Tuesday, April 30, 2024

-->

इतिहास
पृथ्वीनारायण शाहको पिताको मृत्युमा जब सेवक पुरुष सती गए…

पृथ्वीनारायणका पिता नरभूपालको प्रिय सेवक (कमारो) युवक उनीसँगै 'सती' गएको प्रसंगले कतै उनी जीवनको उत्तरार्द्धमा समलिंगी प्रेममा डुबेका त थिएनन् भन्ने आशंका गर्न सकिन्छ।

पृथ्वीनारायण शाहको पिताको मृत्युमा जब सेवक पुरुष सती गए…

पृथ्वीनारायण शाह जति सुरा थिए, उनको बुबा नरभूपाल शाह थिएनन्। उनले गोरखा राज्यलाई विस्तार गर्ने केही प्रयास त गरे, तर सफल हुन सकेका थिएनन्। पृथ्वीनारायण भने अत्यन्तै महत्त्वाकांक्षी र बाठा थिए। आफ्नो महत्त्वाकांक्षी पूरा गर्न जे पनि गर्न तयार हुन्थे; मितेरी लगाएरै नाता जोडेर राज्य कब्जा गर्न, काट्न-मार्न र जिउँदै छाला कढाउन आदि।

पृथ्वीनारायणको ससुरालीसँग पनि ठूलो इख थियो। दुलही लिन मकवानपुर पुगेका पृथ्वीनारायणको जेठान दिग्वन्धन सेनसँग झगडा भएपछि उनी रित्तो हात गोरखा फर्के। उनी टिष्टुङ, पालुङ र चित्लाङको बाटो हुँदै फर्कने क्रममा चन्द्रागिरि भन्ज्याङमा आइपुग्दा नेपाल राज्य (काठमाडौँ उपत्यका) माथि उनको आँखा पर्‍यो। उनलाई उनका पण्डितहरू भानु जोशी र कुलानन्द जोशीले पनि त्यहाँको राजा हुन उकासे।

त्यही बेला पाल्पाली राजा गन्धर्व सेनका उत्तराधिकारी छोरा उद्योत सेन विभिन्न तीर्थस्थलको तीर्थयात्राका क्रममा गोरखनाथको पनि दर्शन गर्न गोरखा राजदरबार आइपुगेका थिए। उद्योत सेन पृथ्वीनारायणका मामा हुन्। पृथ्वीनारायणले मामासमक्ष नेपाल राज्यको राजा हुने मनसुवा प्रकट गरे। मामा उद्योतले यसका लागि सबैभन्दा पहिले लमजुङ राज्यलाई खुशी बनाउन र त्यो राज्यसँग सन्धि गर्न सुझाए। 

सिनास जर्नल 'कन्ट्रिब्यूसन टू नेप्लिज स्टडी'को वर्ष ३१ अंक २ (जुलाई, सन् २००४ः३४२)मा गंगा कर्माचार्य (हाडा)ले उल्लेख गरेअनुसार राजा नरभूपालको समय १७९७ मा गोरखा–लमजुङबीच सन्धि हुँदा लमजुङका राजा रिपुमर्दन शाह मन्त्रीका साथ गोरखाली दलको नेतृत्व कालु पाँडेले गरेका थिए र राजा नरभूपालको छाप बोकेर युवराज पृथ्वीनारायण चनाखा मानिसका साथ चेपेघाटमा उपस्थित थिए।

यसबाट तत्कालीन राजा नरभूपाल राजकाजमा निष्क्रिय वा उदासीन हुँदै आएका र उनले गर्नुपर्ने काम उत्तराधिकारी छोरा पृथ्वीनारायणले पहिलेदेखि नै गरिरहेको देखिन्छ। पृथ्वीनारायणले यस्तो काम गरिरहेको बेला उनी केवल १७/१८ वर्षका किशोर थिए।

बाउ राजाले राजकाजतर्फ त्यति ध्यान नदिने गरेका कारण पृथ्वीनारायण किशोरावस्थादेखि नै राजकाजमा सक्रिय हुन थालेका थिए। उनलाई जेठी आमा चन्द्रप्रभावतिको विशेष मार्गदर्शन रहेको थियो।

