Saturday, April 27, 2024

-->

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

प्रणव कतै कलकल बगिरहेको सफा बागमती देख्छन्, कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू भेट्छन्। काठमाडौँका बस्तीमा घुसेको लाखेलाई पनि भेट्छन् र उतार्छन् एआई तस्वीरमा।

प्रणवका एआई तस्वीरमा ‘कान्तिपुरी नगरी’को परिकल्पना

काठमाडौँ–
कहीँ भोट र लन्दन, चीन सरी
कहिँ कालभरि गल्ली छ दिल्ली सरी
लखनौ, पटना, मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी।।

आदिकवि भानुभक्त आचार्यले रचेको ‘कान्तिपुरी नगरी’मा गरिएको काठमाडौँको चित्रण हो यो। भानुले अलकापुरी/अमरावती भनेर हिन्दू धर्मावलम्बीका देवता इन्द्रको राजधानीसँग तुलना गरेको नगर कस्तो थियो होला? १५० वर्ष पहिले उनले कवितामार्फत बयान गरेको नगरीलाई यतिबेला हामी परिकल्पना मात्र गर्न सक्छौँ।

त्यो समयदेखि अहिलेसम्म आइपुग्दा काठमाडौँ उपत्यकाको स्वरूपमा आमूल परिवर्तन भइसकेको छ। तीव्र विकास, खोलानाला अतिक्रमण, थुम्काहरूको मैदानीकरण, अटसमटस हुने गरी निर्माण गरिएका भौतिक संरचनाले कान्तिपुरी नगरीको मुहार फेरिइसकेको छ। तर पाटन (ललितपुर)का प्रणव जोशी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहारामा पुरानो कान्तिपुरी नगरी चियाउँदै छन्। 

प्रणव कतै कलकल बगिरहेको सफा बागमती त कतै डोकोमा पानी बोकेर हिँडिरहेका तान्त्रिक जामन गुभाजू देख्छन्। सर्पलाई बसमा पार्ने गुरु गोरक्षनाथ तथा काठमाडौँका बस्तीमा घुसेको लाखे पनि भेट्छन्। मञ्जुश्रीले चोभार डाँडा काट्नुअघिको काठमाडौँदेखि व्यापारीको चालचलन बुझ्न असन बजारमा डुलिरहेका राजा महेन्द्रलाई पनि कल्पना गरेर उनले एआईको सहयोगमा तस्वीर बनाएका छन्। लाखे, सुम्निमा र पारुहाङलाई तस्वीरमार्फत जीवन्तता दिन खोजेका छन्। बुद्ध जन्मिनुभन्दा पहिले उनकी आमा मायादेवीले देखेको हात्तिलाई कमलको फूल चढाएको सपना पनि परिकल्पना गरेका छन्।

प्रणवले पुरानो समयलाई मात्र नभएर ‘यस्तो भए कस्तो होला’ भन्दै भविष्यको काठमाडौँलाई पनि कल्पेका छन्। उनका कल्पनामा बागमती करिडोरमा हरियालीको बीचमा हुइँकिरहेको मोनोरेल, नेवाः संस्कृति झल्काउने अत्याधुनिक बस बिसौनी, पार्कमा परिणत भएको टुँडिखेल देख्न सकिन्छ। यस्तै, चिटिक्क परेको पाटन ढोका क्षेत्रलाई उनले लेखनमा वर्णविन्यास मिलाएझैँ प्रस्तुत गरेका छन् जहाँ सडकको वरिपरि स्थानीय नेवारी शैली झल्काउने सुन्दर घरहरू छन्। स्थानीय मौलिकता संगालेका क्याफे, गमलामा रंगीविरंगी फूल छन्। फुटपाथ र मूलसडक छुट्टिएको छ। यो तस्वीर हेर्दा लाग्छ, साँच्चै पाटन ढोकालाई यस्तै बनाउन सकिँदैन?

