिए पनि भविष्यलाई खतरा बढ्दो छ।  

५) 'ग्लोबल फ्रेस वाटर एरिया'को सीमा
अधिक पानीको उपभोग स्तरले गर्दा पृथ्वीमा पिउने पानीको अभाव सिर्जना हुने दिन अब टाढा छैन। अहिले ८ खर्ब मानिसका लागि चाहिने खानेपानी भूमिगत तह र हिम क्षेत्रबाट उपलब्ध भएको छ। अन्टार्क्टिका र ग्रीनल्यान्डको हिउँ तीव्र दरले पग्लिएको छ। फ्रेस वाटरको आपूर्ति हुने लिमिट ४ हजार घन किलोमीटर प्रतिवर्ष रहेकोमा हाल यो स्तर २६ सय घनकिमि प्रतिवर्ष पुगेको छ। 

याे केवल केही समयका लागि मात्र सुरक्षित देखिन्छ। तर जनसंख्या १० खर्ब पुग्नासाथ यो सीमा नाघ्छ र पिउने पानीको हाहाकार मच्चिन्छ। यसरी नै संसारका नदी प्रणाली अवरुद्ध भएको देखिन्छ। हरेक नदी बेसिनमा कम्तीमा पनि २०% पानी बहाव कायम गर्नै पर्छ, तर जलविद्युत, सिँचाइ वा खानेपानी लगायतका परियोजनाहरूका कारण नदी प्रणाली सुक्खा बनाइएको छ। अहिले कतिपय ठूला ठूला अन्तर-बेसिन पथान्तरण गरी नदी प्रणाली नै लोप पारिएको छ। भूमिगत पानीको अधिक उपभोगले पृथ्वीको अक्षको झुकाव यताउति सरेको हो कि भन्नेजस्ता कुरा पनि अध्ययनहरूमा आएका छन्। यसर्थ यो पनि सीमाबाहिर गएको देखिन्छ।

६) लेन्ड सिस्टम परिवर्तन र बायोमासको सीमा
पृथ्वीको सतहको जैविक भूभागमा भएको क्षयीकरण एवं मरुभूमीकरणका कारण तीव्र परिवर्तन आएको छ। मुख्य रूपले  'ट्रपिकल', 'टेम्परेट' र 'बोरियल' जैविक महावासस्थानको अनुपात ८५%, ५०% र ८५% हुनुपर्ने भनी तोकिएको सीमारेखा उल्लंघन भएको छ। 'ट्रपिकल वन प्रणाली' घटेर ६२% मात्र रहेको छ। यो डरलाग्दो अवस्था हो। 

७) ओजोन तहको विनाशको सीमा 
वायुमण्डलको 'स्टाटोस्फेयर' तहमा रहेको र सौर्य विकिरणबाट बचाउने ओजोन झिल्लीमा प्वाल परेको हामीले सुनेको कुरा हो। ध्रुवीय क्षेत्रमा ओजोन तहको विनाशको दरमा अहिले केही कमी त आएको छ तर पूर्ण सुरक्षित भइसकेको छैन।

८) वायु प्रदूषण र 'एरोसोल लोडिङ'को सीमा
फोसिल ऊर्जा जलन (कोइला, दाउरा, गेसोलिन आदि) बाट उत्पन्न हुने वायु प्रदूषणले गर्दा हावाको गुणस्तर निकै तल झरेको छ। विश्व स्वास्थ्य संगठनले खास गरी शहरी क्षेत्रमा वायु प्रदूषणका कारण हुने रोगव्याधिबाट प्रतिवर्ष ८ मिलियन मानिसको ज्यान जाने गरेको बताएको छ। शहरी र ग्रामीण क्षेत्रको हावामा पीएम २.५ को विश्वव्यापी औसत घनत्व १५ माइकोग्राम प्रतिघनमिटर देखिएको छ। यो सीमारेखाको नजिकै छ जुन हाललाई सुरक्षित भनिए पनि भविष्यमा खतराको तहमा नै देखिन्छ।

प्लानेटोरी सीमाको पुनर्स्थापना कसरी गर्ने?
जलवायु परिवर्तनको विषय हेरिरहेका संयुक्त राष्ट्रसंघीय निकायहरू यूनेप, आइपीसीसी र डब्लूएमओले सुझाएअनुसार अब विश्वव्यापी रूपले फोसिल ऊर्जा प्रयोग पूर्णतः बन्देज गर्ने कार्य नै तापमान घटाउने पहिलो उपाय हो। सबैभन्दा मूल कुरो, पेरिस सहमतिपत्रको १.५ डिग्री तापमानको स्थिरीकरण नै प्रभावकारी हुने भनिएको छ जसका लागि हरित ऊर्जा रूपान्तरण, नेट जिरो लक्ष्य र 'डिकार्बनाइजेसन' प्राथमिकताका उपायहरू हो भनिएको छ। धनी देशहरूले ओभरसूट बन्द गर्नुपर्छ, अर्थतन्त्रको 'डिग्रोथ' पनि गर्नुपर्ने हुन सक्छ। 

अहिलेकै अवस्थामा ओभरसूट र अधिक उत्पादन–उपभोग अर्थ प्रणाली बढाउने हो भने अमेरिकालाई मात्रै थप पाँच वटा पृथ्वी चाहिन्छ, जबकि हामीसँग एउटा मात्रै पृथ्वी बाँकी छ र समग्र बायोस्फेयरको पुनर्बहाली गर्नुपर्छ। जंगल, नदी र समुद्री पारिस्थितिक प्रणालीलाई बृहत्तर रूपमा पुनर्भरण गर्नुपर्छ। साथै जैविक विविधता संरक्षणमा ठूलो प्रयास गरी प्रजाति लोप हुनबाट बचाउनु पर्छ। पृथ्वीको राम्रो स्वास्थ्य एवं यस ग्रहको पुनर्जीवन्तताका लागि यी सबै काममा ठूलो धनराशि खर्चेर भए पनि मानिसहरूको इमान्दार र सामूहिक प्रयास आवश्यक रहेको यूनेप, आइपीसीसी र डब्लूएमओले औँल्याएका छन्। 

 


सम्बन्धित सामग्री