Friday, April 19, 2024

-->

इतिहास
ललितत्रिपुरसुन्दरीः भीमसेन थापाको कठपुतली

मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ। उनको नामबाट शिव मन्दिर निर्माण भएका कारण मन्दिरको नाम त्रिपुरेश्वर महादेव राखियो। यसैबाट यस ठाउँको नाम पनि त्रिपुरेश्वर रहन पुग्यो।

ललितत्रिपुरसुन्दरीः भीमसेन थापाको कठपुतली

कहिले आफूले असाध्यै मन पराएको रानीको कुरामा लागेर आफू जीवितै हुँदा सम्पूर्ण राज्यभार आफ्ना नाबालक छोरालाई दिएर संन्यासी बन्ने, पछि फेरि राज्याधिकार आफ्नो हातमा पार्न अनेक वितण्डा मच्चाउने रणबहादुर शाह आफूमाथि खतरा आइपर्ने छनक पाएर विसं. १८५७ जेठ ८ गते पुल्चोकबाट रातारात भागी बनारस पुगेका थिए। नेपाली इतिहासमा स्वामी महाराज भनी चिनिएका उनी तीन वर्ष बनारसमा निर्वासित जीवन बिताएर नेपाल फर्केपछि आफ्नो छोराको हातबाट राज्याधिकार खोसेर फेरि राजकाजमा सक्रिय भए। बनारस निर्वासनको समयमा उनको अनन्य सहयोगीका रूपमा भीमसेन थापा सक्रिय थिए।

जोगीको भेष धारण गरे पनि रणबहादुर शाह भोगी राजा थिए। आफ्नी प्रिया रानी कान्तवती बितेको केही समयपछि नै उनले पाटनबाट ल्याइएकी लक्ष्मीदेवी नामकी कन्यालाई बिनाविवाह दरबार भित्र्याएका थिए। बनारस बस्दा मुसलमान युवती महताबलाई पत्नी बनाएका उनले नेपाल प्रवेश गरेपछि चन्द्रावती, अमरराज्येश्वरी र ललितत्रिपुरसुन्दरीलाई विवाह गर्न भ्याएका थिए (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः५८)। 

तिरहुतिया मिश्र ब्राह्मण जातकी विधवा कान्तवतिप्रतिको मोहमा पर्नुअघि नै रणबहादुर शाहका राजराजेश्वरी र सुवर्णप्रभा नामका दुई रानी थिए। रणबहादुर शाहको नेपाल प्रत्यागमनसँगै सत्तामा आएका भीमसेन थापा शक्तिशाली मुख्तियारको रूपमा उदाए। उनी लामो समयसम्म नेपालको सर्वशक्तिमान् र अकण्टक अधिनायकका रूपमा सत्तामा उपस्थित हुन पुगे। विसं. १८६३ वैशाख १४ गते राति एक कचहरीमा आफ्नै सौतेला भाइ शेरबहादुर शाहीको तरबार प्रहारबाट रणबहादुर शाहको प्राण पखेरु उड्यो। 

रणबहादुर शाहको हत्यापछि राजराजेश्वरी तथा सुवर्णप्रभालगायत रानी सतीका रूपमा पोलिँदा ललितत्रिपुरसुन्दरी भने सती जानबाट रोकिएकी थिइन्। यसमा भीमसेन थापाको ठूलो राजनीति थियो। भीमसेन थापाको लामो शासन टिक्नुमा उनै ललितत्रिपुरसुन्दरीको प्रमुख हात थियो। विसं. १८८८ मा ललितत्रिपुरसुन्दरीको मृत्यु भएसँगै भीमसेन थापाको पतनका दिन पनि शुरू भए। 

भतिजी नायव महारानी, ठूलोबुबा मुख्तियार
इतिहासकारहरूको अनुमानअनुसार ललितत्रिपुरसुन्दरी भीमसेन थापाकी भतिजी हुन्। इतिहास शिरोमणि बाबुराम आचार्यले ‘जनरल भीमसेन थापा: यिनको उत्थान र पतन’ (२०६९ः३)मा उल्लेख गरेअनुसार भीमसेन थापाका भाइ काजी नयनसिंह थापाले काजी रणजित पाँडेकी राजकुमारी नामकी छोरीसँग विधिपूर्वक विवाह गरेका थिए। सम्भवतः उनै पाँडेकी छोरीका तर्फबाट ललितत्रिपुरसुन्दरीको जन्म हुन पुगेको थियो।

नेपालका त्यति बेलाका प्रभावशाली काजी भीमसेन थापाले स्वार्थवश विसं. १८६२ फागुन २६ गते १४ वर्षको कलिलो उमेर पनि पार गरी नसकेकी ललितत्रिपुरसुन्दरीको रणबहादुर शाहसँग विवाह गरिदिएका थिए। स्वामी महाराज रणबहादुर शाहको मृत्यु हुनुभन्दा अढाई महिना पहिले मात्र यो विवाह सम्बन्ध स्थापित भएको थियो। राजभवनभित्र आफ्नो पकडलाई बलियो बनाउन भीमसेन थापाले आफ्नी किशोरी भतिजीको विवाह स्वामी जीवन ग्रहण गरिसकेका भूतपूर्व राजा रणबहादुर शाहसँग सम्पन्न गराइदिने भित्री चाँजोपाँजो मिलाएका थिए। यस अर्थमा किशोरी ललितत्रिपुरसुन्दरी यथार्थमा ‘स्वामिनी’ थिइन्, ‘रानी’ वा ‘महारानी’ पनि थिइनन्। तैपनि यिनलाई ‘महारानी’ नै भनिन थालियो (आचार्य,२०६९ः१९४)।

