Tuesday, April 30, 2024

-->

इतिहास
पृथ्वीनारायण शाहकी बुहारीमाथि लागेको व्याभिचारको आरोप

शक्तिमा आउनासाथ आफूमाथि व्याभिचारको बातसमेत लगाउने आफ्ना विरोधी दलका सदस्यहरूको दमनमा डटेर लागिन् पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी।

पृथ्वीनारायण शाहकी बुहारीमाथि लागेको व्याभिचारको आरोप

शाहकालीन नेपालका रानीहरूमध्ये सबैभन्दा चर्चित र साहसी रानीको रूपमा राजेन्द्रलक्ष्मीलाई लिने गरिएको छ। उनी पृथ्वीनारायण शाहका जेठा छोरा युवराज प्रतापसिंह शाहको युवराज्ञीका रूपमा नुवाकोट दरबार भित्रिएकी थिइन्। आफ्ना पतिको मृत्युपछि आशौचकै समय राजभवनबाट आफ्ना सुसारेहरूका हातहतियार भिरेर घोडामा सवार भई निस्कने गरेकीले उनलाई कतिपय लेखकले ‘झाँसीकी रानी’को विशेषण दिएको पनि पाइन्छ। उनी आफ्नो समयकी साहसी, विलासी र विवादित रानी तथा राजमाताका रूपमा रहिन्। 

पृथ्वीनारायण शाहले सानो पहाडी राज्य गोरखाको विस्तार शुरू गरेका थिए, तर उनका छोरा प्रतापसिंह शाह भने बाबुजस्तो सुरो र साहसी निस्केनन्। उनी विलासी स्वभावका थिए। बरू पृथ्वीनारायण शाहको पश्चिमतिर बढ्ने अधुरो सपनालाई राजेन्द्रलक्ष्मीले केही हदसम्म पूरा गरिन्। राज्यविस्तार अभियानलाई नायवका रुपमा अघि बढाउने रानी उनी एक मात्र हुन्। उनको माइतीखलक र जन्ममितिका बारेमा भने हालसम्म कुनै स्रोत फेला पर्न सकेको छैन। 

कता हो राजेन्द्रलक्ष्मीको माइत?

पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको माइती नेपालको सेन वंश हो कि गोरखपुरतिरको राजपूत खलक? इतिहासकारहरूले नै यस्तो प्रश्न खडा हुनेगरी कृति प्रकाशन गरिदिएका छन्।

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः३०६)मा युवराज प्रतापसिंह शाहको विवाह वि.सं. १८२२ फागुन दोस्रो साता भएको उल्लेख गरेका छन्। उनका अनुसार पृथ्वीनारायण शाहकी महारानी नरेन्द्रलक्ष्मीको माइती गोरखपुरतिरबाट झिकाइएको 'डोला मैया'सँग युवराज प्रतापसिंह शाहको शुभविवाह सम्पन्न भयो र युवराज्ञीको नाम राजेन्द्रलक्ष्मी रह्यो। तर इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’मा देवीप्रसाद भण्डारीले प्रस्तुत गरेको आचार्यको शृंङ्खलाबद्ध लेख ‘ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास’, ‘पूर्णिमा’को पूर्णाङ्क ५० (भदौ २०३८ः१२)मा आचार्यले राजेन्द्रलक्ष्मीको माइती गोरखपुर नभएर पाल्पामा गन्धर्व सेनपछि तिनका नाति मुकुन्द सेन (चौथा) राजा भएका र पृथ्वीनारायण शाहले तिनकी छोरी राजेन्द्रलक्ष्मीसँग युवराज प्रतापसिंह शाहको विवाह गरिदिएको उल्लेख गरेका छन्। यी फरक तथ्यले राजेन्द्रलक्ष्मीको माइतीघर गोरखपुर हो कि पाल्पा हो भन्नेबारे अन्योल खडा हुन पुगेको छ।

इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको महाभारत’ (२०५२ः१०)मा नेपालसम्बन्धी एक पुरानो बङ्गाली किताबमा राजेन्द्रलक्ष्मीको बुबाको नाम मुकुन्द सेन भन्ने लेखेको देखेर बाबुराम आचार्यले यो निचोड निकालेका हुन् भन्ने टिप्पणी गरेका छन्। 

फेरि आचार्यले आफ्नो पुस्तक ‘श्री ५ प्रतापसिंह शाह’ (२०६०ः३३)मा भने आफूले बङ्गाली भाषाको नेपालसम्बन्धी एक पुस्तकमा युवराज्ञी राजेन्द्रलक्ष्मीलाई मुकुन्द सेन (द्वित्तीय)की छोरीको रूपमा उल्लेख गरिएको पाइएकाले यसैअनुसार आफूले पनि यिनलाई पाल्पा राज्यकी राजकुमारीको रूपमा मान्दै आइरहेको, तर मकवानपुर राज्यको उन्मूलन भएदेखि नै पाल्पाली राजा मुकुन्द सेन (द्वित्तीय) को पृथ्वीनारायण शाहसँग विरोध बढ्दै आउनुका साथै राजेन्द्रलक्ष्मीकै प्रशासनकालमा पनि पाल्पाली राजा मुकुन्द सेन (द्वित्तीय) नेपाल अधिराज्यका विरुद्ध सक्रिय भएर लागिरहेहेकाले यिनी पाल्पाली राजा मुकुन्द सेन (द्वित्तीय)की छोरी होइन रहिछन् भन्ने निर्णयमा पुगेको टिप्पणी गरेका छन्। आचार्यले ‘पूर्णिमा’मा चाहिँ राजेन्द्रलक्ष्मीको बुबाको नाम मुकुन्द सेन (चौथा) भन्ने उल्लेख गरेका छन्।  

यताबाट हेर्दा राजेन्द्रलक्ष्मीको माइती गोरखपुरका राजपूत घराना नै रहेको मान्नुपरेको छ।

इतिहासकारहरूले तत्कालीन युवराज प्रतापसिंह शाह अत्यन्तै विलासी रहेका थिए भन्ने उल्लेख गरेका छन्। उनीसँगै युवराज्ञी राजेन्द्रलक्ष्मीको जीवन पनि शुरूमा विलासमुक्त थिएन।

दरबारभित्र तत्कालीन युवराज र युवराज्ञीका चर्तिकलाले राजा पृथ्वीनारायण शाह वाक्क दिक्क थिए। युवराज प्रतापसिंह शाहको ध्यान आफ्नो बाबुले शुरू गरेको राज्यबिस्तार अभियानको उद्योगलाई निरन्तरता दिनेतिर थिएन। उनी बसन्तपुर राजदरबार परिसरभित्र निर्माण गरिएको ‘विलासमन्दिर’मा मैजु रानी लगायतका सुन्दरी नेवार कन्याहरूले घेरिएर मोजमस्तीमा मग्न थिए। उनी राजकाजमा भन्दा तन्त्र साधनाबाट सिद्धि प्राप्त गर्नेतर्फ अग्रसर थिए। त्यसैले उनी मांस, मदिरा र मैथुनमा विश्वास गर्थे। प्रतापसिंह शाहकी विवाहिता युवराज्ञी राजेन्द्रलक्ष्मी पनि भोगविलासमै हुर्केकी र विलासी जीवनशैली भएको विलासमन्दिरमा प्रवेश गरेकी हुँदा उनी पनि विलासिनी हुनु स्वभाविकै थियो (नेपाल, २०५२ः१०)।

झण्डै सती बनेर पोलिएकी

राजा प्रतापसिंह शाहको २६ वर्षकै उमेरमा वि.सं. १८३४ मङ्सिर ६ गते निधन भयो। उनको निधन हुँदा युवराज रणबहादुर शाह केवल अढाई वर्षका बालक थिए । राजेन्द्रलक्ष्मीले पनि जवान उमेरमै वैधब्य जीवन बिताउनुपर्‍यो। त्यस बेलाको परम्पराअनुसार आठ जना केटी तथा सुसारेहरूलाई सती बनाएर दिवङ्गत राजा प्रतापसिंह शाहसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो (आचार्य, २०६०ः१२३)।

