Saturday, February 15, 2025

-->

गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने

चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण छन्। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका छन्।

गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने कोही तीव्र गतिमा हुइँक्याउने
एआईको सहयोगमा तयार पारिएको प्रतीकात्मक तस्वीर।

काठमाडौँ– बाराको गढीमाईबाट गत मंसिर २५ गते सिरहा जाँदै गरेको स्कर्पियोमा खचाखच दर्शनार्थी थिए। सिरहाको अर्ना गाउँपालिकाका श्रीकुमार यादव गाडी चलाइरहेका थिए। रातको करिब १ बजे गाडी चन्द्रनिगाहपुर पुगेको थियो। 

चन्द्रनिगाहपुरको धन्सारपुल नजिकबाट गाडीले सडक छाड्यो र बेतोडले रूखमा ठोक्कियो। गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भयो। अरू चार जना घाइते भए।

पछि खुल्यो, चन्द्रनिगाहपुर पुग्दा गाडीका चालक निदाएका रहेछन्।

चालक निदाउँदा विगतमा पनि पटक–पटक दुर्घटना भएका छन्। यस्ता दुर्घटनाले बर्सेनि कयौँको ज्यान लिन्छ। कतिपय घाइते हुन्छन् र अंगभंगसमेत हुन्छ।

सुनसरीबाट काठमाडौँतर्फ जाँदै गरेको माइक्रोबस २०८० माघमा सिन्धुलीको दुधौली नगरपालिका–२ झुंगामा दुर्घटना भयो। बिहान ३ बजेतिर चालक निदाएपछि माइक्रोबस दुर्घटना भएको थियो।

चालक निदाएकै कारण २०७५ कात्तिकमा नवलपरासीमा बस दुर्घटना भयो। इटहरीबाट भैरहवा जाँदै गरेको ४० यात्रु क्षमताको बसमा ५२ जना थिए। बस अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। बसमा रहेका ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

यस्ता उदाहरण धेरै छन्। निदाउँदा मात्र नभएर चालकलाई मानसिक तथा शारीरिक समस्या पर्दा पनि दुर्घटना हुन्छ। चालकको मानसिक तनाव, शारीरिक थकान, मादक पदार्थ सेवन, तीव्र गति, ट्राफिक नियमको बेवास्ता, लामो दूरीमा चालक परिवर्तन नगर्नु, चालकबीच अस्वस्थ प्रतिस्पर्धा जस्ता कारणले दुर्घटना भएका प्रशस्त उदाहरण छन्।

यो पनि: गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन

ट्राफिक प्रहरीको तथ्यांकले नेपालमा सवारी चालकको लापर्बाहीकै कारण अत्यधिक दुर्घटना भएको देखाउँछ। चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म ट्राफिक नियम उल्लंघन गरेकै कारण ४४५ वटा दुर्घटना भइसकेका छन्। सबैभन्दा बढी तीव्र गतिका कारण लगभग ३५ सय दुर्घटना भएका छन्। चालक निदाएका कारण ६ र मापसेका कारण ४९८ दुर्घटना भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा चालक निदाएका कारण १४ वटा दुर्घटना भएका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष १६ वटा दुर्घटना भएका थिए।

चालकले जथाभावी ढोका खोल्दा पनि धेरै दुर्घटना भएका छन्। यही कारण विगत पाँच वर्षमा १२० वटा दुर्घटना भए। मोबाइल फोन प्रयोग गरेका कारण २० र ओभरटेकका कारण तीन हजारभन्दा बढी दुर्घटना भए।

सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण हुन्छन्। तीव्र गतिमा कुदाउँदा पछिल्लो पाँच वर्षमा झन्डै ४५ हजार दुर्घटना भए। २०८०/८१ मा मात्र १० हजारभन्दा बढी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले दखाउँछ।

मादक पदार्थ सेवनका कारण पनि धेरै दुर्घटना भएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मापसे गरेर गाडी चलाउँदा पाँच हजारभन्दा बढी दुर्घटना भएका छन्।

सवारी तथा यातायात व्यवस्था ऐनले लापर्बाही तरिकाले सवारीसाधन चलाउन रोक लगाएको छ। तर प्रहरी भन्छ– लापर्बाहीकै कारण हुने दुर्घटनाको संख्या सबैभन्दा धेरै छ।

ऐनअनुसार सिटभन्दा बढी यात्रु राख्न हुँदैन। तर गाडीमा क्षमताभन्दा बढी यात्रु राखिन्छन्। गएको कात्तिक २५ गते कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो। उक्त जिप पाँच यात्रु क्षमताको थियो, तर २० जना राखिएको थियो।

लामो दूरीको सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था छ। गत भदौ २३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने बताएका थिए। तर यसको प्रभावकारी कार्यान्वयन भएको छैन।

यो पनि: सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक

सडक सुरक्षाविद् भगवती सेढाईं लामो दूरीका सवारीसाधनमा एक जना मात्र चालक हुँदा थकाइ लाग्ने र निश्चित समयपछि मानसिक तथा शारीरिक रूपमा गाडी चलाउन योग्य नहुने बताउँछिन्। “आठ घण्टाभन्दा बढी गाडी चलाउन हुँदैन, थकाइ लाग्छ। तर उनीहरूलाई थकाइ लागेको छ भनेर कसैले ख्याल गर्दैन,” उनी भन्छिन्, “ड्राइभर निदाउने एउटा कारण थकान पनि हो।”

सडकसम्बन्धी अति सामान्य नियम पनि पालना भएका छैनन्। ऐनको दफा १३२ अनुसार जेब्राक्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो तथा चौबोटोमा रहेको ट्राफिक बत्तीले रोक्न संकेत गरेमा गाडी रोक्नुपर्छ। तर जेब्राक्रसिङमै दुर्घटना भएका प्रशस्त उदाहरण छन्। 

चालक आवेगमा आउँदा पनि दुर्घटना निम्तिन्छ। २०७१ कात्तिकमा चालकको आवेगकै कारण दुर्घटना भएको थियो। 

काठमाडौँबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौँ आइरहेको बस हेटौँडा–नारायणगढ सडकखण्डको बस्तीपुरमा ठोक्किए। दुवै रात्री बस थिए। घटनास्थलमै १० जनाको मृत्यु भयो। ३१ जना गम्भीर घाइते भए।

काठमाडौँबाट गएको शुभश्री यातायातका चालक, सहचालक तथा बसका साहुबीच भएको विवादले दुर्घटना निम्तिएको प्रारम्भिक अनुमान गरिएको थियो। मदिरा सेवन गरेका चालकले पटक–पटक ‘म बस पल्टाइदिन्छु’ भनेर चेतावनी दिँदै यात्रुसँग समेत विवाद गरेका थिए।

ऐनको दफा १०९ मा कसैले पनि यात्रु, चालक, परिचालक तथा सुरक्षाकर्मीसँग अनुचित व्यवहार गर्न नहुने उल्लेख छ। तर सार्वजानिक सवारी साधनमा यस्ता घटना बारम्बार हुन्छन्। यात्रु र चालकबीच कुटाकुट भएका घटना पनि छन्।

सञ्जय गौतम र बन्दना जोशीले हालै काठमाडौँमा गरेको एक अध्ययनले पनि सवारी दुर्घटनामा चालकको अवस्थाले महत्त्वपूर्ण भुमिका खेल्ने देखाएको छ। ‘रोड ट्राफिक एक्सिडेन्ट एन्ड इट्स क्यारेक्टरस्टिक्स इन काठमाडौँ भ्याली’ शीर्षकको लेखमा भनिएको छ, “ट्राफिक दुर्घटनालाई असर गर्ने धेरै कारक छन्। जस्तै, सवारी साधनको प्रकार र अवस्था, चालकको अवस्था (मानसिक, शारीरिक र मनोवैज्ञानिक), सडकको अवस्था आदि।”

दुर्घटना कम गराउने हो भने सचेतना जगाउनुपर्ने उनीहरूको सुझाव छ। “सुरक्षित ड्राइभिङ अभ्यास, ट्राफिक नियम पालनाको महत्त्व र तीव्र गति, मादक पदार्थ सेवन र विचलित ड्राइभिङसँग सम्बन्धित जोखिमबारे ड्राइभर, पैदल यात्री र अन्य सडक प्रयोगकर्ताहरूलाई शिक्षित गर्न सार्वजनिक जागरूकता अभियान शुरू गर्नु पर्छ,” लेखमा भनिएको छ।

सडक सुरक्षाविद् भगवती सेढाईं सवारी दुर्घटना कम गराउन चालकको शारीरिक, मानसिक र परिस्थितिजन्य अवस्थालाई ख्याल गर्नुपर्ने बताउँछिन्। उनीहरूलाई प्रशिक्षण र परामर्शमार्फत जिम्मेवार बनाउन सकिए दुर्घटनाको दर कम हुने उनको विश्वास छ। 

चालकलाई मात्र दोष दिएर सरकारका निकाय उम्किन नमिल्ने उनी बताउँछिन्। “चालकलाई दोष मात्र लगाइन्छ, तर जिम्मेवार बनाउन लगानी गरिँदैन भने दुर्घटना घट्दैन,” उनी भन्छिन्।

चालकको सिटमा बस्नेमाथि यात्रुको विश्वास हुने र त्यही एक व्यक्तिको हातमा धेरैको ज्यान अडिएको हुने कारण जिम्मेवारी बोध गराउनु पर्छ। तर त्यसो गर्न सरकार चुकेको सेढाईं बताउँछिन्। चालकका आधारभुत आवश्यकता पूरा गर्न सरकारका निकायले भूमिका खेल्नु पर्ने र सम्बन्धित निकाय हरदम चनाखो हुनु पर्ने उनको भनाइ छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम आफूहरूले तीन/तीन महिनामा चालक केन्द्रित सचेतना कार्यक्रम गरिरहेको बताउँछन्। दुर्घटना बढाउन निजी सवारीसाधनले बढी भूमिका खेलेको उनको दाबी छ।

“निजी प्रयोजनका निम्ति लिइएको सवारीसाधनले यात्रु ओसारपसार गरिरहेका छन्। उनीहरूलाई सडक सुरक्षाबारे प्रशिक्षण पनि दिइएको छैन,” गौतम भन्छन्, “निजी प्रयोजनका गाडीले प्रयोजन विपरीत यात्रु बोक्दा दुर्घटना भएका छन्।”

सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारण हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्। त्यसपछि कार, जिप, भ्यान, ट्रक, ट्यांकर, बस र मिनिबस आउँछन्।


सम्बन्धित सामग्री