ललितत्रिपुरसुन्दरीको जन्म मितिबारे केही अनुमानहरू छन्। आचार्य (२०६९ः७३)ले पुगनपुग ८ वर्षका राजा गीर्वाणयुद्धविक्रम शाह राजगद्दीमा रहेका बेला यिनका संरक्षक पुगनपुग १४ वर्षकी किशोरी महारानी ललितत्रिपुरसुन्दरी रहेकी थिइन् भन्ने उल्लेख गरेबाट रणबहादुर शाहको हत्या भएको वर्ष विसं. १८६३ सालको हिसाबबाट हेर्दा त्यस बेलाका बालक राजा गीर्वाणयुद्धविक्रमको संरक्षकको रूपमा भूमिका प्राप्त ललितत्रिपुरसुन्दरीको जन्म विसं. १८४९ मा भएको अनुमान हुन्छ। 

बगाले थापा खलकका विभिन्न व्यक्तिहरूको जीवनी प्रकाशमा ल्याउने अर्का लेखक राजेश्वर थापाले ललितत्रिपुरसुन्दरीलाई बगाले थापाकै छोरी–चेलीको रूपमा उल्लेख गरेका छन्। उनले आफ्नो पुस्तक ‘नायब महारानी ललितत्रिपुरसुन्दरीदेवी शाह (थापा)’ (२०६०ः६) मा उनको जन्म साल विसं. १८४८ देखि १८५३ को बीचमा भएको अनुमान गरेका छन्। 

विसं. १८६० मा रणबहादुर शाह स्वदेश फर्केपछि ललितत्रिपुरसुन्दरीसँग उनको विवाह भएको हो। सन् १८२५ (विसं. १८७९) को धरहराको अभिलेखअनुसार उनी रणबहादुर शाहकी पटराज्ञी (राजासँगै अभिषेक नगरिएकी) को रूपमा चित्रित छिन् (गंगा कर्माचार्य (हाडा), ‘कन्ट्रीब्यूसन्स् टू नेपालिज् स्टडिज’ वर्ष २७ अंक २–जुलाई, सन् २०००ः२६९)। 

यताबाट हेर्दा नेपाल दरबारको तत्कालीन राजमाता तथा राजाका नायबका रूपमा काम शुरू गर्दा ललितत्रिपुरसुन्दरी राजनीतिमा त्यति सुझबुझ र विवेक प्रयोग गर्न नसक्ने किशोरी रहेकी देखिन्छिन्। यी किशोरी राजमाता र त्यसमा पनि आफ्नै भतिजीको हातमा राज्याधिकार हुँदा राजनीतिमा परिपक्व भीमसेन थापालाई त्यस बेला सर्वशक्तिमान् अधिनायक बन्नबाट रोक्न सक्ने सामर्थ्य कसैको पनि थिएन। ललितत्रिपुरसुन्दरीको हातमा नायबी भएदेखि उनको मृत्यु नहुन्जेलसम्म विसं. १८६३ देखि १८८८ सम्म लगातार २५ वर्षसम्म बिनाबाधा व्यवधान भीमसेन थापालाई नेपालको शासन सञ्चालन गर्न एकलौटी छुटको अवसर मिल्न पुगेको थियो।

गीर्वाणयुद्धकी रानीको रहस्यमय मृत्यु
भीमसेन थापाले रणबहादुर शाह, गीर्वाणयुद्धविक्रम शाह र राजेन्द्रविक्रम शाह गरी तीन राजाको राज्यकाल बेहोरे। रणबहादुर शाहको समयमा काजी भएर दरबारको प्रशासन प्रमुख हुन शुरू गरेका थापाले तीन वर्षको कार्यकाल मात्रै बेहोर्न पाए। गीर्वाणयुद्धविक्रम शाहको १९ वर्षकै उमेरमा निधन हुन पुग्यो र गीर्वाणयुद्धका छोरा राजेन्द्रविक्रम नाबालक अवस्थामै राजा भए। नाबालक राजेन्द्रविक्रम शाह राजा घोषित हुन नपाउँदै उनकी आमा महारानी गोरक्षलक्ष्मीको पनि रहस्यमय निधन हुन पुग्यो। आफ्ना पति गीर्वाणयुद्धविक्रम शाह बितेको १४ दिनको फरकमा उनको मृत्यु हुन पुगेको थियो। इतिहास शिरोमणि आचार्यले यसमा पनि राजनीतिक षड्यन्त्र हुनसक्ने संकेत गरेका छन्। यसमा पनि उनै भीमसेन थापा हाबी भएका देखिन्छन्।

विफरबाट १९ वर्षका नवयुवक राजा गीर्वाणयुद्धविक्रम शाहको विसं. १८७३ मंसिर ८ गते निधन भएको थियो। त्यस बेला यिनका छोरा युवराज राजेन्द्रविक्रम पुगनपुग तीन वर्ष थिए। बालक राजाको संरक्षक भएर प्रमुख प्रशासकका रूपमा को बस्ने भन्ने सम्बन्धमा राजमाता महारानी गोरक्षलक्ष्मी र रानी ललितत्रिपुरसुन्दरीबीच खटपट भयो। राजभवनभित्रको घरायसी विवादमा भीमसेन थापा स्वाभाविक रूपमा ललितत्रिपुरसुन्दरीको पक्ष लागे। कतिसम्म भने महारानी गोरक्षलक्ष्मीको पक्षधर भएका आफ्नै भाइ बख्तवारसिंह थापालाई उनले काठमाडौँबाट निर्वासित गरेर नुवाकोट धपाइदिए। 

