काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सत्रकिलोमा गत असार २८ गते भिरबाट खसेको ढुंगा बसमा बज्रियो। ढुंगा लागेर बसका चालक नवलपरासी सुनवलका मेघनाथ विक (३६) को मृत्यु भयो।
बसमा ढुंगा बज्रिँदा उनी चालक सिटमा थिए। उनलाई उपचारका निम्ति तत्काल चितवन मेडिकल कलेज पुर्याइएको थियो। तर अस्पतालले मृत्यु घोषणा गर्यो। बसमा यात्रारत करिब ३० यात्रु सबै सकुशल थिए।
सोही दिन सत्रकिलोबाट लगभग सात किलोमिटर पर सिमलतालमा अर्को दुर्घटना भयो। सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा खसालिदियो। दुई वटा बसमा गरी ६२ यात्रु थिए। तीमध्ये तीन जना नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचे। बाँकी ५९ जना बेपत्ता भएका थिए।
उक्त घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरियो। कार्यदलले सडक निर्माण गर्दा लापरबाही भएको ठहर गरेको थियो।
कार्यदलको प्रतिवेदनमा भनिएको छ, “सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा सो स्थानमा उचित इन्जिनियरिङ डिजाइनबिनाको सडक खनिएका कारण दुर्घटना भएको हो।”
गत साउनमा, रिजाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दा गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना कम गर्न सरकारले सबै उपाय अवलम्बन गर्ने बताएका थिए। लेखकले समाजमा देखेका तीन वटा मुख्य चुनौतीमध्ये एक थियो, सवारी दुर्घटना। उनले गत पुस २६ गते कञ्चनपुरको महेन्द्रनगरमा एन प्याब्सनले आयोजना गरेको खेल महोत्सवमा भनेका थिए, “समाजमा लागुऔषध सेवन, आत्महत्या र सवारी दुर्घटना मुख्य चुनौतीका रूपमा देखा परेका छन्।”
गत भदौमा, लेखकले गृह मन्त्रालयमा सरोकारवालालाई बोलाएर सवारी दुर्घटना बढेकोमा चिन्तासमेत व्यक्त गरेका थिए। उनको भनाइ थियो, “दुर्घटना एकदमै बढ्यो, यो भएन। दिनमा सात जनाको मृत्यु हुन्छ। सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु– आगामी दुईतीन महिनामा दुर्घटना कम भएको देखिनुपर्छ।”
सवारी दुर्घटनाका विभिन्न कारण छन्, जस्तो: चालक, यात्रु, सडक र सवारीसाधनको अवस्था। तर नेपालमा सवारी दुर्घटना हुने अर्को प्रमुख कारण मौसम पनि हो।
मौसमअन्तर्गत मुख्यतः हुस्सु/कुहिरो, वर्षा, आँधीबेहरी, बाढीपहिरो पर्छन्। पछिल्लो पाँच वर्षमा मौसमका कारण करिब ३५० वटा सवारी दुर्घटना भएका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा मौसमका कारण ६५ वटा दुर्घटना भए। २०७९/८० मा ५३ वटा दुर्घटना भएका थिए।
प्रहरीको तथ्यांकअनुसार वर्षाका कारण चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म १८ वटा दुर्घटना भइसकेका छन्। आर्थिक वर्ष २०८०/८१ मा २८ वटा, २०७९/८० मा १५ वटा, २०७८/७९ मा २३ वटा र २०७७/७८ मा ३४ वटा दुर्घटना भएका थिए।
पहिरोका कारण गत आर्थिक वर्ष सात वटा दुर्घटना भएका थिए। पछिल्लो पाँच वर्षमा पहिरोका कारण ४५ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक छ। यसका निम्ति विभिन्न ठाउँमा अभियान पनि थालिएको छ।
रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ। विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारीसाधन पनि नदेखिँदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरी बताउँछ। यो अभियान विशेषगरी सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर–गौर सडकखण्डमा सञ्चालन गरिएको छ।
आँधीबेहरीका कारण त्यही अवधिमा १९ वटा दुर्घटना भएका छन्।
विशेषगरी, बर्खाको समयमा बढी सवारी दुर्घटना भइरहेको छ। पहिरो खसेर, खोलाले बगाएर, भारी वर्षा भएर दुर्घटना हुन्छ। यस्तो समयमा दुर्घटनाबाट बच्न यात्रु र सवारीचालकको भूमिका नै महत्त्वपूर्ण हुने नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्य बताउँछन्।
