Saturday, April 27, 2024

-->

खुलामञ्चमा ‘बन्द अभ्यास’

सधैँ, सबैका लागि खुला स्थानका रूपमा रहनुपर्ने काठमाडौँको खुलामञ्चमा निरन्तर परिरहेको सत्तासीनहरूको वक्रदृष्टिले देखाउँछ, सार्वजनिक सम्पत्तिमा नागरिकको हक स्थापित गर्न अझै धेरै लड्नुपर्ने छ।

खुलामञ्चमा ‘बन्द अभ्यास’ 
तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– सोमबार काठमाडौँको खुलामञ्चमा नागरिक भेला आयोजना गर्न लागिएको सूचना आइतबार साँझ नै प्रवाह गरिएको थियो। ‘नागरिक अधिकारका लागि नागरिक भेला’ नाम दिएर बोलाइएको त्यो भेलामा ‘अकुपाई टुँडिखेल’ लगायत यसअघि खुलामञ्च र टुँडिखेल संरक्षणमा दत्तचित्त भएर लागिरहेका अभियन्ताको समूह पनि जोडिएको थियो।

सोमबार दिउँसो १ बजे बोलाइएको भेला केही ढिलो शुरू भएको आधा घण्टा हुँदानहुँदै बिथोलियो। नागरिक अभियन्ता गोविन्द छन्त्याल माइक लिएर बोल्न तयार भइरहँदा त्यहाँ होहल्ला शुरू भयो। भेलामा आइपुगेकाहरूको ध्यान खुलामञ्चको मुख्य गेटतर्फ मोडियो।

‘अकुपाई टुँडिखेल’का प्रवक्ता सञ्जय अधिकारी र अभियन्ता गणपतिलाल श्रेष्ठ मञ्चबाट दौडेर गेटमा पुगिसकेका थिए। भेलामा आएका अनिल तुलाधर, पवनसिद्धी मानन्धर, सचिन राजभण्डारी, गणपतिलाल श्रेष्ठलगायत गेटमा उभिएका काठमाडौँ महानगरका नगरप्रहरी तथा नेपाल प्रहरीका कर्मचारीसँग चर्काचर्की गरिरहेका थिए।

गणपतिलाल श्रेष्ठ । तस्वीर कृष्पा/उकालो


“कार्यक्रमका लागि खुलामञ्च भित्र आउन खोजेको थिएँ, गेट बन्द रहेछ,” अनिलले भने, “म त गेट धकेलेर भित्र छिरेँ। तर मेरा दुई साथीलाई आउन दिइएन।” त्यतिञ्जेल महानगरका नगरप्रहरीले गेटमा ताल्चा ठोकिसकेका थिए।

नागरिकको स्वतःस्फूर्त भेला बिथोल्न खुलामञ्चको गेट नै बन्द गरिएपछि आक्रोशित अनिल मात्र थिएनन्। अभियन्ता गणपतिलाल श्रेष्ठले भने, “खुलामञ्च सबैका लागि सधैँ खुला हुनुपर्ने ठाउँ हो। यसमा ताल्चा लगाउने? ताल्चा लगाउने हो भने हामी फोडेर खुला बनाउँछौँ।”

केहीबेर देखा परेको तनावपूर्ण अवस्थालाई शान्त पार्न गणपतिलाल नै अघि सरे। त्यसपछि कार्यक्रम पुनः अघि बढ्यो। यो तनाव निम्त्याउने गरी महानगरपालिकाले खुला मञ्चको गेटमै ताल्चाचाहिँ किन ठोक्यो त? 

त्यहाँ उपस्थित नगरप्रहरीका सई हरिबहादुर खत्रीले आफूहरूले नै गेटमा ताल्चा लगाएको उल्लेख गर्दै कार्यक्रमका लागि पूर्वस्वीकृति नलिइएको, स्वीकृतिबेगर कार्यक्रम गरिएकाले ताल्चा लगाइदिएको बताए।

“यहाँ कार्यक्रम गर्न स्वीकृति पत्र चाहिन्छ,” उनले भने, “स्वीकृति नलिइएकाले हामीलाई प्रशासनले खटायो। हामीलाई प्रशासनको खटनअनुसार चल्ने हो। गाली खानु परे पनि, जे भए पनि हामीले आफ्नो ड्युटी निभाउने हो।” 

