सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल पर्छन्। दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलकै कारण हुन्छ। काठमाडौँ उपत्यका त मोटरसाइकल दुर्घटनाको ‘हट्स्पट’ नै मानिन्छ।
काठमाडौँ– मोटरसाइकल दुर्घटना न्यूनीकरणका निम्ति प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सभामा छलफलको माग गर्दै बुधबार प्रस्ताव दर्ता गराएका हुन्।
सरकारले मोटरसाइकलमा अनिवार्य हेल्मेट, बीमा सुरक्षा र सडक सुरक्षामा लगानी बढाउने हो भने दुर्घटनाबाट ज्यान जानेको संख्या कम गर्न सकिने प्रस्तावमा उल्लेख छ। प्रस्तावले यी तिनै पक्षमा सुधारको आवश्यकता देखाएको छ। प्रस्तावमा बजगाईंले भनेका छन्, “यो प्रस्तावलाई सरकार र सरोकारवाला निकायहरूले गम्भीर रूपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य छ।”
मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि आवश्यक पर्ने कदमलाई पनि प्रस्तावमा उल्लेख गरिएको छ। यसका निम्ति पछाडि सवार यात्रुहरूलाई पनि अनिवार्य हेल्मेट लागू गरिनुपर्ने उनको माग छ। सार्वजनिक सचेतना कार्यक्रम सञ्चालन गरी हेल्मेट नलगाउँदा हुने खतराबारे जानकारी दिनुपर्ने उनले उल्लेख गरेका छन्।
यातायात नियम उल्लंघन गर्नेहरूका लागि कारबाही कडा पार्नुपर्ने बजगाईंको माग छ। हेल्मेट नलगाउने चालकलाई मात्र हैन, हेल्मेट नलगाउने यात्रुले पनि जरिबाना तिर्नुपर्ने उनले प्रस्तावमा उल्लेख गरेका छन्। सडक सुरक्षासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानलाई प्रबर्द्धन गर्नुपर्ने उनको माग छ।
दुर्घटना न्यूनीकरणका निम्ति नेपालमा आवश्यक पूर्वाधार नभएको जनगुनासो उठिरहँदा बजगाईंले त्यसमा पनि ध्यान दिनुपर्ने बताएका छन्। त्यसका निम्ति उनले विशेषगरी तीन वटा क्षेत्रमा सुधार गर्नुपर्ने उल्लेख गरेका छन्। एक, सडक संकेत, जिब्रा क्रसिङ र ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन गरिनुपर्छ। दुई, सडकहरूमा सीसीटीभी निगरानी बढाएर ट्राफिक नियम उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ। तीन, मोटरसाइकलका लागि अलग लेनको अवधारणा लागू गर्नुपर्छ।
यो पनि- मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन
उनले आफ्नो प्रस्तावमा बीमालाई पनि प्राथमिकतासाथ उठाएका छन्। मोटरसाइकल यात्रीहरूको लागि बीमा योजना लागू गर्नुपर्ने, दुर्घटनामा घाइते भएकालाई उपचार खर्च तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, बीमा नीतिलाई सरल र पहुँचयोग्य बनाई कम आय भएका नागरिकले पनि लाभ लिनसक्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।
मोटरसाइकल दुर्घटना भयावह रहेको र यसको न्यूनीकरण गर्नुपर्ने आवश्यकता महसुस भएपछि जरूरी सार्वजानिक महत्त्वको प्रस्ताव ल्याएको बजगाईं बताउँछन्। उनले उकालोसँग भने, “यो विषय मैले पहिलेदेखि नै ख्याल गरिरहेको थिएँ। केही दिनअगाडि हटौँडामा मोटरसाइकलको कहालीलाग्दो दुर्घटना देखेँ। पछाडिको यात्रुको मृत्यु भयो, चालक गम्भीर घाइते भए। त्यो दुर्घटना देखेपछि अब संसद्मा प्रस्ताव लानुपर्छ भन्ने लाग्यो।”
ट्राफिक प्रहरीको तथ्यांक हेर्ने हो भने नेपालमा हरेक दिनजसो मोटरसाइकल दुर्घटना हुन्छ। सवारी दुर्घटनामा हुने मृत्यु निम्त्याउने प्रमुख साधन मोटरसाइकल हो। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनअनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ।
