Thursday, May 02, 2024

-->

राणाकालका मिलिसिया र 'राइटर बाजे'

काठमाडौँ-पोखरासमेत सडकले नजोडिएका बेला त्रिशूली बजारसम्म मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र सडक सञ्जाल जोडिएको थियो।

राणाकालका मिलिसिया र राइटर बाजे

झन्डै सात दशकअघिको कुरा हो। २००७ सालमा मेरा बुबा मलंगवाको हुलाकमा 'राइटर' पदमा र २००८ मा सुनसरीको धरानमा काम गरिरहँदा उहाँलाई गर्मी हावापानी नफापेको ठहर गर्दै २००९ सालमा गोर्खाको मिलिसिया अर्थात् सो बखतको बोलीचालीको पल्टनमा राइटरकै पदमा सरुवा गरिएछ।

२००९ सालमा काठमाडौँको घरबाट वर्षायाममा बालबच्चा लिएर पैदल गोर्खा पुग्न सात दिनसम्म लाग्ने हुँदा जागिरे यात्रा साह्रै कठिन र टाढा भयो भन्दै पिताजीले सरकारी हाकिमहरूसमक्ष हारगुहार गर्नुभएछ। जसका कारण २०१० सालमा नुवाकोटमा राइटर पदमै काम गर्ने गरी मिलिसियामा बुबाको सरुवा भएछ। 

मिलिसियाको सामान्य अर्थ अल्प समयमा प्रशिक्षित वा नागरिकहरूमध्येबाट संगठित सेना भन्ने बुझिने रहेछ। साहसी, सुरो, बहादुर आदिलाई पनि मिलिसिया बुझिने रहेछ। सैनिकजस्तै तालिमप्राप्त समूहलाई पनि मिलिसिया भनिने रहेछ। सैनिक सेवा भए पनि मेरा पिताजीलाई सैनिक पोसाक लगाउनु पर्थेन।

पल्टनेहरूलाई सैनिक शिविरमै सधैँ रहनु पर्ने बाध्यता उतिखेर थिएन। घरनजिकै भएकाहरू त घरबाटै बिहान कवाज खेल्न आइपुग्दा हुन्थ्यो। कवाज सकेपछि घरमा केही काम छ भने उनीहरू घर वा डेरामा दिउँसैसमेत फर्कन पाउँथे। 

यति हुँदाहुँदै पनि तोप, बन्दुक, गोला बारुद आदि रहने स्थान, सरकारी कार्यालय र 'रकम-कलम' रहने स्थानमा अनवरत पहरा दिनुपर्ने हुँदा पालैसँग उनीहरूमध्ये तोकिएका व्यक्ति भने गारतको रूपमा शिविरमै रहनु पर्ने हुन्थ्यो। केही दिन तोकिएकै स्थानमा रहनुपर्ने पालो करिब १५/२० दिनमा आउँथ्योजस्तो लाग्छ। 

मिलिसियामा रहेका ती अर्धसैनिकहरू त्यसबखतको सदरमुकाम नुवाकोट (नुवाकोट डाँडो) वरिपरि मात्र केन्द्रित थिएनन्। ती त्रिशूली (त्रिशूली बजार), सामरी, धुवाँकोट, काउले, ज्याम्रुङ, गेर्खु, बेत्रावती, ढिकुरे र चौघडा आदि स्थानका थिए र उनीहरू भने पल्टननजिकै डेरा गरेर बस्ने गर्थे। 

धमिलो सम्झना
हाम्रो परिवार गोर्खाबाट नुवाकोट आएको धमिलो सम्झना छ। कति समयदेखि खालिरहेको घरका कोठा, चोटा र बार्दलीमा चुरोटका ठुटा र बदामका खोस्टा माताले धुलो नउडाईकन सरक्क बढार्नु भयो। सोही घरमा बुबाले निगालाको कलम बनाएर, एकातर्फ लेखिएको तर काम नलाग्ने भनेर कार्यालयमा फालिएका पत्रु नेपाली कागजमा कखरा सिकाउनु भयो। घरमै लेखपढ सिकेका कारण २०१७ सालमा सिधै चार कक्षामा भैरवी मिडिल स्कुलमा मैले भर्ना पाएँ। कमिज र कट्टु लगाएर बिनाजुत्ता वा फित्ते चप्पलमा स्कुल पढ्न जाने अवसर मलाई जुट्यो। तर अहिले सम्झँदा विद्यालय आउने धेरैजसोको हालत मेरोभन्दा धेरै गएगुज्रेको जस्तो लाग्छ।  