त्यसबेला प्रतापसिंह शाहकी अर्की ल्याइता नेवार मैजु महारानीका तर्फबाट विदुर शाही जन्मिसकेका थिए। उनी त्यतिखेर फेरि गर्भवती भएकी थिइन्, समय पुगेपछि उनको गर्भबाट शेरबहादुर शाहीको जन्म भयो। त्यसबेलाका राजगुरु बज्रनाथ पौडेलले राजेन्द्रलक्ष्मीलाई पनि दिवङ्गत राजासँगै चितामा चढाई सतीमा पठाउन खोजेका थिए। राजेन्द्रलक्ष्मीलाई सती पठाएपछि राज्यको हर्ताकर्ता आफू बन्ने उद्देश्य बज्रनाथले राखेका थिए। उनले राजेन्द्रलक्ष्मीलाई सती जान कर गर्दा अर्का राजगुरु गजराज मिश्रले दुई दिनसम्म अल्मल्याएर राखेका थिए। त्यसबीचमा निर्वासित अवस्थामा रहेका उनका देवर राजकुमार बहादुर शाहलाई बोलाउन राजेन्द्रलक्ष्मीले सुटुक्क मानिस दौडाइसकेकी थिइन्। तेस्रो दिन बहादुर शाह आइपुगेपछि बज्रनाथलाई नजरबन्द गरियो, प्रतापसिंह शाहको काजक्रिया सकिनासाथ उनलाई चारपाटा मुडेर मुगलानतिर धपाइयो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ५१–चैत २०३८ः५)।

यसरी सती जानबाट मुस्किलले चलाखीसाथ उनी बच्न सफल भइन्। त्यसपछि आफ्ना देवर बहादुर शाहसँग मिलेर शासनको बागडोर सम्हाल्न लागिन्।

देवर भाउजूबीच प्रेम सम्बन्ध?

राजमाता भाउजू राजेन्द्रलक्ष्मी र राजकुमार देवर बहादुर शाह एकापसमा कहिले मिल्ने र कहिले झगडामा उत्रने गर्दै रहेका थिए। कहिले राजेन्द्रलक्ष्मीलाई नेल हालेर तथा नजरबन्दमा राखेर बालक राजाको नायवी बहादुर शाहले लिने गर्थे भने कहिले बहादुर शाहलाई नजरबन्दी बनाएर राजेन्द्रलक्ष्मीले शासनको बागडोर सम्हाल्थिन्।

राजेन्द्रलक्ष्मी मात्रै नेपालको इतिहासमा यस्ती एक रानी हुन्, जसले पृथ्वीनारायण शाहले शुरू गरेको गोरखा राज्यबिस्तार अभियानलाई अगाडि बढाएकी थिइन्। 

राजेन्द्रलक्ष्मीको नायवी कालमा पश्चिमका केही राज्यलाई नेपालभित्र गाभ्ने काममा सफलता मिलेको थियो। पृथ्वीनारायण शाहले धेरै प्रयास गर्दा पनि आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ, कास्की, नुवाकोट (पल्लो), सतहुँ र गरुहुँ राज्यहरूलाई नेपालमा मिलाउने काम उनकै नायवी कालमा भएको थियो (प्रा. दिनेशराज पन्त, नागरिकन्यूज २०७६ चैत २५)।

शुरूमा यी देवर भाउजू मिलेर राजगुरु बज्रनाथ पौडेललाई मुडेर जात पतित गर्ने, सरदार परशुराम थापालाई कैद गर्ने जस्ता काम गरे। काजी स्वरूपसिंह कार्कीले मुगलानको बाटो समाए। देवर भाउजू मिलेर चलाएको शासनमा दुईबीच खटपट पैदा हुन पुग्यो। राजेन्द्रलक्ष्मीले काजी सर्वजित रानाको सहयोगमा बहादुर शाहलाई राजभवनभित्रै नजरबन्द गराइदिइन्। यसरी दरबारभित्र सत्ताको खेलचुक्ली चलिरहेको थियो। 