सन्तान प्राप्ति लागि बौद्ध पूजा 
गोरखा राज्यमा राजा पृथ्वीपति शाहले शासन चलाइरहेका बेला राजपरिवारमा निक्कै ठूलो पारिवारिक किचलो भएको थियो। खासमा राजा पृथ्वीपतिको युवराज वीरभद्रभन्दा आफ्ना अर्का छोरा रणशार्दूलप्रति अलि बढी प्रेम थियो। रणशार्दुल अन्य छोराको तुलनामा सुयोग्य र लोकप्रिय पनि मानिन्थे। आफ्ना युवराज दाजु वीरभद्रसँग उनको मनोमालिन्य बढ्दै जाँदा उनले आत्महत्याको बाटो रोजे। यसपछि राजा पृथ्वीपति र र युवराज वीरभद्र शाहबीच पनि मनोमालिन्य झनै बढ्दै गयो। यस्तो अवस्थाबाट बिरक्तिएर वीरभद्र गोरखा दरबार छाडी भक्तपुरका राजा भूपतिन्द्र मल्लको दरबारमा आई केही समय पाहुना भएर बिताए। उनी पनि राजा हुन नपाई बिते।

इतिहास शिरोमणि बाबुराम आचार्यले 'श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी' (२०६१ः१७)मा उल्लेख गरेअनुसार भक्तपुरमा रहँदा त्यहाँको हावापानी नफापेपछि  वीरभद्र ज्वरोले ग्रस्त भए। गोरखा ल्याउँदै गर्दा विसं. १७५३ मा आरुघाटमा उनको मृत्यु भयो।

बिरक्तिएर भक्तपुरतिर लाग्दा वीरभद्रले आफ्नी दुई पत्नीलाई माइतीघर तनहुँमा छाडी राखेका थिए। वीरभद्रको मृत्युको केही समयपछि उनका छोरा नरभूपाल शाहको जन्म भएको थियो। उनी जन्मेको टुंगो लागेपछि राजा हुन हानथाप गरिरहेका पृथ्वीपतिका दुई छोरा दलू शाह र उद्योत शाहको मुख टालियो। 

आचार्य (२०६१ः६८–६९)अनुसार विसं. १७७१ मा नरभूपाल शाहको पहिलो विवाह खाँचीकी राजकुमारी चन्द्रप्रभावतिसँग भयो। त्यसको दुई वर्षपछि पाल्पाकी राजकुमारी कौशल्यावतिसँग उनको विवाह भयो। तर २२/२३ वर्षको उमेरसम्म नरभूपालबाट सन्तान नभएपछि उनको थप दुई विवाह भयो। तीमध्ये पर्वतकी राजाकी भतिजी बुद्धिमति र तनहुँ मावली घरानाकी सुभद्रावति नरभूपाल शाहसँग रानीका रूपमा लगनगाँठोमा बाँधिए।

२२/२३ वर्षको उमेरसम्म पनि सन्तानोत्पादन हुन नसक्नु राजदरबारका लागि ठूलो चिन्ताको विषय हुने नै भयो। विवाह भएको लामो समयसम्म पनि रानीहरूबाट बच्चा भएन। यसो हुँदा गोरखा दरबारमा चिन्ता फैलिरहेको थियो।

यसरी चिन्ता फैलिरहेका बेला माहिली रानी कौशल्यावतिले देवा धर्मा (भुटान)बाट एक जना लामालाई ल्याएर उपाय गरे सन्तान हुनेछ भन्ने सन्देशसहितको सपना आफूले देखेको बताइन्। सोही ब्यहोरा खोली लामालाई बोलाउन भुटानतर्फ लालमोहर पठाइयो। तर लामाले आफू व्यस्त भएकोले हाललाई आउन नसक्ने खबर पठाए। जस्तोसुकै जरुरी काम छाडेर भए पनि आउनुहोस् भनी फेरि एक सरदारका साथ खबर पठाइयो। उनै सरदारका साथ भुटानी लामा गोरखा आइपुगे। उनलाई बडो सत्कारका साथ खानपिनको बन्दोबस्त गरी गोरखा दरबारमा राखियो। संयोगले लामाले बौद्ध पूजा, तान्त्रिक अनुष्ठान आदि गरेपछि कौशल्यावतिको गर्भ रहन गयो। गर्भ रहेको सात महिनामा पृथ्वीनारायण शाहको जन्म भयो (नेपाल देशको इतिहास, “प्राचीन नेपाल”, संख्या २३–वैशाख २०३०ः४)।

