Saturday, April 27, 2024

-->

जोगियाना इन पिपलबोट

भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”

जोगियाना इन पिपलबोट

बाइक हुइँकिरहेको थियो। मोबाइल बजेको पत्तै भएन।

ह्वाँ मुख बाइरहेको अन्डरग्राउन्ड पार्किङमा घुसेँ। घ्याच्च रोकिनेबित्तिकै मोबाइल फेरि बज्यो।

कुमार नगरकोटी इज कलिङ...

“प्रकाशजी, बाइकमा हुनुहुन्थ्यो जस्तो छ।”

नगरकोटीको रूप जोगी, काम ज्योतिषीजस्तो। ठ्याक्कै पो पारे त।

“मेरो हातमा जङ्क्सन पिपलबोट छ र म न्हूछेजीको पसलमा छु, न्युरोडमा।”

म फुरुङ्ग–ए–दंग भइहालेँ। के जवाफ बोलेँ, बिर्सिएँ। नगरकोटीले बालेको सम्झेको छु।

“... पेज पढिसकेँ। (पेज नम्बर नै भनेका थिए, यस्तै आधाउधी हुँदो हो।) यति पढेपछि म तानिएर नयाँ सडकका गल्ली घुम्न किताबसहित निस्किएको छु। मेरो बिहानको शुरूआत न्हूछेजीको चिया पसलबाट भयो।”

यसको जवाफमा मैले के भन्नुपर्ने थियो, थाहा छैन। के भनेँ, त्यो बिर्सिएँ।

“अब पुस्तक पढिसकेपछि तपाईंसँग पुस्तकसहित यी गल्लीहरू घुम्ने इच्छा छ।”

कस्तो अनौठो इच्छा हो नगरकोटीको!

मैले आजसम्म जतिपटक नगरकोटीलाई भेटेँ, एउटा पत्रकारको रूपमा मात्र। म प्रश्नहरू बोकेर जान्थेँ। खुरुखुरु सोध्थेँ। कति उत्तर अजिबका लाग्थे।

एकपटक भनेका थिए, “मान्छेहरू साहित्यिक महोत्सवका नाममा डिबेट गर्न बोलाउँछन्। के प्रगतिवाद, के लोकतान्त्रिक, कसलाई खसाल्ने, कसलाई बोक्ने मेरो मतलबको विषय होइन। नगरकोटी यस्ता बहस गरेर हिँड्ने मान्छे हो र! त्यो त अरूको काम हो। मेरो काम त बहस गर्ने विषय दिने हो।”

अँ! अनि पाटनका गल्लीका किस्सा धेरै सुनियो। घाटका कथा पढियो।

मैले नगरकोटीबाट नयाँ सडकका गल्लीका किस्सा सुनेको छैन। न त नगरकोटीबारे नयाँ सडकका किस्सा नै कसैले सुनाएको छ। अखबारी लेखनमा फाट्टफुट्ट केही प्रसंग पढेको छु।

नगरकोटीले ध्वनीयन्त्र चैतको तेस्रो हप्ता फेरि बजाइदिए। त्यसबेला पनि म बाइकमै थिएँ र नयाँ सडकतिरै जाँदैथिएँ।

मोबाइल हेरेँ, मिस्ड कल फ्रम नगरकोटी...। बिहान साढे ८ बजेको हुँदो हो।

“म तपाईंको जङ्क्सनतिर निस्किँदैछु। तपाईं कता हो?”

ओ जोगियाना, कस्तो संयोग हो!

‘नगरकोटी न्हूछेको चिया पसल आउलान् कि, पिपलबोट?’ दोधार भयो। म न्हूछे दाइको चिया पसल र पिपलबोट बीचको चोकमा उभिएँ।

नगरकोटी पिपलबोट आए।

उनी पिपलको बोट पूरा आउने गरी तस्वीर लिन मोबाइलले लोकेसन सर्च गर्दै थिए। एउटा मूर्तिछेउमा थचक्क बस्नुअघि कालो झोलाबाट फुत्त जङ्क्सन पिपलबोट निकाले। आफ्नो मोबाइल मलाई जिम्मा लगाए।

अनि म फोटोग्राफर बनेँ प्रिय लेखकका लागि।

त्यसपछि शुरू भयो नयाँ सडक यात्रा। म नगरकोटीलाई पछ्याउन थालेँ।

उनले मलाई खिचापोखरीतिर डोहोर्‍याए।

“म काठमाडौँ आउँदा पाटनबाट पहिला सिधै न्युरोड आउँछु। यहाँ केही छिन बिताउँछु। चिया पिउँछु। अनि शहरमा स्क्याटर हुन्छु। शहरमा मेरो गन्तव्य यहीँबाट शुरू हुन्छ।”