प्रतापसिंह शाहको मृत्युको आशौच सकिइसकेको थिएन। त्यसबेला राजमाता राजेन्द्रलक्ष्मी सार्वजनिक स्थलहरूमा स्वच्छन्द हिँडडुल गर्न थालेकी थिइन्। उनी स्वयम् घोडामा सवार हुने र केटी सुसारेहरूलाई पनि घोडामा नै सवार गराई राजदरबारभन्दा बाहिर समेत घुम्न निस्कन थालेकी थिइन्। उनको यस्तो स्वच्छन्द व्यवहार पुराना भारदारहरूलाई मन परिरहेको थिएन (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’–२०६८ः४)।

यसरी घोडामा सवार भएर पुरुषको स्वभाव लिएर दरबारबाट निस्की हिँड्दा उनीहरूले जामा पगरी आदि लगाएका हुन्थे भने ढाल तरबार भिरेका हुन्थे (नेपाल देशको इतिहास, ‘प्राचीन नेपाल’ सङ्ख्या २३–वैशाख २०३०ः८)।

नेपालको इतिहासमा घोडा चढी हतियारै भिरेर सहयोगीका साथ दरबारबाट बाहिर हिँडडुल गर्ने राजेन्द्रलक्ष्मीको यो उत्साह तत्कालीन समाजका लागि आश्चर्यजनक चुनौतीको विषय हुनु स्वभाविकै थियो। उनले आफू दरबारको खोपीभित्र सीमित नभई आफूसँग शासनसत्ता सम्हाल्न सक्ने हिम्मत पनि छ भन्ने देखाउन खोजेको प्रमाणित हुन्छ। 

यी भाउजू र देवरबीच प्रेम सम्बन्ध हुनुका साथै एकापसमा विवाह गर्ने योजना समेत रहेको थियो भनी एक बेलायती लेखक फ्रान्सिस हृयामिल्टनले लेखेका छन्। राजेन्द्रलक्ष्मीको मृत्यु भएको १५ वर्षपछि हृयामिल्टन नेपाल आएका थिए। वि.संं १८५८ वैशाखमा बेलायती दूतको रूपमा कप्तान नक्ससँगै चिकित्सकका रूपमा हृयामिल्टन नेपाल आएका थिए। उनी नेपालमा ११ महिना बसे। पछि उनले नेपालको इतिहास प्रकाश पार्दै ‘एन एकाउन्ट अफ् किङडम अफ् नेपाल’ (सन् १८१९) प्रकाशित गरे। 

हृयामिल्टन (सन् १८१९ः२७४)ले प्रतापसिंह शाहको मृत्युपछि देवर भाउजूबीच मनमुटाव भएको र यिनीहरू एकापसमा मिल्दा दुई जनाबीच गोप्य सम्बन्ध भएको समेत उल्लेख गरेका छन्। त्यो समय कस्तो संस्कृति थियो भने दाजु बितेपछि देवर भाउजूबीच विवाह हुनु स्वाभाविक थियो। यिनीहरूबीच वैवाहिक सम्बन्धसम्म पुग्ने कुरा पनि थियो भन्ने समेत उल्लेख गरेका छन्।)

तर इतिहासकार चित्तरञ्जन नेपालीले भने 'बाँचुञ्जेल एकअर्काका विरोधी रहेका राजेन्द्रलक्ष्मी र बहादुर शाहबीच यस प्रकारको गोप्य यौन सम्बन्ध हुन सक्छ भन्ने कुरा न राजनीतिक  दृष्टिकोणबाट सम्भव देखिन आउँछ, न त नैतिक दृष्टिकोणबाट नै' भन्दै विवेचना गरेका छन्। श्री ५ रणबहादुर शाह (२०७५ः५–६) मा पाल्पाको जनताको भनाइबाट सुनिएको भनी उल्लेख गरेको यस्तो कुरा शाही घरानाप्रति यसप्रकारको लाञ्छना लगाउन खोजेर हृयामिल्टनले राजनीतिक धूर्तता देखाएको भनी उनले राजेन्द्रलक्ष्मीको बचाउ गरेका छन्। 

हृयामिल्टनले नेपाल मामिलामा त्यसबेला गरेको शोधका क्रममा कम्पनी सरकारको सरहदमा निर्वासित अवस्थामा रहेका पाल्पाका सत्ताच्यूत राजकुमार समरबहादुर सेन तथा पाल्पाका पूर्व मन्त्रीहरू प्रतिनिधि तिवारी तथा कनकनिधि तिवारीसँग पनि भेटेका थिए (हृयामिल्टन, सन् १८१९ः४ र १८३)। सम्भवतः उनीहरूले नै बहादुर शाह र राजेन्द्रलक्ष्मीबीच प्रेम सम्बन्ध, यौन सम्बन्ध र विवाह गर्ने योजना आदिका बारेमा हृयामिल्टनलाई सुनाइदिएका थिए।

पाल्पाली राजा महादत्त सेनकी छोरीसँग बहादुर शाहको विवाह भएको थियो। 

काजीसँग अनुचित सम्बन्धको आरोप

राजेन्द्रलक्ष्मीमाथि लागेको सबैभन्दा ठूलो आरोप हो, आफैँद्वारा नियुक्त काजी सर्वजित रानासँग उनको अनुचित सम्बन्ध। यही आरोप र हल्लाका कारण सर्वजितको ज्यान गयो भने राजेन्द्रलक्ष्मी चाँदीको नेल हालिएर थुनामा परिन्। 

राजेन्द्रलक्ष्मी बालक छोरा रणबहादुर शाहको नायवी लिएर सत्तामा शक्तिशाली अवस्थामा रहेकै बेला उनको काजी सर्वजित रानासँग अनुचित सम्बन्ध रहेको छ भन्ने हल्ला पनि भित्रभित्रै चल्न थाल्यो। आफ्नो अधिकारको पुनस्थापनाका लागि बहादुर शाहले यस वातावरणलाई उपयुक्त अवसरका रूपमा लिए। आफ्ना काका दलजित शाहको अग्रसरतामा काजी श्रीहर्ष पन्तलाई साथमा लिई राजभवनभित्र रहेका केही कमारा केटाहरूलाई समेत आफ्नो पक्षमा मिलाएर काजी सर्वजित रानालाई राजभवनभित्रकै छिँडीमा वि.संं १८३५ भदौ २१ गते कटाइदिए। राजेन्द्रलक्ष्मी थुनामा परिन् (आचार्य, २०६८ः५)।

बहादुर शाहले काजी सर्वजित् रानाको ज्यान लिएसँगै राजदरबारभित्र भारदार हत्याको शृंङ्खला शुरू भएको हो। बहादुर शाहले यसो गरेर आफ्ना बाबु पृथ्वीनारायण शाहको नीतिविरुद्ध काम गरेका थिए। ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (बाबुराम आचार्य र योगी नरहरिनाथ (सम्पा.), २०६१ः५१) मा पृथ्वीनारायण शाहले नूनका सोझा भारदारहरूले ज्यानै जाने बिराम गरेका भए पनि उनीहरूलाई नमार्नू, बरु ‘माराताप’ दिएर लडाइँमा झोसिदिनू। यसरी लडाइँमा झोसिदिँदा उनले आफ्नो जिउ जोगाएर आएछ भने राम्रै भयो मरेर नै गएछ भने पनि आफूले मार्नुभन्दा अर्काबाट मारिएको राम्रो हुन्छ, राजाले आफ्ना सेवकहरूलाई देशमा कहिल्यै पनि नमार्नू भन्ने आशय ब्यक्त गरेका थिए।

त्यसो त पृथ्वीनारायण शाहकै समयमा पनि एक भारदार उनकै आदेशमा मारिएको इतिहास पाइन्छ। तत्कालीन युवराज प्रतापसिंह शाहलाई पक्राएर कान्तिपुरका राजा जयप्रकाश मल्लसमक्ष बुझाउने अपराध गरेको अभियोगमा बेलकोटका जसकर्ण पाँडेलाई उनले प्राणदण्ड दिएका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१ः५२०–२१)।

बहादुर शाहको योजनामा मारिएका काजी सर्वजित राना पृथ्वीनारायण शाहकै समयदेखिका भारदार थिए। तर सर्वजितसम्बन्धी ऐतिहासिक पत्रहरू कमै फेला परेका छन्। तीमध्ये वि.सं. १८३२ साउन सुदी ५ रोज ३ मा तत्कालीन राजा प्रतापसिंह शाहले दलमर्दन शाहलाई हात्ती उपहार दिँदा यसबारेको जानकारी पाउने भारदारहरूमा सर्वजित् राना पनि एक छन्। ‘पूर्णिमा’ पूर्णाङ्क १७ (वैशाख–असार, २०२५ः२९)मा दिनेशराज पन्तले प्रकाशमा ल्याएको उक्त पत्रमा ‘आगे गंगाधर दरोगा लछिमिनारायेन दरोगा मेघु षवास जोरावर षवास दलमर्दन साह धरानि पंथ सर्वजित रानाप्रति. दलमर्दन साहके सुव्वाई मानको हाति १ हात ४ चार्को वक्स्यु. आगे साल वाधि लिनु.’ भन्ने ब्यहोरा उल्लेख छ।

मूलकाजी सर्वजित राना मारिएर राजेन्द्रलक्ष्मीलाई पनि थुनामा राखिसकेपछि बहादुर शाहले नायवी लिए। उनले नायवी लिएपछि वि.सं. १८३५ भदौ सुदी ११ बुधबार बालक राजा रणबहादुर शाहले भारदारहरू योगनारायण मल्ल तथा ब्रजबासी पाँडेको नाममा एक लालमोहर जारी गर्दा सर्वजित राना मारिएको र शासनको अभिभारा बहादुर शाहमा सुम्पिएको उल्लेख छ। योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’ (२०५५ः३१)मा प्रकाशित गरेको लालमोहरमा ‘सर्वजित रानाले अकर्म गर्‍यो र काटियो मूलुकको भंनु श्रीमाहिला बाबालाई बक्स्यौं इनैका मार्फत सित मामिला गर’ भन्ने उल्लेख छ।

बहादुर शाहसँग रणबहादुर शाहको प्रतिशोध 

जब राजकुमार बहादुर शाह शक्तिमा आए, उनी गोरखा बसेर पश्चिमतर्फको युद्ध अभियानको तयारीमा लागे। थुनामा परेकी राजेन्द्रलक्ष्मी पनि आफ्नो शक्ति सञ्चय गरी थुनामुक्त भई शासनमा आउने तानाबानामा छँदै थिइन्। उनी पनि कम चलाख थिइनन्।

उनले निर्वासनमा रहेका आफ्ना काकाससुरा बुढा चौतरिया महोद्दामकीर्ति शाहलाई राजधानी झिकाइन्। उनैले राजेन्द्रलक्ष्मीलाई 'जितापत्र' दिलाइदिए। वि.सं. १८३६ असारमा उनी थुनामुक्त भएर पुन: शक्तिमा आइन्। शक्तिमा आउनासाथ आफूमाथि ब्याभिचारको बातसमेत लगाउने आफ्ना विरोधी दलका सदस्यहरूका दमनमा डटेर लागिन्। बहादुर शाहका मुख्य सहयोगी चौतरिया दलजित शाह देश निकालामा परे। धने खवास र बलभद्र खवास हात्तीको पाइलाले कुल्चाएर मारिए। गौरीकान्त र कोटसिंहलाई शूलीमा हालेर मारियो। बहादुर शाहका अर्का सहयोगी श्रीहर्ष पन्तलाई गालामा डामेर मर्स्याङ्दी पारी धपाइयो। त्यसपछि आफ्ना छोरा रणबहादुर शाहको नायवी लिएर उनी सत्तामा सर्वेसर्वा भइन्। आफू शक्तिमा आउनासाथ उनले सर्वजित रानाका भाइ बन्धु राना र देवदत्त थापा मगरलाई काजी बनाइन् (नेपाल,२०५२ः२०)।

