Tuesday, April 30, 2024

-->

इतिहास
किन ओझेलमा पारिइन् पृथ्वीनारायण शाहकी नेवार रानी?

भक्तपुरका राजा रणजीत मल्लले मितछोरा पृथ्वीनारायण शाह आफ्नो दरबारमा पाहुना भएर बसेको समय उनको सेवाका लागि नेवार जातिकी कन्या ‘उपहार’ दिएका थिए। ती कन्या नै उनकी नेवार रानी हुन्।

किन ओझेलमा पारिइन् पृथ्वीनारायण शाहकी नेवार रानी

पृथ्वीनारायण शाह जति सुरो र साहसी थिए, उनका बुवा राजा नरभूपाल शाह त्यस्ता थिएनन्। एउटा सानो पहाडी राज्य गोरखालाई विस्तार गरेर विशाल राज्यको राजा बन्ने महत्त्वाकांक्षा पूरा गर्न पृथ्वीनारायण शाह सफल भए। उनको यस अभियानमा छोरा राजकुमार बहादुर शाह र बुहारी राजमाता राजेन्द्रलक्ष्मीको पनि योगदान रहृयो।

नरभूपालकै समयमा पनि गोरखा राज्य केही विस्तार भएको थियो। नरभूपालले नुवाकोट र तनहुँ कब्जा गरी गोरखा राज्य विस्तार गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेका थिए। तर, उनी यी दुवै अभियानमा सफल हुन सकेनन्। 

यस्तो असफलताबाट उनी जीवनको उत्तराद्र्धमा पूरै निराश र बेचैन थिए। उनको मन टुट्यो, अनि उदास रहन थाले। उनको खुशी फर्काउन अनेक पूजापाठ र आध्यात्मिक अनुष्ठानहरू गरिए। उनको विछिप्तता बढ्दै गएपछि कतै कसैसँग मितेरी लगाए ग्रहदशा काटिन्छ कि भन्ने विचार पनि गरियो ( दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः२६५–६६)

नरभूपालका चार रानी थिए। तीमध्ये माहिली रानी कौशल्यावतीको कोखबाट पृथ्वीनारायणको जन्म भएको थियो। साहिँली रानी बुद्धिमती र कान्छी शुभद्रावतीबाट पनि सन्तानहरू जन्मे। तर, जेठी महारानी चन्द्रप्रभावतीबाट भने कुनै जायजन्म भएन।

नरभूपाल मानसिक चिन्ताले विक्षिप्त हुँदै जाँदा उनी गोरखा राज्यको राजकाजमा पूर्णरूपमा उदासिन रहन थाले। दरबारमा बसेर राजकाजमा सक्रिय हुनुको सट्टा प्रायः एक जना नोकर केटो लिएर जंगलतिर बस्ने गर्थे। राजाको यस्तो अवस्थाबाट राज्यको काम भएन भनी त्यसबखतका काजी महेश्वर पन्थले त उनको मुकुट युवराज पृथ्वीनारायणलाई पहिर्‍याउनुपर्ने आवाजसमेत उठाए। तर, उनको यस्तो प्रस्तावउपर नरभूपालका काकाहरू र चौतारिया जहाँगिर शाहले विरोध गरे। 

गोरखा दरबारमा यस्तोसम्म अवस्था आइपुग्दा रानी चन्द्रप्रभावती राजकाजमा हस्तक्षेप गर्न अघि सरिन्। उनले आफ्ना विश्वासी भारदार भानु जोशीलाई लगाएर राजाका साथ जंगल घुम्ने नोकर केटोलाई हातमा लिइन्। अनि नरभूपाललाई दरबार बोलाई आफ्नो वशमा राखेर गृहप्रबन्ध गरेकी थिइन् (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः९७)

नरभूपालकी जेठी रानी आफ्नो समयमा शक्तिसम्पन्न थिइन्। चतुर पनि भएकीले बालककालमा पृथ्वीनारायणलाई काम सिकाउने सघाउने उनैले गरेकी थिइन्। नरभूपालको निस्क्रियताले राजकाजको सम्पूर्ण काम उनैको हातबाट हुन्थ्यो। पृथ्वीनारायणलाई बेजोडको प्रेरणा मिलेको थियो (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः१६)