मौसमसम्बन्धी पूर्वजानकारी दिएर दुर्घटना कम गराउन सकिने आचार्यको भनाइ छ। “विभिन्न ठाउँबारे पूर्वसूचना भयो भने त्यसले दुर्घटना कम गराउन मद्दत पुर्याउँछ। कुन समयमा कुन ठाउँमा यात्रा गर्न जोखिमपूर्ण छ भन्ने कुरा अगाडि नै थाहा हुनुपर्छ,” उनी भन्छन्।
मौसम पूर्वानुमान महाशाखाले मौसमको नियमित पूर्वानुमान गर्छ। गत असोज दोस्रो हप्ता बाढीपहिरोले देशभर ठूलो नोक्सान भयो। त्यतिबेला महाशाखाले असोज ९ गते नै विशेष बुलेटिन प्रकाशित गरेर असोज १० देखि १३ गतेसम्म ५६ जिल्लामा भारी वर्षा हुने सूचना दिएको थियो।
भू–क्षय, बाढीपहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको थियो। जोखिम ठाउँमा चिह्न लगाएर नक्सासमेत प्रकाशित गरेको थियो।

विभागको पूर्वानुमान मिल्यो। असोज १० देखि आएको अविरल वर्षाले धेरै ठाउँ पहिरो जाँदा सडक अवरुद्ध भए। गुडिरहेको बस नै त्रिशूलीमा परे।
तर कतिपयले महाशाखाको पूर्वानुमानलाई वास्ता गरेनन्। सम्भावित विपत्तिलाई बेवास्ता गर्दा ज्यान गुमाउनुपर्ने अवस्था आयो। कतिपयले हैरानी बेहोर्नुपर्यो। धुलिखेल–बर्दिबास र मुग्लिन सडकखण्डमा सडक अवरुद्ध हुँदा कतिपय यात्रुको बास गाडीभित्रै भयो।
उक्त वर्षाको कारण ठूलो जनधनको क्षति भएपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले असोज १५ गते गृहमन्त्री लेखकसँग यस विषयमा छलफल गरेको थियो। मौसम विभागले पूर्वानुमान गर्दा पनि सरकारले पूर्वतयारी नगरेको सांसदहरूको भनाइ थियो।
सत्तारूढ दल कांग्रेसकै सांसद दिलेन्द्र बढुले भनेका थिए, “यात्रा नगर्नुस् भन्नुपर्छ। मुग्लिनतिर पनि बाटो राम्रो छैन। स्थानीय तहमा विपद्का बेला प्रयोग हुने उपकरणको प्रबन्ध खै? स्रोतसाधन खै? तीनै तहमा स्रोतसाधन सम्पन्न बनाउन ध्यान दिनुपर्छ।”
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले संकटको समयमा समेत रात्रिकालीन बस चल्न दिएको भन्दै सरकारको आलोचना गरेका थिए। उनको प्रश्न थियो, “झ्याप्ले खोलामा रात्रिबस पहिरोले पुरिने अवस्था कसरी बन्यो, सुरक्षित ठाउँमा राख्ने काम किन गरिएन?”
असोज १२ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिँदा कयौँको ज्यान गएको थियो। त्यस दिन एकैठाउँमा तीन वटा बसलाई पहिरोले पुरेको थियो।
मौसमका कारण हुने दुर्घटना रोक्न तराईका सडकमा पनि सुरक्षा अपनाउनुपर्ने प्रहरी प्रवक्ता आचार्य बताउँछन्। जाडो मौसममा तराईमा बाक्लो कुइरो लाग्ने भएकाले दुर्घटनाको सम्भावना पनि उच्च रहने उनको भनाइ छ। “सडकमा भिजिबिलिटी कम हुँदा गाडीहरू ठोकिन्छन्,” उनी भन्छन्, “भिजिबिलिटी कम हुँदा दुर्घटना रोक्न पनि विभिन्न टेक्निक अपनाउन सकिन्छ, जस्तोः सजग गराउने बोर्ड राख्ने अथवा स्पिड लिमिट गर्न सकिन्छ।”
सडक सुरक्षाविद् पुष्पराज पन्त सुरक्षित सडकका निम्ति राज्यको महत्त्वपूर्ण भूमिका हुने बताउँछन्। “सुरक्षित सडक बनाउने भनेको सडकलाई कालोपत्रे बनाउने मात्र होइन। घुम्तीमा निश्चित गतिमा भएको वाहन सजिलै घुमाउन सकिने पर्याप्त चौडाइ भएको, जाडो, गर्मी र वर्षा सबै मौसममा निर्बाध यातायात सञ्चालन गर्न योग्य सडक हुनुपर्छ,” उनी भन्छन्, “कदाचित दुर्घटना भएमा वाहनलाई सडकभन्दा बाहिर वा भीरबाट झर्न रोक्ने गरीको संरचना बनाउनुपर्छ। सडकमा पानी वा हिलो जम्न नदिने गरी निकासको व्यवस्था गर्नुपर्छ।”
गुणस्तरीय सडकको अभावमा यातायात व्यवसायीहरूले आरामदायक बस वा मिनिबस सेवा सञ्चालन गर्न चाहँदा पनि सक्ने अवस्था नभएको पन्तको विश्लेषण छ।
यो पनि :
गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन
सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक
सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ
मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन
गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने
सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा