Wednesday, October 16, 2024

-->

खुलामञ्च : सधैँ निशानामा, सधैँ विवादमा

लिच्छवि कालको इतिहाससँग जोडिने विशाल टुँडिखेल अतिक्रमणका कारण खुम्चिँदै खण्डखण्डमा बाँडिएको छ। पछिल्लो समय टुँडिखेलको एउटा खण्ड खुलामञ्च सर्वसाधारणका लागि बन्द गर्न लागिएको भन्दै विरोध भइरहेको छ।

खुलामञ्च  सधैँ निशानामा सधैँ विवादमा
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– “खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्; योग गर्नेहरूले निर्धक्क योगासन र ध्यान गर्न सकून्; बच्चाहरू खेल्न पाऊन्; दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्; प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइयोस्।”

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गएको बिहीबार (फागुन ३ गते) साँझ फेसबुक र एक्समा गरेको पोस्टको एउटा अंश हो यो। केही दिनदेखि ‘काठमाडौँ महानगरले खुलामञ्चमा फुटबल मैदान बनाउने’ समाचारले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरू पनि विरोधमा थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, लेखक पद्मसुन्दर जोशी, सञ्चारकर्मी भूषण दाहाललगायतले खुलामञ्चमा कुनै पनि संरचना बनाउन नहुने उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टेटस लेखेका थिए।

त्यसकै जवाफमा मेयर शाहले फेसबुक र एक्समा लामो स्टेटससहित खुलामञ्च बन्द गर्न नलागिएको स्पष्टीकरण दिएका हुन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरको सचिवालयबाट जानकारी दिँदा पनि खुलामञ्च बन्द गर्न लागिएको भन्दै समाचार आइरहनु दुखद् भएको उनले उल्लेख गरेका छन्। उनको पोस्टमा धेरैले प्रशंसा गरे पनि केहीले अविश्वास प्रकट गरेका छन्। 

सामाजिक सञ्जाल एक्समा अपिल नामका प्रयोगकर्ताले लेखेका छन्, “अब भने बालेन्द्र पूर्ण रूपमा चतुर नेता बनेछन्! शुरूमा आफ्ना हावादारी योजनाहरू बनाउन लगाउने, अनि पछि विरोध भएपछि कुरा फेर्ने! महानगरले खुला नै बनाउन खोजेको भए फुटबल ग्राउन्डको डिजाइन कसले आफ्नो मर्जीले गरिराछ?”

एक्समै उपेन्द्र सापकोटा लेख्छन्, “अभियन्ताको आवाजले जितेको हो कि के हो? त्यो ठाउँमा फुटबल ग्राउन्ड बनाउन लागेको महानगरले बनाएको नक्सा सबैले देखेकै छन्। करदाताका पैसा त्यसरी खर्च गरिनु भ्रष्टाचार हो कि होइन मेयर साप?”

खुलामञ्चलाई खुला नै राख्ने मेयर शाहको भनाइको अकुपाई टुँडिखेलका अभियन्ताले भने स्वागत गरेका छन्। सामाजिक सञ्जालबाट वक्तव्य सार्वजनिक गर्दै उनीहरूले अब सेनाले कब्जा गरेको टुँडिखेलको भाग पनि फिर्ता ल्याउन मेयरले यसअघि गरेको प्रतिबद्धताप्रति आशा जागेको बताएका छन्। अभियन्ता आलोकसिद्धि तुलाधरले उकालोसँग भने, “मेयर हुने बित्तिकै पहिलो भेट सेनासँग भएको थियो, उहाँहरूबीच केके भयो थाहा छैन। तर उहाँले दिनुभएको त्यो प्रतिबद्धतामा हामी पटकपटक ध्यानाकर्षण गराइरहनेछौँ।”

अभियन्ता तुलाधारले काठमाडौँ महानगरको कामप्रति आशंका पनि जनाएका छन्। महानगरले फुटबल मैदानको सिमांकन र डिजाइन गरेर बजेट नै छुट्याएको अवस्थामा खुलामञ्चलाई खुला राख्ने मेयरको भनाइप्रति विश्वस्त हुन नसकिएको अभियन्ताहरू बताउँछन्।

फुटबल मैदानको योजना पुरानै
खुलामञ्चमा महानगरले फुटबल मैदान बनाउन लागेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डिजाइन नै सार्वजनिक भएको छ। तर उक्त डिजाइनबारे मेयर शाहले केही उल्लेख गरेका छैनन्। यद्यपि महानगरले खुलामञ्चमा खेलमैदानको योजना २०७४ सालमै बनाएको थियो। महानगरसँगको समझदारी अनुसार नै खुलामञ्चमा त्यस बेला चार वटा ‘फोल्डिङ गोलपोस्ट’ राखिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन्।

“तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा टुँडिखेलमा फुटबल मैदान बनाउने निर्णय भएको थियो,” उनी भन्छन्, “यद्यपि धरहरा निर्माणको क्रम चलिरहेको थियो, त्यही कारण माटोका थुप्रोबीच मैदान बन्न सकेन।”

शेर्पा अझै पनि खुलामञ्चलाई खेलकुद गतिविधिका लागि प्रयोग गर्नुपर्ने पक्षमा छन्। यसअघि नेपाली सेना, महानगरलगायतसँग समन्वय गरेरै काम शुरू गरेको उनको भनाइ छ। तर खुलामञ्चमा निर्माण सामग्री राखिएको हुँदा काम रोकिएको उनको भनाइ छ।