मैले ठानेँ– नगरकोटीको नयाँ सडक यात्राको कहानी अब शुरू भयो। तर यो कास्टिङ रहेछ। 

खिचापोखरी चोक पुग्नेबित्तिकै प्रसंग मोडियो।

अगाडिको पुरानो घर देखाएर मैले भनेँ, “एउटा स्मारक बाँकी छ। यी आँखीझ्यालहरूले बोल्न सक्छन् घरको आयु।”

“यो एरियामा उतिबेला पनि रेस्टुरेन्ट थिए क्यार,” नगरकोटीले भने।

“यहीँ कतै कुनै रेष्टुरेन्टमा हो, पोखिएर घामको झुल्का... गीत रेकर्ड भएको समयतिर ध्रुव सापकोटा र हरिभक्त कटुवाल मदिरापानमा बसेका थिए। ध्रुव सापकोटा एक हाफ मदिरा मगाएर शौचालय गएछन्। हरिभक्तले एकै श्वासमा सिनित्तै पारेर घुड्क्याइदिए छन्। ध्रुव सापकोटा शौच गरेर फर्किंदा हरिभक्त लडखडाइसकेका रहेछन्।” मैले उही मधुशालाको प्रसंग निकालेँ।

(माफ गर्नुहोला, यो लेखमा पनि फेरि रक्सीकै कुरा आयो। नयाँ सडकका धेरै सम्बन्ध रक्सीले जोडिएका छन्। ती आफैँ हामफालेर आइपुगिहाल्छन्।)

हामी रणमुक्तेश्वर मन्दिर परिसरमा प्रवेश गर्‍यौँ। रणबहादुर शाह र शेरबहादुर शाहीको सम्झना त भइगयो। शाहीको त्यो तरबार हिंस्रक इतिहासको एउटा बिम्ब। त्यसलाई कतै संग्रहालयमा राखिएको होला कि ‘राजा काटेको बात’ लागेर उबेलै नष्ट गरियो कुन्नी!

रणमुक्तेश्वरबाट निस्किएर पश्चिम हुँदै उत्तरतर्फ मोडियौँ। केही मिटर अघि बढेपछि साँघुरो गल्लीबाट छिँडीको चिया पसलमा पस्यौँ।

“नयाँ सडक आउँदा चिया पिउने मेरो अड्डा यो पनि हो।”

त, यो रहेछ जोगियानाको चिया अड्डा। 

तर न्हूछेको चिया पसल आउने साहित्यकार जस्तो साँझ हुल बाँधेर आउने होइनन् उनी। एक्लै आउने हुँदा उनको नयाँ सडक आउजाउ गुपचुप–ए–यात्रा नै रहेछ।

जोगियाना अड्डामा चिया बाँड्ने कागजका कप थिए। चिया आइपुग्यो। नगरकोटी ‘खुक्स’ छाडेर मालबोरोतिर लागेका रहेछन्। (प्रिय पाठकवृन्द, धुमपान स्वास्थ्यका लागि हानिकारक छ भनेर भनिरहनु परेन।)

“म उपन्यास लेख्दैछु, जे थर्टीथ्री। ग्राफिक्स उपन्यास हो। चित्रकारले आलमोस्ट चित्र बनाइसकेका छन्। नेपाली साहित्यमा नयाँ प्रयोग भएकोले यसले समय लिएको छ। त्योभन्दा अगाडि मेरो मेमोइर आउँछ, जोगियाना।”

नगरकोटीबारे नयाँ कुरा यही थियो। तर, त्योभन्दा नयाँ कुरा चाहिँ, जे थर्टीथ्री ग्राफिक्स उपन्यासको लोकेसन नयाँ सडक पनि हो।

“लोकेसन एक्स्प्लोर गर्न पनि म यहाँ आउँछु।”

गुपचुप–ए–यात्राको अर्को रहस्य खुल्यो।

उनी उनका फिक्सनको नयाँ सडक कनेक्सन बताउन थाले। एउटा कथा छ, बुख्याँचा। बुख्याँचा कल्पग्रन्थको ‘ग्रे स्टोरिज’ खण्डमा च्यापिएको छ। त्यसको नयाँ सडक–पिपलबोट खण्डलाई रिसाइट गर्न थाले।