यसमा प्रणवको जवाफ छ, “मिल्छ, सम्बन्धित निकायले चासो दिनुपर्छ।”

जब इन्जिनियरको मन अन्तै मोडियो
२०३५ सालमा पाटनमा जन्मिएका प्रणव जोशीले सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी र क्याम्पेन एकेडेमीबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यसपछि नेपाल इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरे।

इन्जिनियरिङ सकेपछि उनी भवन तथा संरचनाको आर्किटेक्ट बनाउँथे। क्लाइन्टहरूले डिजाइन सुझाउँथे उनले मोडेल तयार पारेर पठाउँथे। यो १८/२० वर्षअगाडिको कुरा हो। त्यही बेलादेखि उनलाई त्यो कामलाई अझै गजबसँग गर्न सकिन्छ भन्ने लाग्थ्यो। 

उनलाई एक पटक पूरै शहरलाई सुन्दर ढंगले एउटै फ्रेमभित्र कैद गर्ने रहर थियो। त्यतिबेला सम्भव भएन। “त्यो बेला पूरै शहर ‘थ्री डी’मा बनाउने कल्पना त गर्थें तर सम्भव थिएन। एआई आएपछि त्यो सम्भव भयो,” उनी भन्छन्।

उनले इन्जिनियरिङ पेसा धेरै लामो समयसम्म गरेनन्। किनकि, उनको रहरको विधा संगीत, म्युजिक भिडियो निर्देशन, फोटोग्राफी/फोटोसप थियो। त्यसपछि उनी यिनै क्षेत्रतिर तानिए। हुन त प्रणव आईएस्सी पढ्दादेखि नै साथीहरूसँग मिलेर सांगीतिक ब्यान्ड ‘स्मारिका’ बनाएका थिए। काठमाडौँका दरबारमार्ग र ठमेल क्षेत्रमा कन्सर्ट गर्थे। प्रणव गिटारिस्ट थिए।

उनको ब्यान्डले ‘हाम्रो नेपाल’ स्लो रक गीतसँगै एल्बम ल्यायो। त्यो गीतले निकै चर्चा बटुल्यो। अहिले पनि यात्रामा निस्किँदा उनको गाडीमा यही गीत बज्छ, ‘रातो टोपी शिरैमा, दौरा र सुरुवाल, नेपालीको छोरो म, देश मेरो नेपाल... हाम्रो नेपाल।’

त्यो बेलाका धेरैजसो साथीहरू विदेश पलाएन भए। उनले पनि १२ कक्षा सकेर विदेश जाने मनस्थिति बनाएका थिए। तर पछि म्युजिक भिडियोतिर लागेपछि घुम्नको लागि बाहेक बिदेसिने समय नै पाएनन्। 

उनी रेकर्डिङ स्टुडियोसँग म्युजिक भिडियो माग्न जान्थे। शुरूमा ‘म हुँ प्रकृति’, त्यसपछि ‘बनमा फुल्यो फूल’को कभर गीतको भिडियो निर्देशन गरे। कहिलेकाहीँ ‘फेसन फोटोग्राफी’ पनि गर्थे। उनी यस्तै काममा भुले। “विदेश जाने सोच त थियो तर म्युजिक भिडियो निर्माणको लागि काम आइरहन्थे, यो काम सकाएर जान्छु भन्दाभन्दै समय बित्यो,” उनी भन्छन्, “विदेश नगएर गलत गरेँ भन्ने कहिल्यै भएन।”

प्रणव आफूलाई ‘फ्रिल्यान्सर’ भन्न रुचाउँछन्। काम आइपर्‍यो भने म्युजिक भिडियो वा चलचित्र निर्देशन पनि गर्छन्। प्रणवले ‘रेशम फिलिलि’ फिल्म निर्देशन र कथा लेखन गरेका छन्। साथीहरूसँग मिलेर नयाँ रचनात्मक कार्यको लागि घोत्लिरहन्छन्। 