नुवाकोट जाने क्रममा बानेश्वरबाट बालाजु, डुगुर्नेपानी, जितपुरफेदी, ककनी हुँदै थानसिङ पहिलो बास हुने गर्थ्यो। म सात वर्षको हुँदा डोकोमा बोकिन नमानेर हिँडेरै बेलुका साँझसम्ममा थानसिङ पुगेको भनेर धेरैलाई अनेकन् पटक आमाले भनेको मैले सुनेको छु। त्यसको मतलब काठमाडौँ उपत्यकामा जन्मेर पनि लामो हिँड्ने अभ्यास कारणवश सानैदेखि शुरू भयो। 

अलिक जान्ने भएपछि ढिकी, जाँतो, पानीघट्ट, घरघर हुँदै पानीका ठूलो कुलो बगेको, थुप्रा खसीबाख्रा, गाईगोरु, भैँसी आदिका बग्रेल्ती गोठहरू त्यही थानसिङमै मैले आफन्तकहाँ देख्न पाएको हो। पटक–पटक आउजाउ गर्दा अघाउन्जेल दही, दूध, घिउ, चिउरा, खुवा, बोडीको बिरौँला, तिलको छोप र सेरा बगैँचाको आँपलगायत फलफूल प्रशस्त भोजन गरिएको स्थान मेरा लागि प्रिय र भुल्न नसकिने ठाउँ हो। 

सैनिकका अनेक सेवा
मिलिसिया भनिने अर्धसैनिकहरूको नेतृत्व लेफ्टिनेन्टले गर्थे। तलका 'अनधिकृत'हरूमा सुबेदार मेजरसम्म हुन्थे। सुबेदार, जमदार, हवलदार र सिपाहीहरू त हुने नै भए। तिनमा विशेष सीप भएकाहरू अनिवार्य हुनुपर्थ्यो। छालाजन्य सरसामग्री बनाउने, फलामका सामान बनाउने एवं मर्मत–सम्भार गर्ने, पोसाक सिलाउने र टालटुल गर्नेलगायत सबै विधाका सिपाही पल्टनमा हुनै पर्थ्यो। हाम्रो घरमा कुनै काम विशेषले ती जो कोही मिलिसिया आइपुग्दा हामी केटाकेटीहरूका मामा हुने गर्थे। धेरैमध्येको एक नाम अझै सम्झन्छु: छालाजन्य सरसामग्रीका ज्ञाता चामे सार्की।

मिलिसियामा मानव स्वास्थ्यबारे तालिमप्राप्त गरेका व्यक्ति हुनु अनिवार्य थियो। एक जना सुबेदार दर्जाका व्यक्तिले सो काम गर्थे। स्थानीय तहमा सामान्य रोगव्याधि वा ससाना घाउचोट निवारण गर्ने निपुण चिकित्सक उनै हुन्थे। आयोडिन, विभिन्न प्रकारका मलहम, केही अनौठा तत्त्व मिसाएर बनाउने रसादि झोल, घाउमा गरिने काम्रोपट्टी त्यति बेलाका चलनचल्तीका चिकित्सा पद्धति थिए। 

आफैँ ज्वरो आएर जाँदा वा टाउको दुखेर जाँदा किन नहोस्, ती प्राविधिकले एक दुई वटा रसादिको रातो या कहिलेकाहीँ पहेँलो खालको झोल सोलीमा राखेर पिलाई दिन्थे। बिमारीलाई धेरै सहज हुन्थ्यो, व्यथा छिटै निको हुन्थ्यो। पिउँदै सररर चिसो तथा मीठो तथा परपराउने ती आनन्ददायक औषधी के होलान्, आजपर्यन्त थाहा छैन। 

नुवाकोट डाँडो
२०१० देखि २०२० सालसम्मको पुरानो सम्झना मनमा गढेर बसेको छ। नुवाकोटमा गोश्वारा भनिने बडाहाकिमको कार्यालय थियो। पृथ्वीनारायण शाहको साततले दरबारमै रहेको त्यसको ठिक पूर्व बडाहाकिम र बडाहाकिममुनिको सुब्बा साहेब (जसलाई असिस्टेन्ट भनिन्थ्यो) को सरकारी वासस्थान थियो। त्यसकै ठिक उत्तरमा बन्दुक, गोली, बारुद र रकम-कलम रहने स्थान अर्थात् मिलिसियाको कार्यालय थियो। 