शहरमा एउटा भूमिगत समूह हुन्छ। त्यो बुख्याँचा समूह हो। त्यो समूहका मान्छेले शहरका अपराधीहरूलाई समातेर मृत्युदण्ड दिन्छन्। राति नै मृत्युदण्ड दिनुपर्ने हुन्छ। उनीहरूको हत्या गरिन्छ। ती लास गाड्न डोजरले पिपलबोटदेखि शालिकसम्म डोजरले ठूला खाल्डा खन्छ।  लास त्यहाँ गाडिएपछि राति नै सडक पिच हुन्छ। अहिले डोजरले सडकमा जताततै खाल्डा पारेको हुन्छ नि, हो त्यस्तै। बिहान त सडक पिच छ। लासमाथि गाडीहरू गुडिरहेका छन्। त्यो सडक यही न्युरोड हो। 

यति भनेर जोगियाना फिस्स हाँसे।

मैले उही विजय मल्ललाई सम्झिएँ, जो एक कप चिया पिइसक्दा उपन्यासको सिंगो प्लट सुनाइसक्थे। तर चिया गफमा सुनाएका कतिपय प्लटमा त उनले उपन्यास लेख्दै लेखेनन्।

विजय मल्लको उपन्यासको प्लट सुन्न उनलाई चिया खुवाउनुपथ्र्यो। यहाँ भने नगरकोटी आफैँ खर्च गर्न तम्सिएका थिए।

त्यति नै बेला आइपुगे नगरकोटीका पूर्वविद्यार्थी, नजिकै पस्मिला पसल चलाउँदै गरेका। तिनले नगरकोटीलाई पैसा तिर्नै दिएनन्। हामी रवाना भयौँ।

त्यहाँबाट दुईचार पाइला जुद्धशमशेरको शालिकतर्फ उत्तर बढेपछि उनले पाइलट पेनको ‘शो–रुम’भित्र छिराए।

नगरकोटी पेन हेर्न व्यस्त भए। मैले त्यहीँबाट सम्पादकलाई म्यासेज पठाएँ– आज अफिस आउन ढिला हुन्छ।

“नेपालभरि यहीँबाट पाइलट पेन सप्लाइ हुन्छ। म यहीँबाट लिने गर्छु।”

नगरकोटीले ब्रिफिङ गरे।

एउटा रातो लेख्ने पेन टिपे र पसलवालालाई भने, “यसको दाम १७५ रुपैयाँ होइन?”

“यहाँ १६० रुपैयाँमा दिन्छौँ।”

उनले केही दिनअघि पाटनको एउटा पसलमा आपतकालमा किन्दा १७५ रुपैयाँ तिरेका रहेछन्। पठाओ सर्भिसमा १०० रुपैयाँ खर्च गरेपछि १५ रुपैयाँ डिस्काउन्ट पाए।

उनले पैसा निकालेर दिए।

नगरकोटी कम्प्युटर प्रयोग गर्दैनन्, डटपेनले कपीमा लेख्छन्। होइन, अक्षर डिजाइन गर्छन्। उनको लेखाइ चित्रमय हुन्छ। म पनि त्यो चित्रमय लेखाइको साक्षी भएको छु।

अलि वर्षअगाडि अन्तर्वार्ताका लागि म उनको गुफामा थिएँ। भुईंमा भित्ताको अडेस लगाएर पुस्तकका चाङ थिए। एकैतर्फको भित्तामा लहरै राखिएका दुई वटा टेबलको पछिल्लो भागमा पनि पुस्तकका चाङ थिए। 

पहिलो टेबलको अघिल्लो भागमा चाहिँ ओशोको पुस्तक, नुमाफुङ फिल्मको सीडी थियो। त्यसपछि माटाका भाँडामा रंगीचंगी अजिबका माला थिए। हातमा लगाउने बाला थिए। र प्रयोग नगरिएका दुई वटा एस्ट्रे थिए। अँ, अनि नखोलिएका खुकुरी चुरोटका दुई वटा डिब्बा चाहिँ किताबको चाङमाथि नगरकोटीका औँलाहरू पर्खिरहेका थिए।

