Friday, April 26, 2024

-->

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर

काठमाडौँ– गत बुधबार काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो। मंसिर २३ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने योजना महानगरले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।

त्यही योजनाअनुसार शुक्रबार २८ औँ महानगर स्थापना दिवस औपचारिक रूपमा शुरु भयो। त्यसक्रममा कमलादी क्षेत्रमा सडक सरसफाइ कार्यक्रम आयोजना गरियो। यता, कमलादीमा महानगरले सडक सरसफाइ गरिरहँदा महानगरबाट खटिएका नगर प्रहरी भने गोङ्गबुस्थित त्रिपुरा सुन्दरी, मित्रनगर र म्हैपी क्षेत्रमा फुटपाथ व्यवसाय गरिरहेका व्यवसायीका ठेलागाडी बलपूर्वक कब्जामा लिँदै थिए। फुटपाथ व्यवसायीका सामान कब्जामा लिन महिलामाथि लछारपछार चलिरहेको थियो।

ठेलागाडी देख्नेबित्तिकै समात्ने अनि महानगरको ट्रकमा राख्ने काममा नगरप्रहरी तल्लीन थिए। कतिपय ठेलागाडी व्यवसायी जीविकोपार्जनको एक मात्र उपाय त्यही ठेलागाडी नभएकाले नखोसिदिन बिन्तीभाउ गर्दै थिए। तर, नगरप्रहरीले त्यसको परवाह गरेनन्।

सामाजिक सञ्जालमा अहिले भाइरल बनेको यस्तो भिडियो सामग्री ‘सही हो नेपाल’ र ‘यो स्टोरी’ नामका दुई युट्युब च्यानलबाट सार्वजनिक गरिएका थिए। खासमा त्यही भिडियो थियो, जसले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि गरेको पछिल्लो धरपकड र त्यसक्रममा देखाएको अमानवीय व्यवहार आम जानकारीमा ल्यायो।

अनौठो त के छ भने, त्यो भिडियो खिचेका ‘यो स्टोरी’ युट्युब च्यानलका विष्णु बुढाथोकीले महानगरको यस्तो एक्सनलाई ६ महिनादेखि फलो गर्दै आएको बताए। “कुन दिन कहाँ के हुँदैछ भनेर महानगरबाटै जानकारी आउँछ, त्यहीअनुसार हामी भिडियो खिच्न जान्छौँ”, उनले भने।

बुढाथोकीले खिचेका भिडियोमा फुटपाथ व्यवसायीको पीडा, रोदन, आक्रोश र आलाप प्रष्ट देखिन्छ। उनका कुरा सुन्दा र उनले खिचेका थप भिडियो हेर्दा काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालय वा सहयोगीहरूले नै उनलाई यस्ता घटनाको सूचना दिने गरेको देखिन्छ। आफ्नो आलोचना हुने जान्दाजान्दै पनि यस्ता भिडियो बाहिर ल्याउने उनीहरूको रुचि हेर्दा लाग्छ– उनीहरू यस्ता दृश्य देखाएर अरू धेरै फुटपाथ व्यवसायीलाई त्रस्त र हतोत्साहित बनाउन चाहन्छन्। काठमाडौँ महानगरका एक कार्यपालिका सदस्यले भने, “कहाँ के हुँदैछ भन्ने हामी यस्तै भिडियो हेरेर मात्र थाहा पाउँछौँ। मेयर र उहाँको सचिवालयबाहेक अरूलाई कहाँ कहिले के हुन्छ भन्ने नै थाहा हुँदैन।”

यो पहिलो पटक भएको घटना भने होइन।

केही महिनाअघि सडकमा ठेलागाडी राखेर मकै पोलिरहेकी एक महिलालाई महानगरका नगर प्रहरीले यसैगरी लछारपछार गरेका थिए। उनीहरूले ठेलागाडी र मकै पोल्ने सामग्री सबै खोसेर लगिदिएका थिए। त्यसबेला पनि नगर प्रहरीको जबरजस्तीसामु उनको बिलौना निरीह बनेको थियो।

आलोचना भएपछि बालेनको आक्रोश
फुटपाथ व्यवसायीमाथि लछारपछार गरिएको शुक्रबारको ‘भाइरल’ भिडियोसँगै सामाजिक सञ्जालमा आफ्नो आलोचना तीव्र बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर शाह उल्टै आलोचकहरूमाथि खनिए।

फेसबुक प्रयोगकर्ताहरूको एक समूह ‘मेन्स रुम रिलोडेड– एमआरआर’मा एक जना फेसबुक प्रयोगकर्ताले महानगरको यस कदमप्रति खेद प्रकट गरेपछि बालेनले त्यहीँ प्रतिक्रिया जनाउँदै आफूले कानूनसम्मत काम गरेको दाबी गरे। उनले त्यहाँ लेखेका छन्– “के हो व्यवस्थित भनेको? ६ महिना भइसक्यो भनेको, इलिगल व्यापार, ठेला, फुटपाथ व्यापार गर्न पाउँदैन। संविधान च्यातेर फाल्ने अब?”

