Saturday, April 27, 2024

-->

कपिलवस्तुको वनमा देखियो बाघ, संरक्षणकर्मीलाई उत्साहसँगै थपियो चुनौती

चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको वनलाई पनि बासस्थान बनाएको हो भने व्यवस्थापनको चुनौती पनि सँगसँगै देखिन सक्ने संरक्षणकर्मीहरू बताउँछन्।

कपिलवस्तुको वनमा देखियो बाघ संरक्षणकर्मीलाई उत्साहसँगै थपियो चुनौती 
कपिलवस्तुको गोबरहवा वन क्षेत्रमा जडान गरिएको क्यामरामा देखिएको बाघ। तस्वीर सौजन्य: तराई भू–परिधि कार्यक्रम

काठमाडौँ– कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गोबरहवा क्षेत्रमा गत पुस १४  गते बिहान ५ बजेर १६ मिनेटमा स्वचालित क्यामराले बाघको तस्वीर कैद गर्‍यो। त्यसको चार दिनपछि अर्को बाघ त्यही क्षेत्रमा भेटियो। यद्यपि उक्त बाघ एउटै हो वा फरक भन्ने अहिलेसम्म छुट्टिइसकेको छैन। 

गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बेसिन्द्रराज सुवेदीले सफ्टवेयरमा राखेर बाघको तस्वीर विश्लेषण भइरहेकाले केही समयपछि प्रष्ट हुने बताए। त्यस्तै, अरू दुई वटा बाघको तस्वीर पुस २४ गते बिहान ६ बजेर २८ मिनेटमा कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाको गब्दहवा क्षेत्रको चुरे वनमा जडित क्यामरामा कैद भएका थिए। 

तराई भू–परिधि कार्यक्रम (ताल) का प्रमुख लक्ष्मण पौडेलका अनुसार दाङ, अर्घाखाँची तथा कपिलवस्तुको चुरे र त्यस आसपासको क्षेत्रमा पारिस्थितिक प्रणाली (इकोसिस्टम) अध्ययन गर्ने उद्देश्यअनुरूप स्वचालित क्यामेरा राखेर अध्ययन गरिएको थियो। त्यही क्रममा त्यस क्षेत्रमा बाघ देखिएको हो।  

राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइने बाघ कपिवलवस्तुको जंगलमा पनि देखिएकाले त्यहाँको पारिस्थितिक प्रणाली र वनको अवस्थामा सुधार भएको मान्न सकिने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी बताउँछन्। “कपिलवस्तुको जंगललाई बाघले बासस्थान बनाएको देखिन्छ। यसबाट वनको हैसियत र पारस्थितिक अवस्थामा सुधार आएको बुझ्नुपर्छ,” उनी भन्छन्। 

दाङको गढवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिका तथा शिवराज र बुद्धभूमि नगरपालिकाको चुरे वन क्षेत्रमा १४२ वटा क्यामरा राखेर अध्ययन गरिएको थियो। दुई–दुई किलोमिटर चौडाको वर्गाकार ‘ग्रिड’ बनाएर प्रत्येकमा एक–एक क्यामरा राखिएको थियो। 

बाघ विज्ञहरू भने कपिलवस्तुको वन क्षेत्रलाई बाघले बासस्थान नै बनाएको हो वा कहिलेकाहीँ आवतजावत मात्र गरेको हो त्यसको अध्ययन हुनुपर्ने बताउँछन्। रुपन्देही र कपिलवस्तुको चुरे क्षेत्रमा यसभन्दा अघि पनि बाघ भेटिएको बाघकै विषयमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ डा. चिरञ्जीवि पोखरेल बताउँछन्। यस क्षेत्र बाघको बासस्थान भए/नभएको बारेमा भने थप अध्ययन जरुरी रहेको उनको भनाइ छ। 

“कपिलवस्तु भारतको सुहेलवा वन्यजन्तु आरक्षसँग पनि जोडिएको छ। दाङ हुँदै बाँके राष्ट्रिय निकुञ्जसँग पनि जंगल क्षेत्र जोडिन्छ। बाँकेको बाघ पनि आएका हुनसक्छन्,” उनी भन्छन्, “भारतसँग जोडिएकाले त्यहाँबाट पनि बाघको मुभमेन्ट भएको हुनसक्छ। चितवनबाट चुरिया क्षेत्र हुँदै पुगेको पनि हुनसक्छ।” 