नगरकोटी गुफामा करिब पाँच वर्षअघि लिइएको तस्वीर।

अर्को टेबलको अघिल्लो भागमा चुरोटका ठुटा राखिएको एस्ट्रे थियो। त्यसभन्दा केही पर खोलिएको चुरोटको बट्टामाथि लाइटरले पनि नगरकोटीका उही औँलाहरू पर्खिरहेका थिए। तर त्यतिबेला ‘औँलाहरू’ कविता लेखिसकेका थिएनन्, शायद।

नगरकोटी ‘ज्ञ’ उपन्यास लेखिरहेका थिए। त्यो पाण्डुलिपिमा रंगीचंगी अक्षरहरू थिए। उपन्यासको कथासार केही बेर सुनाएर सुन्नेलाई मक्ख पारिदिएका थिए।

आगामी रचनाको कथासार सुनाउने नगरकोटीको गजबशैली छ। उनी आफ्ना पात्रहरूसँगै मुसुक्क हाँस्छन्, भावुक हुन्छन्, मक्ख पर्छन्। र स्रोताले पनि उनलाई पछ्याउँछन्।

त्यो ‘ज्ञ’ उपन्यासको अंग्रेजी र फ्रेन्च अनुवाद चाहिँ प्रकाशन भयो कि भएन कुन्नी!

त्यहीबेला उनी कान्तिपुरको परिशिष्ट कोसेलीका लागि कुमारजी उवाच तयार गर्दै थिए। त्यसको पाण्डुलिपि पनि कुनै कृतिको पाण्डुलिपिभन्दा कम थिएन। कभरपेजमा शीर्षक र उनको नाम रंगीचंगी अक्षरमा थिए। भित्री पृष्ठमा विषयको बयान कालो अक्षरमै थिए, तर रंगीचंगी अक्षरमा बीचबीचमा अनेक डिजाइन गरिएको थियो।

आफ्नो हस्तलेखन शैलीबारे नगरकोटीले केही उवाच त्यहीबेला सुनाएका थिए। अनि अनेक रङका कलमहरूको दर्शन गराएका थिए।

नगरकोटी रङहरूलाई प्रेम गर्छन्।

यसपटकको नयाँ सडक यात्रामा पनि उनले एउटा पाइलट पेन त किनिहाले। त्यसले हल्का रातो रङ लेख्थ्यो। त्यसदिन कालो कमिज बोकेर कालै झोला बोकेका नगरकोटीले धोक्रे सुरुवाल चाहिँ रातो लगाएका थिए।

त्यहाँबाट बाहिरिए नगरकोटी, अनि जुद्ध शालिक नपुग्दै देब्रे गल्लीतर्फ मोडिएर लागे वसन्तपुरतर्फ।

म पछ्याइरहेकै छु।

“अहिलेको समयमा उभिएर एन्सिएन्ट समयको यात्रा गर्नु रोमाञ्चक हुन्छ। एन्सिएन्टकालमा पुग्न म यहाँ आउने गर्छु।”

नगरकोटी बोल्दै गए।

हामी सँगसँगै पाइला चालिरहेका छौँ, कुमकुम जोडिएझैँ गरी। काष्ठमण्डपअगाडि पुगेपछि भने नगरकोटी टक्क अडिए। ह्वाङ्ग काष्ठमण्डपबाट आँखाको दृष्टिलाई पार गराउँदै पारितिरको घर देखाएर भने, “३० वर्षअघि म यही घरको तेस्रो तल्लामा थिएँ।”

एउटा रहस्यको पोको फुक्यो।

पखेटा हाल्न थालेपछि उनी दाइभाउजूलाई छाडेर भुरुरु उडेथे।

हामी काष्ठमण्डपलाई फन्का मारेर त्यही घरको सामुन्नेमा पुग्यौँ। उनले मुन्टो उठाएर तेस्रो तलाको हरियो झ्यालमा हेरे, अब त्यो झ्याल उनका लागि एन्सिएन्ट भएको छ। प्राचीनताको रङ कस्तो हुन्छ, नगरकोटीलाई सोध्नै भुलेँछु। आगामी मेमोइरमा वा आख्यानमा उनले प्राचीनताको रंगीन स्केच बनाउलान् कि!