अभियन्ता गणपतिलाल भने खुलामञ्च सबैका लागि, सधैँका लागि खुला ठाउँ भएकाले त्यहाँ कार्यक्रम गर्न स्वीकृति पत्र नचाहिने, जोसुकै मानिस यहाँ आएर बोल्न पाउनुपर्ने बताउँछन्।


“आज प्रजातन्त्र दिवस, बिहान टुँडिखेलमा प्रजातन्त्र दिवस कार्यक्रम कभर गर्न आएका फोटो पत्रकारलाई रोकियो, अहिले खुलामञ्चमै ताल्चा ठोकियो,” अकुपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले भने, “के प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको हो?”

खुलामञ्चलाई खुला राख्ने लडाइँ
सोमबारको नागरिक भेला अनायासै आयोजना भएको होइन। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने, त्यसका लागि कुनै निजी क्लबलाई जिम्मा लगाउने संकेतसहित नक्सा सार्वजनिक गरेर बजेट विनियोजन गरेपछि केही समय अघिदेखि नागरिक तहबाट विरोध शुरू भएको थियो। अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरूले त महानगरले त्यो तयारी रद्द नगरे संघर्षकै चेतावनी दिएका थिए।

काठमाडौँका खुला ठाउँ र सम्पदा जोगाउने अभियानमा सक्रिय रहेकाहरू नै विरोधमा उत्रिएको देखेर हुनसक्छ, काठमाडौँ महानगरका मेयर बालेन शाहले केही दिनअघि सामाजिक सञ्जालमा त्यसबारे लामो प्रष्टीकरण दिएका थिए। उनले खुलामञ्चलाई खुला नै राखिने प्रष्टीकरण दिए पनि अभियन्ताहरू पूर्णतः विश्वस्त हुन सकेनन्। त्यसकै नतिजा सोमबारको भेला थियो।

भक्तपुरकी कृष्णमाया नेम्हफुकी सोमबार कामविशेषले काठमाडौँ आएकी थिइन्। खुलामञ्चमा मानिसको भीड देखेर उत्सुक हुँदै उनी पनि त्यतै लागिन्। त्यहाँबाट निस्कनै लाग्दा उनले भनिन्, “यो ठाउँ मानिसको दुःख पोख्ने ठाउँ रहेछ। मर्का परेका सबै आएर बोल्न पाउँदा रहेछन्। राम्रो लाग्यो मलाई।”

बाल्यकालमा काठमाडौँ आउँदा यहाँ मट्टितेलवाला स्टोभमा पकाएको चिया पिएर मात्र घर जाने गरेको सम्झना गर्दै उनले यस्ता खुला स्थानमा जोकोहीले आफ्नो गुनासो राख्न पाउने हुँदा यस्ता ठाउँलाई खुलै राख्नुपर्ने बताइन्। 


खुलामञ्च छेवैकी बासिन्दा पवित्र कसां खुलामञ्च जस्ता स्थानमा भइरहेको अतिक्रमणले चित्त दुखिरहेको बताउँछिन्। खुला मञ्च मात्र नभई रानीपोखरीको समेत समस्या देखेर आफूले स्वतःस्फूर्त रूपमा यो अभियानमा सहभागिता जनाएको उनले बताइन्।  

“जलवायु परिवर्तनको विकराल परिस्थितिमा काठमाडौँमा पानी हाहाकार हुँदा खुलामञ्च मात्र एउटा यस्तो प्राकृतिक पानी सञ्चय गर्ने स्थान हो जसले वर्षाको पानी सोसेर राख्छ,” उनी भन्छिन्, “खुलामञ्चलाई कंक्रिटको बनाउनुको अर्थ पानीको हाहाकारलाई अझ तीव्रतासाथ काठमाडौँमा स्वागत गर्नु हो।”

बाल्यकालमा निर्बाध छिर्न र बस्न पाइने रत्नपार्कमा अहिले पैसा तिरेर टिकट काट्नुपर्ने अवस्था आएको गुनासो गर्दै उनले आफ्ना सन्तानले त्यस्तै नियति खुलामञ्चमा भोग्नु नपरोस् भनेरै आफू कार्यक्रममा आएको बताइन्। 

२०३० को दशकमा काठमाडौँ आएका कृषिविज्ञ कृष्ण पौडेल पनि सोमबारको भेलामा थिए। कृषि क्षेत्रमा लामो समय काम गरेका उनले खेतीयोग्य जमिन रहेको काठमाडौँ हेर्दाहेर्दै कंक्रिटमा शहरमा परिणत भएको आफ्नै आँखाले देखेको उल्लेख गरे। ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको खुलामञ्चको अस्तित्व जोगाउनुपर्ने अहिलेको प्रमुख कारण चाहिँ आममानिसको सास फेर्ने र टहलिने ठाउँ यही भएको उनले बताए।  

कृषिविज्ञ कृष्ण पौडेल । तस्वीर कृष्पा/उकालो


“राज्यसत्ताले खुला स्थान आममानिसलाई दिँदा आफू हारेको महसुस गर्दो रहेछ, त्यही भएर यस्ता स्थानलाई सकेसम्म संकुचित गर्न खोज्दो रहेछ। खण्डीकरण भइसकेको टुँडिखेलको यस भाग (खुलामञ्च) मा फेरि त्यस्तै आँखा परेका छन्,” उनले भने, “पहिलेको सत्ता राम्रो थियो भन्न खोजेको होइन, तर पछिल्लो समयको सत्ता अझ विषाक्त भयो।”

बागमती प्रदेशसभा सदस्यसमेत रहेका स्थानीय बासिन्दा शैलेन्द्र बज्राचार्यले पछिल्लो समय बनिरहेको भ्युटावर (काठमाडौँ टावर)देखि रत्नपार्कसम्मको उदाहरण दिँदै काठमाडौँका हरेक खुला स्थानलाई व्यापारीकरण गर्न थालिएको बताए। 

कार्यक्रमलाई सम्बोधन गर्न आएका कांग्रेस नेता भीमसेनदास प्रधानले २०७६ सालमा खुलामञ्च बचाउन मानव सांलोसहित नागरिक सभामार्फत पहिलोपटक देखा परेको ‘अकुपाई टुँडिखेल’ अभियानको स्मरण गरे। त्यससमय काठमाडौँका बासिन्दादेखि सचेत नागरिक स्वतःस्फूर्त रूपमा उभिएकाले खुलामञ्च व्यापार गर्ने थलो बन्नबाट रोकिएको उल्लेख गर्दै उनले संगठनात्मक रूपमा त्यो अभियान शुरू भएको चार वर्षयता पटक–पटक खुलामञ्च र टुँडिखेलमाथि आक्रमण भइरहेको बताए।  

भीमसेनदास प्रधान : तस्वीर कृष्पा/उकालो

गत भदौमा ‘अन्डरग्राउन्ड पार्किङ’को विवादपश्चात् पछिल्लो पटक खुलामञ्चलाई निजी क्लबमार्फत खेलकुद मैदानका रूपमा सञ्चालन गर्न खोजिएको चर्चा भइरहेको छ। त्यसलाई काठमाडौँ महानगरपालिकाकै गतिविधिले पुष्टि गरेका छन्। यसको विरोधमा जुटेका अकुपाई टुँडिखेलका अभियन्ताले त्यसो नगर्न चेतावनी नै दिएपछि गत बिहीबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत ‘खुलामञ्च खुल्लै रहने’ दाबी गरेका थिए। 

यद्यपि खुलामञ्च जोगाउने पक्षमा लागेका अभियन्ताहरू सशंकित छन्। तिनैमध्येका आलोकसिद्धि तुलाधर सशंकित हुनुका कारण यसरी खुलाउँछन्, “खुलामञ्चमा खेलकुद मैदान बनाउने विषयमा मेयरको उक्त स्टेटसमा केही पनि उल्लेख छैन। सामाजिक सञ्जालमा लोकप्रिय मेयरले त्यहीमार्फत सेफल्यान्डिङ खोज्नुभएको होला। तर त्यो भनाई महानगरपालिकाबाट आधिकारिक रूपमा नआएसम्म यसलाई भाषणबाजी मात्र मानिन्छ।”

