Thursday, May 02, 2024

-->

प्रधानमन्त्रीको एकवर्षे कार्यकालः १८० कार्यक्रममा उपस्थिति

सचिवालयले निमन्त्रणा तथा जानकारीका लागि एक वर्षमा पठाएका सूचनाहरूको अध्ययनबाट विद्यालयका वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचनजस्ता मसिना कार्यक्रम पनि प्रधानमन्त्रीले नछुटाएको देखिन्छ।

प्रधानमन्त्रीको एकवर्षे कार्यकालः १८० कार्यक्रममा उपस्थिति

काठमाडौँ– पोहोर पुस १० गते नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बन्दा आफ्नो तेस्रो कार्यकाल सम्झनलायक हुने बताएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षमा सहभागी भएको कार्यक्रमहरूको सूचीचाहिँ सम्झिनलायक बनाएका छन्। 

सरकारले एक वर्ष पूरा गरेको दिन मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दा केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उद्घोष गरेका प्रधानमन्त्रीले भोलिपल्टै गोरखा पुगेर तीन वटा कार्यक्रम भ्याएका छन्। गत वर्ष पुस १० देखि यसपालि पुस १० सम्म प्रधानमन्त्री सहभागी कार्यक्रम केलाउँदा उनले कम्तीमा १८० कार्यक्रममा उपस्थिति जनाएको देखिन्छ। 

प्रधानमन्त्रीको सचिवालयले निमन्त्रणा तथा जानकारी दिने प्रयोजनका लागि एक वर्षमा विभिन्न माध्यमबाट पठाएका सूचनाहरूको अध्ययन गर्दा विद्यालयका वार्षिकोत्सव, व्यापार मेला, सांस्कृतिक कार्यक्रम, संस्थाका साधारणसभा, विचार गोष्ठी, पुस्तक विमोचनजस्ता मसिना कार्यक्रम पनि प्रधानमन्त्रीले नछुटाएको देखिन्छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक विवरणअनुसार वैशाखदेखि असोजसम्म ६ महिनामा ९० वटा सम्बोधन गरेको देखिन्छ भने विभिन्न संघसंस्था तथा निकायमा दाहालले १०५ वटा सन्देश दिएका छन्। अधिकांश सम्बोधन भौतिक रूपमा उपस्थित भएर गरिएका हुन् भने कतिपय कार्यक्रमलाई उनले ‘भर्चुअल’ सम्बोधन पनि गरेका छन्। 

कहिलेकाहीँ एकैदिन ५/६ वटा कार्यक्रममा समेत पुगेर प्रधानमन्त्रीले सम्बोधन गरेका थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा उद्घाटन (असार २२), प्रितम सिंहको किताब विमोचन (असार १८), नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन उद्घाटन (असार १६), सोलुखुम्बुमा कालापत्थर दीप प्रज्ज्वलन (मंसिर २) त्यस्ता केही प्रतिनिधिमूलक कार्यक्रम हुन्।   

“स–साना कार्यक्रममा समय बित्दा सरकार सञ्चालनमा ध्यान जान सकेन, अब सुधार गरेर जान्छु त भन्नुभएको छ,” केही दिनअघि पदाधिकारी बैठकमा प्रधानमन्त्रीले भनेको भन्दै माओवादी केन्द्रका एक नेताले सुनाए। प्रधानमन्त्रीको दैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्ने सचिवालय नै चुस्त र प्रभावकारी हुन नसक्दा यस्तो देखिएको ती नेताले बताए।

जरुरी बाहेकका कार्यक्रममा नजाने घोषणा गरेकै भोलिपल्ट बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीसहित पुगेका प्रधानमन्त्री दाहाल। तस्वीर सौजन्य: प्रमको सचिवालय

सचिवालय टोली जम्बो (४० जनाको) भए पनि प्रधानमन्त्रीको कार्यसूची व्यवस्थापनमा प्रमुख स्वकीय सचिव रहेकी छोरी गंगा दाहालकै एकलौटी चल्ने गरेको माओवादीका कतिपय नेताहरू बताउँछन्। प्रत्येक दिनजसो छोरी गंगाका साथै व्यवसायी चन्द्र ढकाल, उपेन्द्र महतोसँगको नास्ताबाट प्रधानमन्त्री दाहालको दैनिकी शुरू हुने गरेको भरपर्दो स्रोत बताउँछ। 

त्यसबाहेक अशोक अग्रवाल (विशाल ग्रुप) र रवि केसी (मदिरा उद्यमी) ले पनि सातामा कम्तीमा दुई पटक प्रधानमन्त्री तथा उनकी छोरी गंगालाई भेट्ने गरेको स्रोतले बतायो। गंगासँगको असहमतिकै कारण प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको माओवादी नेताहरूको भनाइ छ।

देशको कार्यकारी प्रमुखले उत्सव/महोत्सव, उद्घाटन, शिलान्यास, पुस्तक विमोचन लगायतका खुद्रे कार्यक्रममा समय बिताउनु उचित नहुने माओवादी केन्द्रका सचिव गणेश शाह बताउँछन्। “कुन कार्यक्रममा जाने, कति समय बिताउने भन्ने मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न जरुरी छ,” उनी भन्छन्, “यस्तै कामका लागि त सचिवालय चाहिने हो।” प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई पार्टीका कस्ता कार्यक्रममा निम्त्याउने भन्नेमा पनि ध्यान दिनुपर्ने शाहले बताए।

प्रधानमन्त्री यसरी कार्यक्रममा सहभागी हुँदा सरकार सञ्चालनको दैनिक जिम्मेवारीमा असर परिरहेको हुन्छ भने अर्कोतर्फ राज्यकोषको दुरूपयोग भइरहेको छ। पदको कद, महत्व र मर्यादाकै अवमूल्यन हुने गरी अनावश्यक कार्यक्रमहरूमा प्रधानमन्त्री उपस्थित भइरहेको प्रधानमन्त्री कार्यालयमै समेत रहिसकेका पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन्। 

“राष्ट्रिय महत्वको कार्यक्रममा प्रधानमन्त्री जाने हो,” उनी थप्छन्, “गाउँपालिका अध्यक्ष जान पनि लायक नरहेको कार्यक्रममाधरि प्रधानमन्त्री हेलिकप्टर चढेर पुगिरहेका हुन्छन् जसको कुनै औचित्य देखिँदैन।” 


हेर्नुहोस् प्रधानमन्त्री सहभागी कार्यक्रमको सूची


सम्बन्धित सामग्री