तराई भू–परिधि कार्यक्रमका प्रमुख पौडेल पनि त्यहाँ देखिएका बाघ सन् २०२२ को राष्ट्रिय बाघ गणनामा गनिएका हुन् वा फरक हुन् त्यसको अध्ययन नभएको बताउँछन्। सन् २०२२ मा सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ छ। “त्यतिबेला लिइएका तस्वीरहरूलाई सँगै राखेर ट्याली गरेपछि अवस्था थाहा हुन्छ। त्यो अहिलेसम्म गरिएको छैन।” पौडेलले भने। 

स्थानीय वासिन्दा भने बाघले कपिलवस्तुलाई बासस्थान बनाएको दाबी गर्छन्। यहाँको जंगलमा बाघ स्थायी रूपमै बस्न थालेको कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित खोजिपुर सामुदायिक वनका अध्यक्ष दीपक थापा बताउँछन्।

उनको भनाइमा १५ दिनअघि खोजिपुर सामुदायिक वनमा वन हेरालु, वन कार्यालयका कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरू जंगल क्षेत्रमा गएका बेला दुई वटा डमरु (बच्चा) सहितको बाटे बाघ देखिएको थियो। “अहिले हाम्रो वनमा प्रशस्त मात्रामा हरिण प्रजातिका मृगहरू छन्। अघिल्लो वर्ष यहाँ बाघका पाइला देखेका थियौँ। यसपालि त बाघ नै देख्यौँ,” उनी भन्छन्, “यहाँको वनमा बाघले स्थायी बसोबास बनाएको प्रमाण हो यो।” 

डिभिजन वन कार्यालयका प्रमुख सुवेदी उक्त क्षेत्रमा भेटिएका पाइला बाघकै भएको बताउँछन्। “चुरिया क्षेत्रमा त पहिला पनि देखिएको हो। तर वाणगंगा क्षेत्रमा देखिएको थिएन। बच्चासहित नै देखिनु भनेको बाघले बासस्थान बनाएको संकेत हो,” उनी भन्छन्। 

बाघ देखिएपछि खोजिपुर सामुदायिक वन उपभोक्ता समितिले एक्लै वनमा नजान सार्वजनिक सूचना जारी गरेर उपभोक्तालाई सर्तक गराएको छ। बाघबाट जोगिन वनमा एक्लै जान नहुने सूचना पत्रपत्रिका, एफएफम रेडियो र समुदायलाई दिइएको अध्यक्ष दीपक थापाले बताए।  

व्यवस्थापनको सकस 
नयाँ ठाउँमा बाघ देखिएको र बाघले बासस्थान बनाएको थाहा पाउँदा पर्यावरणको क्षेत्रमा काम गर्ने संरक्षणकर्मीहरू उत्साही हुने गर्छन्। “नयाँ ठाउँमा बाघ देखिनुको अर्थ त्यहाँ बाघलाई आवश्यक पर्ने आहारा प्रजातिका जनावर पाइन्छ भन्ने हो,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल भन्छन्, “आहारा प्रजाति पाइनु भनेको वनको अवस्था राम्रो हुनु हो।” 

नेपालका चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको जंगललाई पनि बासस्थान बनाएको हो भने व्यस्थापनको चुनौती पनि सँगै देखिन सक्ने संरक्षणकर्मी तथा विज्ञहरू बताउँछन्। 

नेपालको संरक्षण क्षेत्रमा सरकारसँग मिलेर काम गर्दै आएको जुलोजी सोसाइटी अफ लन्डन (जेटएसएल) का नेपाल प्रतिनिधि भगवान दाहाल कपिलवस्तुको घटनाले निकुञ्जभन्दा बाहिर पनि बाघ पाइन्छ भन्ने सन्देश दिएको बताउँछन्। बाघको वासस्थान हुनसक्ने निकुञ्जबाहिरका वनजंगलहरूको पर्यावरणीय र व्यवस्थापकीय अध्ययन हुनुपर्ने उनको सुझाव छ। “अब संरक्षणका काम निकुञ्जभन्दा बाहिर पनि गर्नुपर्छ,” दाहाल भन्छन्। 

राष्ट्रिय निकुञ्जहरू संघ सरकार मातहत छन् भने निकुञ्जभन्दा बाहिरको वन क्षेत्र प्रदेश सरकारअन्तर्गत पर्दछ। वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली निकुञ्जभन्दा बाहिरको क्षेत्र प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले वन र वन्यजन्तुसँग सम्बन्धित कानूनी कारबाही सम्बन्धित वन कार्यालयले नै गर्ने बताउँछन्। 

