Saturday, April 27, 2024

-->

लोकतन्त्रमा कांग्रेस–एमालेको धब्बा : बुथ कब्जाबाट जित्ने ‘राजनीति’को सिकार बने दुई युवा

बाजुरामा आइतबार निर्वाचनका क्रममा दुई युवाले ज्यान गुमाएको घटना कांग्रेस र एमालेको ‘बुथ कब्जाबाट चुनाव जित्ने’ प्रयासको नतिजा थियो। बाजुरामा कांग्रेस–एमालेले जहिल्यै बुथ कब्जाको प्रयास गरिरहन्छन्।

लोकतन्त्रमा कांग्रेस–एमालेको धब्बा  बुथ कब्जाबाट जित्ने ‘राजनीति’को सिकार बने दुई युवा

काठमाडौं– आइतबार बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न मतदान शुरू हुँदा सुदूरपश्चिमको बाजुरामा पनि निर्धारित समयमै मतदान शुरू भएको थियो।

बाजुरालाई यसपालि पहिले नै सुरक्षाका हिसाबले अति संवेदनशील जिल्लामा राखिएको थियो। कारण गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बाजुरा नै त्यो जिल्ला थियो जहाँ अनिश्चितकालका लागि निर्वाचन नै स्थगित भयो। वैशाख ३० को निर्वाचन बुथ कब्जा र नेपाली कांग्रेस तथा नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगन भएको थियो। त्यहाँ पुनः निर्वाचन गर्न झण्डै डेढ महिना लागेको थियो। यहीकारण पनि यसपालि बाजुरामा विशेष सुरक्षा योजनासहित मतदानको तयारी गरिएको थियो।

आइतबार मतदान शुरु भएको केही समयपछि नै विभिन्न ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद र झडपका घटना शुरु भइहाले। प्रहरी र प्रशासनले संयम राखेरै स्थिति नियन्त्रणबाहिर जान नदिने प्रयास गरेको थियो। केही ठाउँमा विवाद विवाद बढ्दै गएपछि प्रहरीले हवाई फायर पनि गर्‍यो।

स्वामिकार्तिक फापर गाउँपालिका वडा नम्बर ३ र ४, बूढीगंगा नगरपालिका वडा नम्बर ८ र बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा प्रहरीले मतदानकै क्रममा हवाई फायर गरेको थियो। स्थिति त्योभन्दा बिग्रिन पाएको थिएन।

साँझपख मतदान सकिने क्रममा थियो। त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मतदान केन्द्रमा फेरि विवाद शुरु भयो । कांग्रेस कार्यकर्ताले मतदान केन्द्रभित्रै पसेर मतपेटिका कब्जामा लिने प्रयास गरे। त्यसलाई रोक्न एमालेका कार्यकर्ता पनि भिड्ने 'मूड'मा देखापरे।

त्यही बेला कांग्रेस कार्यकर्ता, २५ वर्षीय सुरेन्द्र अयडी लगायतको टोली मतदान केन्द्रभित्रै प्रवेश गरेर मतपेटिका खोस्ने र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरे। त्यसक्रममा मतपेटिका र आफ्नो सुरक्षार्थ  प्रहरीले (इन्सास राइफलबाट) गोली चलाउँदा अयडीको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीहरू बताउँछन्। 

उनको मृत्युपछि नाटेश्वरी मतदान केन्द्रको वातावरण बिग्रियो। बुथ कब्जा गर्न अवरोध गरेको रिस साँधेर बसेका कांग्रेस कार्यकर्ताले त्यो घटनामा सहभागी एमाले कार्यकर्तालाई घरघरमा पुगेर आक्रमण गर्न थाले। त्यो क्षेत्र पहिल्यैदेखि कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिन्छ। त्यसकै सिकार भए एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य, ३२ वर्षीय चेतन अयडी। प्रहरीका अनुसार घरमै रहेका अयडीलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको आइतबार राति नै अछामस्थित बयलपाटा अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको थियो। 