बुबाको तलबी काम बिहान मिलिसियामा हुन्थ्यो भने दिउँसो स्वयंसेवी कामचाहिँ गोश्वारामा हुने गर्थ्यो। उस बखतको नेपालमा नाडीमा घडी बाँध्ने नै कति हुन्थे र? काठमाडौँको घण्टाघरले समय बताएजस्तै समयको जानकारी सरकारी सेवक र सर्वसाधारणलाई गराउनै पर्थ्यो। 

तसर्थ, पानीले भरिएको ठुलो तामाको खडकौंलोमा तल सानो छिद्र रहेको झन्डै अर्ध अण्डाकार स्वरूपको तामाको भाँडो (जसलाई घडी नै भनिन्थ्यो) रहन्थ्यो। त्यो सानो भाँडोको आकार यसरी मिलाइएको हुन्थ्यो कि त्यसमा पानी भरिन ठिक एक घण्टा लाग्थ्यो। त्यसबाट एक घण्टा बितेको जाँच्न मिल्थ्यो। ती गारतमा बस्ने मिलिसियाले ठुलो घण्टीमा जति बजेको हो, त्यति नै पटक मुंग्रोले ठोक्नुपर्थ्यो। 

ख्याल भएसम्म सात तले परिवेशभित्र एकाध देवताका पौराणिक मन्दिरलगायत अन्य तीन वटा सरकारी भवन पनि थिए। चारैतर्फ पर्खालले घेरिएको सात तले हाता अत्यन्त रमणीय स्थल लाग्थ्यो। 

साततले परिसरको थोरै दक्षिणमा भैरवी स्थान, शीतलपाटी, लामपाटी (जसमा लिंगो हार लगाएर सुताएर राखिन्छ) छ। भैरवी मिडिल स्कुल भने अहिले सो स्थानदेखि केही उत्तरपूर्वमा रहेको टुँडिखेलको ठीक पूर्वी साँधमा १२ कक्षा विद्यालयको रूपमा उन्नति भई स्थापित भएको रहेछ। अन्य संरचना पनि मर्मत–सम्भार भएका रहेछन्। अघिल्लो वर्ष त्यहाँ पुग्दा भैरवी मन्दिर स्थान हातामै रहेको भैरवी मिडिल स्कुलमा प्रधानाध्यापक अर्याल र श्याम श्रेष्ठ सरहरूले आफूलाई चार कक्षामा पढाएको स्मृति झल्झलि आयो। 

उतिखेर मिलिसियनहरूले बुट बजारेर परेड र अनेक अभ्यास गर्ने त्यस टुँडिखेल जत्तिको फराकिलो र सम्म परेको जमिन नुवाकोट डाँडोमा अर्को छैन। त्यसमा रहेको अशोक वृक्ष अहिले आएर अत्यन्त बुढो भएझैँ लाग्यो। उत्तरतर्फ एक हार लामो आधारभूत विद्यालय बनेकोबाहेक, टुँडिखेल अझै जिउँदै छ। 

टुँडिखेलको ठीक पश्चिम करिब ३०० फिट उचालिएको डाँडोको थाप्लोमा सानो उत्तरदक्षिण लाम्चिएको चौर थियो, जसलाई तोपखान भनिन्थ्यो। सोको उत्तर कुनामा दुई वटा तोपहरू र सँगै पाटीनजिक ती तोपका गोलाहरू चाङ बनाएर राखिएको थियो, जहाँ चौबिसै घण्टा पहरा दिने व्यवस्था थियो। सो चौर पूर्व र दक्षिणतर्फ कान्लाहरू मात्र भएकाले ठाडो भूभाग भई घर बन्न नसक्ने हुँदा सो भाग खाली थियो भने पश्चिमतर्फ भने कल्यान परेको (कान्ला परेका) जग्गा हुँदा २/३ रोपनी दरले जग्गा ओगटेका चार वटा सरकारी घरहरू थिए, जसमध्ये एउटामा हाम्रो परिवार बसेको थियो। 

राइटर बाजे
कतै कर्तव्य ज्यान, लुटपाट, चोरी या ससाना दंगा फसाद भएमा स्थिति हेरी हवलदार वा जमदारको नेतृत्वमा मिलिसियन सिपाहीहरू पाँच, सात वा नौ जनासम्मको डफ्फामा घटनास्थल जाने गर्थे। त्यस बखत, मिलिसियनहरू लेखापढी गर्न सक्ने हुँदैनथे, मुचुल्का वा सरजमिनलगायत लेख्ने पढ्ने कामका लागि बुबा सधैँ जानुपर्ने हुन्थ्यो। 

गोश्वारामा नितान्त स्वयंसेवीका रूपमा काम गर्नुहुने बुबा जुनसुकै घटना–परिघटनाको स्थिति बोध गर्न सक्ने व्यक्ति हुनुहुन्थ्यो। सानादेखि ठुलासम्मका निवेदन वा जुनसुकै प्रकारको लेखोटमा बुबाको अक्षर परेकै हुन्थ्यो। केही लेख्नुपरेमा तुरुन्त सक्रिय हुने कारणले गर्दा बडाहाकिम, असिस्टेन्ट हाकिम वा जो सुकै पदाधिकारी एवं स्थानीयहरूका प्रिय पात्र राइटरबाजे थिए– मदनविनोद!