कोरोनाअगाडि आईटी क्षेत्रका साथीहरूसँग मिलेर फेसबुकजस्तै नेपाली एप ‘एन–म्याग’ बनाएका थिए। त्यसैमा आधारित रहेर ‘फेसन म्यागजिन’ पनि प्रकाशन गरे तर धेरै लामो समयसम्म चलेन। सञ्चालन खर्च धान्न नसकेपछि ‘एन–म्याग’लाई बन्द गर्नुपर्‍यो। त्यसपछि भने उनको यात्रा मोडियो एआई चित्रतर्फ। अहिले एआईलाई आफ्नो ‘हबी’को रूपमा अगाडि बढाइरहेका छन् उनी। 

फोटोसप, इन्जिनियरिङ र एआईको त्रिवेणी
प्रणवले स्कुल पढ्दादेखि नै कम्प्युटर चलाउने, फोटो–भिडियो इडिटिङ गर्ने सीप सिकेका थिए। त्यति भए मजाले ‘टाइम पास’ हुन्थ्यो उनको। “एक्जामको समयमा पढ्न खासै मन लाग्दैनथ्यो, जाँच आयो कि कम्प्युटर खोलेर फोटो इडिटिङ गर्थेँ। एक्जामको टेन्सन दुर हुन्थ्यो,” उनी हाँस्दै भन्छन्।

त्यति बेलाको फोटोसपप्रतिको लगाव, आर्किटेक्ट इन्जिनियरिङको अनुभव र पछिल्लो समय एआईको आगमनले उनको दिमागमा नयाँ ‘आइडिया’ फुर्‍यो। कोरोना महामारी अन्तिमतिरको कुरा हो– फोटोसप, इन्जिनियरिङ र एआईको त्रिवेणीमा आफ्नो परिकल्पनालाई घोलेर सिर्जनामा नयाँ ‘फ्युजन’ ल्याउन थाले।

करिब दुई वर्षअघि ‘वन्डर एआई’बाट थालेको यात्रामा उनले अहिलेसम्म १८/२० वटा ‘टुल्स’ चलाइसकेका छन्। एक हजार जति एआई तस्वीर बनाइसकेका छन्। त्यसमध्ये २५/३० वटा काठमाडौँका सम्पदाहरू छन्। यस्तै, ऐतिहासिक/मिथक पात्र र मोडेलहरूलाई समेत एआईको प्रयोग गरेर नयाँ ‘लुक’ दिएका छन्। 

नेपालको सन्दर्भमा एआई अझै ‘ट्रेन्ड’ नहुँदा काम गर्न त्यति सजिलो छैन। उनका अनुसार एआईसँग नेपालबारे पर्याप्त डाटा नै छैन। कहिलेकाहीँ अनुहार आउँछ तर नाक मिल्दैन। कसैको कान मिल्दैन। घर, ढोका मिल्छ, ताल्चा मिल्दैन। पोसाक मिल्छ, छालाको रङ मिल्दैन।

उनले बनाएका सम्पदाको तस्वीरले धेरै प्रशंसा बटुलेका छन्। तर कहिलकाहीँ विदेशी/पश्चिमा कलाको झल्को देखियो कि भनेर सम्पदाकर्मीले टिप्पणी पनि गर्छन्। यस्ता टिप्पणीलाई सुझावको रूपमा लिने गरेको उनी बताउँछन्। “विभिन्न माध्यमबाट आउने फिडब्याक सकारात्मक धेरै छन्। कहिलेकाहीँ प्रश्न पनि आउँछन्, त्यसले गर्दा मैले सिक्न पनि पाइरहेको छु,” उनी भन्छन्।

कलाकारले आफ्नो कलाको अर्थ दिन सक्नुपर्ने र केही हदसम्म स्वतन्त्र पनि हुनुपर्ने उनको बुझाइ छ। गलत अर्थ नलागोस् भन्नेमा पनि कलाकार सजग हुनुपर्ने, कलाले केही न केही महत्त्व बोकेको हुनुपर्ने र कुनै ग्रन्थमा उल्लेख भएको हुनुपर्ने उनी बताउँछन्।