गीर्वाणयुद्धको देहान्त भएको १८ दिनपछि मंसिर २६ गते मात्र युवराज राजेन्द्रविक्रम शाहको राज्यारोहण भयो। भीमसेन थापाले १८ दिनसम्म नेपालको राजसिंहासन किन खाली राखे? यो अत्यन्तै गम्भीर प्रश्न छ। गीर्वाणयुद्धविक्रमसँगै जेठी रानी सिद्धिलक्ष्मी सती गएकी थिइन्। यसको १४ दिनपछि नै उनकी कान्छी रानी, नाबालक छोरा राजेन्द्रविक्रमकी आमा गोरक्षराज्यलक्ष्मीको अप्रत्याशित रूपमा देहान्त भएको थियो। 

जेठी महारानी सिद्धिराज्यलक्ष्मीलाई यस लोकमा जीवित राखेमा आफ्नो स्वार्थमा बाधा पर्ने भएकोले जनरल भीमसेन थापा र यिनका सहयोगी राजगुरु रंगनाथ पण्डितले यिनलाई सतीका रूपमा परलोक पठाइएको पाइन्छ भने कान्छी महारानी गोरक्षराज्यलक्ष्मीको परलोकबास नभएसम्म बालक युवराजलाई राजसिंहासनमा विराजमान नगराउनुमा अवश्य पनि कुनै गूढ रहस्य लुकेको हुनुपर्छ (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापा: यिनलाई मैले जस्तो देखेँ’–२०६५ः३८–३९) भीमसेन थापाले वैद्यद्वारा माईखटिरा (विफर) मा विषादी प्रयोग गरेर कान्छी महारानीलाई मराएको भन्ने चर्चा त्यसबेला व्यापक चलेको थियो (नेपाल, २०५२ः१०७)। 

यसरी अनेक चालबाजीका साथ भीमसेन थापाले आफ्नै भतिजी ललितत्रिपुरसुन्दरीलाई बालक नाति राजा राजेन्द्रविक्रम शाहको नायबीलाई निरन्तरता दिन सफल भएको देखिन्छ। पहिलेका काजी भीमसेन थापाको अब राज्यमा शक्ति बढ्दै गयो। उनले आफूलाई जनरल तथा सेनाको सर्वोच्च पद 'कमान्डर इन् चिफ' घोषणा गराए।

ललितत्रिपुरसुन्दरीको नायबीमा बालक राजा गीर्वाणयुद्धविक्रम शाहको भाकामा विसं. १८६९ मंसिर सुदी १३ रोज ४ मा भीमसेन थापाको नाममा उनलाई निक्कै ठूलो शक्ति र अधिकार हुने गरी एक 'मोहर' जारी गरियो। उनले पाएको मोहरमा राज्यका सबैले उनको खटनमा चल्नुपर्ने उल्लेख गरिएको छ। मोहरमा लेखिएको छ: 

आगे जनरल भीमसेन थापाके आजसम्म परिआयाका काज काम मुष्तियारी थामी हाम्रा भर मुलुकका कंपु पल्टन कंपनी गैरहको काम काज गर्नाको सवाल गरिबक्स्यौ...

गुरु पुरोहीत चौतारा काजी कर्नल कप्तान सर्दार सुब्बा सुवेदार गैरह पगरि छोटा वडा सबै मानिस्ले तंम्रा चांजा सूरमा चली काम काज गर्नू...कंपु पल्टन कंपनि गैरह षान्या तैनाथि रहन्याले तम्रा उर्दि चांजा सल्लाहमा चल्नु जो चल्दैन तस्को तागिरि गरी सूरमा चल्न्याको बहालि गन्र्या काम गर्नू हुकूम बक्स्याको छ (चित्तरञ्जन नेपाली, ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’–२०३५ः१८–१९)।

यस्तो अख्तियारी पाएपछि भीमसेन थापा छोइनसक्नुका बनेर निस्के। यसमा उनैले कठपुतलीको रूपमा नचाउँदै आएको नायब महारानी ललितत्रिपुरसुन्दरीको प्रतापको भूमिका थियो भन्नेमा कुनै शंका छैन।

ललितत्रिपुरसुन्दरीका कीर्तिहरू 
नेपालका रानीहरूमध्ये कीर्ति स्थापनाका दृष्टिकोणले नायव महारानी ललितत्रिपुरसुन्दरी अग्रस्थानमा देखा परेकी छन्। बागमती नदीको किनारमा रहेको त्रिपुरेश्वर शिव मन्दिर पनि ललितत्रिपुरसुन्दरीको स्मारक हो। 