जेठी आमाको यस्तो प्रेरणाबाट पृथ्वीनारायणले सानैदेखि राज्यका महत्त्वपूर्ण काममा सहभागिता जनाएका थिए। उनले त्यही बेलादेखि गोरखाको विजय यात्राका योजनामा हात हाल्न शुरू गरिसकेका थिए। 

भक्तपुरबाट नेवार कन्या उपहार
पृथ्वीनारायणले राजकाज चलाउन थालिसकेका थिए। बिरामी बुवाको दशाग्रह कटाउन रानी चन्द्रप्रभावतीको निर्देशनअनुसार नरभूपालको मितेरी प्रस्ताव बोकेर पृथ्वीनारायण भक्तपुर दरबार पुगे। तर, भक्तपुरका राजा रणजित मल्ल गोरखाका राजा नरभूपालसँग मितेरी लगाउन राजी भएनन्। बरु, उनले आफ्ना ब्याइते रानीतिरका एक मात्र छोरा युवराज वीरनरसिंह मल्ललाई पृथ्वीनारायणसँगै मित लगाइदिएर गोरखा राज्यसँग परस्पर मित्र सम्बन्ध गाँसे (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ४९–असोज २०३८ः१०)

पृथ्वीनारायणले आधिकारिक रूपमा दुई जनासँग विवाह गरेको देखिन्छ। तीमध्ये मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी र गोरखपुरका ठाकुर दयाराम सिंह (कतै अहिराम सिंह)की छोरी नरेन्द्रलक्ष्मीसँग विवाह भएको थियो। तर, उनले भक्तपुरकी एक नेवार कन्यालाई पनि दरबारमा भित्र्याएका थिए। ती रानीबारे भने कमै चर्चा हुने गरेको छ।

पृथ्वीनारायणलाई उनका मितबुवा रणजित मल्लले ती नेवार कन्या उपहारस्वरूप प्रदान गरेका थिए। उनले वि.सं. १८०३ मा आफ्नो दरबारमा पाहुना भएर बसेको समय मितछोरा गोरखाली राजा पृथ्वीनारायणलाई उनको सेवासुसारका लागि नेवार जातिकी मैजुकन्या ‘उपहार’ दिएका हुन्।

पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या उनको भित्रिनी (उपरानी) बनिन्। नुवाकोट आएको दुईतीन वर्षपछि उनलाई क्षयरोगले समात्यो। बाँच्ने आशा नहुँदा उनैको इच्छाअनुसार पृथ्वीनारायणले देवघाटको बाटो गरी बनारसतिर रवाना गराए। 

त्यसबेला तनहुँका राजाहरू हिउँद लागेपछि जाडो छल्न आफ्नो जमिन्दारीमा रहेको तराईको चम्पारन (अहिले भारत) मा घाम ताप्न जान्थे र वसन्तको आरम्भमा तनहुँको राजभवनमा फर्कन्थे। त्यसैबेला तनहुँका राजा त्रिविक्रम सेन देवघाटनेर जोगिमारामा थिए। नुवाकोटबाट रक्षकहरूका साथ डोलीमा आएकी पृथ्वीनारायणकी यी मैजु भित्रिनीलाई देखेर उनी त्यहाँ पुगे। अनि, रानी चढेको डोलीको झापन खोली मुख हेरेर छाडिदिए। यसलाई पृथ्वीनारायणले आफ्नो ठूलो अपमान सम्झे। उनी रिसले चुर भएर त्रिविक्रम सेनलाई दण्ड दिने निर्णय गरे (आचार्य, २०६१ः२०८)