काष्ठमण्डपलाई फन्को मारेपछि हामी फेरि कुमारी घरको अगाडि आइपुग्यौँ। कुमारी घरअगाडि उभिएर उनले मोबाइल निकाले। अनि अघिल्लो साता नयाँ सडक आउँदा खिचेको विशाल बजारको प्रहरी चौकी र भ्यानको फोटो देखाउन थाले।

“यो चौकीको सम्झना आइरहन्छ, मैले एक रात यहाँ बिताएको छु।” उनले कथा शुरू गरे। यो कथाभित्र म तपाईंलाई धैर्यतापूर्वक प्रवेश गराउने छु। त्यसअघि थोरै भूमिका छ।

नगरकोटीले बोर्डिङ पढाउन छाडेका थिएनन्। पाटन बसाइँ सरेका उनी डिल्लीबजारमा पढाउँथे। एन्सिएन्ट समय भिजिट गर्न वसन्तपुर आइरहन्थे।
उनले सुनाएको दारु महात्म्य यही बीच कुनै समयको हो।

अभय श्रेष्ठ, राजकुमार बानियाँ, विकास बस्नेत र नगरकोटी काष्ठमण्डपभन्दा पछाडितर्फको कुनै दारु महलमा मस्त मौलाना भए। झपक्क रात परिसकेको थियो। 

उनीहरू आइपुगे कुमारी घरअगाडि। नगरकोटी त्यहीँ उभिए। आफूले कथाको पात्रसँग संवाद गर्ने भन्दै साथीहरूलाई पठाइदिए।

कुमारी घरलाई क्वारक्वार्ती हेरेर कथाका अनेक प्लट कल्पिन थाले। त्यसपछि कल्पनाको संसारमा पुगे। के भयो, कसो भयो पत्तै पाएनन्।

भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। भुईंमा लगाइएको ओछ्यानमा सुतिरहेका। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”

उनी प्रहरी हिरासतमा रहेछन्।

टाई–सुटमा थिए। घाँटीमा लगाएको टाई झुन्डिरहेकै थियो। लुगामा हिलो लागेको थियो। केटोले उसलाई धारासम्म पुर्‍याइदियो। धारामा लुगा पुछपाछ पारे। मुख धोए। अनि बाहिर निस्किए। आफूलाई त्यहाँबाट जान दिन प्रहरीसँग आग्रह गरे।

प्रहरी इन्स्पेक्टर उठेर आएपछि कागज गराएर मात्र छाड्ने जानकारी दियो। इन्स्पेक्टर थिए बिन्दास। उनलाई ब्युँझन हतार थिएन। ब्युँझिएपछि पनि आउन हतार थिएन। नगरकोटीका लागि उनले हतारिनुपर्ने कुनै कारण थिएन।

इन्स्पेक्टर आए। आएपछि पनि अन्तरवार्ता पो लिन थाले। पत्रकारले जस्तो।

नगरकोटीलाई भने हतार थियो। उनले भने, “मलाई स्कुल जानुपर्छ। छाडिदिनुहोस्।”

इन्स्पेक्टरले भने, “तपाईं स्कुल पढाउनुहुन्छ? अनि टाई–सुट लगाएर यस्तो गति बनाउनुभयो? कम्तीमा यो टाईको इज्जत त राखिदिनुहोस्।”

टाईको इज्जत कहाँ हुन्छ, नगरकोटीलाई के थाहा! परेन फसाद!

उनले भने, “मेरो कथाको पात्र त्यो कुमारी घरमा बस्छन्। म पात्र खोज्न आएको।”

“तपाईं कथा पनि लेख्नुहुन्छ?”

“लेख्छु।”

इन्स्पेक्टर चकित–ओ–चकित थिए।

इन्स्पेक्टरले कथाको प्लट सुनाउन भने। उनले पनि सर्सती सुनाइदिए। लेख्नुभन्दा अगाडि पुलिसले सुनेको थियो उनको कथा ‘सिल्भिया’को प्लट।

छोटकरी कहानी यत्ति हो। कथाको रचनागर्भ, अर्थात् उनको संस्मरण प्रकाशित छ। संस्मरण प्रकाशनपछि पनि कहानी थपिँदै गएको छ। 

त्यो संस्मरण सिल्भिया कथा लेखेको डेढ दशकपछि छापियो, कान्तिपुर कोसेलीमा। त्यसको केही समयपछि पूर्वप्रहरीसमेत रहेका साहित्यकार राजुबाबु श्रेष्ठको फोन आयो। उनले नगरकोटीसँग कोही ‘फ्यान’ले भेट्न खोजेको बताए। 

वार्तालापको सहमतिअनुसार उनी ठमेल पुगे।

एउटा प्रहरी भ्यान आयो। नगरकोटीलाई भ्यानमा बसाइयो। प्रहरी भ्यानभित्र एउटा अतिथि लेखक थियो।

एक जनाले सोधे, “तपाईंलाई यहाँको मन पर्ने रेस्टुरेन्ट कुन हो?”