आफ्नै सौतेला भाइ शेरबहादुर शाहीले आफ्ना पति रणबहादुर शाहको हत्या गरेपछि  त्यसको 'मोक्ष'का लागि नाति राजा राजेन्द्रविक्रम शाहको समयमा सो शिव मन्दिर बनाएकी हुन्। विसं. १८७४ असारमा सो मन्दिरको शिलान्यास भयो र विसं. १८७५ वैशाखमा शिवलिंग प्रतिस्थापन गरियो। मन्दिर निर्माण गर्न आवश्यक सरसामानको व्यवस्था गर्ने जिम्मा भीमसेन थापा र रंगनाथ पाण्डेको थियो। मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ। उनको नामबाट शिव मन्दिर निर्माण भएका कारण मन्दिरको नाम त्रिपुरेश्वर महादेव राखियो। यसैबाट यस ठाउँको नाम पनि त्रिपुरेश्वर रहन पुग्यो (शोभा श्रेष्ठ, ‘प्राचीन नेपाल’ संख्या १५१–कात्तिक २०५९ः२७–२८)।

त्रिपुरेश्वर महादेव मन्दिरमा राखिएको शिलालेखमा ‘महाराजाधिराज श्री राजेन्द्रविक्रम शाह देवले राज्य गरिरहनुभएको बेलामा आफ्ना स्वामीको मोक्ष होस् भनी मिहिनेत गर्न लागेको श्री रणबहादुर शाह देवकी महारानी श्रीललितत्रिपुरसुन्दरी देवीले वेद विद्यामा सिपालु अनेक विद्वानहरूको मण्डलीसँग सोधपुछ गर्दा शिवलिंग आदि देवताको प्रतिष्ठा गर्नु नै ठूलो धर्म हो भन्ने निश्चय भएको हुँदा आफ्ना नातिबाट (राजेन्द्रविक्रम शाहबाट) अनुमति लिई काममा चाहिने सामग्री जुटाउन सक्न मुख्य मन्त्री भीमसेन थापालाई त्यो काममा खटाई त्यस काममा सबै विधान पूरा गर्न खटिनुभएका श्री गुरुज्यू आदि ब्राह्मणहरूले विसं. १८७४ आषाढ शुक्लनवमी सोमबारका दिन विधिपूर्वक शिलाधिवासनविधि (जगमा हाल्ने ढुंगाको संस्कार गर्ने काम) सिद्ध्याएर त्यही साल भाद्रकृष्णनवमी शुक्रवारका दिन शिलान्यास गरी विसं. १८७५ वैशाखकृष्णतृतीया वृहस्पतिबारका दिन शिवलिंग आदि देवताको प्रतिष्ठा गर्नुभयो’ भन्ने उल्लेख छ (धनबज्र बज्राचार्य (सम्पा.), ‘पण्डित सुन्दरानन्द विचरित त्रिरत्न सौन्दर्य गाथा’–२०१९ः३०५–६)।

ललितत्रिपुरसुन्दरीको अर्को कीर्ति काठमाडौँको सुनधारामा रहेको धरहरा पनि हो। वि.सं. १८८१ मा भीमसेन थापाले १२४ हात अग्लो र १८८२ सालमा ललितत्रिपुरसुन्दरीले ९० हात अग्लो धरहरा बनाउन लगाएकी थिइन्। भीमसेन थापाले बनाउन लगाएको धरहरा वि.सं. १८९० को भूकम्पले क्षतिग्रस्त हुन पुग्यो भने ललितत्रिपुरसुन्दरीले बनाउन लगाएको धरहरा वि.सं. १९९० को महाभूकम्पले क्षतिग्रस्त भयो। पछि जुद्ध शमशेरले जीर्णोद्धार गराएपछि धरहरा पुनः ठडिएको थियो (राजाराम सुवेदी, ‘प्राचीन नेपाल’ संख्या ८०–फागुन–चैत, २०४०ः१५)।

२०७२ सालको महाभूकम्पले उक्त धरहरा क्षतिग्रस्त हुन पुग्यो। पुरानो धरहरा भग्नावशेषको रूपमा रहेको छ भने त्यसको छेवैमा नयाँ धरहरा ठडिइसकेको छ। २०७२ सालमा ढलेको धरहरालाई ‘भीमसेन स्तम्भ’ भन्ने गरिए पनि यो ललितत्रिपुरसुन्दरीले बनाउन लगाएको धरहरा हो।

बागमतीमा भीमसेन थापाले विसं. १८६८ मा राखेको अभिलेखमा पनि ललितत्रिपुरसुन्दरीको बारेमा उल्लेख छ। अभिलेखमा ‘रणबहादुर शाह महाराजाधिराजका श्रीललितत्रिपुरसुन्दरी देवी कान्छा महारानी हुनुभयो। बहुत सौन्दर्यले युक्त भयाका कैलासबिषे विराजमान भयाकी साक्षात् पार्वती जस्ता श्री स्वामीज्यूले आफ्ना काखमा राखिदियाको पुत्र श्रीगीर्वाणयुद्धविक्रम शाह महाराजधिराजबिषे प्राण राखीकन नारायणका चरणाविन्दबिषे चित्त लगाई सर्वदा पुण्यकर्म गन्र्या...’ भन्ने उल्लेख छ (बज्राचार्य,२०१९ः२९६)।

त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा उनको भव्य मूर्ति पनि प्रतिस्थापित गरिएको छ। उनी महादेव मन्दिरअघि दुई हात जोडी नमस्कार गरी बसेको अवस्थामा छिन्। पुराना शाहकालीन रानीमध्ये सार्वजनिक स्थलमा भव्य रूपमा मूर्ति प्रतिस्थापित गरिएकी उनी एक मात्र रानी हुन्।

