Tuesday, April 30, 2024

-->

इतिहास
सेनकालका दुई साहसी रानी

कुनै बेला हाल नेपाल राज्य रहेको भूमिमा निक्कै ठूलो सेन राज्य थियो। नेपालभन्दा दक्षिणका चोल राजाका भारदार रहेका श्रेणिकहरू नै पछि सेन भएका थिए। उनीहरू नेपाल आएर राज्य स्थापना गरी शासक भए।

सेनकालका दुई साहसी रानी

ऐतिहासिक अभिलेखमै उल्लेख भएका प्राचीन नेपालका रानीहरूको चर्चा चल्दा सबैभन्दा धेरै आउने नाम मानदेवकी आमा राज्यवतीको हो। लिच्छविकालकी यी रानी आफ्ना पति राजा धर्मदेवको अप्रत्याशित मृत्युको खबरले विह्वल हुँदै त्यसबेलाको धर्मसंस्कारअनुसार सती जान खोजेकी हुन्छन्। तर युवराज मानदेवले उनलाई अनेकन बिन्ती बिसाएर सती जानबाट रोकेको प्रसंग मानदेवले वि.सं. ५२१ को चाँगुनारायणमा ठड्याएको शिलालेखमा उल्लेख छ।

मध्यकालका रानीहरूमा देवलदेवी, राजल्लदेवी, नायकदेवी, योगमती आदि चर्चित छन्। शाहकालका रानीहरूमा चन्द्रप्रभावती, राजेन्द्रलक्ष्मी, ललितत्रिपुरसुन्दरी आदिको इतिहासमा चर्चा हुने गरेको छ। तर, नेपालमा लामो समय राज्य गरेका सेनवंशका रानीहरूको चर्चा गरिएको त्यति पाइँदैन। उनीहरूले कुनै न कुनै रूपमा भूमिका निर्वाह नगरेका भने पक्कै होइन।

यो लेखमा नेपालमा विभिन्न राज्यमा लामो समयसम्म शासन गरेका सेनवंशका दुई रानीको चर्चा गरिएको छ।

नेपालको सेन राजवंश
कुनै बेला हाल नेपाल राज्य रहेको भूमिमा सेनहरूको निक्कै ठूलो राज्य थियो। सेनहरू भारतबाट नेपाल आएर राज्य स्थापना गरी शासक भएका थिए।

सेन शब्द ‘श्रेणिक’को पर्याय मानिन्छ। श्रेणिकहरू चोल राजाका भारदारका रूपमा प्रख्यात थिए। उनै श्रेणिकहरू नै पछि गएर सेन भएका हुन्। दक्षिणका चोलवंशीय राजाहरू शक्तिशाली हुँदासम्म श्रेणिकहरू भारदार नै थिए। चोलहरूको शक्ति घटेको बेला श्रेणिकहरू सामन्तका रूपमा स्थापित हुन थाले। चोल राजाहरूले कलिङमाथि विजय गर्दा सामन्त श्रेणिकहरू पनि चोलहरूसँगै युद्धमा सहभागी भई उत्तरतिर प्रवेश गरेका थिए।

दक्षिणतिरका स्थानीय सामन्तका रूपमा रहेर पनि उत्तरतिर पसेपछि उनीहरूको खानदान बढेकोले शासकका रूपमा व्यवहार गर्न थालिए। बिस्तारै शासककै रूपमा स्थापित भएपछि सेन भन्न थालिए। वि.सं. १२५८ मा मुसलमानहरूले कलिङको उत्तरी भागमा आक्रमण गरी सेनहरूलाई पराजित गरेपछि हारेका सेनहरूमध्ये ज्यानको माया हुनेहरू पूर्व बंगालतिर लागेर त्यतै बसे। त्यहाँ पनि मुसलमानहरूले लखेटेपछि युद्धमा बचेकाहरू दलबलसहित उत्तरी पहाडतिर पसे। यतैतिर गढी बनाएर शासन चलाउन थाले (राजाराम सुवेदी, प्राचीन नेपाल, संख्या १४७–असार २०५८ः४२)

