Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
ब्रेक–थ्रु चिन्तन : प्रचण्ड प्रतापी रुद्राक्ष–डिप्लोमेसी

प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ।

ब्रेक–थ्रु चिन्तन  प्रचण्ड प्रतापी रुद्राक्ष–डिप्लोमेसी

समयको ठ्याक्क यो बिन्दुमा आधा–पौने नेपालको ध्यान एउटै सन्दर्भतिर मोडिएको छ, देशको सामूहिक सोच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा पूर्णकेन्द्रित छ। हाम्रा ढुकढुकी चल्दैछन्, पारिबाट आउने पलपलको खबरका चालमा। अनि मस्तिष्क अल्झिएका छन् हाम्रो भ्रमण दस्ता उडेको जहाज वरपर बुनिएका प्रश्नहरूको जालोमा।

रङ–रङका प्रश्न, बेरंगी प्रश्न। ढाँचा मिलेका प्रश्न, बेढंगी प्रश्न। भिन्न शैली, फरक मनसायका प्रश्न। केही वैध केही बेतुका प्रश्न। पक्ष–विपक्षका प्रश्न। बुझ्न सोधिएका प्रश्न, सोध्नका लागि सोधिएका प्रश्न। 

यस्ता प्रश्न, उस्ता प्रश्न। 

०००
चाइनाभन्दा पहिला भारत किन गए? कति जनाको डेलिगेसन गयो? जानेको संख्या ठ्याक्कै ८८ हो कि १२०? ढोकाबाट निस्किँदा पूर्वबाट निस्किए कि दक्षिण फर्किएर? मासुभात खान नपाएको जन्तीजसरी किन गएको? जबरजस्ती ससुराको बर्थडे पार्टीमा लगिन लागेको ज्वाइँजसरी किन नगएको? त्यत्रा मान्छे जाँदा किन परिनँ?

नेपाली प्रधानमन्त्री लिन मीनाक्षी लेखी आइन्, भारतीय प्रधानमन्त्री लिन हामीले रमेश लेखक किन नपठाएको? फलाना किन लिन आएनन्? फलाना लिन नआएको अर्थ के हो? उनलाई सलामी किन दिइएन? स्वागत टोलीले दोहोरी बजाएर किन नाचेन? डीजे किन नराखेका? भारतीय अधिकारीहरूले प्रतिमिनेट २५ पटक सास फेर्दा हेपिएको मानिन्छ कि ३० पटक? नेपाल–भारत कूटनीतिले एउटाबाहेक सक्षम महिला देखेन?        

प्रधानमन्त्रीको बडी ल्यांग्वेज कस्तो थियो? साइकोलजिकल ल्यांग्वेज के थियो? तस्वीरमा किन हाँस्दा दुइटा मात्र दाँत देखाए? के उनी आफ्नो हातको पोजिसनमार्फत इलुमिन्याटीलाई केही सन्देश दिँदै छन्? किन भारतीय समकक्षी मोदीसँग उभिँदा ऐक्युट ऐंगलमा फर्किए, राइट ऐंगलमा फर्किएनन्? महाकालेश्वर किन गए, गोवा किन गएनन्? रुद्राक्ष किन चढाए, हिमालको हिउँ पग्लिएर बनेको मिनरल वाटर लगेर किन चढाएनन्?

प्रधानमन्त्री र तिनका डफ्फा त गए–गए, तिनी गएलगत्तै रवि लामिछाने र बालेन शाह पनि किन भारत गए? एक जना पीएचडीको चाँजोपाँजो मिलाउन गए रे, नेपालमा पत्रकार सम्मेलन गरेर 'मोदीजी, मेरे साथ मन कि बात करिए, मैं सबका पोल खोलुंगा' भनेर कुर्लिने लामिछाने किन गए?

