Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
जनप्रतिनिधिका दशानन अवतार, बोक्रा ज्यादा गुदी कम

संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ।‌ हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्।

जनप्रतिनिधिका दशानन अवतार बोक्रा ज्यादा गुदी कम

आज कुरोग्राफरको मुड गम्भीर छ, त्यसैले कुरो पनि हल्का गम्भीर छ।

कुरो गम्भीर किन छ भने, समाज चौतर्फी रूपमा ‘सब्स्टेन्स‘भन्दा ‘अप्टिक्स‘को पकडमा जकडिँदै‌ छ। त्यही समाजका प्रतिविम्ब, त्यही समाजले चुनेका जनप्रतिनिधि यो क्रमबाट अलग हुने आशा गर्ने कुरै भएन। न ती क्रान्ति गरेर जेलनेल भोगेका राजनीतिज्ञ लोकरिझ्याइँका अनेक ‘फर द अप्टिक्स‘ फन्डाबाट अलग थिए– न यी भगवान् मानिएका नेता, मसिहा कहलिएका प्रतिनिधि, बाहुबली बनाइएका सांसद‌ यसबाट भिन्न छन्।

अनि‌, मुड गम्भीर छ, किनकि यस्ता फन्डाहरूको मापन र परिमाण समयक्रममा घट्नुको साटो झन‍्झन‍् बढ्दै छ।

हामी हुर्किँदै गर्दा देश ‘खुला‘ हुने क्रममा थियो। बढ्दै जाँदा, पढ्दै जाँदा ठीक–ठीकै दिशातिर बढ्दै थियो। परिवर्तन हुँदै थियो। इन्जिनको क्षमता बढोत्तरीका लागि काम गर्दै जानुपर्ने भए पनि एक गेयर, दुई गेयर गर्दै चल्दै थियो। अहिले आएर यी दश टाउका र दश जिब्रा भएका प्रतिनिधिले हाम्रा सन्ततिका पालासम्म रिझ्याइँवाला स्टन्ट गर्दागर्दै देश थकित भएर रिभर्स गेयरमा उँधो लाग्ला कि भन्ने भय उब्जिएको छ। गम्भीर मुडलाई चिन्ताले थप साथ दिएको छ।

भनिन्छ, संसारमा केही पनि कुरा आफैँमा पूर्ण (परफेक्ट) हुँदैन। राजनीतिशास्त्रको लोकतान्त्रिक–समाजवाद हाँगाका केही विद्यार्थीले पूर्ण मान्ने केही थान कथनहरू उत्पादन गरेका जर्ज अर्वेल, उनको लेखनमा भारी रूपमा देखिने नैतिक सर्वोच्चताको ‘सुपरइम्पोजिसन‘ र पक्षपातपूर्ण विचारका लागि निकै आलोचित पनि थिए। तिनै अरवेलद्वारा लिखित ‘ऐनिमल फार्म‘ किताबको चर्चित कथन "अल ऐनिमल्स आर इक्वल, बट सम् ऐनिमल्स आर मोर इक्वल द्यान अदर्स्" अर्थात् सबै जनावरहरू समान हुन्, तर केही जनावरको अरूको दाँजो बढी सम्मान हुन्छ भन्ने कुरा उनको अरू लेखनप्रतिको सहमति–असहमतिका बाबजुद‌ सामाजिक–राजनीतिक प्रणालीका विभिन्न परिदृश्यबारे व्याख्या वा आलोचना गर्दा लागू हुँदै आएको छ। तसर्थ, यो कथन पूर्ण नभए तापनि व्याप्त छ र यथार्थबोधक छ।

उदाहरणका निम्ति, भन्नका लागि सबै नेपाली समान हुन् भनिन्छ। नियमानुसार यस भूभागमा जन्मिएका सबैले उस्तै अधिकारप्राप्त गर्छन्, सबैलाई समान व्यवहार गरिन्छ भनिन्छ। तर यस्तो ‘अव्यावहारिक‘ सिद्धान्तको सीमितता छ, यो व्यवहारमा लागू हुँदैन। जस्तो कि यहाँ भूगोल, वर्ग, अर्थ, लिंग वरपर असमानता फैलिएको छ, आए दिन विभेदको सामान्यीकरण भइरहेको छ। अर्वेलको उल्लेखित कथन जनताबीचको असमानताभन्दा अलि कति माथि, जनता र तिनले चुनेका प्रतिनिधि (कालान्तरमा शासक)सम्म पुग्दा झनै चौडा भएर प्रतिविम्बित हुन्छ।

जनादेशको आडमा आर्जन गरेको शक्तिले समानताको अवधारणालाई धुमिल पारी दिन्छ, सोहीअनुरूप जनताले चुनेका सांसदको र तह–तहमा वर्गीकृत भएका सर्वसाधारणभन्दा बढी सम्मान हुन्छ। अनि शक्तिप्राप्त लिडरको दश टाउका, दश जिह्वा भएका अवतार प्रकट हुन्छ। आफ्नो समस्याको हल गर्दिनका लागि जसले चुनेका हुन्, उनैको काँधमा चढेर उनीहरूलाई नै फनफनी घुमाउने खेल शुरू हुन्छ। 

दृष्टान्त: हाम्रो २७५ माननीयले भरिपूर्ण तर अपूर्ण प्रतिनिधिसभा हेरौँ, राष्ट्रियसभा हेरौँ। संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ।‌ हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्। 

सार्वभौमसत्ताप्रदत्त माननीय प्रतिनिधिसभा सदस्यका कुरा र बबुरा कुरोग्राफरका चिया खाने बेला फुर्सदमा निस्किएका दुईचार हावादारी विचारबीच तात्त्विक भिन्नता भेटिन्न।

सार्वजनिक महत्त्वको कुनै प्रश्नले सदनमा प्रवेश पाउँदा सामान्यता पच्छ्याउनुपर्ने प्रक्रिया, त्यसमाथि परिपक्व छलफल हुनु हो। हुन्छ के? मुद्दान्तरणको रणनीति (डिस्ट्र्याक्सन ट्याक्टिक्स) अनुरूप जुन विषयप्रधान हुनुपर्ने हो, त्यसबाहेकका सबै कुरा समेटेर दुई घण्टासम्म प्रवचन चल्छ। म मान्छु केही पर्वचक मान्यवरको गफ हास्य रसले भरिपूर्ण हुन्छ, म पनि गलल हाँस्छु। कहाँ कुन बेला कसरी के कुरा गर्दा थपडी बज्छ भन्नेबारेको अध्ययन बेतोड छ, प्रश्न उल्टै प्रश्नकर्तातिर सोझ्याइदिने प्रतिभा दमदार छ।  तर छैन कुरोको चुरो। बोक्रै बोक्रा, गुदी कम भएका फलजस्तै प्रवचन। आफैँ अधिवक्ता, आफैँ न्यायाधीश हुने चलन।

सदनको जारी सत्रमा चल्नुपर्ने मुद्दा पोलिटिकल गिभ एन्ड टेक, बहस हुन्छ मुर्रा राँगोको पुच्छरको। कुरा हुनुपर्ने सरकार प्रमुखको विदेश भ्रमणका विभिन्न पाटोबारे, हुन्छ प्रधानमन्त्री भैँसी चढेर आए कि गधा भन्ने। छलफल हुनुपर्ने बजेटमाथि रहेका प्रश्न र असन्तुष्टिप्रति, हुन्छ अपुष्ट खबरको हवाला दिँदै को कता कुन बेला कसरी किन छिर्‍यो भन्ने। सवालजवाफ हुनुपर्ने नागरिकता विधेयकमा रहिरहेको विभेदगत बुँदाको, हुन्छ पहिला राष्ट्रघात अनि कालान्तरमा प्रक्रियागत त्रुटिको। आफू होहल्ला गर्ने, अरू होहल्ला गर्नेमाथि नैतिक प्रश्नको भार बोकाउने‌ दृश्य। करको दरमा रहेको खाडलबारे असन्तुष्टि व्याख्या गर्दा उदाहरण दिइन्छ, ४० लाखको गाडी चढ्ने ‘मध्यमवर्ग‘को। यो सब त्यही सानो तर बढी सम्मान जमातको जनता घुमाइ न हो। 

हाल बाहिरबाट हेर्दा सदन लगभग अर्वेलको कथामा वर्णन गरिएको म्यानर फार्म जत्तिकै अस्तव्यस्त छ। असन्तुष्टि ‘क्यास‘ गरेर सत्ताको भर्‍याङ चढ्ने महत्त्वाकांक्षी मुहारहरू, चतुर म्यानराइट ‘नेपोलियन‘ जस्तै बढी सम्मानित छन्, कम छैनन्।

लोकरिझ्याइँको जगमा उदाएका पुराना, नयाँ माननीयलाई एकछिन एकछेउ राखौँ। विषयगत ज्ञान, अनुभव, अध्ययन र व्यावहारिक दृष्टिकोणले समाज र देश रूपान्तरण गर्लान् भनेर आस गरिएका नेताहरू पनि ‘मेन्स्ट्रिम‘ जनता खुसाउने मौखिक करतबमा अल्झिएका छन्। पपुलिजमको मूलाधारीकरणबाट आफू बच्ने, समाजलाई बचाउन सक्ने भनिएका उल्टै त्यही बहावमा फाल हाल्दै पो छन्।