सेन राजाहरूमध्ये मुकुन्द सेन (प्रथम) निक्कै पराक्रमी थिए। उनी महत्त्वाकांक्षी पनि थिए। उनको शासनकाल वि.सं. १५७५ देखि १६०० सम्म मानिएको छ। उनले पाल्पालाई सैनिक दृष्टिले मजबुत पारी आफ्नो पूर्वजले स्थापना गरेको सानो राज्यलाई विस्तार गरेका थिए। अर्कोतिर उनले पूर्वी तराई प्रदेशमा राज्यविस्तार गरी यस क्षेत्रको अस्तित्वसँग जोगाएका थिए। यिनले काठमाडौँ उपत्यकाका प्रशिद्ध राजा यक्ष मल्लको मृत्युपछि विभाजित तथा अस्थिर हुन पुगेको उपत्यकामा पटकपटक आक्रमण गरेका थिए। पाल्पालाई उनले निक्कै ठूलो राज्यमा परिणत गरेका थिए (टेकबहादुर श्रेष्ठ, कन्ट्रिब्यूसन टू नेपालिज् स्टडिज्, वर्ष १४ अंक ३–अगस्ट १९८७ः२०७–८)

मुकुन्द सेनभन्दा चार पाँच पुस्तामाथि धर्म पाल र उनका बाबु गज ब्रह्म थिए। सेन वंशका पहिला राजा धर्म पाल भएजस्तै सेनहरूको आदिपुरुष गज ब्रह्म हुन्। पाल्पाली सेनहरूले पहिले ब्रह्म, त्यसपछि पाल र त्यसपछि मात्र सेन लेख्न थालेको देखिन्छ। पाल्पाली सेनवंशका पूर्वज गज ब्रह्मले १५औँ शताब्दीको पूर्वाद्धताका राजप्रतिनिधिको हैसियतले रिब्दिकोटमा शासन चलाएका थिए (मोहनप्रसाद खनाल, सेनराज्यको राजनैतिक इतिहास–२०६१ः१५–१८)

राजा मुकुन्द सेन (प्रथम) आफ्नो जीवनको उत्तराद्र्धमा राजर्षिको रूपमा रिडी, देवघाट, बराहक्षेत्र, हरिहर क्षेत्र आदि धार्मिक स्थलहरूमा तपस्या गर्दै हिँड्न थाले। उनले आर्जन गरेको विशाल राज्य उनैका छोरानातिले भागबण्डा लगाए। तीमध्ये जेठा छोरा माणिक सेन पाल्पा, माहिला विनायक सेन बुटवल, साहिँला भृंगी सेन तनहुँ र कान्छा लोहाङ सेन मकवानपुरका राजा भए। यस्तै, नाति राम सेन रिसिङ, कुवेर सेन राजपुर र खड्ग सेन मदरियाका राजा बने। आफ्ना बाबुको मृत्युपछि लोहाङ सेनले वि.सं. १६१७ सम्म कोशी नदीदेखि पूर्व टिस्टासम्मको भूभागको मकवानपुरमा बसेर शासन चलाएका थिए (सुवेदी, २०५८ः४३)

मकवानपुरका राजा लोहाङ सेनको मृत्युपछि उनका नाति हरिहरइन्द्र सेन (वि.संं १७१८–१७४१)को समयसम्म विजयपुर मकवानपुर अन्तरगत नै पर्थ्यो। उनकी जेठी रानीतिरका छोरा छत्रपतिइन्द्र सेनको राजा हुन नपाउँदै निधन भयो। तर छत्रपतिको छोरा विधाताइन्द्र सेनको जन्म भइसकेको थियो। 