बहादुर शाहले दरबारमा भारदार हत्याको शृंङ्खला जसरी शुरू गरेका थिए, त्यसलाई राजेन्द्रलक्ष्मीले पनि निरन्तरता दिइन्।

उनले राजकुमार बहादुर शाहलाई आफ्नो मुख्य विरोधी ठानेकी थिइन् । उनलाई छाड्ने कुरै भएन। उनले बालक राजा रणबहादुर शाहको अङ्गरक्षक काजी बन्धु रानालाई गोप्य तवरले आदेश दिई बहादुर शाहलाई पक्राएर मुगलान जानू भन्ने आज्ञा दिइन्। केही दिन फर्पिङमा नजरबन्दमा रही हिउँद लागेपछि उनी नेपाल छाडी मुगलानतिर लागे (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६०–माघ २०४१ः३९)।

बहादुर शाह मुगलानतिर लागेलगत्तै राजेन्द्रलक्ष्मीको वि.सं. १८४३ साउन २ गते निधन भयो। त्यसपछि फेरि स्वदेश फर्की राजा रणबहादुर शाहको नायव भएर बहादुर शाह राजकाजमा सक्रिय हुन पुगे। यसरी बहादुर शाह फेरि सत्तामा आए।

राजा रणबहादुर शाह जब जवान भए, तब उनले वि.सं. १८५१ देखि आफै राजकाज चलाउन थाले। राजाको यस्तो इच्छा देखेर बहादुर शाह नायवी छाडेर अलग भए। रणबहादुर शाहले बहादुर शाहलाई दरबारबाटै निकालिदिए। उनी बसेको दरबारको भागमा रणबहादुर शाहले आफ्ना भाइलाई बसाए। त्यसपछि विरक्तिएका बहादुर शाह आफैँले बनाएको पशुपतिनाथको धर्मशालामा बस्न गए (नेपाल, २०५२ः३२)।

आफ्ना भतिजा रणबहादुर शाहसँग उनको खटपट पर्नुमा राजाले आफ्नै ढङ्गले गठन गरेको मन्त्रिपरिषदका केही सदस्यहरूप्रतिको उनको असहमति कारक थियो। यस्तै बालविधवा मैथिल ब्राह्मणी कान्तवतीलाई रानी बनाएपछि उनीबाट जन्मेको छोरालाई राजा बनाउने रणबहादुर शाहको कटिबद्धताप्रति बहादुर शाह असहमत थिए। 

रणबहादुर शाहले ल्याइतातिरका भाइहरू विदुर शाही र शेरबहादुर शाहीलाई चौतरिया पदवी दिई मन्त्रिमण्डलमा राखे। टक्सारी, खजाञ्ची र कपरदारहरूलाई पनि मन्त्रिमण्डलमा राखी मन्त्रीहरूको सङ्ख्या बढाए। त्रिभुवन प्रधानलाई हजुरिया मन्त्री बनाई अरू मन्त्रीहरूको अधिकार कम गरिदिए। ल्याइतातिरका भाइहरू विदुर शाही र शेरबहादुर शाहीलाई मन्त्री बनाएको बहादुर शाहलाई मन परेको थिएन। यस्तै आश्रित राज्य पाल्पाका राजा महादत्त सेनको गुल्मीको रियासत खोसिएकोमा बहादुर शाहले विरोध गरेका थिए। यसैको परिणामस्वरूप बहादुर शाह दरबारबाट बाहिर निस्कनुपर्‍यो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६३–चैत २०४१ः२१)।

काका भतिजबीच खटपटको समयमा रणबहादुर शाहले काका बहादुर विरुद्ध १२ विभिन्न आरोप लगाएका छन्। तीमध्ये दोस्रो सवालमा आफ्नी आमा राजेन्द्रलक्ष्मीको चरित्रमाथि लागेको आरोप र तेस्रो सवालमा राजेन्द्रलक्ष्मीलाई बहादुर शाहकै षडयन्त्रबाट विष खुवाइएको समेत उल्लेख गरिएको छ। 