गए त गए, के–के सम्झौतामा हस्ताक्षर भए? कुन–कुन सम्झौता टारियो? असमझदारी कस्ता विषयमा भए? बिहान पराठा–दही खाने कि इंग्लिस ब्रेकफास्ट खानेबारे? अथवा कसैले जेरीस्वारी र मनभोग भए खाने नत्र अनशन बस्ने अडान लियो? पानीजहाज क्याप्टेनले चलाएर पानीमाथिबाट आउँछ कि बालुवाम्याथइबाट ड्राइभरले ल्याउँछन्? हवाईजहाज आउने रुट दिए कि दिएनन्? दिए कति फिट माथि/तलबाट आउने इजाजत दिए? नदिए अब हामी उनीहरूलाई के नदिने? दिएको के कुरा खोस्ने? दुनियाँ–दोकानको दीवनापनले वाक्क भएर घर छोडेर हिँडेका बुद्धलाई टाइम–ट्राभल गरेर उल्टो पाइला फर्काइ सुनौलीमै बोधिसत्त्व दिलाउन मिल्छ कि मिल्दैन? के बुद्धले यस्तै बुद्धिबिलासबाट आजित भएर संन्यास लिएका थिए?

प्रधानमन्त्रीले भनेझैँ ऊर्जामा ब्रेक–थ्रु सम्झौता भएका हुन् कि उनी कुनै कहिले नसकिने भ्रममा बाँचिरहेका छन्?

यो भ्रमण खासमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी'जी'ले भनेझैँ सुपरहिट हो कि ऐभरेज हो कि, ब्लकबस्टर नै हो कि? डिजास्टर हो?

सबै जान्न आतुर छन्। व्यग्र छन्। 

०००
लाग्दै छ, महाप्रलयको शुरूआत यिनै प्रश्नहरूका 'ब्ल्याक एन्ड ह्वाइट' उत्तर नभेटिने कारणबाट हुने छ। वा पक्ष–विपक्षको दुई छोरमा उभिएका प्रश्नकर्ताका हुलबीच उत्तर नचाहिने प्रश्नहरूको महाभारत शुरू हुन्छ। 

माथि वर्णन गरिएको 'उत्सुकता' हाल प्रधानमन्त्रीको भ्रमणमा देखिएको नौलो अथवा विशेष ट्रेन्ड भने होइन। यो हरेक दुई–चार वर्षमा कुनै व्यक्ति प्राकृतिक–अप्राकृतिक तवरले प्रधानमन्त्री बनेपछि  कहिले आमन्त्रित भएर, कहिले आफूलाई आमन्त्रित गराएर भारतको राजकीय वा सद्भाव भ्रमणमा निस्किँदा दोहोरिने तेहेरिने नियमित सिलसिला हो। यिनै व्यक्ति चीन (वा अरू मुलुक)तिर उस्तै हिसाबले जाँदा यी सब कचर–पचरबारे खासै कसैको चासो देखिँदैन, किनकि कारण– *आफ्नो हिसाबले, बुझाइको गच्छेअनुसार मिलाएर बुझ्नुहोला।*

अहिले जे भइरहेको छ, त्यो सोही 'इन्डिया भिजिट अब्सेसन'को रि–रन मात्र हो।

यस्तो लाग्छ, देशमा अरू कुनै मुद्दा नै बाँकी छैनन् सोचविचार गर्न। [यो भन्दै गर्दा अरू मेनस्ट्रिम विषयहरू– जस्तो कि मानव–तस्करी, सामाजिक –आर्थिक अव्यवस्था, नागरिकता विधेयक जारी भएपछिका वैचारिक आरोह–अवरोह आदि भनेर नबुझ्नुहोला। ती विषयहरू कहलिएका धुरन्धर रिपोर्टर, विश्लेषक, टिप्पणीकारउपर छोडिदिनुस्। हाम्रो डाइमेन्सन् छुट्टै छ, नजरिया भिन्नै छन्। कुरौटे फाइल्समा ती कुरा लेखिन्छन् जो अरू ठाउँमा हत्तपत्त लेखिन्नन्, कतै नहुने कुरा यहाँ डक्युमेन्ट हुन्छन्, डिस्सेक्ट हुन्छन्।]

अहिले पब्लिकको फोकस यिनै कुनै वैध, कुनै बेतुका प्रश्नमा यसरी खन्याइएको छ कि अरू सार्वजनिक महत्त्वका सवाल गौण बनेका छन्। मानौँ, डोजर चलेको हेरेर रमाउनु, डोजरले बाटो खन्दै गर्दा छेउमा चिया राखेर उपरखुट्टी लगाएर टाइमपास गर्नु सार्वजनिक महत्त्वको विषय नै हैन। कार्यालय, कामधाम छाडेर डोजर वरपर झ्याम्मिने परम्परालाई निरन्तरता दिने कर्मठ नेपालीको डोजर–हेराइ संस्कृतिउपर पर्याप्त चर्चा परिचर्चा नपुग्नुले शंका उब्जाउँदैन?