बन्दुक, हत्कडी र लाठीको भाषा होइन, मिठो परिकारको भाषा बोलिरहेका थिए प्रहरी।

“मलाई जुनसुकै रेस्टुरेन्ट मन पर्छ।”

कुनै रेस्टुरेन्टमा बसेपछि ती मान्छेले गुनासो गरे, “तपाईंको सिल्भिया कथा लेखनका क्रममा घटेको घटनाको संस्मरण मैले पढेँ। प्रहरी चौकीमा उबेला तपाईंसँग अन्तरवार्ता शैलीमा प्रश्नमाथि प्रश्न सोध्ने र कथाको प्लट पनि भन्न लगाउने त्यसबेलाको इन्स्पेक्टर म नै हुँ। संस्मरणमा मेरो नाम छुटेछ। मेरो नाम राजेन्द्र श्रेष्ठ हो।”

अब चकिच–ओ–चकित हुने पालो नगरकोटीको थियो।

राजेन्द्र श्रेष्ठ रहेछन् साहित्यप्रमी। नगरकोटीका फ्यान। हरेक किताब किनेरै पढ्दा रहेछन्। किताब किन्दा लेखकलाई हौसला मिल्छ भन्ने उनको मान्यता रहेछ। उनी बढुवा हुँदै गएर उच्च तहका प्रहरी अधिकृत भएछन्।

कहानी खतम।

हामी वसन्तपुरको हिमालयन जाभामा पस्यौँ।

माथिल्लो तलामा बसेर वसन्तपुरलाई विहंगम दृष्टि लगाएपछि उनले जङ्क्सन पिपलबोट फेरि निकाले। पुस्तकमा लगाइएको पहेँलो हाइलाइट्स देखाउँदै गए।
“म थोरै किताब मात्र यसरी कोरकार गरेर पढ्छु।”

यति भनेपछि पेज पल्टाउँदै गोपालजीजंग शाहमा पुगेर अडिए।

“यिनको पनि नयाँ सडकसँग सम्बन्ध रहेछ। सम्भवतः मैले यिनलाई चिनेको यिनले पिपलबोटमा बुट पालिस गर्नुभन्दा अगाडि हो। यी रुकुमका बडो धनी मानिस हुन्। मेरो बुवाको जागिर रुकुम सरुवा भएपछि म पनि सँगसँगै त्यहीँ बसेको थिएँ। केटाकेटी नै थिएँ। यिनकी श्रीमती मेरी आमालाई भेट्न आइरहन्थिन्। उनको नाम हिरा हो। एकदमै सुन्दर। मैले त्यति सुन्दर आइमाई आजसम्म देखेको छैन। छपक्कै सुन लगाउँथिन्।”

उनी नोस्टाल्जिक सुनिए।

“अनि मैले राम्रो स्कुलको खोजीमा रुकुम छाडेँ। गोपालजीजंग पञ्चायतमै मन्त्री भएछन्। पञ्चायतपछि कांग्रेस पसेर सांसद भएछन्। धेरै वर्षपछि काठमाडौँमा एकपटक हिरा शाहलाई देखेँ। उनी चाउरिसकिछन्। बाहिरी सुन्दरता भनेको अस्थायी रहेछ।”

म सुनिरहेँ। कुनै पुस्तक मन पर्न त्यसका विषयले निकट सम्बन्ध बनाउनुपर्ने रहेछ।

नयाँ सडक एउटा सम्बन्ध हो। यो विशाल छाती हो।

हामी कफी सपबाट इतिहासको यात्रा थाल्दैछौँ।

नगरकोटीको इतिहास दुर्घटित भएपछि साहित्यमा आइपुगेका हुन्। उनको पहिलो प्रेम फिल्म हो। दोस्रो प्रेम संगीत हो। अझै पनि।

कुनै समय उनी रागहरू अलाप्न दौडिन्थे। संगीतका सुरहरूलाई सुराले बाँध्थे। गीत रेकर्ड नै गराएका थिए।

तेस्रो प्रेम थियो साहित्य। कविता लेख्थे, मिल्काउँथे। कथा लेख्थे, मिल्काउँथे। प्रेमपत्र लेख्थे मिल्काउँथे। २५–३० वटा कविता भएको डायरीलाई आगो लगाएको त उनले अक्षरगन्जको कुनै संस्मरणमा उल्लेख नै गरेका छन्।