हरिहरइन्द्रले छत्रपतिका छोरा विधाताइन्द्रलाई युवराज घोषित नगरी अर्की रानीतिरका छोरा शुभ सेनलाई उत्तराधिकारी घोषणा गरिदिए। बाजेको यस्तो निर्णयविरुद्ध विधाताइन्द्रले आफ्नो दलबलसहित विजयपुर क्षेत्र कब्जा गरे। त्यसपछि मकवानपुर राज्य टुक्रियो। कोशीपूर्व विजयपुर छुट्टै राज्यका रूपमा स्वतन्त्र भएर देखा पर्‍यो। शुभ सेनले ललितपुर, भक्तपुर र गोरखाको सहयोगमा विधाताइन्द्रबाट विजयपुर खोस्ने प्रयास गरे पनि पूर्णरूपमा सफल हुन सकेनन् (डा. राजाराम सुवेदी, प्राचीन नेपाल, संख्या १४७–असार २०५८ः४४)। 

यसरी मकवानपुर राज्य दुई टुक्रामा विभाजित भएपछि मकवानपुरमा शुभ सेन र विजयपुरमा विधाताइन्द्र सेन शासन गरिरहेका थिए।

तर आफ्ना मन्त्रीहरूकै छलकपटमा परेका शुभ सेन र विधाताइन्द्र सेन दुवैलाई पूर्णियाका नबाब इस्कन्दर खाँले कैद गरे। उनीहरूलाई बन्दी बनाएपछि ती नवावले मोरङको ठूलो भाग कब्जामा लिए। यस्तो विकट स्थितिमा शुभ सेनका नायव प्रवोध दास शुभका दुई छोरा महिपति (मान्धाता) र मानिक सेनलाई लिएर किरात प्रदेशमा शरण लिन पुगेका थिए। 

विजयपुरका चौतरिया विद्याचन्द्र रायको मद्दतबाट उनीहरूले नबाबले खोसेर लगेको पैतृक सम्पत्ति फिर्ता पाए। पछि शुभ सेनका दुई छोराबीच राज्य बाँडिदा मकवानपुर राज्य अन्तर्गत नै पहाडतिर सिन्धुुलीको पौवागढीदेखि पूर्व अरुण कोशीसम्म रहेका सुनकोशीदेखि दक्षिणसम्मको माझ किरातलाई चौदण्डी प्रदेश बनाइयो। दुधकोशीदेखि अरुणसम्मको माझ किरात पनि चौदण्डीमै सम्मिलित थियो। हालको उदयपुरदेखि दक्षिणतिरको भावरमा नयाँ राजधानी चौदण्डी बन्यो। शुभ सेनका दुई छोरामध्ये जेठा महिपति सेन कमलादेखि पूर्व विजयपुरको राजा बने। कान्छा मानिक मकवानपुरका राजा भए (साफल्य अमात्य, प्राचीन नेपाल, संख्या ४९–५२ पुस २०३५–साउन २०३६ः१५–१८)

महारानी इन्दुराजराजेश्वरीको शासन
सेनवंशी रानीहरूको चर्चा गर्दा मदिधाता इन्दुराजराजेश्वरीको नाम चर्चित छ। उनी विधाताइन्द्र सेनकी रानी हुन्। आफ्ना काका मकवानपुरका राजा शुभ सेनसँगै विजयपुरका राजा विधाताइन्द्र पनि मुगलहरूको अपहरणमा परेपछि रानी इन्दुराजराजेश्वरीले अपहरित राजा छुटाउन र आफ्नो राज्यको भूभाग उनीहरूबाट फिर्ता लिन हारगुहार गरेकी थिइन्। 

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः१८–१९)मा उल्लेख गरेअनुसार त्यसबेलाका प्रभावशाली राजा शुभ सेनले आफ्नो राज्य मकवानपुरमा योग्य मन्त्री नभेटेपछि तनहुँका राजा दिग्विजय सेनसँग मागेर परशुराम थापा र प्रद्युम्न उपाध्ययलाई मन्त्रीका रूपमा ल्याएका थिए। तर यी दुवै नमकहराम निस्के। यिनीहरू शुभ सेन र उनका भतिजा विधाताइन्द्र सेनलाई पक्रेर ल्याउन मुगल नायब नबाब इस्फुन्दियार खानको षड्यन्त्रमा सामेल भए।

