काठमाडौँ– सन्दर्भ १
नवलपुरको बुलिङटारबाट कावासोती जाँदै गरेको बोलेरो जिप गत कात्तिक ३ गते कावासोती–१ बालुवाडाँडामा दुर्घटना भयो। सात जनासम्म बस्न मिल्ने बोलेरोमा ३४ यात्रु कोचिएको थियो। चालकलाई लाग्यो– ट्राफिकले देख्यो भने समाउँछ।
अरू समयमा बुलिङटार–मुण्डे–दलदले–कावासोती चल्ने गरेकोमा मुण्डेको प्रहरी जाँच छल्न चालकले त्यस दिन बुलिङटारबाट बालुवाडाँडा हुँदै कावासोती जाने बाटो रोजे। यो भित्री रूट भएकाले प्रहरीको नियमित जाँच हुँदैन थियो।
तीव्र गति र अत्यधिक यात्रु बोकेका कारण एउटा घुम्तीमा बोलेरो पल्टियो। दुई जनाको मृत्यु भयो, ३१ जना घाइते भए।
सन्दर्भ २
नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना.४ ख. ५८१५ नम्बरको बसले भरतपुरमा २०८० फागुन २२ मा ९ वर्षीय आरूष पौडेललाई ठक्कर दियो। उनी जिब्राक्रसिङबाट बाटो काटिरहेका थिए। तर पैदलयात्रीलाई जिब्राक्रसिङ पनि सुरक्षित रहेन। घटनास्थलमै पौडेलको मृत्यु भयो।
सन्दर्भ ३
ट्राफिक प्रहरीले २०७४ जेठ १६ गतेबाट जथाभावी बाटो काट्ने र पेटी छाडेर मूल सडकबाट हिँड्ने यात्रुलाई नियन्त्रणमा लिएर कारबाही शुरू गर्यो। यस अभियानको पहिलो दिन मात्र काठमाडौँ उपत्यकामा लगभग ३५ सय पैदलयात्री कारबाहीमा परे। प्रहरीले कारबाहीमा परेका प्रत्येक पैदयलयात्रीलाई २०० रुपैयाँ जरिबाना तिराएको थियो।
ट्राफिक प्रहरीले त्यस दिन पैदलयात्रुसँग ४ लाख २४ हजार रुपैयाँ जरिबाना उठायो। जरीवना तिर्न नचाहानेलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडिदियो। उनीहरूलाई आधा घण्टाको सचेतना कक्षा समेत दिइएको थियो। यो अभियानका क्रममा हरेक दिनजसो पैदलयात्रु कारबाहीमा परेका थिए।
माथिका तीन वटा उदाहरण नेपालमा ट्राफिक शिक्षाको दयनीय अवस्था देखाउन काफी छन्। क्षमताभन्दा बढी यात्रु बोक्नु, जिब्राक्रसिङमा ठक्कर दिनु, पैदलयात्रीले जथाभाबी बाटो काट्नु ट्राफिक नियम विपरीतका कार्य हुन्। नियम पालना नहुँदा नै हरेक दिन दुर्घटनाका समाचार आउँछन्।
दुर्घटना कम गराउने एक मुख्य रणनीति हो– सडक सुरक्षा शिक्षा।
‘पेसेन्ट एजुकेसन एन्ड काउन्सेलिङ’ जर्नलमा प्रकाशित एक लेखमा जेपी असाइली सडक सुरक्षा शिक्षालाई निरन्तरको सिकाइ प्रक्रिया बनाउनुपर्ने बताउँछन्। उनका अनुसार यसका तीनवटा उद्देश्य छन्। एक, ट्राफिक नियम र अवस्थाको ज्ञान र बुझाइ प्रवर्धन गर्ने। दुई, तालिम र अनुभवको माध्यमबाट दक्षता र योग्यतामा सुधार ल्याउने। तीन, मानिसलाई जोखिम सचेतना, व्यक्तिगत सुरक्षा र सडकमा अरूको सुरक्षामाथि ख्याल गर्न मद्दत पुर्याउने। असाइली लेख्छन्, “यदि हामी सडक साझेदारीलाई प्रोत्साहित गर्न चाहन्छौँ भने, सडक सुरक्षा शिक्षा सकेसम्म चाँडो शुरू गर्नुपर्छ।”