बालेन त्यतिमै रोकिएनन्। उनले आफ्नो कदमलाई सही साबित गर्न अझ अगाडि बढेर लेखेका छन्– “२७५ सांसद आए, मेरो ठाउँको मान्छे म व्यवस्था गर्छु भनेर। ७५२ मेयर पनि आए, मेरो ठाउँको मान्छे, म मेरो ठाउँमा रोजगारी दिन्छु भनेर।  गैरकानुनी भनेको बुझ्दैनौ ब्रो? कि पूरै देशलाई इलिगल धन्दामै धकेलेर मुम्बई जस्तो बनाउने हो?”

यो पनि पढ्नुहोस् : बालेनलाई प्रश्न– यो शहर कसको हो? तपाईंले बनाउन खोजेको कस्तो शहर हो?

उनले आफ्नो आलोचनालाई सहज रूपमा लिनै सकेको देखिँदैन। त्यहीँ उनले लेखेका छन्– “फोकटमा दिमाग खराब गर्ने काम नगर। अबदेखि जवाफ पनि आउँदैन एमएमआरमा। गुड् बाई।”

सामाजिक सञ्जालको ‘एमआरआर’ ग्रुपमा बालेनले बेलाबखत आफूलाई सोधिएको प्रश्नको उत्तर दिँदै आएका थिए। तर, उनले अबदेखि उत्तर दिन्नँ भनेकाले हुनसक्छ, उनलाई प्रश्न सोधिएको पोस्ट पनि अहिले हटाइसकिएको छ।

शहर भनेको भौतिक संरचना मात्र हो?
काठमाडौँमा फुटपाथ व्यवस्थापनको सवाल अहिले होइन, वर्षौं वर्षदेखि उठ्दै आएको छ। प्रत्येकजसो सरकारले यो कुरा उठाउँछन्, तर कालान्तरमा ती सामसुम भएर जान्छन्। त्यसको प्रमुख कारण सडक–फुटपाथ व्यवसायमा आश्रित व्यक्ति–परिवार, तिनको जीविकोपार्जन र त्यसमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका अरू धेरैको आर्थिक पक्षसित जोडिएको छ। यही सवाल सम्बोधन गर्न नसक्दा फुटपाथ व्यवस्थापन गर्ने पहल आजसम्म सफल भएको छैन।

मानवशास्त्री सुरेश ढकाल शुरूआती चरणमा कस्तो शहर बनाउने भनेर परिकल्पना नगरिँदा आज विकराल स्थिति देखापरेको बताउँछन्। यसमा शहरी व्यवस्थापनका लागि स्थापना भएको शहरी विकास मन्त्रालय र शहरी व्यवस्था विभाग पनि उत्तिकै जिम्मेवार भएको उनको भनाइ छ।

“शहरी विकास मन्त्रालयले यतिका समयदेखि के गर्दै आएको छ? शहरी क्षेत्रको व्यवस्थापनका लागि शुरूदेखि नै योजनाबद्ध रूपमा काम गरिएको भए आज महानगरले पनि यस्तो गर्ने अवस्था आउने थिएन”, ढकाल भन्छन्।

काठमाडौँलाई कस्तो शहर बनाउन खोजिएको हो भन्ने प्रष्ट नभई गरिने कार्यको अर्थ नभएको उनको निचोड छ। “काठमाडौँ महानगरका मेयर शाहले परिकल्पना गर्नु भएको शहर कस्तो हो? आगामी पाँच वर्षमा उहाँ कस्तो शहर बनाउन चाहनु हुन्छ? त्यसको पहिले श्वेतपत्र जारी गरौँ न त”, उनले भने, “त्यसपछि सोहीअनुसार सम्बन्धित विज्ञसँगको सहकार्य र सल्लाहमा अघि बढ्नु पर्छ।”

शहरको भौतिक संरचनाअनुसार मानिसको बसोबास हुने नभई मानिसकेन्द्रित भौतिक संरचना विकास गरिनुपर्नेमा उनको जोड छ। काठमाडौँ शहरका प्रमुख समस्या अरू नै रहेको तर, महानगरले पछिल्लो ६ महिनायता प्रमुख समस्यालाई नै छायामा पार्नेगरी यस्ता क्रियाकलापमा केन्द्रित भइरहेको उनले बताए। 

“फुटपाथले शहरलाई जीवन्त बनाउँछ, त्यसलाई व्यवस्थापन गर्ने तरिका पनि होलान्। जस्तो कि रोमका सडकमा आज पनि चित्रकला लगायतका अनेकन् क्रियाकलाप भइरहेका हुन्छन्। उहाँहरूले देख्नु भएकै होला”, ढकालले भने, “सडकका फुटपाथ व्यवसायीलाई मात्र शहरी सौन्दर्यको बाधक सम्झनु आफैँ इन्जिनियर मेयरका लागि शोभनीय होइन।”


सम्बन्धित सामग्री