ललितत्रिपुरसुन्दरीको नाममा मुद्राहरू पनि प्रसारित भए। तीमध्ये स्वर्ण मुद्रा पनि प्रसारित भएको थियो। यिनको नाममा १७३८ (शाके)मा सुकी मुद्रा निस्केको थियो। यिनको मुद्राको अघिल्तिरको भागमा दायाबाया चन्द्रमायुक्त ‘आर्सी’ चित्र बीचमा अंकीत छ, ‘श्री ललितत्रिपुरसुन्दरीदेवी’ लेखिएको छ। यो सुकी मुद्राको साल मितिले यो यो मुद्रा महारानी ललितत्रिपुरसुन्दरीले आफ्ना नाति राजेन्द्रविक्रमको अभिभावक भई नायबीका रूपमा शासन गर्न थाल्दा निकालेको प्रमाणित हुन्छ। यिनको १७२८ (शाके) अंकीत सुनको सुकी पनि प्राप्त छ (सत्यमोहन जोशी, ‘नेपाली राष्ट्रिय मुद्रा’–२०४२ः१०५)।

ललितत्रिपुरसुन्दरीको मृत्यु, भीमसेन थापाको पतन 
प्रशासनिक कार्यमा भन्दा धार्मिक कार्यमा बढी समय दिने यी महारानीको विसंं. १८८८ चैत १६ गते निधन भयो। २५ वर्षसम्म लगातार तत्कालीन राजाको नायबी लिएर राज्याधिकारमा रहेकी उनको मृत्युपछि नेपालमा उत्पन्न हुनसक्ने राजनीतिक घटनाक्रमका बारेमा तत्कालीन कूटनीतिक नियोगका अधिकारीहरूसमेत सचेत रहेका थिए। उनको मृत्युसँगै भीमसेन थापाको पनि पतनको दिन शुरू भयो।

उनको मृत्युको घटनालाई ठूलो घटनाको संज्ञा दिएर तत्कालीन आवासीय ब्रिटिस राजदूत म्याडकले आफ्नो सरकारलाई ६ अप्रिल १८३२ मा लेखेको पत्रमा ...यसबाट भीमसेन थापाको राजनीतिक स्थितिमा प्रभाव पर्न जानुका अतिरिक्त स्थिर प्रशासन र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच पुग्न जानेछ। यो घटना राजाको उमेर पुगिसकेपछि भयो। यसबाट षडयन्त्र गर्नेहरूका लागि ढोका खुला भयो (कर्माचार्य (हाडा), जुलाई २०००ः२७० )।

ललितत्रिपुरसुन्दरीको मृत्युको ४९ वर्षपछि हेनरी एम्ब्रोस 
हेनरी एम्ब्रोस ओल्डफिल्डले ‘स्केचेज् फ्रम नीपाल’ (सन् १८८०ः३०७) पुस्तकमा ललितत्रिपुरसुन्दरीको मृत्युले भीमसेन थापाको शक्तिलाई ठूलो धक्का पुर्‍याएको उल्लेख छ। त्यसबेला स्वयं भीमसेन थापाका भाइ रणवीरसिंह थापा नै उनका विरोधी भएर निस्केका बेला ललितत्रिपुरसुन्दरीले जीवनभर भीमसेन थापा पक्षपोषण गरेर उनीविरुद्ध हुने क्रियाकलापलाई निस्तेज पार्न सहयोग गरिरहेकी थिइन् भनेर ओल्डफिल्डले उल्लेख गरेका छन्।

ललितत्रिपुरसुन्दरीको मृत्युपछिका आठ वर्षको समय भीमसेन थापाका लागि राजनीतिक रूपमा अत्यन्तै प्रतिकूल रह्यो। उनलाई विष मुद्दा लाग्यो। उनी थुनामा परे, जागिर खोसियो। फेरि एकपटक विष मुद्दामा सफाइ पाए, फेरि मुद्दा बल्झियो र उनले थुनाकै अवस्थामा आत्महत्याको प्रयास गरे। अन्ततः विष्णुमती किनारमा बेवारिसे अवस्थामा घिटघिट हुँदै उनले प्राण त्याग गरे।

बालककालमै राजा हुन पुगेका राजा राजेन्द्रविक्रम शाह जवान हुँदै गइरहेका थिए। ललितत्रिपुरसुन्दरीको मृत्युपछि दरबारमा थापा खलकका विरोधी पाँडेहरूको क्रमशः प्रवेश हुन थालेको थियो। राजेन्द्रविक्रम शाहकी जेठी महारानी साम्राज्यलक्ष्मी भने पाँडेहरूको पक्षपाती थिइन्। यसरी भीमसेन थापाको क्रमशः पतनको दिन शुरू हुँदै थिए।

राजा राजेन्द्रविक्रम शाहले विसं. १८९४ असार सुदी ११ मा कमान्डर इन् चीफ भीमसेन थापाको हातबाट सम्पूर्ण फौजी अधिकार आफ्नो हातमा लिए। यस्तै विसं. १८९४ वदी ६ मा राजेन्द्रकी जेठी महारानीतिरका ६ महिनाका कान्छा छोरा देवेन्द्रविक्रमको निधन भयो। यसमा भीमसेन थापाको हात छ भन्ने भन्ने अभियोग लगाई पदबाट बर्खास्त गरेर घर सिपाहीहरूद्वारा घेराउ गरी उनलाई पक्राउ गरी नेल ठोकी कैद गरियो। उनका पक्षधरहरू सबैको जागिर खोसियो (नेपाल, २०५२ः१०५)।

विष मुद्दामा सफाइ पाएपछि उनी काठमाडौँबाट आफ्नो पुर्ख्यौली थलो गोरखाको बोर्लाङ गएर बसे। राजदरबारभित्र विष मुद्दा बल्झिएपछि भीमसेन थापा आफ्नै बाग दरबारमा नजरबन्दमा परे भने उनकी कान्छी मुख्यानी पनि कडा कैदमा परिन्। त्यसपछि काठमाडौँमा भीमसेनकी कान्छी मुख्यानीको 'बेइज्जत' गरिने हल्ला फैलियो। यो हल्ला कैदी भीमसेनको कानमा पनि पर्‍यो। आफ्नो अपमान र बदनामी हुने डरले आवेगमा आएर उनले विसं. १८९६ साउन ८ गते आफ्नै कम्मरको खुकुरी झिकेर सेरिए। 

त्यसबेला यिनीप्रति सहानुभूति दिने पनि कोही थिएनन्। यसरी आत्महत्या गर्ने अनुचित प्रयास गरेको आरोपमा नवयुवक राजा राजेन्द्रविक्रम र महारानी साम्राज्यलक्ष्मीको हुकुमअनुसार रगतले लतपतिएको उनको अर्ध चेत शरीरलाई विष्णुमती नदीको किनारमा लगेर बेवारिस अवस्थामा फ्याँकियो। उनी पनि जीवन र मरणको दोसाँधमा रहेर घुर्रघुर्र गर्दै मध्य बर्सादको झरीमा भिज्दै स्याल, कुकुर गिद्धहरूबाट घेरिएर ९ दिनसम्म जीवित रही ६४ वर्षको उमेरमा विसं. १८९६ साउन १६ गते भौतिक रूपमा देह त्याग गरे (आचार्य, २०६५ः६२–६३)।

यसरी इतिहास हेर्दा नायब महारानी ललितत्रिपुरसुन्दरी भीमसेन थापाको कठपुतली थिइन् भन्नेमा कुनै शंका छैन।

लेखिका पनि? 
ललितत्रिपुरसुन्दरीलाई पछिल्लो समय एक लेखिका (अनुवादक)को रूपमा पनि चिनाउने र स्थापित गर्ने व्यापक प्रयास भइरहेका छन्। संस्कृतबाट नेपाली भाषामा अनुवाद गरिएको ‘राजधर्म’ नामको ग्रन्थको अनुवादक उनै ललितत्रिपुरसुन्दरी भएको उल्लेख गरेर उनलाई एक लेखकको रूपमा स्थापित गराउने काम सर्वप्रथम योगीनरहरिनाथले गरेका हुन्। पछिल्लो समय लेखक नरेन्द्रराज प्रसाईंले ‘राजधर्म’को अनुवाद ललितत्रिपुरसुन्दरीबाटै भएकोले उनी नै नेपालको पहिलो नेपाली नारी स्रष्टा भएको घोषणा नै गरेका छन्। 

प्रसाईंले ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ (२०६४ः१२)मा दाबी गरेअनुसार नेपाली भाषा साहित्यमा पहिलो पल्ट अक्षर खेलाउने नारी ललितत्रिपुरसुन्दरी हुन्। नेपाली भाषामा पहिलो चोटि कविता लेख्ने नारीस्रष्टा पनि ललितत्रिपुर सुन्दरी नै हुन्। ‘महाभारत’ संस्कृतबाट नेपालीमा अनुवाद गर्ने क्रममा सिरानमा नै उनले नेपाली भाषामा आफ्नो मौलिकता प्रस्तुत गरिन्। सिर्जनात्मक अभिव्यक्ति र अनुवाद कार्य गरेर उनले नेपाली साहित्यको नारी इतिहासको जगमा आफ्नो नाउलाई सुरक्षित राखिन् भन्ने तर्क प्रसाईंले गरेका छन्।

पछिल्लो समय ललितत्रिपुरासुन्दरीलाई नेपालको प्रथम नारी स्रष्टाको रूपमा स्थापित गर्ने ऐतिहासिक पुष्टिका लागि अन्य प्रयत्न गर्ने क्रममा प्रा.डा. वीणा पौड्यालको सम्पादनमा नईं प्रकाशनले २० जना लेखकको लेखहरूको सँगालो ‘नरेन्द्रराज प्रसाईंको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ (२०७९) नै प्रकाशित गरेको छ। 

थापाथलीस्थित ललितत्रिपुरसुन्दरीको प्रतिमा।

ललितत्रिपुरसुन्दरी के साँच्चिकै विदुषी लेखिका थिइन्? उनलाई ‘राजधर्म’ नामको ग्रन्थको अनुवादकको रूपमा स्थापित गर्न कसले कसरी पहिलो पटक काम गरे भन्नेबारे एक पटक इतिहास शिरोमणि बाबुराम आचार्यले प्रस्तुत गरेको तर्क अध्ययन गर्नु उत्तिकै जरुरी देखिन्छ। आचार्यको पुस्तक ‘जनरल भीमसेन थापा: यिनको उत्थान र पतन’ (२०६९) का सम्पादक तथा प्रकाशक प्रा. श्रीकृष्ण आचार्यका अनुसार इतिहास शिरोमणिले ‘राजधर्म’ शीर्षक कृति तथा यस कृतिकी अनुवादकको सम्बन्धमा’ शीर्षकको लेख २०१७ सालमै लेखेर यससम्बन्धी भ्रम हटाउने प्रयास गरिसकेका थिए। तर यो अप्रकाशित अवस्थामा रहेको थियो। यो लेख पुस्तकभित्र समेटिएर बल्ल २०६९ मा मात्र प्रकाशनमा आएको छ।

इतिहास शिरोमणि आचार्य (२०६९ः२०२)ले महारानी ललितत्रिपुरसुन्दरीबाट ‘महाभारत’ शान्तिपर्वअन्तर्गत ‘राजधर्म’ प्रकरणको नेपाली अनुवाद हुनु कुनै पनि हालतमा सम्भव नभएको उल्लेख गरेका छन्।

धनु काँडको शैयामा सुतेको बेला भीष्म पितामहले आफ्नो जीवनकालको अन्तिम समयमा युधिष्ठिरलाई दिएको उपदेशमा राजाहरूले पालन गर्नुपर्ने कर्तव्यहरू राजधर्ममा उल्लेख छन्। यसको नेपाली भाषामा अनुवाद गरिएको पाण्डुलिपि अनंगनाथ पौडेल नामका व्यक्तिले २०१६ सालको मध्यतिर योगी नरहरिनाथको मृगस्थलीस्थित गोरक्ष पीठमा ल्याएर दिएका थिए। पाण्डुलिपिमा कुनै अज्ञानतामा ‘रानीसाहेब’ रहेकी छिन् भन्ने संकेत भएकोले उनै रानी साहेबबारे निर्क्योल निकाल्न योगी नरहरिनाथले २०१६ मंसिर २० गते काठमाडौँमा उपलब्ध ५० जनजाति प्रतिष्ठित विद्वान तथा साहित्यकारहरूको भेला गराउँदा इतिहास शिरोमणि आचार्य पनि भेलामा उपस्थित थिए (आचार्य, २०६९ः१९२)।

पाण्डुलिपिमा कतै पनि ‘रानीसाहेब’ उल्लेख नभए पनि पुष्पिका वाक्यमा ‘अक्षर्शुद्ध गरेर जोड्नु पछि राम्रो इरानी वचन’ उल्लेख भएकोमा ‘इरानी वचन’ लाई ‘यी रानी वचन’ भन्ने भाव हेरेर अर्को पद्यमा भगवानको पाउमा निक्कै भक्ति गरी रानी साहेबको चरणमा पनि पर्याप्त सेवा गरी १७९५ साल भाद्र शुक्ल पूर्णिमाका दिन ‘भुवनानन्द’ नामका व्यक्तिले प्रस्तुत पाण्डुलिपिको प्रतिलिपि सार्ने काम गरिसकेका रहेछन् भन्ने बुझिन्छ (आचार्य, २०६९ः१९३)।

आचार्य (२०६९ः१९४) ले पाण्डुलिपिमा उल्लेखित तिथिबारे विचार गर्दै विसं. १७९५ मा युवराज पृथ्वीनारायण शाहको राज्याभिषेक पनि सम्पन्न भई नसकेको अवस्थाका साथै त्यसबेला पाण्डुलिपिमा प्रयोग भएजस्तो परिष्कृत नेपाली भाषामा लेख्ने प्रचलन पनि शुरू भई नसकेकोले १७९५ शक संवत् हो भन्ने स्पष्ट हुन आउने उल्लेख गरेका छन्। शक संवत् विक्रम संवतभन्दा १३५ वर्ष कान्छो हुँदा विसं. १९३० भाद्र शुक्ल पूर्णिमाको दिन पण्डित भुवानान्दले कृतिको प्रतिलिपि सारिसकेका रहेछन् भन्ने थाहा हुन आएको तर्क पनि आचार्यले राखेका छन्। यसलाई विचार गर्दा त्यो समय ललितत्रिपुरसुन्दरीको निधन भइसकेकै ४२ वर्ष पुगेको हुन आउँछ।

त्यस बेलाको प्रचलनअनुसार ब्राहृमण वर्गका पुरुष नागरिक तथा यदाकदा बौद्ध तान्त्रिक सम्प्रदायका पुरुष नागरिकले मात्र संस्कृत शिक्षाको अध्ययन तथा अध्यापन गर्ने चलन हुँदा क्षेत्रीय वर्गका पुरुषले पनि विरलै संस्कृत शिक्षाको अध्ययन गर्ने गर्थे। त्यसबेला नारीको र त्यसमा पनि क्षेत्रीय कन्याले लेखपढ गर्ने प्रचलन नै थिएन। त्यतिबेला नेपालमा १४ वर्षको कलिलो उमेरमै राजभवनभित्र प्रवेश गरी वैधव्य जीवन बिताउन बाध्य भई राजसी सुख सयलमा हुर्कन थालेकी ललितत्रिपुरसुन्दरीले संस्कृत भाषाका साथै संस्कृतको व्याकरणको पनि गम्भीर अध्ययन गरिन् होला र राजभवनमै कसैले शिक्षा दिएर यस्तो प्रौढ काव्य ग्रन्थको अनुवाद गरिन् होला भन्ने कल्पना नै गर्न सकिन्न। योगी नरहरिनाथले आयोजित सभामा प्रस्तुत अनुवाद कुनै रानीसाहेबबाट भएको र ललितत्रिपुरसुन्दरीको जीवनकालमा स्थापना भएका शिलालेखहरूमा पाइने भाषा र पाण्डुलिपिमा पाइने भाषामा निक्कै समानता पाइने भएकोले प्रस्तुत पाण्डुलिपि ललितत्रिपुरसुन्दरीकै रचना हुनुपर्छ भनेर तर्क पेस गरिरहँदा इतिहास शिरोमणि आचार्य चाहिँ कुनै प्रतिक्रिया नजनाई मौन बसिरहेका थिए (आचार्य, २०६९ः१९६–९७)।