म सोच्छु, दशकौँदेखि राजनीतिमा रहेर सफल नेता गनिएका उनीहरूको थिन्क ट्यांक त हुँदो हो? तपाईंहरू कहिलेकाहीँ सोच्नुहुन्न– उनीहरूले के सल्लाह दिन्छन् होला नेतालाई? "माननीयज्यू, यस्तो बेतुकका कुरा गर्दा समाचारमा ठाउँ पाइन्छ, पोलिसीमा पाइन्न" "भूराजनीति जटिल मामला हो, यसको समाधान भित्तामा नक्सा टाँसेर वा ठूलो गफ दिएर हुन्न। बरु कूटनीतिक पहल गर्न सरकारलाई सुझाउनूस्, नोट लेख्नूस्, खबरदारी गरिरहनूस्" भन्लान्? कि "हो दाइ हो, मौका पा’बेला बोल्दिनुपर्छ। नक्सा त के, परे सुरुङ युद्ध गर्ने घोषणा गरिदिनुपर्छ। राम र श्यामले बोलेरै महानगर र मोफसल खाइसके, हाम्ले ४ नम्बरको मत जोगाउनुपर्छ?" भन्छन्? कि यी ट्यांकका कुरा नसुनिएको हो? पप्युलिजमको दबाब थेग्न नसकिएकै हो?

‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो‘ भन्ने विश्वेश्वरप्रसाद कोइरालाका सन्ततिले दल, सदन, सञ्जालबाट राष्ट्रवादको परिभाषा बदल्दै गरेको, त्यस शब्दको परिधि घटाइरहेको अवस्था छ। ‘तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो‘ भन्ने उनका वंशिक उत्तराधिकारीले तानाशाह मात्रै प्रजातान्त्रिक, भनिरहेको बेला आफूलाई उनको अनुयायी भन्नेहरूले भड्किएको बहसलाई सही दिशातर्फ डोर्‍याउनु पर्ने हो। भएको छ उल्टो।

नेपाली कांग्रेसमा बीपीपछिको क्रान्तिकारी कहलिएका नेता बीपीको ‘देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो‘को भावलाई बिर्सिएर समाजको प्रभावशाली तप्का रिझाउन सांस्कृतिक नक्साबारे म्याउँम्याउँ गर्न थालेका छन्। उनै ‘बाहुबली‘ जो कुनै बेला पप्युलिस्ट राजनीतिको डरलाग्दो लहरका बाबजुद त्यसविरुद्ध डटेर बोल्ने सामर्थ्य राख्थे।

समय परिवर्तनशील छ। परिवर्तनशील समयको धारसँगै ‘सब्स्ट्यान्स‘ सर्किँदै र ‘अप्टिक्स‘को बोलबाला बढ्दै जाँदा हतासिँदै हावाको प्रवाहसँगै बतासिने व्यक्ति सफल ‘लिडर‘ हुन्छ? कि धैर्यताका साथ बहकिएको डिस्कोर्सलाई सही दिशा देखाउने धैर्यता‌ राखेको, परिवर्तित समाजले खोजेको नयाँ डिस्कोर्स चालु गर्ने आँट भएको नेता दीर्घकालीन नेता हुन्छ? परिवर्तनको गाडी हाँक्छु भन्ने चालक अप्टिक्सको पछि लागेर एउटा रफ्तार लिन सक्छ, गन्तव्यमा पुग्न सक्दैन। किन? किनकि, अरूको फरारी तेज छ, चिल्लो बाटोमा पहिल्यै स्टार्ट लिइसकेको छ‌ र दिशा फरक छ। चाहिएको साह्रो गाह्रोमा गति मिलाउँदै दौडन सक्ने घोडा होला। त्यसतर्फ सोच्नुपर्‍यो। आधा बाटोमा सकिने चिल्लो बाटोपछि आउने उबडखाबड भीर पहरा पनि उकालोओरालो गर्नसक्ने ‘सब्स्ट्यानसियल‘ घोडा।

कि यो सब चिन्तन, मनन मात्र मेरो मनको भ्रम हो? आफू अरूभन्दा बढी सम्मान भएको ‘दोष‘ निवारण गर्ने उपाय हो? मैले चाहेको उत्तर देखाउने प्रश्न हो? बेला मौकामा गम्भीर कुरा गर्ने बहाना हो? कि भूराजनीति जटिलताको समाधान कूटनीतिक चातुर्य हैन? कि जमाना अप्टिक्स‌ को नै हो र समस्या म नै हुँ?

कि आखिर नक्सा नै रहेछ सत्य एक?


सम्बन्धित सामग्री