विगत पाँच वर्षको तथ्यांक हेर्दा अन्य सवारीसाधनको तुलनामा मोटरसाइकल दुर्घटना अत्यधिक छ। पाँच वर्षलाई तुलना गर्दा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना आर्थिक वर्ष २०८०/८१ मा भएको छ। यस आर्थिक वर्षमा करिब २० हजार मोटरसाइकल दुर्घटना भएका थिए। यीमध्ये साढे सात हजार मोटरसाइकल काठमाडांँमा दुर्घटना भएका थिए।
आर्थिक वर्ष २०७९/८० को तथ्यांक पनि योभन्दा फरक छैन, त्यति बेला पनि करिब साढे १९ हजार मोटरसाइकल दुर्घटना भएका थिए। २०७८/७९ मा पनि लगभग २० हजार मोटरसाइकल दुर्घटना भए। यीमध्ये करिब साढे आठ हजार मोटरसाइकल काठमाडौँमा दुर्घटना भए। आर्थिक वर्ष २०७७/७८ मा १७ हजार मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ।
विगत पाँच वर्षमा सबैभन्दा कम मोटरसाइकल दुर्घटना आर्थिक वर्ष २०७६/७७ सालमा भएको थियो। त्यतिबेला झण्डै ११ हजार दुर्घटना भएका थिए। हरेक वर्ष सबैभन्दा बढी मोटरसाईकल दुर्घटना काठमाडौँ उपत्यकामा हुने गरेको छ। काठमाडौँ उपत्यकालाई मोटरसाइकल दुर्घटनाको ‘हट्स्पट’ नै मानिन्छ।
चालकहरूले हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने, जथाभावी बाटो काट्ने, लेन मिच्नेजस्ता कारण दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले हरदम निगरानी गर्ने काठमाडौँमा समेत नियम उल्लंघन गरेर मोटरसाइकल चलाउनेहरू प्रशस्त छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जय बहादुर राउतले केही दिनअघि उकालोसँग भनेका थिए, “हामीले चेकिङमा कडाई गरेका छौँ, जनचेतना जगाएका छौँ। तर पनि दुर्घटना उच्च छ। कतिपय चालक नियम मिचेर ट्राफिकलाई छल्न खोज्छन्।”
अहिले व्यावसायिक रुपमै ‘राइड शेयरिङ कल्चर’ ह्वात्तै बढेकाले मोटरसाइकल चालकसँगै पछाडि बस्ने यात्रुको सुरक्षाको सवाल अझ महत्वपूर्ण बनेको छ।
सांसद बजगाईंले सार्वजनिक महत्त्वको प्रस्तावमा ४० प्रतिशत दुर्घटनामा पछाडि सवार यात्रुहरू बढी जोखिममा पर्ने गरेको बताएका छन्। हेल्मेट लगाउँदा यात्रु सुरक्षित हुने सम्भावना उच्च रहेको प्रस्तावमा उल्लेख छ। “हेल्मेट लगाएका चालकहरूको बाँच्ने सम्भावना ७० प्रतिशतभन्दा बढी हुन्छ, तर यात्रुहरूले हेल्मेट नलगाउँदा मृत्युदर उच्च छ,” प्रस्तावमा लेखिएको छ, “बीमा कभरमा यात्रुहरूको सहभागिता न्यून छ, जसले दुर्घटनापछि आर्थिक भार पनि बढाउँछ।”
यस प्रस्तावलाई संसद्मा छलफल गराउन आफूले सभामुखलाई पनि भेटेर कुरा गर्ने बजगाईं बताउँछन्। उनी भन्छन्, “यस प्रस्तावलाई छलफलमा ल्याउन म पहल र अनुरोध गर्छु। प्रस्तावका समर्थक र म प्रस्तावकसमेत सभामुखलाई भेटेर यस विषयमा कुरा गर्ने योजना बनाएका छौँ।”
प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखले प्रतिनिधिसभाको कार्यबोझलाई ध्यानमा राखी प्रस्तावमाथि छलफल गर्ने दिन र समयावधि तोक्न सक्छन्। तर यस्तो प्रस्ताव जुन अधिवेशनमा दर्ता भएको हो, त्यस अधिवेशन अवधिभर छलफल नभए निस्कृय हुन्छन्।
यसरी दर्ता भएको प्रस्ताव समय सान्दर्भिक एवं उपयुक्त रहेको भनी प्रस्तावक सदस्यले पुनः कायम गरिपाऊँ भन्ने निवेदन दिएमा सभामुखको निर्णयानुसार हुने नियमावलीको व्यवस्था छ।
यो पनि :
सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान, तर पनि लगाउँदैनन् नेपाली
गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन
सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक
सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ
गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने
सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा
मौसमले बढाएको छ सवारी दुर्घटनाको ग्राफ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
