Monday, April 29, 2024

-->

वन्यजन्तुको चोरीतस्करीमा संलग्न ‘पहुँचवाला’लाई राष्ट्रिय निकुञ्ज कार्यालयद्वारा सफाइ

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएर पहुँच नपुग्ने सर्वसाधारणलाई मात्र कैद र जरिबानाको सजाय सुनाएका हुन्।

वन्यजन्तुको चोरीतस्करीमा संलग्न ‘पहुँचवाला’लाई राष्ट्रिय निकुञ्ज कार्यालयद्वारा सफाइ
सफाइ पाएका सांसदहरू श्याम खड्का र प्रमोदकुमार जयसवाल (इन्सेटमा) र चोरीतस्करी गर्न प्रयोग भएका हतियार, सवारी साधन एवं मारिएको जरायोसहित पक्राउ परेकाहरू।

काठमाडौँ– वन्यजन्तुको अवैध चोरीसिकारमा संलग्न भएको प्रमाणसहित हातहतियार र सवारीसाधन बरामद गरिएका अभियुक्तलाई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले सफाइ दिएको पाइएको छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले २०८० पुस १७ गते फैसला सुनाउँदै २०७९ पुस ५ मा पर्सा राष्ट्रिय निकुञ्जमा चोरीतस्करी गर्नेलाई सफाइ दिएको हो।  

५ गते राति दामोदर अधिकारी सहितका व्यक्ति पर्सा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’मा पुगेर वन्यजन्तुको शिकार गरेका थिए। त्यस क्रममा उनीहरूले निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीमाथि गोली चलाएका थिए। सेनासँगको दोहोर भिडन्तपछि उनीहरू जिप छोडेर भागेका थिए। उनीहरूलाई पछ्याउने क्रममा सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी सम्मिलित टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित एक घरमा छापा मार्दा हातहतियारसहित मारिएका वन्यजन्तुका अंग बरामद गरेको थियो। 

 

पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा १ का स्वतन्त्र सांसद प्रमोदकुमार जयसवाल, उनका भाइ प्रदीप जयसवाल र काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामबहादुर खड्काको समेत उक्त चोरीतस्करीमा संलग्नता भेटिएको थियो। तर निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएका हुन्। 

निकुञ्ज कार्यालयका अनुसार पुस ५ गते छापा मारिएको घर पर्सा क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट निर्वाचित सांसद जयसवालको हो। उनको घरबाट मृत अवस्थाको पोथी जरायो, भाले जरायोको टाउको, रातको समयमा हेर्न मिल्ने दूरबिन, १२ बोर बन्दुक, ड्रोन क्यामरा र २२ एमएमका ९ थान गोली बरामद भएको थियो। त्यसैगरी बा ५ च ७८०५ नम्बरको टोयोटा ल्यान्डक्रुजर जिप र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जिपसमेत बरामद गरिएको थियो। बोलेरो जिप जैसवालको थियो भने ल्यान्क्रुजर जिप सजिव शाहीको नाममा रहेको थियो। 

वन्यजन्तुको चोरीसिकारमा प्रयोग गरिएका दुवै सवारीसाधन जफत नहुने ठहर गर्दै निकुञ्ज कार्यालयले फैसला सुनाएको छ। गाडीधनी सजिव शाहीको हकमा भनिएको छ “बा ५ ख ७८०५ नम्बरको सिल्भर रङको ल्यान्डक्रुजर सवारीसाधन प्रतिवादी सजिव शाहीको नाममा दर्ता रहेको भन्ने प्रमाणबाट खुल्न आएको विषयमा कुनै विवाद देखिएन। उक्त सवारीसाधन निज प्रतिवादीले म्लाङडोङ तामाङलाई सम्झौताअनुसार प्रयोग गर्न दिएको भए पनि सवारीदर्ता  किताब हेर्दा सवारीसाधन निज प्रतिवादी सजिव शाहीकै स्वामित्वमा रहेको पुष्टि हुने देखियो।”

तर प्रतिवादीमध्येका शाहीले कसुरमा इन्कारी बयान कागज गराएको, उनी घटनास्थलमा पक्राउ नपरेकोजस्ता कारणलाई आधार मान्दै मुद्दा निरूपण गर्ने वार्डेन खतिवडाले उनलाई सफाइ दिएका हुन्। “अन्य कुनै वस्तुनिष्ठ प्रमाणबाट निजको कसुरमा संलग्नता पुष्टि हुन सेकेको देखिँदैन। सवारीसाधनका धनी स्वयंको संलग्नता वा निजको सहमति स्वीकृति, मञ्जुरी वा जानकारीमा सवारीसाधनको प्रयोग भएको भन्ने प्रमाण नपुग्ने देखिएकाले सवारीधनी प्रतिवादी सजिव शाहीले सफाइ पाउने र बा ५ ख ७८०५ नम्बरको सवारीसाधन जफत नहुने ठहर्छ,” फैसलामा भनिएको छ।

त्यसैगरी प्रदीप जयसवालको हकमा गरिएको फैसलामा उनी वारदातको समयमा घटनास्थलमा नरहेको र वारदातको दिन प्रयोग गरिएको प्रदेश २ ०३ ०१ च ३०९७ नम्बरको बोलेरो गाडी प्रतिवादी प्रदीप जयसवालको नाममा दर्ता कायम रहेको जयसवाल इन्टरप्राइजेजको हो भन्ने प्रमाणबाट खुल्न आए पनि जयसवालले इन्कारी बयान गरेको र उनी घटनास्थलमा समेत नभएकाले घटनामा उनको संलग्नता पुष्टि हुन नसक्ने ठहर गरिएको छ। 

सवारीसाधन जयसवालको जानकारीमै चोरीतस्करीमा प्रयोग भएको भन्ने प्रमाण नपुग्ने देखिएकाले उक्त जिप जफत नहुने ठहर भएको फैसलामा उल्लेख छ। 

पहुँच नभएकालाई कानून  
निकुञ्जको टोलीले त्यसबेला पर्साको सखुवा प्रसौनी गाउँपालिकास्थित अकवनियाका झापस दास थारू, नवराज बस्नेत र लक्ष्मण सहनी, काभ्रेका दामोदर अधिकारी, म्लाङडोङ तामाङलाई पक्राउ गरेको थियो। उनीहरूकै बयानबाट वन्यजन्तु तस्करीमा ठूलो गिरोह संलग्न रहेको निष्कर्षमा निकुञ्ज पुगेको थियो। 

यो पनि: वन्यजन्तु तस्करीमा मुछिए दुई ‘माननीय’

पर्सा राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक रामले पक्राउ परेकाहरूले दिएको बयान र यो घटनामा गरिएको प्रारम्भिक अनुसन्धानबाट वन्यजन्तु चोरीसिकारमा संगठित गिरोह नै संलग्न रहेको आधार भेटिएको बताएका थिए। 

पहुँचवाला र ठूलालाई उन्मुक्ति दिएको निकुञ्ज प्रशासनले राजनीतिक पहुँच नभएका प्रतिवादीहरूलाई भने कैद र जरिबाना हुने फैसला गरेको छ। उक्त घटनामा संलग्न भएका झापस थारू, विशाल सहनी, दामोदर अधिकारी र म्लाङदोङ तामाङलाई ६ महिना कैदसहित ३० हजार रुपैयाँ जरिबाना हुने निकुञ्जको फैसलामा उल्लेख छ। 

त्यसैगरी प्रकाश केसी, सुलन मियाँ अन्सारी, भोलाबहादुर पुन मगर, विकास सहनी र उपेन्द्र सहनीलाई ४० हजार जरिबाना हुने फैसला गरिएको छ भने कुमारध्वज लामालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबाना सजाय सुनाइएको छ। 

त्यस्तै, उक्त घटनामा संलग्न भई फरार रहेका लक्ष्मण केसी, हिदम लामा, राजकुमार लामा, शैलेस विष्ट, रूपक विष्ट, काइला गोले, धनलाल गोले, गोपाल गोले, पुरुषोत्तम अधिकारी, गणेश प्रसाई, युवराज लामा, कृष्ण गुरुङ, नवीन गुरुङ, राजकुमार लामा, विष्णु दाहाल, विश्व मोकाजु, प्रेमकुमार पाण्डे, शेरबहादुर पुन, देवन्द्र बजगाई, लिलाबहादुर खड्का, क्षितिज देवान, गोपाल श्रेष्ठ, उत्तम राई, नन्दु श्रीवास्तव र दीपक बस्नेतको हकमा पक्राउ परेका बखत कानून बमोजिम फैसला हुने ठहर गरिएको छ। 

पर्सा राष्ट्रिय निकुञ्जभित्र भएको वन्यजन्तुको शिकारको उक्त घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाली सेनाले समेत अनुसन्धान गरेका थिए। उनीहरूका छुट्टाछुट्टै अनुसन्धानले वन्यजन्तुको चोरीतस्करीमा गिरोह नै संलग्न भएको निचोडका साथ त्यही अनुसार मुद्दा दायर गर्न निकुञ्ज कार्यालयलाई सुझाव दिएका थिए। 

पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोषकुमार भगत प्राप्त कागजपत्रका आधारमा न्याधीयशले फैसला गर्ने बताउँछन्। “जे फैसला भएको छ, त्यसबारे जानकारी पाउनुभएकै छ,” भगतले उकालोसँग भने।


सम्बन्धित सामग्री