वि.सं. १८५४ वैशाख वदी रोज २ मा रणबहादुर शाहले जारी गरेको बहादुर शाहको विराउसम्बन्धी लालमोहरमा ‘श्री महतारीज्यूलाई नहुँदो वातलाई नेल हाली सर्वजीत रानालाई पनि काट्यो श्री महतारीज्यूलाइ भोग पुर्‍याउनु मलाई मारी दाष चोकको इनारमा पुरनु भनी मदो गर्दा...’ भन्ने परेको छ। यस्तै तेस्रो सवालमा ‘कोतको छिँडीमा मथुरा भन्याकी तनहुंकोट्या केटी बस्याकी थिई. अकर्मी बहादुर साहीले दिन १५ सम्म उसै छिंडीमा जाई षुषामद गरी मथुरालाई तँलाई रानी भन्दा बडो मान गरी भित्र्यानी तुल्याइ राषुँला. यस रानीलाई केही जुक्तिले विष षुवाई मारिदे भनेछ...’ भन्ने पनि परेको छ (नेपाली, २०७५ः१०२)।

अहिले परोपकार केन्द्र रहेको ठाउँमा पहिले कारागार थियो। बहादुर शाहलाई त्यहीँ राखिएको थियो। वि.सं. १८५४ असार १५ गते अस्वfभाविक र रहस्यमय ढङ्गले उनको निधन हुन पुग्यो। उनको मृत्यु अस्वाभाविक थियो भन्ने विषयमा इतिहासकारहरू एकमत छन्, तर कसरी उनको निधन भयो भन्ने बारेमा मतक्यैता छैन।

इतिहास शिरोमणि आचार्यका अनुसार रणबहादुर शाहले आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई विष खुवाएको अपराध लगाएर बहादुर शाहकी रानीको हुर्मत लिएका थिए। आफ्नी रानीको हुर्मत लिएको सहन नसकी बहादुर शाहले डोरीको पासो लगाएर कैदी अवस्थामै आत्महत्या गरे (आचार्य, २०४१ः२२)।

इतिहासकार ज्ञानमणि नेपालले बहादुर शाहले आत्महत्या गरेको नभई उनको हत्या नै भएको उल्लेख गरेका छन्। उनका अनुसार वि.सं. १८५४ असारको औंशीको मध्यरातमा बहादुर शाहलाई कैदी अवस्थामै मारियो। भोलिपल्ट बिहान पटुकाले पासो लगाएर दलिनमा झुण्डिएको लाश देखियो भन्दै उनले आत्महत्या गरेको घोषणा गरियो। उनी परलोक भएको सूचना दिन चीनका बादशाहलाई पठाएको पत्रमा भने बहादुर शाह सिकिस्त विरामी हुँदा कैदबाट मुक्त गरी भरमग्दुर औषधिमूलो गर्दा पनि  केही नलागी दैवको इच्छा दिन आइपुगेको हुँदा परलोक भए भनी लेखिएको छ (नेपाल, २०५२ः३६)।

बहादुर शाहकै विषयमा विद्यावारिधि गर्ने इतिहासकार डा. भद्ररत्न बज्राचार्यले भने उनको मृत्युबारे आङै जिरिङ्ग हुने तथ्य प्रकाशमा ल्याएका छन्। बहादुर शाहकै परिवारलाई स्रोत बनाएर उनले उल्लेख गरेअनुसार जेलमै रहेको बेला तत्कालीन राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो। तातो तेलले डामेको पीडाले नै अन्ततः उनको मृत्यु भएको थियो। त्यस अगाडि उनकी पत्नीको बद्नाम गर्ने चेतावनी दिइएको थियो (बज्राचार्य, ‘ईकान्तिपुर डट कम’–२०७३ जेठ २९)।


सम्बन्धित सामग्री