मानौँ, जग्गाको कित्ताकाट सुचारु भएको खबर सुनेर हौसिएका व्यक्तिबारे बोल्नु, खबर छाप्नु पाप हो। हो त? यो बारेमा प्रश्न किन सोधिँदैनन्? अनि, अनि सुनको भाउ दिनमै प्रतितोला ५००० ले बढेर नयाँ रेकर्ड बनाउँदा पनि न्युरोडको मूलरोड जाम हुन नछोड्नु, त्यहाँ भीड कम नहुनु आश्चर्यजनक अजूबा नै होइन? खै यसबारे कसैले बोलेको? खै यसबारे चर्चा? 'कसले उराल्यो सुनको भाउ?' जस्ता हेडलाइन खै? 

के त्यत्रो साढे तीन घण्टा लामो बजेट पढेर भ्याउँदा पनि तपाईं/हामी जस्ता कखगको सट्टा क्षत्रज्ञ लेखेर, पढेर दालभात जोहो गर्ने शब्दशास्त्रीको मर्म नअटाउनु, माग सम्बोधन नहुनु मूलधार समाजले उठाउनुपर्ने मुद्दा होइन? अल्टर्नेटिभ ओपिनियनको सास थामिराख्नेहरूको बैंक ब्यालेन्स थामिराख्न पर्छ कि पर्दैन भन्ने प्रश्न उठ्न पर्ने हैन?

अझै घोरिएर सोच्दा, डोजर–संस्कृति, जग्गा र सुनभन्दा महत्त्वपूर्ण कुरा– यस्तो प्रतीत हुँदै छ कि वरिष्ठ पत्रकार, समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवी र अभियन्ता ऋषि धमलाले हरेक प्रधानमन्त्रीको विदेश भ्रमण हाइज्याक गर्ने ऐतिहासिक ट्रेन्ड राष्ट्रिय प्रकरण हुन योग्य विषय नै होइन। के समाजको एउटा वृत्तमा प्रधानमन्त्रीभन्दा धेरै उनको चर्चा‌ हुनु पनि ठूलो कुरा होइन‌?

नेपालमा अरू कुनै चिजबिज स्थायी छैन– छ त केवल धमलाको लाइमलाइटमा रहिरहने ‌‌दृढ चाह, र त्यो चाहनालाई तथ्यमा परिणत गर्न सक्ने उनको आँट, लगनशील कर्म। कति मल्टीट्यालेन्टेड न्युजमेकर आए/गए– उनी दशकौँदेखि सालको रूखझैँ अडिग छन्। आफ्नो घोर आत्मविश्वासलाई 'इग्नोरेन्ट ओभर्स्मार्ट्नेस'को बिल्ला भिराउने जत्थाको मानसिकताविरुद्ध लड्दै/भिड्दै विजयी हुने धमलाको हमला औचित्यविहीन हो?

हामी कलेक्टिभ सर्टटर्म मेमोरी–ग्रसित भएका नेपालीजन नोस्टाल्जियाको मामलामा चाहिँ विभिन्न टीभीसीभीमा देखाइने जागरुक ग्राहकजस्तै छौँ। माथि उल्लिखित प्रश्न गर्नेहरूमध्ये कसैलाई कुनै महाराज याद आएका छन्, कसैलाई बीपी, कसैलाई जीपी। कोइकोइ फरक सन्दर्भमा लेन्डुप दोर्जेको पनि सम्झना गरिरहेका छन्– तर मेरो सम्झनामा केवल ऋषि धमला छन्, हुनुपर्नेजस्तै।

यी– यस्ता यावत् प्रश्नहरू रहिरहे, रहिरहने छन्। तिनको उत्तर सजिलै भेटिन्न र भेट्न जरुरी पनि छैन। यद्यपि, जारी प्रश्न–मन्थनबीचबाट एउटा यस्तो उत्तर जन्मिएको छ, जसको कुनै प्रश्न छैन, जुन कुनै आस्था, संस्कृति, समाज, विचार, व्यवहारसँग सम्बन्ध छैन।  

त्यो उत्तर हो:– नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ। 

।।इति।।


सम्बन्धित सामग्री