संसद्को विकास तथा प्रविधि समितिले २०७७ सालमा दुर्घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनमा पनि मानिसमा ज्ञान, जनचेतना र तालिमको अभावका कारण दुर्घटना उकालो लागेको उल्लेख थियो। प्रतिवेदनमा भनिएको छ, “सडकको गुणस्तरमा कमी, सवारी प्रयोगकर्ताको लापरबाही वा सवारी नियमको अज्ञानतालगायत कारण नेपालमा सडक सुरक्षा चुनौतीपूर्ण देखिएको छ।”
यो पनि: गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन
ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धमा विभिन्न समयमा चेतनामूलक कार्यक्रम गरेको छ। २०७७ सालमा ‘सांगीतिक डमी अभियान’ चलाएको थियो। २०७६ मा प्रहरीले बानेश्वर चोकमा सारंगी बजाएको थियो। सोही वर्ष तीन महिनासम्म उज्यालो अभियान संचालन गरेको थियो। प्रहरीले चोकचोकमा सारंगी टोली घुमाउने, जथाभाबी बाटो काट्नेलाई २० मिनेट कक्षा लिने, स्वयंसेवक खटाउने लगायत अभियानमार्फत सडक नियमबारे सचेत गराउने प्रयत्न गरेका छन्।
अहिले पनि ट्राफिक प्रहरीको ‘नो भ्वाइलेसन, नो पेनाल्टी’, ‘ज्रिब्राक्रसिङ्गको प्रयोग गरौँ’ लगायत अभियान चलिरहेको छ। काठमाडौँ महानगरपालिकाले हरेक शुक्रबार चलाएको ‘बुक फ्रि डे’मा पनि विभिन्न स्कुल पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिएका छन्। चालक र पैदलयात्रीलाई केन्द्रित गरेर प्रहरीले लामो समयदेखि यस्ता कार्यक्रम गरिरहेको छ। तर काठमाडौँ उपत्यकामा हरेक दिन १५ देखि २० वटा दुर्घटना हुन्छन्। यीमध्ये ५७ प्रतिशत दुर्घटना चालकको लापरबाहीले ट्राफिक प्रहरी बताउँछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदी ट्राफिक प्रहरीले दुर्घटना कम गराउन मिहिनेत गरिरहेको तर अपेक्षाकृत नतिजा नआएको बताउँछन्। उनी भन्छन्, “हामी खटिरहेका छौँ, हिम्मत हारेका छैनौँ। तर मान्छेले टेरेका छैनन्।”
‘जर्नल अफ इन्जुरी एन्ड भ्वाइलेन्स’ मा प्रकाशित मार्यम अक्बरी, कमरन बी लंकारानी लगायतको एक लेखमा अहिलेको चालक शिक्षाले दुर्घटना कम गर्न मद्दत गर्छ भन्ने प्रमाण नभएको उल्लेख छ। उक्त लेखमा भनिएको छ, “चालक शिक्षाले दुर्घटना वा चोटपटक कम गर्न मद्दत गर्छ भन्ने कुनै प्रमाण छैन। शिक्षण विधि प्रभावकारी नभएको कारणले यस्तो भएको हुन सक्छ। सडकलाई सुरक्षित बनाउन चालक शिक्षामा कसरी वा के सिकाइन्छ, त्यसलाई परिवर्तन गर्नु महत्त्वपूर्ण देखिन्छ, किनकि हालका विधिहरूले काम गरिरहेको छैन।”
उनीहरूले सोही लेखमा शिक्षा कार्यक्रमहरू वैज्ञानिक प्रमाण र सही शैक्षिक सिद्धान्तहरूमा आधारित नहुँदा पनि प्रभावकारी नभएको बताएका छन्।
यो पनि: सडक पूर्वाधारका सात दशकः पहुँच विस्तार, सुरक्षामा अझै समस्या