योगी नरहरिनाथले उक्त पाण्डुलिपिको अनुवादिका कुनै रानी साहेब नै हुन् भन्ने मान्यतामा अडिग भई तर्क राख्ने क्रममा विसं. १६१६ मा गोरखा राज्य स्थापना भएदेखि उठान गरिएको ‘गोरखा संवत्’ हुनुपर्छ भन्ने मत राख्दै गोरखा संवतमा २६५ वर्ष जोडी विसंं १८८१ मा ललितत्रिपुरसुन्दरीबाट उक्त ग्रन्थ अनुवाद भएको हो भने। उनले ‘यो ग्रन्थको अनुवादिका ललितत्रिपुरसुन्दरी नै होइबक्सन्छ’ भन्ने निर्णय गराई निर्णय पुस्तिकामा सहमतिका लागि हस्ताक्षर गराउन शुरू गरे। सभामा राजसंस्थाका अन्धभक्तहरूको बाहुल्यता थियो। सबैले हाँमा–हाँ मिलाएर निर्णय पुस्तिकामा धमाधम हस्ताक्षर गरिदिए। तर आफ्नो अन्तर्आत्माले नमानेकोले इतिहास शिरोमणि आचार्यले भने हस्ताक्षर गर्न अस्वीकार गरिदिएका थिए (आचार्य, २०६९ः१९८–९९)।

अर्को बडो हाँस उठ्दो तर्क पनि सभामा पेस भएको थियो। सभामा उपस्थितमध्ये एक खड्ग नरसिंह राणाले ग्रन्थको अन्त्यमा पुष्पिका वाक्यहरूलाई ‘अन्तर्लापिका’ भन्ने नाम दिई आफूलाई चाहिने जति स्वर र व्यञ्जन वर्ण तानी, तानतुन गरी आफ्नो चाहनाअनुसार मनलाग्दो गरी अन्तर्शुद्धी गर्दा ‘ललिता’ शब्द बन्न आयो भन्दै अनुवाद पक्कै पनि ललितत्रिपुरसुन्दरीबाटै भएको रहेछ भन्ने तर्क पेस गरिदिएका थिए (आचार्य, २०६९ः१९८)।

इतिहास शिरोमणि आचार्यले भीमसेन थापाको समयका विद्वान सुन्दरानन्द बाँडा नै उक्त पाण्डुलिपिको अनुवादक हुनसक्ने अनुमान गरेका छन्। सुन्दरानन्दले गीर्वाणयुद्ध, ललितत्रिपुरसुन्दरी र भीमसेन  थापालाई आफ्नो जीवनको तीन उत्कृष्ट रत्न मानेर ‘त्रिरत्न सौन्दर्यगाथा’ नामको एउटा काव्य कृति रचना गरेका थिए। आचार्यको अनुमानअनुसार भुवनानन्द सम्भवतः उनका छोरा थिए। पण्डित सुन्दरानन्दले नै आफ्नो जीवनकालमा जनरल भीमसेन थापाको प्रेरणाले यस कृतिको अनुवाद गरी ललितत्रिपुरसुन्दरीलाई चढाएका थिए। विसंं. १९३० मा यिनका छोरा भुवनानन्दले आफ्नो घरमा सुरक्षित कृतिको एउटा प्रतिलिपि उतारेका थिए (आचार्य, २०६९ः२००)।

यसरी, योगी नरहरिनाथले जबरजस्ती ‘राजधर्म’को नेपाली भाषाको अनुवादकमा ललितत्रिपुरसुन्दरीको नाम जोडेका हुन् भन्ने तर्क पनि आचार्यको देखिन्छ। आचार्य कुरा नबुझी लेख्ने व्यक्ति होइनन्। ‘राजधर्म’को अनुवादक ललितत्रिपुरसुन्दरी नै हुन् भन्ने निष्कर्ष योगी नरहरिनाथले जबरजस्ती निकालिदिएको देखिन्छ। चार सय पृष्ठको यो पुस्तक ललितत्रिपुरसुन्दरीकै कृतिका रूपमा पहिलो प्रकाशन जगदम्बा प्रकाशनले गरेको हो (कमल दीक्षित, ‘कालो अक्षर’–२०५०ः१)।

नेपालको इतिहासमा ललितत्रिपुरसुन्दरी यस्ती महारानी हुन्, जसले जीवनको लामो समय अर्थात् २५ वर्ष लगातार राजाहरू गीर्वाणयुद्धविक्रम र राजेन्द्रविक्रम शाहको नायबी लिई शासन चलाई आफ्नो इतिहास रचना गरिन्। उनको नाममा राजधानीका विभिन्न ठाउँमा कीर्तिहरू पनि राखिए। तर समग्रमा उनी तत्कालीन मुख्तियार जनरल भीमसेन थापाको कठपुतली थिइन्।


सम्बन्धित सामग्री