भुटानबाट लामा झिकाएर दरबारमा बौद्ध पूजा गरेपछि नरभूपाल शाहको सन्तानको जन्म हुन पुगेपछि दरबारले विभिन्न ठाउँमा भुटानी गुम्बा स्थापना गर्नसमेत सहयोग पुर्‍याएको थियो। पछि पृथ्वीनारायणले पनि आफ्नो समयमा एक लालमोहर जारी गरेर ६ वटा गुम्बाको बिर्ता थामिदिएका थिए। (“प्राचीन नेपाल”, संख्या ६१ देखि ६४–पुस २०३७ देखि साउन २०३८ः२८)।

लालमोहरको ब्यहोरा यस्तो छ: आगे. गिनु दुन पाम्दार्लामा पुंजि घुंम्वा. वांथाली घुंम्वा. नागर्या घुंवा. लिस्यावुघंवा. उंमा घुंवा. चरिकोट घुंवा ल्होभा लामाले मारव कसि पठाया छन्. सो हामिले थामि वक्सिउ. घुंवा घुंवाका साषा माथिको अंवल गिनहुन पांवार्लामाले गर्नु. घुंवा घुंवाको पुरानु षायल बिर्ता समेत थामी वकसीउं इतिसम्वत् १८१८ फाल्गुन वदि ९ रोज ६ शुभम् साके। 

१७०८ (विसं. १८४३) तिर पनि देवा धर्मा (भुटान)का लामा आई उनका पुर्खालाई हिजो नरभूपाल शाहको समयमा सन्तान नहुँदा झिकाएको र लामाले मागेको दिन्छु भनी वचन दिएका सम्झना गराएको देखिन्छ। उनीहरूले आफ्ना पुर्खा लामाले गर्दा पृथ्वीनारायण शाह पैदा भएका तर नरभूपाल शाहको वचनअनुसार आफूहरूले केही पनि नपाएको भनी बिन्ती गर्दा ती भुटानी लामालाई १५/२० खेत र १५/२० गाउँ लालमोहर गरी बिर्ता दिइएको थियो। यसरी पाएको सबै जमिन स्वयम्भूमा गुठी राखेर ती लामा भुटानतर्फ बिदा भएका थिए (“प्राचीन नेपाल”, संख्या २३–वैशाख २०३०ः१०)।

यसैगरी पृथ्वीनारायण शाहको समयमा थमौती गरिदिएका ६ वटा भुटानी गुम्बालाई गिर्वाणयुद्ध विक्रम शाहले पनि थमौती गरिदिएका थिए। उनले विसं. १८५८ अगहन (मंसिर)मा लालमोहर जारी गरी थमौती गरिदिएका थिए (दिनेशराज पन्त, “पूर्णिमा” पूर्णांक ७१–असार २०४५, पृ.११०–११)।

गोरखा राजवंश सनातनी हिन्दू धर्मको शैवभित्र पनि शाक्त परम्परालाई मान्ने राजवंश हुन्। तर तत्कालीन गोरखा राज्यका राजपरिवारले भुटानी लामाको आध्यात्मिक शक्तिप्रति पनि भक्तिभाव राखेर उनीहरूको आशीर्वाद लिएको स्पष्ट हुन्छ। यसैबाट प्रभावित भएर उनीहरूले भुटानी लामाहरूले चलाएको गुम्बाहरूलाई थमौती गर्ने र बिर्ता दिने कार्य गरे। अहिले पनि स्वयम्भू क्षेत्रमा भुटानी बौद्ध गुम्बाहरू छन्। नरभूपाल २६ वर्षका हुँदा माहिली रानी कौशल्यावतिको गर्भबाट उनका उत्तराधिकारी छोरा पृथ्वीनारायण शाह जन्मे। उनी पहिलो पटक विवाह बन्धनमा बाँधिएको दुई वर्षपछि अर्थात् विसं. १७७३ साउन महिनामा गोरखाका राजा भएको र उनले २६ वर्ष ८ महिना राज्यभोग गरे (दिनेशराज पन्त, “गोरखाको इतिहास” पहिलो भाग–२०४१ः२४३)।

राज्यको हर्ताकर्ता रानी चन्द्रप्रभावति 
नरभूपाल शाहले धेरै वर्ष शासन गरे तापनि गोरखा राज्यको शासन उनकी निःसन्तान जेठी महारानी चन्द्रप्रभावतिले गरेकी थिइन्। उनैले पृथ्वीनारायण शाहलाई हुर्काउने, बढाउने र राजकाज सिकाउने गरेकी थिइन्। राजा नरभूपालको राजकाजमा त्यति ठूलो सक्रियता थिएन। 

