सबभन्दा धेरै दुर्घटनामा मोटरसाइकल पर्ने गरेका छन् भने, सबैभन्दा धेरै मृत्यु पनि मोटरसाइकल दुर्घटनामै हुने गरेको छ। त्यसपछि धेरै दुर्घटना हुनेमा जीप तथा कार छन्।
काठमाडौँ– नेपालमा पछिल्लो आठ महिनामा भएका सवारी दुर्घटनामा १८ सय तीन जनाको ज्यान गएको छ। अर्थात्, औसतमा प्रत्येक दिन सात जना र प्रत्येक महिना करिब २२५ जनाको ज्यान गइरहेको छ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार, यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने पुरुष छन्। गत साउनयता १३ सय ६१ पुरुष र ३३० महिलाको ज्यान गएको छ। त्यस्तै, दुर्घटनामा ११२ बालबालिकाको पनि मृत्यु भएको छ। यसले दुर्घटनाको असर सबै उमेर समूहमा परे पनि सक्रिय कामकाजी बढी जोखिममा रहेको देखाउँछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदी दुर्घटनाका कारण देशको ठूलो जनशक्ति गुमिरहेको बताउँछन्। उनी भन्छन्, “हरेक दिन हामीले उर्वर उमेरका युवापुस्ता गुमाइरहेका छौँ। यसले देशलाई ठूलो नोक्सानी पुर्याएको छ। धेरै युवापुस्ताको ज्यान मोटरसाइकल दुर्घटनाबाट गएको देखिन्छ।”
यो अवधिमा गम्भीर घाइतेको संख्या पनि उच्च छ। प्रहरीको विवरण अनुसार, पाँच हजार ५३१ जना गम्भीर घाइते भएका छन्, जसमा पुरुषको संख्या उल्लेख्य छ। साधारण घाइतेको संख्या गम्भीर घाइतेको तुलनामा झन्डै पाँच गुणा बढी छ। हालसम्म २८ हजार १०५ जना साधारण घाइते भएका छन्।
यसले दुर्घटनाको मानवीय मात्रै नभई आर्थिक र सामाजिक लागत पनि उच्च रहेको देखाउँछ। सन् २०२० मा प्रकाशित एक अध्ययनअनुसार, सन् २००७ मा सवारी दुर्घटनाका कारण ४०.६५ मिलियन डलर बराबरको क्षति भएको थियो।
अघिल्ला वर्षहरूझैँ यो आर्थिक वर्षको पहिलो आठ महिनामा पनि सबैभन्दा बढी दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। यस अवधिमा १८ हजार ८०९ मोटरसाइकल दुर्घटनामा परेका छन्। आर्थिक वर्ष २०८१/८२ मा पनि २५ हजार १४२ मोटरसाइकल दुर्घटना भएका थिए।
आर्थिक वर्ष २०८०/८१ मा दुर्घटनामा परेका ३५ हजार सवारीसाधनमध्ये करिब २० हजार मोटरसाइकल थिए। त्यसको अघिल्लो वर्ष ३७ हजार दुर्घटनामध्ये साढे १९ हजार मोटरसाइकल थिए।
दुर्घटनाबाट हुने मृत्युमा प्रमुख साधन पनि मोटरसाइकल नै रहेको देखिन्छ। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार, नेपालमा सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ।
अत्यधिक दुर्घटना हुने भएकाले मोटरसाइकल सुरक्षाको विषयमा बेलाबेला सार्वजनिक बहस हुने गरेको छ। गत माघ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको दुर्घटनासम्बन्धी एक कार्यक्रममा मोटरसाइकल सबैभन्दा बढी जोखिममा रहेको निस्कर्ष निकालिएको थियो। कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कुष्ठरोग निवारण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. रवीन्द्र बास्कोटाले भनेका थिए, “विशेषगरी १६ देखि २६ वर्ष उमेर समूहका युवा चालकहरू बढी दुर्घटनामा पर्ने गरेका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुको संख्या पहिलो नम्बरमा छ।”
बास्कोटाका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु नै अग्रस्थानमा छन्। बाइकमा पछाडि बस्नेले पनि हेलमेट लगाउने कानून कार्यान्वयन गर्नसके दुईप्रांग्रे सवारी दुर्घटनाबाट हुने जटिल किसिमको चोटपटक ७२ प्रतिशत र मृत्यु ३९ प्रतिशत घटाउन सकिने उनको भनाइ थियो।
मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि २०८१ माघमा प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव पनि दर्ता गरिएको थियो। तत्कालीन सांसद राजेन्द्र बजगाईंले पेश गरेको उक्त प्रस्तावमा हेलमेट अनिवार्य, बीमा व्यवस्था सुदृढ गर्ने र सडक सुरक्षामा लगानी बढाउने विषय उल्लेख थियो। तर उक्त प्रस्तावमाथि छलफल हुन सकेन।
पछिल्ला आठ महिनामा सबैभन्दा धेरै दुर्घटना हुने अर्को साधन हो– जीप तथा कार। यस अवधिमा चार हजार ६२० जीप तथा कार दुर्घटनामा परेका छन्। डोजर, लोडर र स्काभेटरजस्ता निर्माण उपकरण सबैभन्दा कम दुर्घटना भएका छन्, जसको संख्या ६० मात्रै छ।
बस दुर्घटनामा भने एकैपटकमा धेरैको ज्यान जाने गरेको छ। केही दिनअघि धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
उक्त दुर्घटनाको अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले दुई साताको अध्ययनपछि फागुन १९ गते प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा चालकले सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा दुर्घटना भएको उल्लेख छ। चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।
यस दुर्घटनाले देशभर सडक सुरक्षाबारे व्यापक बहस निम्त्याएको थियो। सामाजिक सञ्जालमा सडक सुरक्षा कडाइका लागि आवाज उठाइए पनि व्यवहारमा पर्याप्त सुधार देखिएको छैन। ट्राफिक प्रहरीकै तथ्यांकले पनि यसलाई पुष्टि गर्छ। पछिल्लो आठ महिनामा एक हजार २५५ बस दुर्घटना भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ सय ९३ बस दुर्घटना भएका थिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुवेदीका अनुसार, विभिन्न प्रयासका बाबजुद पनि सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। सडक सुरक्षा साझा जिम्मेवारी भएकाले सबै सरोकारवालाबीच समन्वय आवश्यक भएको उनी बताउँछन्। “हामीले चालक, यात्रु र पैदलयात्री सबैलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ। मापसे र लापसे जाँचलाई कडाइ गरेका छौँ। विद्यालयस्तरमा पनि सडक सुरक्षाबारे कार्यक्रम गरिरहेका छौँ र स्वयंसेवक परिचालन गरेका छौँ,” उनले भने, “तर सडकमा सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेको छ, जसले दुर्घटनाको जोखिम पनि बढाइरहेको छ।”
सुवेदीका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति नै हो। “हाम्रा सवारीसाधन तीव्र गतिमा हुइँकिन्छन्, तर सडकको अवस्था त्यसअनुसारको छैन। धेरैजसो राजमार्गहरू तीव्र गतिका लागि उपयुक्त छैनन्,” उनले भने, “सडक पूर्वाधारको स्तरोन्नति, सुरक्षित डिजाइन र उपयुक्त नियमकानून नभई दुर्घटना न्यूनीकरण सम्भव छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