जनकपुर आसपासमा शुभ सेन घेरिए। उनलाई छुटाउन उनका भतिज विधाताइन्द्र सेन विजयपुरबाट त्यहाँ पुगी शुभ सेनलाई छुटाए। त्यसपछि हर्षबढाइँ भइरहेको बेला प्रद्युम्नका एक नातेदार कालु उपाध्यायले यी दुई काका भतिजलाई पक्राउ गरी इस्फुन्दियार खानलाई बुझाइदिए। दुवैलाई दिल्ली चलान गरियो। सेनहरूको अधिपत्यमा रहेको दक्षिणी क्षेत्रको ज्यादा भूभाग मुगलहरूले कब्जामा लिए। दुवैलाई जबरजस्ती मुसलमान गराएर जात पतित गराइयो।

महारानी इन्दुराजराजेश्वरीले वि.सं. १७६३ मा जारी गरेको मोहर (प्राचीन नेपाल, संख्या ४)

उनीहरूलाई उद्धार गरेर सेन राजवंश जोगाउन विधाताइन्द्र सेनकी रानीले लिम्बू भारदारहरूलाई गुहारेकी थिइन्। त्यसबेला दक्षिण भारतबाट फर्कंदै गर्दा दिल्लीका नबाब औरङजेबको बाटैमा मृत्यु भयो। पूर्णिया र दरभंगामा रहेका मुगल अफिसर लिएर इस्फुन्दियार खान दिल्लीतर्फ लागे। लडाइँमा औरङजेबका प्रतिनिधि छोरा आजम शाहको मृत्यु भयो। सेनहरूको दक्षिणी भूभाग लिएर बसेका मुगलहरू हटेपछि विजयपुर र मकवानपुरका मन्त्रीहरूले एकापसमा सल्लाह गरी शुभ सेनका अमरावतीपट्टिका छोराहरूमध्ये मान्धाता (महिपति)लाई विजयपुर र माणिक्य (मानिक) सेनलाई मकवानपुरको राजा बनाइ शान्ति कायम गराएका थिए। 

रानी इन्दुराजराजेश्वरीले त्यसबेला विजयपुरका लिम्बू भारदार चेम्जोङ राय लगायतका लिम्बूहरूलाई सहयोगका लागि आह्वान गरेको ऐतिहासिक पत्र जनकलाल शर्माले ‘प्राचीन नेपाल’ संख्या ४ (२०२५ साउनः३४–३५)मा प्रकाशमा ल्याएका छन्। वि.सं. १७६३ आश्विनमा लेखिएको यो पत्रको व्यहोरा यस्तो छः

।।श्री लहा श्री..........जी।।
।।स्वस्ति श्री रूपनारायणेत्यादिविविधविरुदावलिविराजमान मानोन्तममहाराजा श्री हिन्दुपति राजराजेश्वर श्री मदिधाता इन्दराजराजेश्वरी श्री श्री महारानी जीवदेवीनां सदा शोभागतिहाबीत्री शचीनाम
चेमजेगराये यई आवाराये इन्दराये छगमीराये माजीम राये वाआजी राय गवात्रा राये शीहा राय श्री.....
के आशीषपूर्वक पत्रमीदं कार्जन्च आगे पूर्वमह नीमकह
राम ही धुम उठी वभूते रामकीश्न थापाले मेजल हैतो
पान्चपत्र दरशन तो कीत शोभा शुवा मजकुरकर
लह्रो बरीके हानतुजाहि महतोदरे शवके जश होय से कर
त इती सम्वत् १७६३ साल माहआशीच वदो ६ गद रोमो र जीतपुर पारवानगी धम्मागत दुअरीआं....

इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः५०–५१) मा पत्रको सरलीकरण गरेका छन्। पत्रको  व्यहोरा यस्तो छः
उप्रान्त प्रथम पत्र यो छ कि, आजदेखि उता पूर्वमा मेरो हक केही रहेन। धुमधाम लडाइँ गर्न पर्‍यो। यहाँबाट रामकृष्ण थापा पठाएका छौँ। सामो राय सुभाको ताम्रपत्र हेरियो। तिमी सामो राय सुभालाई निश्चय कर लाग्ने रहेछ। दुश्मनमाथि झट्टै हमला होओस् भनी म चाहन्छु। मेरो र तिमीहरू सबैको जय होस।

सेन राजाहरूमाथि भएको डरलाग्दो आक्रमण, उनीहरूको अपहरण र सेन राज्यको भूभाग दक्षिणका नबाबबाट कब्जा गरिएको अवस्थामा चेम्जोङ राय लगायतका नाममा सहयोगको याचना गर्दै राजा विधाताइन्द्र सेनकी महारानीबाट उक्त पत्र लेखिएको देखिन्छ। 

त्यसबेला सेन राज्यबाट मुगलहरूले अधिपत्य जमाएका दक्षिणी भेगका भूभाग फिर्ता गराउन चेम्जोङ रायको नेतृत्वमा चौबिस, दक्षिणी पाँचथर, छथर, फाकफोक, मिकलुङ, जलरा, बेल्हारा, खाल्साबाट फौज उठाएर सेन राज्यको दक्षिणी भूभागमा आधिपत्य जमाएर बसेका मुसलमान फौजलाई भगाएर जलालगढ कटाएका थिए (चेम्जोङ, २०५९ः५१)

यसरी लिम्बू भारदारहरूको सहयोगमा नबाबहरूले सेन राज्यबाट अधिपत्य जमाएको भूभागहरू फिर्ता गराउन इन्दुविधाता राजराजेश्वरी सफल भएकी थिइन्।

इतिहासकार शिवकुमार श्रेष्ठले ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०५२ः४६)मा उल्लेख गरेअनुसार नबाबहरूको सेनालाई लखेटेर जलालगढ कटाएपछि लिम्बू भारदारहरूले यी रानीलाई विजयपुरको राजसिंहासनमा राखेका थिए। उनले वि.सं. १७६३ देखि १७८२ सम्म शासन गरेकी थिइन्। 

उनको नामबाट जारी भएको पत्रमा उल्लेख भएको उनको प्रशसस्तमा ‘श्री रूपनारायणेत्यादिविविधविरुदावलिविराजमान मानोन्तममहाराजा श्री हिन्दुपति राजराजेश्वर श्री मदिधाता इन्दराजराजेश्वरी श्री श्री महारानी जीवदेवीना’ उल्लेख भएबाट त्यो समय विजयपुरको राज्याधिकार उनकै हातमा थियो भन्ने पनि स्पष्टै बुझिन्छ।

सेनराज्य फर्काउने रानीको प्रयास 
वि.सं. १८३० साउनमा गोरखालीहरूले चौदण्डी आक्रमण गरेपछि त्यहाँका राजा कर्ण सेन ज्यान बचाउन परिवारसहित भागेर विजयपुर पुगेका थिए। त्यहाँका राजा कामदत्त सेनको हत्यापछि शासनाधिकार आफ्नो हातमा लिएर बसेका विजयपुरका चौतारिया बुद्धिकर्ण रायले कर्ण सेनलाई नै विजयपुरको थपना राजा बनाए। गोरखालीहरू साउन महिनाकोे कोशीको उर्लंदो भेल हात्तीबाट तरेर विजयपुरतिर बढेपछि छिमेकीहरूबाट आवश्यक सहयोग जुटाउने उद्देश्यका साथ चौतारिया बुद्धिकर्ण तत्कालीन कम्पनी सरकारको मातहतमा रहेको पूर्णियातिर लागेका थिए।

विजयपुरमा बसेर राज गरिरहेका राजा कर्ण सेन त्यहाँ पनि धेरै दिन टिक्न सकेनन्। उनी आफ्नी रानी र एक्लो बालक छोरालाई लिएर विजयपुरबाट भागी पूर्णियातिरै पुगेका थिए। त्यहाँ पुगेर पनि चुप लागेर बसेनन्। उनले आफ्ना पूर्वपरिचित इस्ट इण्डिया कम्पनी पूर्णियाका हाकिम पिक्ककसँग गोरखालीविरुद्ध गुहार मागे। गोरखाली राजाले आफ्नो दश १२ गाउँ लुटेर लगेकोले यसबापत गोरखाली राजालाई सजाय गर्न उनले पत्र लेखी गुहार मागेका थिए। 

तर इस्ट इण्डिया कम्पनीका तर्फबाट कर्ण सेनले अपेक्षाकृत  जवाफ पाएनन्। त्यसपछि इस्ट इण्डिया कम्पनीलाई फकाउन विजयपुरमा व्यापारका लागि कोठी खोलेर देश सुधार गरिदिन आग्रह गर्दै आम्दानीको १० आनी कम्पनी सरकारले र आफूले ६ आनी पाउने प्रस्ताव गरेर पत्र पठाए। १८ महिना पर्खेर बस्दा पनि उनले कम्पनी सरकारबाट कलकत्ता आउने निम्तो पाएनन्। त्यसबीचमै कर्ण सेनको हत्या भयो। यो खबर पाएका कम्पनी सरकारका अधिकारी पिक्ककले उनको पाँच वर्षको छोरालाई कलकत्ता लगेर किरात राज्यको राजभार उनको नाममा राख्ने विचार गरे। यसरी कर्ण सेनका छोरा दिवान भुवनेश्वर उपाध्ययलाई कलकत्ता लगिएको थियो (चेम्जोङ, २०५९ः८९–९०)

पूर्णियामा राजा कर्ण सेनको हत्यापछि पनि पृथ्वीनारायण शाहले परिचालन गरेका गोरखाली जाजुसहरूले उनका पाँच वर्षका छोरालाई पनि बाँच्न दिएनन्। त्यसबेला ती पाँच वर्षका बालक बिरामी थिए। बिफर रोगको उपचार गर्ने निहुँ गरी ती राजपुत्रकै आमाको सल्लाह लिएर एउटा हात पाछ्न सक्ने सिपालु ब्राहृमणलाई ती बालकको हात पाछ्न लगाए। हात पाछेको निहुँले केही दिनपछि नै ती राजपुत्र बालकको मृत्यू भयो। त्यस कामका लागि पृथ्वीनारायण शाहले नै ती ब्राह्मणलाई कलकत्ता पठाएका थिए र काम तमाम गरेपछि त्यहाँबाट उनी सुटुक्क नेपाल पसेका थिए (फ्रान्सिस ह्यामिल्टन, एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल–सन् १८१९ः१४१–४२)

कर्ण सेनले कम्पनी सरकारको सहयोगमा आफ्नो राज्य फिर्ता लिन सकेका थिएनन् नै, उनको बालक छोरा पनि जिवित रहेनन्। कर्ण सेनकी रानीले भने हिम्मत हारिनन्। आफ्ना पति र छोरा दुवै गुमाएपछि उनले पाल्पाली राजा मुकुन्द सेन (द्वितीय) सँग विजयपुरमा सेन राज्य पुनःस्थापनाका लागि एक जना राजकुमार पठाइदिन अनुरोध गरिन्। विधवा रानीको इच्छा बमोजिम यी पाल्पाली राजाले याचनापत्र लिएर आएका विजयपुरका भारदार स्वरूपसिंह कार्कीका साथमा छोरा ध्वजवीर सेनलाई अवधको बाटो गरी विजयपुर पठाएका थिए (खनाल,२०६१ः६३)

राजकुमार ध्वजवीर सेनलाई दबाउन गरिएको युद्धमा भाग लिएबापत सरदार अंगद घलेले जग्गाजमिन पाएको वि.सं. १८४९को लालमोहर। स्रोतः भगिराज इङ्नाम

त्यसबेला पहिले माझकिरातमा रहेर काम गरिसकेका र पछि त्यहाँबाट पलायन भई गोरखाली सैन्य सेवामा प्रवेश गरेका स्वरूपसिंह कार्की दरबारमा बहादुर शाहको उदयपछि विजयपुरबाट भागेर पूर्णिया पसेका थिए। त्यहीँ बसेर उनी फेरि सेन राज्य फर्काउने उद्योगमा लागेका थिए। यसका लागि कलकत्ता, धर्मा (भुटान), सिक्किम आदि ठाउँमा पुगिरहेका थिए। उनकै प्रवन्धबाट कर्ण सेनकी रानीले पाल्पाली राजकुमार ध्वजवीर सेनलाई मोरङदेखि दक्षिण मैथिली ब्राह्मणको जमिन्दारीको धूमगढ भन्ने ठाउँमा राखेकी थिइन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत–२०५२ः२३)। उनले ध्वजवीरलाई धर्मपुत्र बनाएकी थिइन्।