यस्ता कमजोरी नआउन् भनेर उनी पुराना तस्वीर बटुल्छन् वा मूर्तिको फोटो खिच्छन्, त्यसबारे आफूले चलाइरहेको एआई टुललाई ‘ट्रेन्ड’ गर्छन्। कहिलेकाहीँ पुराना तस्वीर र मूर्ति पनि भेटिँदैनन्, त्यस्तोमा उनी सम्पदाकर्मी, इतिहासकार वा स्थानीयसँग कुराकानी गर्छन्। आफ्नो दिमागमा चित्र कोर्छन् र त्यस्तै चित्र कोर्न एआईलाई अह्राउँछन्। एउटा तस्वीरलाई ‘फाइनल टच’ दिन हजारौँ वटा तस्वीर बनाउनुपर्ने उनी बताउँछन्।

“विज्ञहरूसँग मिलेर काम गर्दै जाँदा सिक्न र परिकल्पनाअनुरूप काम गर्न सक्ने सम्भावना धेरै हुन्छ। यसमा आफ्नो सोचलाई मात्रै हावी बनाउनु हुँदैन,” उनी भन्छन्, “एउटा चाहिने फोटो निकाल्न पाँच सयदेखि हजार वटा बनाउनुपर्छ, त्यसमा फेरि फाइनल टच दिन फोटोसपको सहारा लिन्छु।”

उनलाई भण्डारखाल पर्वको तस्वीर बनाउन मन छ। तर त्यसमा अझै धेरै कुरा मिलाउनुपर्ने हुन्छ। रगतको खोला बगेको, पात्रहरूको फरकफरक गतिविधि, हतियार सबै देखाउनुपर्ने हुँदा यस्ता तस्वीर बनाउन चुनौतीपूर्ण हुन्छ।

एआईका पनि आफ्नै नियम हुन्छन्। उनले सति प्रथाको तस्वीर बनाउन लगाउँदा एआईले आगोमा जलेको मान्छे बनाउन मानेको थिएन। यस्ता अनेक चुनौती सामना गर्नुपर्छ। “यस्तोमा एआईलाई पनि झुक्याउनुपर्ने अवस्था आउँछ,” उनी भन्छन्, “हामीले सिधै रगत भनेर निर्देशन दियौँ भने एआईले स्वीकार्दैन, रातो गाढा रङ भनेर झुक्याइदिनु पर्छ।”

एउटा तस्वीर बनाउन चाँडोमा तीनचार घण्टा त कहिले दुईतीन दिन पनि लाग्ने उनी बताउँछन्। “म यसमा यति डुब्छु कहिलेकाहीँ काम गर्दागर्दै बिहान भइसकेको हुन्छ,” उनी भन्छन्।

फेसन फोटोग्राफीमा एआईको लेपन
प्रणव फेसन फोटोग्राफी पनि गर्छन्। एआई आएपछि उनले फेसन फोटोग्राफीमा पनि प्रयोग गर्दा झन् आकर्षक देखियो। कुन मोडलले आफूलाई कसरी 'पोट्रेट' गर्न रुचाउँछन् त्यहीअनुसार मसी पोतिदिन्छन्। उनले अहिलेसम्म शृंखला खतिवडा, मिस युनिभर्स २०२३ की नेपाली प्रतिस्पर्धी दिपिका गरेट, उषा रजक, सृष्टि श्रेष्ठलगायतको फेसन फोटोग्राफीमा एआईको ब्रस चलाएका छन्। 

उनले विदेशी मोडेलहरूको पनि परिकल्पनात्मक तस्वीर बनाएका छन्। रसियन मोडेल अन्नादेखि सिक्किमी  मोडेल तथा प्रहरी इक्षा केरुङ, इटालीकी भिक्टोरिया फेरीलगायत दर्जनौँ विदेशी मोडेलहरूसँग सहकार्य गरिसकेका छन्। इटालियन मोडेल भिक्टोरियाले ‘फेसन र कलात्मकताको संसारले अनगिन्ती सहकार्यहरू गरेको तर एआई आर्टिस्ट प्रणवसँगको सहकार्य मनमोहक भएको’ भन्दै उनको प्रशंसा गरेकी छन्। प्रणवले बनाएको आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकी छन्, “जब लालित्यको भेट एआईसँग हुन्छ, वास्तविकता र कल्पनाको सामञ्जस्यपूर्ण मिश्रण, ठोस र अमूर्त।”

प्रणवले अरू इटालियन कलाकारको पनि ‘एआई जेनेरेटेड’ तस्वीर बनाएका छन्। शुरूमा आफैँले प्रस्ताव लैजान्थे, पछि आफ्नो तस्वीर बनाइदिन माग गर्नेहरू आउन थाले। उनी भन्छन्, “एउटा देशमा जोडिएपछि त्यो देशका अरू मोडेलहरूसँग पनि अटोमेटिक सम्पर्क बढ्दै जाँदो रहेछ, उनीहरू धेरै खुशी छन्। मोडेलहरूले अप्रोच गरिरहन्छन्।”

स्थानीय सरकारसँग सहकार्य
प्रणवका कलालाई कतिपय जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रको विकास निर्माणमा प्रयोग गर्न खोजेका छन्। सम्पदाको पुनर्निर्माण, नयाँ संरचना निर्माण, ऐतिहासिक आयोजनालगायत कामका लागि सरकारसँग समन्वय गरिरहेका छन्।

काठमाडौँका सम्पदामा मात्र सीमित नभएर प्रणव देशभरका सम्पदा, शहर व्यवस्थापनका डिजाइन गर्ने योजनामा छन्। कुनै निश्चित क्षेत्रलाई नयाँ रूप दिन उनी पालिकाहरूसँग सहकार्य गरिरहेका छन्। अहिले चन्द्रागिरि नगरपालिकासँग काम गरिरहेका छन्। यस्तै, नुवाकोटको बुद्धको अशोक स्तुपा भेटिएको छ, त्यहाँ बुद्धको शालिक बन्दै छ। त्यसमा पनि काम गरिरहेका छन्। 

नेपाल प्रहरीको पुरानो पोशाक कस्तो थियो भनेर उनले प्रहरीसँगै सहकार्य गरेर त्यसको कल्पनात्मक तस्वीर बनाएका छन्। उक्त तस्वीर किताबमा प्रकाशन पनि भएको छ। त्यसमा उनले पुराना अभिलेखअनुसार नेपालका शुरूताकाका प्रहरीलाई तस्वीरमा उतारेका छन्।

यस्तै, ‘अकुपाइड टुँडिखेल’का योजनाकारहरूले पनि उनलाई सम्पर्क गरेका थिए। त्यस अभियानअनुसार शहीद गेटमुनिबाट सडक जानेछ। त्यस योजनामा रहेर पनि उनले काम गरिरहेका छन्। 

काठमाडौँ बाहिरका ‘कमर्सियल प्रोजेक्ट’मा पनि उनी काम गर्छन्। यस्ता प्रोजेक्टमा पहिला ‘कन्सेप्सुअल स्केच’ दिइन्थ्यो। त्यो काम इन्जिनियरले नै गर्थे। अहिले उनी तस्वीर नै बनाएर दिन्छन्। “त्यतिबेला कन्सेप्ट ओके भएपछि कन्ट्र्याक्ट हुन्थ्यो र डिजाइन बन्थ्यो। यो चाहिँ परिकल्पना ओके भएपछि डिजाइनमा जान्छ,” उनी भन्छन्, “यसले इन्जिनियरहरूको लागि धेरै फाइदा पुगेको छ। क्लाइन्टहरूलाई विश्वस्त पार्न सजिलो भएको छ।”


सम्बन्धित सामग्री