Sunday, October 13, 2024

-->

प्रभावशाली प्रतिपक्षी बन्ने बाटोमा बढोस् कांग्रेस

प्रत्येक कांग्रेसीले सत्ता गुम्यो भन्दै रुवाबासी गर्न छाडेर संगठनलाई कसरी विश्वासिलो र बलियो बनाउने भन्नेतर्फ मन बनाउनु मुनासिब हुन्छ।

प्रभावशाली प्रतिपक्षी बन्ने बाटोमा बढोस् कांग्रेस

सत्ताबाट हठात् बेदखल हुनुपर्दा तिलमिलाएको नेपाली कांग्रेसले सामान्य भइहाल्ने छाँट देखाइसकेको छैन। व्यवहारले सत्ताप्रति उसको आशक्ति सहजै बुझिन्छ। कांग्रेसका कतिपय नेताका बरबराहट सुनिरहँदा उसलाई लयमा आउन अझै समय लाग्ने संकेत मिल्छ, जुन बलियो कांग्रेस बनाउने अभियानमा अवरोध हो। सत्ताविमुख हुँदाको ‘सदमा बर्दाश्त’ गर्न कांग्रेसले जति धेरै समय कटाउँछ, उति नै आफ्नो साख घटाउँछ। त्यसैले कांग्रेसले तत्तत् कुरा मनन गरी सत्ता फुत्किएपछि सत्तालिप्साले उब्जिएका कुविचारलाई निर्मम दमन गर्नुपर्छ र प्रतिपक्षमा पुग्ने नियतिलाई नमन गर्नुपर्छ। 

कांग्रेसको प्रतिक्रियात्मक व्यवहारले फगत उसको ऊर्जा क्षय गर्ने हो, यसबाट उसले राजनीतिक प्रतिफल पनि पाउनेवाला छैन न मुलुकले नै। तथाकथित गठबन्धनको गोलचक्करबाट मुक्ति पाउनु कांग्रेस मात्र नभई मुलुककै लागि अवसर हो। यसले कांग्रेसको राजनीतिक क्षितिज फराकिलो बनाउन त सघाउँछ नै राष्ट्रिय राजनीतिमा झन्–झन् झाँगिँदै गइरहेको विकृति सुधार्न पनि सुझाउँछ। त्यसैले प्रत्येक कांग्रेसीले सत्ता गुम्यो भन्दै रुवाबासी गर्न छाडेर संगठनलाई कसरी विश्वासिलो र बलियो बनाउने भन्नेतर्फ मन बनाउनु मुनासिब हुन्छ।

सत्ताको स्वाद र शक्तिको अम्मलीका रूपमा चित्रित गरिएको कांग्रेस प्रतिपक्षमा फ्याँकिदा थोरबहुत अस्वाभाविक व्यवहार दर्साउनु स्वाभाविकै पनि होला तर आफूलाई संसदीय व्यवस्थाप्रति वचनबद्ध भन्ने पार्टीले प्रतिपक्षी भूमिका परख गर्न नसक्नुचाहिँ अस्वाभाविक हो। यतिबेला कांग्रेसबाट प्रभावशाली प्रतिपक्षीको भूमिका अपेक्षित छ न कि केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट गलहत्त्याइँदाको रोनाधोना र बिलौना। सत्ता खोसिँदाको छटपटीबाट मुक्त भई प्रतिपक्षी भूमिकाको भरपुर उपयोग गर्ने दिशामा नहिँडी कांग्रेसलाई अब धरै छैन।   

सत्ता र सत्तापक्षीय दलहरूले आफ्नालाई 'जोगाउन-चोख्याउन' कुनै कसर बाँकी नराख्ने शुरूआती दिनदेखि नै देखिइराखिएको छ। भाउजूलाई भुटानी शरणार्थी काण्डमा जाक्दिने भनेर ‘ब्ल्याकमेलिङ’ नहोला भन्न सकिन्न, आखिर पेसाकै क्रममा ब्ल्याकमेल गरेकाहरू पनि सत्तामा जो छन्। माओवादी नेतृत्वको सरकारमा नयाँ सारथि बनेका दलहरू सत्ताको आडमा अनियमितता र भ्रष्टाचारका प्रमुख मुद्दाहरूलाई टुंग्याउनुको सट्टा त्यस्ता मुद्दालाई कार्पेटमुनि लुकाउन उद्धत देखिन्छन्। यसको कारण उनीहरू आफैँ पनि ती मुद्दामा जोडिएका छन् भन्ने बुझ्न गाह्रो छैन। 

सतहमा आइसकेका मुद्दाहरूमा कारबाही चलाएको 'दिखावा' गरेर आफू र आफ्नालाई चोख्याउने प्रपञ्च पटाक्षेप गर्न कांग्रेस चनाखो भइरहनु जरुरी छ। पार्टीभित्रका व्यक्तिहरू संलग्न मुद्दा छन् भने पनि कांग्रेसले खुट्टा लुलो पार्नुहुँदैन। कांग्रेसले कुनै पनि मुद्दाप्रति आग्रह–पूर्वाग्रह राखेर आफ्नो धारणा बनाउन थाल्यो भने त्यो कांग्रेसका लागि त ‘ब्याकफायर’ त हुन्छ नै देशकै लागि पनि हितकर हुँदैन। भ्रष्टाचार, अनियमितता र ठगीजस्ता अपराधमा संलग्नलाई कारबाही देख्न चाहेका जनतामा चरम निराशा छाउँछ। र देशमा राजनीतिक अराजकताले झनै बढवा पाउँछ।

झन्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको संगठनभित्र विषाक्त प्रकृतिका व्यक्ति पनि छन्, जसले सत्ताको आडमा विभिन्न समयमा अधिकारको दुरुपयोग पनि गरेका छन्। यस्ता व्यक्ति उत्पादनको दोष अमुक टाउकोमाथि लगाउँदैमा मात्र समाधान निस्किँदैन। यस्ता विषाक्तता कतै संगठनको व्यवस्थापकीय अक्षमताले उम्रिएका छन् भने कुनै नेता विशेषका संरक्षणले फस्टाएका छन्। कतै कार्यकर्ताकै गलत कार्यशैलीले यस्ता चरित्र मौलाएका छन् त कतै स्वार्थ र अज्ञानतावश पनि। 

जनतामा हराउँदै गरेको भरोसा पुनः हासिल गर्नु छ भने कांग्रेसले यहाँनिर सीमारेखा कोर्नै पर्छ। कांग्रेसको अहिलेको महत्त्वपूर्ण कार्यभार संगठन सुदृढ पार्दै आमजनतामा सुशासनको आशा जगाउनु हो। आन्तरिक शुद्धीकरणजस्ता विषय सुदृढीकरणको दिगोपनासँग जोडिएका प्रमुख तत्त्व हुन्। यी कुरामा पार्टीको आन्तरिक पक्षले त भूमिका खेल्छ नै, बाह्य पक्ष (विपक्षीहरू) पनि प्रत्यक्ष जोडिएका हुन्छन्। त्यसैले कांग्रेस साँच्चिकै सुदृढ हुने हो भने आन्तरिक र बाह्य दुवै पक्षमा उसले उत्तिकै दृष्टि पुर्‍याउनु जरुरी हुन्छ।

हाम्रो विद्यमान राजनीतिक अवस्थाबारे प्रस्ट हुन एउटा छोटो कथाको मद्दत लिऔँ: 

एक जना मानिससँग अपत्यारिलो क्षमता भएको एउटा सिकारी कुकुर हुन्छ। कुकुर धनीलाई एक दिन आफ्नो कुकुरको क्षमता अरूलाई देखाउन मन लाग्छ। सधैँ सिकार खेल्ने गरेको पोखरीनजिकै आउन दुनियाँलाई निम्तो दिन्छ। अनि त्यो मानिसले कुकुरलाई पानीमा पौडिरहेको हाँस समातेर ल्याउन अह्राउँछ। मालिकको आदेशअनुसार कुकुर पानीमाथि उफ्रँदै उफ्रँदै गएर हाँस समातेर ल्याउँछ। 

यति देख्दा पनि अरूले कुनै कुनै प्रतिक्रिया नजनाएपछि त्यो मानिसले सोध्छ–

मेरो कुकुरमा कुनै अद्भुत गुण देखेनौँ तिमीहरूले?

जवाफ आउँछ– अँ, देखेँ, तिम्रो कुकुरलाई पौडन आउँदो रहेनछ!

हो, हाम्रो समाज र राजनीति पनि केही हदसम्म यस्तै छ। भएको र गरेको कुरा देख्दैन, तर हुँदै नभएको र गर्दै नगरेको कुराचाहिँ देख्छ। कथामा जस्तै पानीमाथि दौडिएको देख्दैन, नदेखेरै पनि पौडन आउँदो रहेनछ भनेर देखिहाल्छ।

हाम्रो राजनीतिमा आफूले हेर्न चाहेको कुरा मात्र देख्ने प्रवृत्ति हाबी छ। त्यो प्रवृत्ति नेता, कार्यकर्ता मात्र नभई समर्थक-शुभेच्छुकसम्मै सरेको छ, सरुवा रोगझैँ। कांग्रेसविरोधी शक्ति त यो रोगबाट अझ बढी ग्रस्त देखिन्छन्। सतहमा आएका जायज विषयलाई राजनीतिक मसला बनाउनु त विरोधीको ‘धर्म’ नै हो। तर हुँदै नभएका विषय उत्खनन गर्ने, खराब आचरणका व्यक्ति र गतिविधिलाई संगठनसँग जोडेर ‘अपवित्र कांग्रेस’ देखाउने काम विरोधीबाट भइरहेको छ। 

व्यक्तिले गरेका दोषमा संगठनलाई सजायको भागिदार बनाउन खोजिँदै छ। यस्तोमा कांग्रेसले खराब आचरणका आफ्ना सदस्य र पार्टी संगठन अलग भएको तथ्य जनतामाझ बुझाउन सक्नुपर्छ। अन्यथा विरोधीले कांग्रेसको ‘खराब’ ब्रान्डिङ गर्ने निश्चित छ। विरोधीका यस्ता गतिविधिलाई गलत साबित गर्दै संगठनलाई क्षय हुन नदिन कांग्रेसले आवश्यक रणनीति बनाइ कार्यरूप दिन अब ढिलाइ गर्नुहुँदैन।

विरोधीले निःसन्देह कांग्रेसलाई कमजोर अवस्थामा देख्न चाहेका छन्। यद्यपि त्यसका लागि संस्थागत रूपमा कांग्रेसले गरेका कमजोरीलाई उनीहरूले कमै मात्र मुद्दा बनाउन सकेका छन्। बरु खराब पात्र, व्यक्ति विशेषका गलत प्रवृत्ति र प्रतिक्रियामा उनीहरूको प्रहार ज्यादा छ। पार्टीले समय–सान्दर्भिक कार्यनीति तय नगर्दा विरोधीले प्रहारको मौका पाइरहेका हुन्। पार्टीको ओत लागेरै झाँगिएका यस्ता खराब पात्र, प्रवृत्ति र प्रतिक्रियाका सम्बन्धमा कारबाही अघि बढाउन अब पनि यथोचित कदम चाल्न नसक्ने हो भने कांग्रेस उकालो लाग्न गाह्रो छ।

खराब पात्र, प्रवृत्ति र पार्टी संगठन फरक पाटा हुन्। व्यक्तिले गरेका गल्ती–कमजोरीको भागिदार व्यक्ति नै हुन्छ। पार्टीले संगठित रूपमा नै प्रश्रय दिएको बाहेकका कुरामा ऊ भागिदार हुँदैन। संगठनका जुनसुकै व्यक्ति आफ्नो कर्मका आधारमा राजनीतिक, सामाजिक वा कानूनी रूपले गलत ठहर्छ भने त्यसको मूल्य स्वयंले चुकाउनुपर्छ। यो कुरामा सबैभन्दा पहिले प्रत्येक कांग्रेसजन प्रस्ट हुनुपर्छ। र उनीहरूले यस्ता पात्र र प्रवृत्तिलाई किमार्थ संरक्षण गर्नुहुँदैन। बरु यथाशक्य चाँडो कानूनी कारबाहीको बाटो देखाउनुपर्छ। 

यससँगै, आमजनता र नेता–कार्यकर्तामा आशा अनि उत्साह भर्ने जिम्मेवारी पनि छ। विरोधीको विरोध र सत्ताको आलोचना गरेकै भरमा अब कसैमा आशा र उत्साह जागृत हुँदैन। यसका लागि कांग्रेसले जनतामा आफूप्रतिको विश्वास बढाउन सक्नुपर्छ। सरकार ढलाउनेतर्फ अहिले कांग्रेसले ध्यानै दिनुहुँदैन। किनभने 'रम्ता जोगी'जस्ता पात्रको जुगलबन्दीमा जन्मिएको यो सरकार उनीहरूकै चकचक र चटककै कारण चिप्लिएर चाँडै लड्ने निश्चितजस्तै छ। त्यसैले कांग्रेसले अहिले सत्तालाई भन्दा जनताका मुद्दालाई केन्द्रमा राखेर आफूलाई चलायमान बनाओस्। भोलिका दिनमा देशको आवश्यकता र जनताप्रति जिम्मेवारीको अवस्था आइपरेमा भने कांग्रेसले सत्ताबारे अवश्य सोच्न सक्नेछ।  

तर अहिले जसरी संगठनभित्रका अमुक खराब पात्र र प्रवृत्तिका मुद्दा उचालेर कांग्रेसले गरेको भन्ने भाष्य बनाइँदै छ, यसको बचाउमा कांग्रेस खरो रूपमा उत्रनु अहिलेको प्राथमिकता हो। त्यस्तो बचाउ तर्कसंगत अभिव्यक्ति र पत्यारिला तथ्यहरूले गर्न सक्छन् न कि आक्रोश र कुण्ठायुक्त क्रियाकलापले। नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सत्तामा नभएकै भरमा लघुताभास महसुस गरेर रक्षात्मक हुनुपर्ने कुनै कारण छैन। बरु सत्ता र सत्ता साझेदार दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुनु सान्दर्भिक हुन्छ, देश र जनताका लागि आफूहरूले गरेका कामहरूको फेहरिस्त र भविष्यका योजना लिएर उनीहरूका गलत गतिविधिको भण्डाफोर आवश्यक छ  


झा कांग्रेसका युवा नेता हुन्। उकालोको विचार खण्डमा  प्रकाशित सामग्री लेखकका निजी विचार हुन्।


सम्बन्धित सामग्री