“राष्ट्रिय वन प्रदेशको एकल अधिकार क्षेत्रभित्र पर्छ। वन र वन्यजन्तु सम्बन्धी  ज्ञान, सीप राष्ट्रिय निकुञ्जसँग छ,” ज्ञवाली भन्छन्, “वनको दायित्व प्रदेश र वन्यजन्तुको दायित्व संघअन्र्तगत भए पनि आफ्नो दायित्वबाट प्रदेश पनि उम्किन मिल्दैन।” 

निकुञ्जभन्दा बाहिरको क्षेत्र विभागको कार्यक्षेत्रभित्र नपर्ने भएकाले प्राविधिक सहयोग माग हुँदा आफूहरूले उपलब्ध गराउँदै आएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक ढकाल बताउँछन्। 

सामुदायिक वन स्थानीय समुदायको घाँसदाउरा गर्ने थलो पनि हो। स्थानीय समुदायले संरक्षण गर्दै आफ्ना आवश्यकताहरू सामुदायिक वनबाट परिपूर्ति गर्दै आएका छन्। सामुदायिक वनमा बाघले बासस्थान बनाउँदा मानव र वन्यजन्तुबीच द्वन्द्वका घटना बढ्ने जोखिम पनि उत्तिकै छ। 

कपिलवस्तुको वन क्षेत्रमा बाघले बासस्थान नै बनाए खुसीसँगै चुनौती पनि थपिएको ढकाल बताउँछन्। “सामुदायिक वनमा बाघले बासस्थान नै बनाएको भए त्यहाँ मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्छ र चोरी सिकारी पनि हुन सक्छ,” उनी भन्छन्, “यसमा डिभिजन वन कार्यालय र प्रदेश सरकार तथा  उपभोक्ता सचेत हुनुपर्ने अवस्था आयो।”

के गर्दैछन् स्थानीय सरकार र वन कार्यालय? 
जनतासँग प्रत्यक्ष जोडिएकाले हरेक समस्या सिधै स्थानीय सरकारसँग ठोकिन्छ। कपिलवस्तुको जंगल क्षेत्रमा बाघ भेटिएपछि स्थानीय सरकारको भूमिका पनि बढेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साह बताउँछन्। 

“पहिला हामी बाघ हेर्नकै लागि निकुञ्ज पुग्थ्यौँ। अब कपिलवस्तुको जंगल क्षेत्र नै निकुञ्जको रूपमा विकास हुने सम्भावना बढ्यो। संरक्षणका हिसाबले त यो राम्रो हो,” उनी भन्छन्, “जनताका दैनिक आवश्यकता पूरा गर्न पनि वनमा जानुपर्ने बाध्यता भएकाले खतरा पनि सँगै बढ्छ। यसमा स्थानीय सरकारको भूमिकाबारे जिल्लाका सबै स्थानीय तहप्रमुख तथा उपप्रमुखको भेला गरेर निर्णय गर्ने तयारीमा छौँ।”

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा आफ्नो गाउँपालिकाको जंगलमा बाघ भेटिनुलाई अवसर र चुनौती दुवै ठानेको बताउँछन्। उनी भन्छन्, “यो हाम्रा लागि चुनौती र अवसर दुवै हो। बाघ बढ्नु भनेको संरक्षण राम्रो हुनु हो। सँगै मानिसहरू जंगलमा जानुपर्छ। त्यसकारण त्यहाँ खतरा पनि बढ्यो,” उनी भन्छन्, “के गर्ने भनेर वनसँग सल्लाह गर्दै छौँ। त्यसपछि स्थानीय तहका तर्फबाट गर्नुपर्ने काममा हाम्रो सहयोग हुन्छ।”

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी बाघको व्यवस्थापन गर्न नसक्दा समस्या आउन सक्नेतर्फ सचेत रहेको बताउँछन। यसबारे स्थानीय सरकारका प्रतिनिधिसँग छलफल शुरू गरेको उनले जानकारी दिए। “हामीले छलफल त थालेका छौँ। तर यो एकै पटकमा हुने काम होइन। क्रमिक रूपमा अघि बढाउनुपर्छ,” उनी भन्छन्, “बाघलाई जंगलै जंगल हिँड्न पाउने गरी बस्तीतर्फ छेकवार लगाउने काम नै प्रमुख चुनौती हो।”


सम्बन्धित सामग्री