‘बुथ कब्जाको राजनीति’ ले लिएको ज्यान
स्थानीय निर्वाचनको ‘कालो अध्याय’लाई बिर्सन पनि बाजुरावासी यो निर्वाचन शान्तिपूर्ण होस् भन्ने चाहन्थे। कतिपयले त बाजुराको थप बदनामी नगरियोस् भनेर सामाजिक सञ्जालमै अनुरोध गरिरहेका थिए।

यसको कारण बाजुरामा प्रत्येकजसो निर्वाचनमा कांग्रेस र एमालेले गर्ने बुथ कब्जाको प्रयास नै हो। अचम्म के भने प्रत्येक निर्वाचनमा कांग्रेस र एमालेले यहाँ बुथ कब्जा गरेर चुनाव जित्ने रणनीति अख्तियार गर्दै आएका छन्। आइतबार त्यसकै पछिल्लो कडी दोहोरिँदा दुई युवाको अनाहकमा ज्यान गयो। प्रहरी र प्रशासनले पुराना घटनाबाट पाठ सिकेर मतदानलाई अधिकतम शान्तिपूर्ण बनाउन प्रयत्न गर्दागर्दै पनि प्रहरीकै गोलीबाट एक युवाको ज्यान गयो। अर्का युवक कांग्रेस कार्यकर्ताको कुटपिटबाट मारिए। लोकतान्त्रिक अभ्यासको सबभन्दा ठूलो अवसर, आवधिक निर्वाचनका क्रममा एकै ठाउँमा दुई जनाको ज्यान जाने र निर्वाचन नै स्थगित हुने अवस्था आफूलाई लोकतान्त्रिक दाबी गर्ने मुलुकका दुई ठूला दलको कारण निम्तियो।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी मतपेटिका खोस्ने, मतदान गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मीमाथि आक्रमण गरेर हतियारसमेत खोस्ने प्रयास भएपछि पहिलो घटनामा गोली लागेर एक युवकको ज्यान गएको बताउँछन्। अर्का युवकको भने कुटपिटबाट मृत्यु भएको उनले बताए।

“गोली चाहिँ हतियार ताकेर चलाइएको अवस्था होइन। कानून हातमा लिन खोज्ने, सुरक्षाकर्मीको हतियार नै खोस्न खोजेपछि इन्सास राइफल चलेको हो, त्यसक्रममा छातीमा गोली लागेर उनको मृत्यु भएको हो”, उनले भने, “अर्का युवकलाई अपरिचित व्यक्तिले कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो।” अधिकारीले अपरिचित भनेका आक्रमणकारी कांग्रेस कार्यकर्ता थिए जसले बुथ कब्जा गर्ने प्रयास गरेका थिए।

घटनास्थलमा रहेका एक कर्मचारीका अनुसार कांग्रेसका कार्यकर्ता दलबलसहित आएर मतपेटिका नै कब्जामा लिने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। “यहाँको मतदान लगभग सकिएपछि हामी मतपेटिका सिल गर्ने तयारी गरिरहेका थियौँ”, उनले भने, “एक्कासि उनीहरू (कांग्रेस कार्यकर्ता) आएर कब्जामा लिन खोजे। सुरक्षाकर्मी र हामीले समेत रोक्न खोज्दा आक्रमणको प्रयास भयो। त्यही बेला सुरक्षाकर्मीसँगको हतियार पनि खोस्न खोजेपछि पड्केर गोली लागेको हो।”

मार्तडीमा कार्यरत एक पत्रकार बाजुरामा हरेक निर्वाचनमा कांग्रेस र एमालेले बुथ कब्जा गर्दै आएको बताउँछन्। गत स्थानीय तह निर्वाचनमा पनि बूढीगंगा नगरपालिकामा बुथ कब्जा गरिएको थियो। त्यसबेला दुवै पार्टीले फरक फरक वडामा बुथ कब्जा गरेका थिए। आइतबार भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा पनि दुवै पार्टीले बुथ कब्जा गर्न खोज्दा ठाउँ ठाउँमा विवाद र झडप भएका थिए। त्यही क्रममा मतदान सकिने बेला अप्रिय घटना भए।

“दुवै पार्टीले बुथ नै कब्जा गरेर चुनाव जित्न खोज्ने कारणले यहाँ हरेक चुनावमा अप्रिय घटना हुने गरेका छन्”, उनले भने, “हिजो भएको चुनावमा पनि जहाँ प्रतिस्पर्धा हुने क्षेत्र हो, त्यहाँ दुवै पक्षबीच झडपका घटना भए। एक पक्ष कमजोर भएको ठाउँमा शान्तिपूर्ण रूपमा चुनाव भयो।”

साँझपख बुथ कब्जा गर्न नपाएको र प्रहरीको गोली लागेर कार्यकर्ता नै मारिएपछि उग्र बनेका कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्तालाई घरमै गएर आक्रमण गरेका थिए। त्यही क्रममा ३२ वर्षीय चेतन अयडीको कुटपिटबाट मृत्यु भएको थियो।

एमाले केन्द्रीय सदस्य एवम् बाजुरा इन्चार्ज लालबहादुर थापाले आफ्ना कार्यकर्ताको कुटेर हत्या हुँदा पनि प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाए।

“मतदान शुरू भएदेखि नै विभिन्न क्षेत्रमा कांग्रेसका कार्यकर्ताबाट नियम कानूनविपरीत गतिविधि भइरहेका थिए। हामीले समयमा नै यसको सूचना दिएका थियौँ। तर, सुनुवाइ भएन”, उनले भने, “पहिलो घटनामा त प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको थियो। तर, त्यसको बदला भन्दै हाम्रा कार्यकर्तालाई कुटी कुटी मारियो।”

प्रहरीको गोली लागेर मृत्यु भएका अयडीले मतपेटिका सुरक्षार्थ खटिएका प्रहरी हवल्दारमाथि नै आक्रमण गरेका थिए। ती हवलदारको अहिले अछामको बयलपाटा बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। उनलाई हेलिकप्टरबाट बयलपाटा लगिएको थियो “चेतन अयडीको अघिल्लो घटनामा कुनै संलग्नता नै थिएन। मतदान सकिएपछि घर जाने क्रममा आक्रमण भयो। सुरक्षित हुन घरमा गएका थिए। ढोका फोडेर सडकमा ल्याएर आक्रमण गरेर हत्या गरियो” उनले भने, “पहिलोपटक आक्रमण भइसकेपछि नै सुरक्षा निकायलाई उद्धार गर्न भनिएको थियो। तर, गरिएन। जसका कारण दोस्रो पटक उनलाई मार्ने उद्देश्यले आक्रमण गरियो।”

थापाले प्रशासनको गम्भीर कमजोरीका कारण दोस्रो घटना भएको आरोप लगाए।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी भने प्रशासनको कमजोरी नभएको दाबी गर्छन्। “घटना भइसकेपछि हामीले नै उद्धार गरेर अस्पताल पुर्‍याएका हौँ”, उनले भने, “दुवै घटना किन र कसरी भए भन्नेबारे प्रहरीले गम्भीर रूपमा अनुसन्धान अगाडि बढाइसकेको छ।”

थापाले यी दुवै घटनामा कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै प्रहरी प्रशासनका अधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरे। उनले विभिन्न स्थानमा सत्ताको आडमा धाँधली गरिएको आरोप लगाउँदै ती स्थानमा पुनः मतदान हुनुपर्ने मागसमेत गरे।

बाजुरा कांग्रेसका सभापति रामसिंह रावल भने शान्तिपूर्ण रूपमा मतदान भएर सकिने बेला नाटेश्वरी मतदान केन्द्रमा प्रहरीले सिधै गोली चलाएको दाबी गर्छन्। उनले त्यो घटनापछि कांग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्तालाई कुटपिट गरी हत्या गरेको घटनामा आफूहरूको संलग्नताबारे भने प्रस्ट बताउन चाहेनन्। “एमाले कार्यकर्तामाथि आक्रमणमा संलग्न को को थिए मैले देखेको छैन। कांग्रेसकै कार्यकर्ता हुन् वा होइनन् मैले भन्न सक्दिनँ”, उनले भने, “प्रहरीले निष्पक्ष अनुसन्धान गरोस्, घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ। अपराधीलाई उन्मुक्ति दिन मिल्दैन।” उनले प्रहरीले गोली हानेर मारेको घटनाको पनि छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने बताए।

आफ्नो प्रभाव ज्यादा भएका ठाउँमा बढी भन्दा बढी मत आफ्नो पक्षमा पार्ने प्रवृत्ति बाजुरामा रहेको रावलले पनि स्वीकारे। “एउटालाई दोष लगाएर अर्को उम्किने ठाउँ छैन। पहुँच बढी भएका ठाउँमा बढी मत खसाल्ने प्रवृत्ति छ। यसले जिल्ला नै बदनाम हुने काम भएको छ”, उनले भने, “अबका दिनमा यस्ता घटना हुन नदिनका लागि सबै राजनीतिक दलले गम्भीर रूपमा सोच्नुपर्छ। हामीबाट पनि त्रुटि भएका छन्, जसका कारणले अप्रिय घटना नै हुन पुग्यो।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी भोला रावल दुवै घटनाको प्रहरीले अनुसन्धान शुरू गरेको बताउँछन्। प्रहरीको गोली लागेर मृत्यु भएका युवक र नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट मारिएका युवक दुवै एकै ठाउँका हुन्। उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर प्रहरी प्रशासनसमेतको मिलेमतोमा ‘सत्ता गठबन्धनको नियोजित निर्देशनमा’ आफ्ना कार्यकर्ताको हत्या भएको आरोप लगाएका छन्। उनीहरूले आइतबार राति सत्तारुढ गठबन्धनका कार्यकर्ताले अनेरास्ववियूका केन्द्रीय सदस्य, त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको बर्बरतापूर्वक हत्या गरेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। 

ठूला नेताका हर्कतले बदनाम बाजुरा
प्रतिनिधिसभा निर्वाचनमा यसपटक बाजुरामा हेभीवेट नेताहरुबीचको भिडन्त तय भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा बाजुराबाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। उनीसँगको प्रतिस्पर्धामा कांग्रेसले सहमहामन्त्री बर्दी पाण्डेलाई उम्मेदवार बनाएको थियो।

बाजुरा एमालेका स्थायी कमिटी सदस्य थापा र केन्द्रीय सदस्य लालबहादुर थापा मात्र होइन, प्रदेश सरकारको गृहमन्त्री रहिसकेका अर्का नेता प्रकाश शाहले समेत राजनीति गरिरहेको जिल्ला हो। नेपाली कांग्रेसका पाण्डे, अहिले महान्यायाधिवक्तासमेत रहेका खम्मबहादुर खाती, जिल्ला सभापति रावल र अहिले सुदूरपश्चिम प्रदेश प्रमुख रहेका कांग्रेस नेता देवराज जोशीको राजनीति गर्ने जिल्ला पनि यही हो। धेरैतिर कांग्रेस र एमालेबीच सहकार्य नै भइरहँदा बाजुरा भने निर्वाचनमा सधैँ उनीहरूको रक्तपातपूर्ण भिडन्त निम्त्याउने थलो बन्छ।

बाजुराका यिनै नेताहरूको राजनीतिक दाउपेचको लडाइँले हरेक निर्वाचनमा त्यहाँ बुथ कब्जाका घटना हुँदै आएका छन्। त्यहीकारण सधैँ अप्रिय घटना भइरहेका छन्। कांग्रेसका जिल्ला सभापति रावलले भने झैँ यसले जिल्लाको छवि नै धुमिल बनाएको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा पनि बुथ कब्जा र झडपका घटनाले उग्र रूप लिएपछि निर्वाचन आयोगले बूढीगंगा नगरपालिकाको निर्वाचन रद्द गरेर पुनः निर्वाचन गराएको थियो। आइतबार रद्द भएको निर्वाचन कहिले हुन्छ भन्ने चाहिँ तय भइसकेको छैन।


सम्बन्धित सामग्री