कर्ण सेनकी रानी र स्वरूपसिंह कार्कीको विजयपुर फिर्ता गर्ने योजनालाई कुटनीतिक रूपमा विफल बनाउन गोरखाली वकिलका रूपमा दिनानाथ उपाध्याय कलकत्तामा सक्रिय थिए। उनैले कम्पनी सरकारसँग सहयोगको याचना लिएर स्वरूपसिंह र ध्वजवीर कलकत्ता पुगेको, तर उनीहरूले कम्पनी सरकारबाट सहयोग नपाएको खबर काठमाडौँ पठाएका थिए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ५१–चैत २०३८ः८)। यो खबर पाएपछि तत्कालीन राजमाता ढुक्कले बसेकी थिइन्।

तर गोरखालीहरूले ध्वजवीर सेनको पनि हत्या गरिदिए। उनी कहिले मारिए भन्ने मिति स्पष्ट हुने सामग्री पाइएको छैन। तर केही अनुमान गर्ने आधारहरू पाइन्छन्।

इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ५८ (चैत २०४०ः४३)मा प्रकाशित गरेको पत्र संख्या ९ मा विजयपुरका तत्कालीन सुब्बा योगनारायण मल्ललाई राजा रणबहादुर शाहले लेखेको पत्रमा ‘उप्रान्त पाल्पाली साहेव र सरूप साथ जो मानिस रह्याका थिया कलाकत्ताको मद्दत नपाउँदा र षर्चले हलाक हुदा भागि भागि जान लाग्या भनि विंति पठायाछौ भलो’ उल्लेख छ। तर यसमा पत्र लेखिएको मिति उल्लेख छैन। पूर्णिमाको सोही पूर्णाङ्कको पृष्ठ संख्या ३९ मा प्रकाशित योभन्दा ठीक अघिल्लो पत्र (संख्या ८) वि.सं. १८३७ भाद्र वदी ३ रोग ६ मा लेखिएको हुँदा ध्वजवीर सेन वि.संं १८३७ साल वा त्यसको केही समयपछिसम्म सक्रिय रहेको देखिन्छ।

इतिहास शिरोमणि आचार्यले पूर्णिमाको पूर्णाङ्क ५१ (२०३८ः९)मा विजयपुरमा रहेको अमरसिंह थापाले एक कम्पनी सैनिक पठाइ चतरामा रहेका ध्वजवीर सेन र उनका १८ जना आठपहरियाको एकै चिहान गराइदिए भन्ने उल्लेख गरेबाट ध्वजवीर सेनको हत्या विजयपुर नजिकै सप्तकोशी किनारामा रहेको चतरामा भएको देखिन्छ। आचार्यले यो प्रकरण उल्लेख गर्नुअघि सिरानचोकमा गोरखालीले लडेको युद्धको प्रकरणको मिति वि.सं. १८३८ माघ २५ उल्लेख गरेबाट यो मितिभन्दा पछि अर्थात् वि.सं. १८३८ फागुन वा चैतमा गोरखालीहरूले ध्वजवीरको हत्या गरेको अनुमान गर्न सकिन्छ। 

सरदार अंगद घलेले वि.सं. १८४९ असारमा पाएको जागिरबापतको लालमोहरमा विजयपुरमा पाल्पाली साहेब ध्वजवीर सेनको प्रकरण उल्लेख छ। ध्वजवीरलाई दबाउने युद्ध हुँदा उनले त्यसमा भाग लिएको र त्यसको स्याबासीबापत जग्गा जमिन प्रदान गरिएको लालमोहरमा उल्लेख छ।


सम्बन्धित सामग्री