उनी साहित्यकारहरूलाई चिठी भने लेखिबस्थे। मोमिला, नारायण ढकाल, अभिनाश श्रेष्ठहरूसँग ती चिठी अझै होलान्। या नहुन पनि सक्छ। तर सम्झनाहरू पक्कै छ।

एकपटक उनले किताबको पाण्डुलिपि नै मोमिलालाई पठाइदिए। त्यसमा कथाहरू थिए। 

मोमिलाको माध्यमबाट कथाको पाण्डुलिपि रत्न पुस्तक भण्डार पुग्यो। त्यो थियो, मोक्षान्तः काठमाण्डु फिभर। रत्न पुस्तकले नगरकोटीको पहिलो पुस्तक छाप्ने भयो। तर, लेखक बेपत्ता थिए। पाँच छ महिनासम्म उनी बेपत्तै भइरहे। अनि रत्न पुस्तकका साहु गोविन्द श्रेष्ठ नगरकोटीको खोजीमा निस्किए।

यसबीचमा धेरैपटक नगरकोटीलाई लेखक बेपत्ता भएको खबर पुगेको थियो। तर, उनी पुस्तक निकाल्न उत्साही थिएनन्। तै, एक दिन उनी बागबजारको गल्लीमा टुप्लुक्क देखिए। रत्न पुस्तकका गोविन्द श्रेष्ठले च्याप्प समाएर सम्झौता गर्न भ्याइहाले।

पुस्तक निस्कियो। नगरकोटी लेखक भए। त्यसपछि यज्ञशले कान्तिपुरको कोसेलीमा ‘कुमारजी उवाच’ लेखाउन थाले। मैले उनलाई पहिलोपटक कुमारजी उवाचमा नै चिनेको थिएँ।

‘पढन्ते नगरकोटी’ अब औपचारिक रूपमा नै ‘लेखन्ते नगरकोटी’ भए। उनी पढन्ते भने कक्षा ९ देखि नै भएका हुन्। भेटेसम्मका पुस्तक पढ्थे। उनले पढेको पहिलो पुस्तक हो, ग्रेप्स अफ र्‍याथ।

उनी अहिले पनि नेपाली साहित्यका पुस्तक विरलै पढ्छन्। एकदमै सेलेक्टेड मात्र। मन परेका पुस्तक आफूसँग राख्दैनन्, उपहार दिन्छन्। जङ्क्सन पिपलबोट कसलाई उपहार दिन्छन् कुन्नी! वा उपहार दिनुपर्ने सूचीमा नपर्न पनि सक्छ।

तर, उनको सेलेक्सनमा मेरो कवितासंग्रह खुट्टामा श्रीपेच नपरेको उनले खुलस्त सुनाए।

“तपाईंको कवितासंग्रह खुट्टामा श्रीपेच मैले पढिनँ। एक्चुएल्ली मलाई किताबको नामै मन परेन। श्रीपेच खुट्टामा हुँदैन।”

पढेनन् र राम्रो गरे। पढन्दास छवि बनाएका सरोनरले पनि एकपटक भनेका थिए रे– खुट्टामा श्रीपेच पनि कुनै किताब हो? त्यो पनि कविता हो?

त्यही भएर त म कविता लेख्दिनँ। लेख्दिनँ। अनि झोँक चल्छ र फेरि लेख्छु। झोँक चलेका कविता त्यस्तै हुने रहेछन्। पढ्नु भएको भए थाहा पाउनुभएको छ। 

नपढे पनि जिन्दगीमा छुट्ने केही छैन।

अब लागौँ नगरकोटी महोत्सवतर्फ।

साहित्य महोत्सव चलिरहेकै छन्। बेलाबेला नगरकोटी आफैँ पनि महोत्सवमा दौडिरहेका हुन्छन्।

भर्खरकै कुरा हो, नगरकोटीलाई झ्वाँक चलेछ। किन नगरकोटी महोत्सव चाहिँ हुँदैन?