सडक सुरक्षामा अब्बल मानिन्छ– सिंगापुर। उसले स्कुल तहदेखि सडक नियमबारे शिक्षित गरिरहेको छ। सिंगापुरको ‘ट्राफिक गेम्स’ संसारभर चर्चित छ। बालबालिका केन्द्रित यो खेल सन् १९५८ देखि आजसम्म निरन्तर छ। यस खेलमा बच्चाहरूले पैदलयात्री, साइकल चालक र गो–कार्ट चालक जस्ता भूमिका खेलेर ट्राफिक नियमबारे सिक्छन्।
यो खेल यस वर्षको गत नोभेम्बर ८ मा संचालन भएको थियो, ३०० विद्यार्थी प्रतिस्पर्धी थिए। २९ देखि ३१ जुलाईसम्मको ‘क्वालिफाइ राउन्ड’मा २८ वटा प्राथमिक विद्यालयले भाग लिएका थिए। १५ वटा विद्यालय फाइनलमा पुगेका थिए।
कार्यक्रममा त्यहाँका गृह राज्यमन्त्री मुहम्मद फैसल इब्राहिमले भनेका थिए, “दुर्भाग्यवश, यस वर्ष दुर्घटनामा बालबालिका पनि परे। एक अभिभावकको रूपमा हाम्रा बालबालिकालाई सुरक्षित राख्नु कतिको महत्त्वपूर्ण छ भन्ने मैले बुझेको छु। सडक सुरक्षामा आमा–बाबु, हजुरबा–हजुरआमा र हेरचाहकर्ताले ठूलो भूमिका खेल्नसक्छन्। ...आज तपाईंहरूले यो खेलमा जे सिक्नु भयो, त्यो सडकमा हुँदा पनि लागू गर्नुहोला।”
यस खेलको मुख्य उद्देश्य हो– सानै उमेरदेखि सडक सुरक्षाको ज्ञान दिनु।
यसबाहेक पनि सिंगापुर प्रहरीले फेसबुक पेजमार्फत सडक सुरक्षाका विभिन्न जनचेतनामूलक पोस्ट गरिरहेको छ। प्रहरीले चलाउने ‘युज योर रोड सेन्स’ नामक फेसबुक पेजमा सडक सुरक्षाबारे जानकारी दिने सयौँ सिर्जनात्मक भिडियो छन्।
सिंगापुर पुलिसको रिपोर्टअनुसार त्यहाँ सन् २०२३ मा १३१ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा १३६ जनाको मृत्यु भएको थियो भने लगभग सात हजार मानिस घाइते भएका थिए। यही समय नेपालमा लगभग २३ हजार दुर्घटना भए, २३ सयको मृत्यु भयो र ६ हजार गम्भीर तथा २६ हजार साधारण घाइते भए।
नेपालमा सडक सुरक्षा शिक्षामा प्रहरीले भन्दा विद्यालयले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने सडक सुरक्षाविद् भगवती सेढाईं बताउँछिन्। पुलिसले एक दिन वा हप्ता दिन सिकाएर वा तालिम दिएर मात्र समस्या न्यूनीकरण नहुने उनको भनाइ छ। “स्कुलमा सडकको डेमो बनाउनुपर्छ र त्यहाँ सुरक्षाको अभ्यास गराउनुपर्छ। अलि ठूला बच्चालाई सडकमै लगेर अभ्यास गराउँदा पनि हुन्छ,” उनी भन्छिन्, “हरेक स्कुलमा अभिभावकको कमिटी हुन्छ। अभिभावकलाई पनि शिक्षा दिनुपर्छ। त्यसो हुँदा शिक्षक, साथी र परिवारबीचको कुराकानीले निरन्तरको सिकाइ हुन्छ।”
केही मुलुकले ट्राफिक पार्कसमेत बनाएर सडक सुरक्षा शिक्षा दिइरहेका छन्। त्यहाँ उनीहरूले अभ्यासमार्फत सडकका नियम सिक्छन्। मलेसिया, फिनल्यान्ड, क्यानडा, फ्रान्स, जर्मनीजस्ता देशमा सानै उमेरदेखि ट्राफिक शिक्षा उपलब्ध गराउन यस्ता पार्क बनाइएका छन्। सेढाईं भन्छिन्, “नेपालमा पनि यो अभ्यास शुरू गर्दा हुन्छ।”