अभियन्ताहरूले महानगरपालिकाबाट नै त्यहाँ बनाउन थालिएको खेल मैदानको नक्सांकन र त्यसका आधारमा बनाउन खोजिएको योजना रद्द गरिएको कागजात सार्वजनिक गरिनुपर्ने माग गरेका छन्। “महानगरपालिकाको आधिकारिक पत्र अथवा मिडियामार्फत नआएसम्म अभियानले महानगरलाई ध्यानाकर्षण गराइरहन्छ,” उनले भने। 


खुलामञ्चसहितको टुँडिखेललाई खुला राख्ने यस्तो अभियान चलिरहँदा पनि यसमाथि आक्रमण किन रोकिएको छैन? “सबैभन्दा ठूलो समस्या भनेको सरकारले सार्वजनिक जग्गालाई आफ्नो सम्पत्ति मान्छ,” अभियन्ता गणपतिलाल श्रेष्ठले भने, “सार्वजनिक सम्पत्तिलाई आफ्नो ठान्ने सरकारले त्यही सम्पत्ति निजीकरण गरेपछि के भयो भन्ने उदाहरण त हामीले बाँसबारी छाला तथा जुत्ता कारखानामा देखिसक्यौँ।”

पछिल्लो समय स्थानीय सरकारले खुलामञ्च जस्ता खुला स्थानको मर्म बुझिदिएर व्यवस्थापन गर्ला भन्ने आशा पलाएको, तर स्थानीय सरकार नै यसको खण्डीकरणतर्फ लागेको उनले बताए। “हामीले चुनेर पठाएका जनप्रतिनिधि हाम्रै स्थानलाई दोहन गर्न तम्सिएका छन् र हामी हाम्रै जनप्रतिनिधिसँग लड्नु परेको छ,” श्रेष्ठले थपे, “हाम्रो चाहना खुलामञ्च आममानिसको सहज पहुँचमा होस् भन्ने हो, न कि कुनै क्लबको अधीनमा। टुँडिखेल खण्डीकरणको इतिहास यस्तै कुरासँग जोडिएको छ। कुनैबेला युवाका लागि खेलकुदलाई प्राथमिकता दिने भनेर दशरथ रंगशाला निर्माण गरिएदेखि नै टुँडिखेलको खण्डीकरण हुन थालेको बिर्सन मिल्दैन।” 

अर्का अभियन्ता सुदन मुनिकारले खुलामञ्च पटक–पटक अतिक्रमण हुनुमा सत्तासीनहरूको सोच र रुचि जिम्मेवार रहेको, काठमाडौँका पूर्वमेयर विद्यासुन्दर शाक्यको पालादेखि तीव्र बन्न थालेको खुलामञ्च अतिक्रमण स्वतन्त्र मेयरको पालामा आउँदासम्म उस्तै देखिएको बताए। 


“वडा २७ का अध्यक्ष आफैँ आरसीटी क्लबको अध्यक्ष हुन्। कालान्तरमा खुलामञ्चको व्यवस्थापन उनकै क्लबलाई हस्तान्तरण गर्ने योजना थियो,” उनले भने, “यसले निजी स्वार्थ छर्लङ्ग हुन्छ। यस्तै कति जनाको आफ्नै स्वार्थ होला।”

सोमबारको कार्यक्रम सञ्चालन गरेकी लेखक रूपा जोशी हाल खुला स्थानको परिभाषा डाँडाकाँडा र त्यसमाथि डोजरले चिथोरेर बनेका प्लटिङ, समथर जग्गामा पुग्न थालेको बताउँछिन्। “खुला स्थान देख्नै नहुने भइसक्यो,” उनी भन्छिन्, “पहिले सिमसार क्षेत्र रहेको ठाउँमा अहिले वकिलको भवन ठडिँदै छ।” 

शहरको बीचमा सिमसार क्षेत्र हुनु हुर्कँदो उमेरका बालबच्चाका लागि निकै राम्रो सिकाइ हुने, तर त्यही क्षेत्र मासेर जग्गा हडप्ने समूह सक्रिय बनेको उल्लेख गर्दै उनले थपिन्, “पार्टीबाट आएको प्रतिनिधिबाट आजित भएका हामीले स्वतन्त्र उम्मेदवारबाट आशा गरेका थियौँ। त्यो पनि निराशामा परिणत हुँदैछ।”


सम्बन्धित सामग्री