उनले सात दिने नगरकोटी महोत्सव मनाउने निर्णय गरे। महोत्सवमा निम्तालु कोही नहुने कार्यतालिका बन्यो।

उनी सात दिनसम्म हरेक दिन आकस्मिक रूपमा फरक ठाउँ जाने र मेमोइर लेख्ने, त्यो पनि र्‍यान्डम्ली। यही लेख्छु भनेर योजनासहित होइन।

र नगरकोटी महोत्सव शुरू भएको थियो वसन्तपुरको उही हिमालयन जाभा कफी सपबाट। नयाँ सडक हुँदै यहाँ आए। कफी खाए। धुवाँमा कल्पनाहरू उडाए। अनि तिनै कल्पना समाएर लेख्न थाले। धर्के कपीका पन्नामा रंगीन कलमहरू चले।

महोत्सव चलिरहेको बेला यज्ञशको फोन आयो।

“हेलो कुमार सर, आज फिल्म हेर्न जाउँ।”
“अहिले म नगरकोटी महोत्सवमा छु। यो लेखनको समय हो।”

“तपाईं कहाँ हुनुहुन्छ? म पनि त्यहाँ आउँला र नगरकोटी महोत्सवमा भाग लिउँला।”

“यो वसन्तपुरको हिमालयन जाभा हो। तपाईं नगरकोटी महोत्सवमा ठीक २ बजे आउन सक्नुहुन्छ। आजको फिल्म हेराइ पनि नगरकोटी महोत्सवअन्तर्गतकै हुनेछ।”

यसरी पहिलो दिनको महोत्सव नयाँ सडक हुँदै शुरू भएर कुनै सिनेमा हलमा टुंगिएको थियो।

नगरकोटी महोत्सवकै बीचमा चाँगुनारायण केन्द्रविन्दु पारेर भुइँचालो गयो। नगरकोटीले त्यही केन्द्रविन्दुमाथि बसेर महोत्सव मनाए। नगरकोटी महोत्सवको मिति गुगलले दखाउँदैन, तर चाँगुनारायणमा भूकम्प  गएको दिन बताउन सक्छ। २०७९ जेठ २८ गते।

कफी सपमा यस्तैयस्तै गफ थिए। टुंगिए।

नगरकोटी बसिरहेको कुर्सीकाट उठे। काउन्टरतर्फ बढे। म सिँढीको शिरमा उनलाई पर्खिएर उभिरहेँ।

लामो छ नगरकोटीको नयाँ सडक अनुभव। जति बोल्दै जान्छन्, उति बल्ल शुरूआत भएझैँ लाग्छ।

हामी पिपलबोट नाघेपछि रमागृहलाई देब्रे बनाएर अगाडि बढ्यौँ। त्यसपछि नछे गल्लीमा पस्यौँ।

कुनै समय यही गल्लीमा राजेश हमाल ठेलामा फोक्सो फ्राई बेच्थे। यसबारे उनले आफ्नो मेमोइर गुमनाम नामहरूको यादनामामा लेखिसकेका छन्। त्यैपनि मलाई छोटकरीमा सुनाए।

उनको घरवालासँग ट्र्याक्टर थियो। २०५५/५६ सालको कुरा हो। एक साँझ ट्र्याक्टर सामान पुर्‍याउन पाटनबाट न्युरोड जान ठिक्क पर्‍यो। नगरकोटी पनि घरवाला बुढासँगै ट्र्याक्टरमा बसिहाले। 

राजेश हमालको फोक्सो फ्राई मन पराउने नगरकोटी घरबेटी बूढालाई लिएर त्यहीँ पुगे, नछे गल्लीमा। राजेश हमालले फोक्सो फ्राई टपरीमा ‘सर्भ’ गर्थे। नगरकोटीले दुई टपरी मगाए।

घरबेटी बुढाले राजेश हमाललाई तलदेखि माथिसम्म हेर्न थाले। राजेश हमाल धमाधम फोक्सो फ्राई गरिरहे।

एकैछिनमा दुई टपरी फोक्सो फ्राई आइपुग्यो। घरबेटी बुढाले सोधिहाले, “तपाईं राजेश हमाल हो?”

“हो।”

बुढा तीनचित खाएछन्। अनि, अर्को एक टपरी फोक्सो फ्राई पनि थपेर खाएछन्।

तीनचित खानुको कारण चाहिँ फिल्मका राजेश हमाल त त्यहाँ थिएनन्, ती त फोक्सो बेच्ने अर्कै राजेश हमाल थिए।

अचेल नयाँ सडकमा राजेश हमालले फोक्सो फ्राई बेच्दैनन्।

नगरकोटीले यति सुनाउँदा हामी न्हूछे महर्जनको चिया पसलअगाडि पुगेका थियौँ। न्हूछे दाइलाई अभिवादन टक्र्याएर त्यही गल्लीबाट बाहिर निस्कियौँ।


सम्बन्धित सामग्री