यो घटनाको बदला लिन पृथ्वीनारायणले लमजुङ राज्यलाई फुटाएर तनहुँसँग आधाआधा बाँड्ने भनी त्रिविक्रम सेनलाई सम्झौताका लागि निःशस्त्र ज्यामिरघाट आउन निम्तो पठाए। तर, पृथ्वीनारायणले आफ्ना भारदारहरूलाई सजग गराएर अघिल्लै रात बगरका बालुवाभित्र आफ्ना अंगरक्षकहरूको हतियार लुकाएर ठीक गरेका थिए। त्यहाँ पृथ्वीनारायण शाहको भित्रिनीको झपन खोली मुख हेरेको कुरा उठ्यो, विवाद भयो। त्यहीँ बेला गोरखालीहरूले बालुवामा लुकाइराखिएको हतियार झिके अनि त्रिविक्रम सेनलाई पक्रिएर नेल हाली गोरखा ल्याए। पछि रिस ठण्डा भएपछि पृथ्वीनारायणले त्रिविक्रमलाई छाडिदिए (आचार्य, २०६१ः२११)

बाँच्ने आशा कम भएपछि देवघाट हुँदै बनारसतिर रवाना भएकी पृथ्वीनारायणकी यी नेवार भित्रिनीको सम्भवतः बनारसमै देहान्त भयो। यसबाट हेर्दा पृथ्वीनारायण शाह नेवार राजाको मीत छोरा र नेवार जातिको ज्वाइँ पनि हुन्।

नेवार रानीतिरका सन्तान
पृथ्वीनारायण शाहका सन्तानको रूपमा आजसम्म रानी नरेन्द्रलक्ष्मीतिरका छोराहरू प्रतापसिंह शाह र बहादुर शाह अनि इन्द्रकुमारीतिरकी छोरी विलासकुमारीको मात्र चर्चा हुने गरेको छ।

काठमाडौँ वसन्तपुर दरबारको दक्षिण ढोकामा रहेको पृथ्वीनारायणको वि.सं. १८२६ को अभिलेखमा पनि ‘प्रतापसिंहः प्रथमः कनीयां ल्लोके बहादूर इति प्रसिद्ध।।५।।’ भनी उल्लेख गरेका छन् (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ सम्पा.), ‘शाहकालको अभिलेख’–२०३७ः३८१–८२)। जेठा प्रतापसिंह र कान्छा छोराका रूपमा बहादुर शाहको मात्र अभिलेखमा नाम उल्लेख गर्नुले पृथ्वीनारायणका दुई मात्र छोरा हुन् भन्ने कुरा लोकलाई देखाउन खोजिएको छ।

तर, पृथ्वीनारायण शाहकी यी नेवार भित्रिनीतिरबाट पनि एक छोराको जन्म भएको थियो। उनको नाम नरसिंह (रणसिंह) थियो। उनी प्रतापसिंह शाहको राज्यकालमा दरबारका एक चौतरिया थिए।

पृथ्वीनारायणले आफ्नो जीवनकालमा आफ्ना अनौरस पुत्र (नेवार्नी पत्नीतर्फका छोरा) नरसिंह (रणसिंह)लाई खास महत्त्व दिएनन्। रणसिंहले किशोरावस्थामा प्रवेश गरिसकेपछि मात्र राजा प्रतापसिंह शाहको पालामा दरबारमा सक्रिय हुने अवसर पाएका थिए। त्यसबेला प्रतापसिंहले आफ्ना सहोदर भाई बहादुर शाहलाई उपेक्षा गरेका थिए। प्रतापसिंह राजा भइन्जेल बहादुर शाहले दरबारमा टेक्ने अवसर पाएनन्। उनी निर्वासित अवस्थामा थिए (बाबुराम आचार्य ‘श्री ५ प्रतापसिंह शाह’–२०६०ः९३)

पृथ्वीनारायणकै समयमा बनेको र हाल नुवाकोट दरबारमा राखिएको दुई रानीसहित उनको शालिक। (स्रोतः विकिपिडिया)

प्रतापसिंह राजा भएपछि नेवार्नी पत्नीतिरका छोरा रणसिंह चौतारा भएपछि दरबारका अधिकारसम्पन्न भारदार भए। राजकुमार नरसिंह शाह राजाका कान्छा भाइको हैसियतले रणसिंह शाहका रूपमा परिणत भए। राजा प्रतापसिंहका सहोदर भाइ राजकुमार बहादुर शाह भने बोलिचालीमा ‘माहिला साहेब’को नाममा चिनिन थालेको पाइन्छ (आचार्य, २०६०ः९४)। 

एक पत्रमा रणबहादुर शाहले बहादुर शाहलाई ‘माहिला बाबा’ भनी सम्बोधन गरेको पाइएको छ। दरबारका मूलकाजी सर्वजित राना मारिएर राजेन्द्रलक्ष्मीलाई पनि थुनामा राखिसकेपछि बहादुर शाहले नायबी लिन्छन्। त्यसपछि वि.सं. १८३५ भदौ ११ बुधबार बालक राजा रणबहादुर शाहले भारदारहरू योगनारायण मल्ल तथा ब्रजबासी पाँडेको नाममा लालमोहर जारी गर्दा ‘सर्वजित रानाले अकर्म गर्‍यो र काटियो मुलुकको भंनु श्रीमाहिला बाबालाइ बक्स्यौं इनैका मार्फत सित मामिला गर’ भन्ने उल्लेख गरेका छन् (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’–२०५५ः३१)

पृथ्वीनारायणले आफ्नो जीवनकालभरि नेवार्नी पत्नीतिरका छोरालाई लोकलाई चिनाउन आवश्यक ठानेको देखिँदैन। फलतः इतिहासमा पृथ्वीनारायणका दुई मात्र छोरा प्रतापसिंह र बहादुर शाह भए भन्ने स्थापित हुन पुग्यो। ल्याइता नेवार्नीतिरका छोरा उपेक्षित हुँदै पृथ्वीनारायणको जीवनकालभरि ओझेलमा परिरहे।

नेवारसँग सम्बन्धः पहिले शत्रु, पछि सम्धी
पृथ्वीनारायणको जसरी भक्तपुरका युवराजसँग मितेरी साइनो र नेवार समुदायसँग ससुराली सम्बन्ध स्थापित भयो, उसैगरी ललितपुरका नेवार प्रधानहरूसँग उनको सम्धी नाता कायम भएको देखिन्छ। उनका छोरा प्रतापसिंह शाहले एक नेवार कन्या ल्याइताका रूपमा दरबार भित्र्याएका थिए। उनीतिरबाट प्रतापसिंह शाहका दुई छोरा विदुर शाही र शेरबहादुर शाहीको जन्म भएको थियो। प्रतापसिंहकी नेवार भित्रिनी पाटनका काजी खलककी छोरी थिइन्।

रणबहादुरको शासनकालमा दरबारमा एक जना काजी त्रिभुवन प्रधान थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले चौतरिया शेरबहादुर शाहीलाई काजी त्रिभुवन प्रधानको भानिजा भनेका छन्। रणबहादुर स्वदेश फर्केपछि सरकारी ढुकुटीको १८ हजार रूपैयाँ निकाली राज्यलाई अनावश्यक रूपमा नोक्सान गराएको सम्पूर्ण दोष काजी त्रिभुवनमाथि थोपरी उनलाई विष्णुमती नदीमा लगेर काट्न आदेश दिएका थिए। 

वास्तवमा रणबहादुरले भीमसेन थापाको चालबाजीमा परेर त्रिभुवनका भानिज मूल चौतारा शेरबहादुर शाहीको तेजोवध गर्न यस्तो आदेश दिएका थिए (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापाः यिनको उत्थान र पतन’–२०६९ः६३)। यसबाट काजी त्रिभुवन प्रधान प्रतापसिंह शाहका नेवार मैजुका दाजु वा भाइ थिए भन्ने स्पष्ट हुन्छ। 

वि.सं. १८५५ मा आफ्ना छोरा गिर्वाणयुद्धविक्रम शाहलाई राजा बनाउन दरबारका भारदारहरूलाई तावापत्र गरिदिँदा त्यहाँ हस्ताक्षर गर्नेमध्ये काजी त्रिभुवन प्रधान पनि एक थिए। तावापत्रमा हस्ताक्षर गर्नेहरूको तीनपुस्ताको नाम उल्लेख गरिएको छ। त्यहाँ उनका बाजेको नाम धनवन्त र बाबुको नाम वीरनरसिंह भन्ने उल्लेख छ (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः११०)

गोरखालीले तीनपटक कीर्तिपुर आक्रमण गर्दा काजी धनवन्त त्यहाँका मुख्य जिम्मेवार व्यक्ति थिए। उनका छोरा वीरनरसिंहलाई गोरखालीहरूले अपहरण गरी कठोर यातनाका साथ नुवाकोटमा राखिएको थियो। गोरखालीहरूले भगिडु ठानामा प्रवेश गरी काजी वीरनरसिंहसहित अर्का एक जना सरदारका छोरालाई अपहरण गरेरका थिए। 

अपहरणमा परेका दुवैलाई तादी नदीमा डुबाएर सास्ती दिइएको थियो। त्यस क्रममा एक जना सरदारका छोराको भने मृत्यू भएको थियो। वीरनरसिंहलाई नेल ठोकेर पहराका साथ त्रिशूलीको साँघुमा राखिँदा उनी एकपटक त्यहाँबाट मर्न वा उम्कन फाल हानेका थिए। तर, गोरखालीहरूले बचाए। 

पृथ्वीनारायणले वीरनरसिंहलाई ‘तेरा बाबुलाई झिकाउन म चिठ्ठी लेख्छु, तँ पनि चिठ्ठी पठाउँदै गर्। तेरा बाबु हाम्रा हजुरमा हाजिर भएपछि तेरा बाबु र तँलाई बक्सिस दिउँला’ भनेपछि वीरनरसिंहले आफ्ना बाबु धनवन्तलाई गोरखालीको शरणमा आउन बारम्बार चिठ्ठी लेखे। अपहरित छोराबाट बारम्बार यस्तो चिठ्ठी आएपछि दबाबमा परेका थिए। त्यही दबाब झेल्न नसकेर उनले कीर्तिपुरका ढोका खोलिदिएका थिए (नेपाल देशको इतिहास, ‘प्राचीन नेपाल’ सङ्ख्या २२–माघ २०२९ः१८)

कीर्तिपुर हात परेपछि पृथ्वीनारायणले वीरनरसिंह मार्फत् धनवन्तलाई नुवाकोट बोलाए। धनवन्त ललितपुरबाट मुस्किलले उम्केर सपरिवार नुवाकोट पुग्दा ललितपुरका राजा र मन्त्रीहरूबाट उनको सर्वश्वहरण भयो। पछि धनसम्पति र खान्गीसहित ललितपुरको काजी बनाइए। अनि, पूर्वजातीय समाजबाट अलग गराउन पृथ्वीनारायणले धनवन्तलाई ‘खासमा रहने’, अर्थात् खवास उपाधि दिएका थिए (आचार्य, २०६१ः३०६–७)

पछि धनवन्त सिंह पूर्णरूपमा गोरखाली पक्षधर भगे। वि.संं. १८२५ असोज २४ गते गोरखालीले बिनारक्तपात ललितपुर अधिनमा ल्याउँदा काजी केहरसिंह बस्नेतका साथ धनवन्त सिंह पनि ललितपुर पुगेका थिए। ललितपुर गोरखालीको पूर्ण अधिनमा आएपछि यस क्षेत्रको प्रमुख प्रशासकका रूपमा धनवन्त नै नियुक्त भए (बाबुराम आचार्य, ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’–२०६३ः१६४)। 

पछि पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहले उनै वीरनरसिंहकी छोरी विवाह गरेका थिए। वीरनरसिंहका छोरा त्रिभुवन प्रधान कुनै बेला दरबारमा शक्तिशाली काजी हुन पुगेका थिए।


सम्बन्धित सामग्री