राजा नरभूपालको राजकाजप्रति उदासीनतालगायतका पक्षलाई लिएर बाबुराम आचार्यले उनलाई सिल्ली स्वभावका भन्न पनि बाँकी राखेका छैनन्। आचार्यले 'पूर्णिमा' पूर्णांक ४९ (असोज २०३८ः१०) मा उल्लेख गरेअनुसार भक्तपुरका राजा रणजीत मल्लसँग आफ्ना बुबा राजा नरभूपालको मितेरी सम्बन्ध कायम गर्न पृथ्वीनारायण भक्तपुर पुगेका थिए। तर आफूमा सिल्लीपन सर्ने डरले रणजित मल्ल मितेरी लगाउन राजी भएनन्। बरु उनले आफ्ना छोरा बीरनरसिंहसँग पृथ्वीनारायणको मितेरी लगाइदिएर भक्तपुर र गोरखाबीच परस्पर मित्र सम्बन्ध कायम गरे। नरभूपालको विवाहको ६ वर्षपछि पहिलो सन्तानका रूपमा विसं. १७७९ पुस २७ गते पृथ्वीनारायण जन्मे। 

त्यसपछि नरभूपालका २३ जना सन्तान जन्मेको देखिन्छ। नरभूपालका तीन  आधिकारिक रानीका साथै एक जना भित्रिनीबाट ती सन्तान जन्मिएका हुन्। जेठी रानी चन्द्रप्रभावति निसन्तान भइन्। माहिली कौशल्यावतिबाट पृथ्वीनारायण, दलमर्दन , पृथ्वीपति, पद्मकुमारी र विशालवदना जन्मे। साइँली रानी बुद्धिमतिबाट वृन्दकेशर, सुरप्रताप, पद्मवदना, इन्दुवदना, सर्वावति र हेमन्तकुमारी जन्मे। यस्तै, कान्छी सुभद्रावतिबाट महोद्दामकिर्ति, दलजीत, लक्ष्मवति, पद्मनेत्रा र सुरतकुमारी जन्मे। उनका कान्छी भित्रिनीबाट रणरूद्र, भीमरूद्र, केसीमर्दन, रणसुर, जगतप्रदीप, प्रणसन्ना र विन्दुवासना जन्मिएका थिए (‘प्राचीन नेपाल’ संख्या २१–कात्तिक २०२९ः६)। यसबाट नरभूपाल १२ छोरा र ११ छोरीका बाबु भएका देखिन आउँछ। 

जंगलबासको साथी कमारो केटो
गोरखा दरबारमा रानी चन्द्रप्रभावति र युवराज पृथ्वीनारायण आफ्ना विश्वासिला भारदारका साथ राजकाजमा सक्रिय सक्रिय थिए। यता नरभूपालचाहिँ एक जना कमारो केटोका साथ जंगलतिर घुमी हिँड्थे। इतिहासकारहरूले उनी जीवनको उत्तरार्द्धमा निक्कै विक्षिप्त बनेको उल्लेख गरेका छन्। राज्य विस्तारमा उति साह्रो ध्यान नदिने उनले एक पटक नुवाकोटमा आक्रमण गरेका थिए, तर लडाइँमा उनको हार भयो। पन्त (२०४१ः२६२–६३) अनुसार विसं. १७९२ को माघ महिनाअघि नरभूपालले नुवाकोट आक्रमण गरेका थिए। महेश्वर पन्त र जयन्त रानाले आक्रमणको जिम्मा लिएका थिए। 

महेश्वर पन्तले हारको कारण मगरहरूको असहयोग मुख्य भएको राजासमक्ष जाहेर गरेपछि जयन्त रानालगायत मगरहरू गोरखाबाट पलायन भई यत्रतत्र लागे। पछि जयन्त कान्तिपुरका राजा जयप्रकाश मल्लको बफादार भएर नुवाकोटको उमराव भएर बसेका थिए। पृथ्वीनारायण शाहको १८०१ को नुवाकोट आक्रमणमा पहिले जयन्तका छोरा शंखमणि मारिए, पछि जयन्तलाई गोरखाली सेनाले पक्राउ गरी छाला काढेर मारे। नुवाकोट आक्रमण असफल भएकै कारण नरभूपाल विक्षिप्त बनेका थिए। 