२०११–१२ सालसम्म नेपालमा कागजी नोट धेरै प्रचलनमा थिएनझैँ लाग्छ। बुबाले पचास पैसे, एक रुपैयाँ र दुई रुपैयाँका ढ्याकहरू गन्ने तरिका आकर्षक थियो। चार वटा सिक्का फिँजाउने र बीचमा एउटाले थिच्दै पाँच–पाँचको दरले हार मिलाएर गन्ने, तलब दिँदा त्यही हार फटाफट गनेर सरक्क हातमा दिने अभ्यास सम्झँदा अहिले पनि उसै गरी सिक्का गन्न मज्जा लाग्छ। तर उहिलेझैँ सहजै सिक्का पाइँदैन।  

हाम्रो परिवार त्यहाँ रहँदाकै अवस्थामा २०१३ ताका सुरु भएर २०१८ तिर काठमाडौँ–त्रिशूली सडक बन्यो। केहीपछि त्रिशूली जलविद्युत परियोजना बन्यो। काठमाडौँ–पोखरासमेत सडकले नजोडिएको बेला काठमाडौँबाट त्रिशूली बजार मोटर पुग्यो। यद्यपि, त्यस बखतको सदरमुकाम नुवाकोटको डाँडोमा भने पछि मात्र मोटर सडक जोडिएको थियो। 

मैले सम्झेअनुसार पिताको कार्यालयका सबै हाकिम कर्मचारीबीच सौहार्दता थियो। त्यसो हुँदा नयाँ तरकारीको सिजन आउँदा होस् या त्रिशूलीको ठूलो माछो जालमा पर्दा समेत टुक्रा–टुक्रा बन्दै भए पनि त्यो सबैको भागमा आइपर्थ्यो। बुबा सबैमाझ चिनिएका कारण र उहाँले पनि सबैप्रति समभाव, आदर, प्रेम दर्साएकै कारण होला, हाम्रो घरमा केही समयको अन्तरालमा कुनै न कुनै नयाँ चिजबिज आइपुग्थ्यो। स्थानीय मिलिसियनहरूले आफ्ना घरमा केरा या कटहर पाक्दासमेत पनि राइटर बाजेकहाँ ल्याइपुर्याउँथे। 

कहिलेकाहिँ मेरो मनमा प्रश्न उठ्छ, सदरमुकाम किन उर्वरा खेतबारीहरूमा राखिन्छ? के डाँडा पाखामा बोटबुट्यानले घेरिएको रमाइला बस्तीले युक्त आवासहरूको बीचमा शहर बसाल्न सकिन्न? 

पृथ्वीनारायण शाहले रोजेको कुनै बेलाको गोर्खा राज्यको हेर्डक्वार्टर नुवाकोट डाँडोमा न त जाडोमा तल बिदुरको जस्तो कुहिरो लाग्छ, न त गृष्ममा त्रिशूली बजारको जस्तो उखरमाउलो गर्मीले नै सताउँछ। जाडोमा बिहानै पारिलो घाम लाग्छ भने गर्मीमा सामरी भञ्ज्याङदेखि आउने हावाले शीतल प्रदान गर्छ। हावापानीको हिसाबले अत्यन्तै उपयुक्त सो स्थान पछि समथर स्थानको खोजीमै तल विदुर झरेको हुनुपर्छ। 

सबैबीच चिनिएका बाउको छोरा हुनाका नाताले धेरै परिवारबीच मेरो घुलमिल हुन पायो। बडाहाकिम चक्रभक्त वा दोस्रा हाकिम जयदेवकहाँ समेत अनगिन्ती पटक खाने–बस्ने संयोग जुर्‍यो। सरस ती मिलिसियनहरूका हातेमालोमै खेल्न र कुद्न पाइयो। एउटा युग जिउन पाइयो। फेरि कहाँ आउला र घुमेर, नुवाकोटमा बिताएका ती भुतुक्कै पार्ने क्षण र उमेर?


सम्बन्धित सामग्री