आचार्य (२०६१ः८६)ले खरिदार शेरमान सिंहको लेखोट उद्धृत गर्दै उल्लेख गरेअनुसार तत्कालीन गोरखा राज्यका पण्डित गौरेश्वरले राजा नरभूपाललाई पुनश्चरण सुनाउँदा उनले रिसाउँदै मन्त्र रोक्न आदेश दिएका थिए। राजाको आदेशपछि पण्डित गुरुले मन्त्र अगाडि बढाउने कुरा पनि भएन। राजकाजमा नरभूपालको यस्तो उदासीनता देखेर काजी महेश्वर पन्तले त उनको सट्टा युवराज पृथ्वीनारायणलाई गद्दीमा राख्नुपर्ने बिन्ती दरबारमा जाहेर गरेका थिए। तर यस्तो प्रस्ताव राख्ने उनी आफैँ पृथ्वीनारायणबाट दण्डित हुन पुगे।

पृथ्वीनारायणको दोस्रो विवाह भइरहेको समय (फेब्रुअरी १७४० मा नरेन्द्रलक्ष्मीसित) नरभूपालको मानसिक चिन्ता अझ बढेको थियो। उनी प्राय: एक नोकर केटोसाथ जंगलमा बस्थे। त्यसै बेला काजी महेश्वर पन्तले पृथ्वीनारायणलाई मुकुट पहिर्‍याउन प्रस्ताव राखे। तर उनको प्रस्तावको विरोध भयो। यस्तो अवस्थामा रानी चन्द्रप्रभावतिले नोकर केटोलाई हातमा लिई नरभूपाललाई दरबारमा झिकाई आफ्नो वशमा राख्नु परेको थियो (आचार्य (२०६१ः९७)।

पन्त (२०४१ः२४३) अनुसार नरभूपालको विसं. १७९९को राम नवमीको दिन मृत्यु भयो। उनी सिकिस्त बिरामी भएपछि उनलाई बुंकोटघाटमा लगियो। त्यहीँ उनको देहान्त भयो। त्यो बेलाको प्रचलनअनुसार मृतकका पत्नी सती जानु पर्थ्यो। तर नरभूपालका साथ उनका चार रानीमध्ये कान्छी महारानी सुभद्रावति सती गइन्। बरु उनको प्रिय कमारो केटो आफ्ना इच्छाले 'मालिकको सेवा गर्न परलोक जान्छु' भनेर बेग्लै चितामा चढी भस्म भए (आचार्य, २०६१ः१००)।

अझ त्यो समयको प्रचलनअनुसार सन्तानविहीन महारानी चन्द्रप्रभावति सती जानु पर्थ्यो। तर उनी सती गइनन्, पृथ्वीनारायणलाई राजकाजमा सघाउँदै रहिन्। यसरी इतिहासका पानामा उल्लेखित नरभूपालको जीवनको उत्तरार्द्धमा उनको चरित्र पढ्दा कतै उनी पछिल्ला समय समलिंगी प्रेममा डुबेका त थिएनन् भन्ने आशंकासमेत गर्न सकिन्छ।

तर इतिहासकार महेशराज पन्तले भने इतिहासप्रधान पत्रिका 'पूर्णिमा'को पूर्णांक ६३ (चैत्र २०४१ः१–५) मा प्रकाशित 'मालिक मर्दा केटी होइन, केटो सती गएको विषयमा' शीर्षकको लेखमा राजाको मृत्युमा पुरुष सती गएको घटनालाई त्यति अनौठो रूपमा लिन नपर्ने उल्लेख गरेका छन्। उनले नरभूपालको समयका र उनीभन्दा अगाडिका राजाहरूको समयमा केटाहरू पनि सती गएका उदाहरण पेश गर्दै यो राजपुत परम्पराको अवशेष भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्,'हिन्दू धर्मको रक्षा गर्न भनी राजपुतनाबाट पहाड पसेको भनी प्रख्यात भएको गोरखाली राजवंशका एक राजा नरभूपाल शाह परलोक हुँदा एक जना केटोले प्राण त्याग गरेको घटना राजपूत परम्पराको अवशेषका रूपमा देखिन आएको छ।'


सम्बन्धित सामग्री