खुलामञ्च व्यवस्थापनका लागि पनि क्लबहरूलाई हस्तान्तरण गर्नु पर्ने उनको दाबी छ। “त्यो जग्गा व्यक्तिले लिने होइन, पालिकाले त्यसलाई व्यवस्थित गर्न स्थानीय क्लबलाई दिन्छ भने त राम्रै हुन्छ। समय तालिम बनाएर खेलकुद र अन्य गतिविधि गर्न सकिन्छ,” उनी भन्छन्। 

‘ए’ डिभिजन क्लबहरूसँग मैदान नभएको अवस्थामा उनीहरूको स्तर बढाउन पनि खुलामञ्च हस्तान्तरण गर्नुपर्ने र त्यसो हुँदा ‘मर्निङ वाक’ गर्न चाहनेका लागि बन्द पनि नहुने शेर्पाको दाबी छ। “बिहानसाँझ हिँड्नका लागि ट्र्याक भइहाल्छ, बेलाबखतमा आमसभाको लागि पनि स्थान दिए भइहाल्यो। बेकारमा घाम तापेर बदाम खान किन दिनु पर्‍यो! विकृति मात्र हो यो,” उनले भने। 

कपन स्पोर्ट्स सेन्टरका सञ्चालक बद्री भण्डारी पनि काठमाडौँमा खेलकुदको लागि पर्याप्त स्थान नभएको बताउँछन्। युवाहरूलाई उक्त स्थान खेलकुद गतिविधिका लागि दिइनुपर्ने उनको भनाइ छ। यद्यपि खुलामञ्चलाई रंगशालाकै रूपमा भने प्रयोग गर्न नहुने उनी बताउँछन्। “चार कुनाबाट बन्द भएको फुटसलमा खेल्न खुला स्थानजस्तो रमाइलो पक्कै हुँदैन। अहिले ठूला शहरमा फुटसल संस्कृति विकसित भएको छ, युवाहरूका लागि ठाउँ दिनुपर्छ” उनी भन्छन्। 

काठमाडौँ महानगरकी तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी भने खुलामञ्चलाई खेलुकद गतिविधिका लागि प्रयोग गर्ने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताउँछिन्। “कतिपय निर्णय मेयरस्तरमा हुन्छ। मेयरबाट निर्णय हुन नसकेका विषय मात्र बोर्डमा आउँछन्। यसबारे म अनविज्ञ छु,” उनले भनिन्।

‘युवापुस्ताको सेन्टीमेन्ट क्यास गर्ने प्रयास’
पूर्ण बुढा मगर (१८) हाँडीगाउँस्थित धन्यन्तरी फुटसल गइरहन्छन्। खेलकुदमा रुचि राख्ने उनी काठमाडौँमा खुला ठाँउको अभाव भएको बताउँछन्। यसै कारण खुलामञ्चमा खेलकुद मैदान बन्न लागेको समाचारले उनी खुशी भएका थिए। 

“हामीलाई अभ्यास गर्ने र खेल्ने ठाँउ नै छैन। टुँडिखेल त्यति ठूलो छ, त्यसरी ठाउँखेर जानुभन्दा त प्रयोग गर्नु नै राम्रो हो,” पूर्ण भन्छन्, “बरु खुला हुँदा जथाभावी फोहोर भइरहेको छ।”

यद्यपि उनलाई टुँडिखेलको ऐतिहासिक पृष्ठभूमि थाहा छैन। स्थानको आफ्नै महत्त्व भए पनि समयअनुसार चल्नुपर्ने उनी बताउँछन्। 

स्नातक अध्ययन गरिरहेकी बिन्दु अर्याल(२२) भलिबल खेलाडी हुन्। उनी पनि टुँडिखेल फोहोर भएको र खुला छाड्दा संरक्षण हुन नसकेको बताउँछिन्। त्यसलाई खेलकुदका लागि प्रयोग गर्दा राम्रो हुने उनको भनाइ छ। 

तर अभियन्ता आलोकसिद्धि तुलाधर काठमाडौँ बाहिरबाट आएका र युवापुस्ताका कतिपयले टुँडिखेलको महत्त्व बुझ्न नसकेको बताउँछन्। काठमाडौँका मेयर शाहले पनि तिनै युवाको ‘सेन्टिमेन्ट क्यास’ गर्न खोजेको उनको भनाइ छ। यद्यपि १८–२० वर्ष उमेरका युवाका लागि फुटबललगायतका व्यायामको लागि खुला स्थान चाहिनेमा उनी एकमत छना्। स्थानीय संस्कृति र फरक उमेरका मानिसको आवश्यकता पनि बुझ्नुपर्ने उनको तर्क छ। 

पछिल्लो समय महानगरले खुलामञ्च सफा गरेपछि खेल मैदानको चर्चा भएको हो। धरहरा बनाउने क्रममा लामो समय खुलामञ्चमा माटो र अन्य फोहोर थुपारिएको थियो। त्यहाँ बसर्पाक निर्माणको क्रममा भएको ढलान पनि फुटाइएपछि दुबो र घाँस उम्रिएको थियो। मेयर शाहले आफ्नो स्टेटसमा १० महिनादेखि खुलामञ्चमा थुप्रिएको करिब १० लाख किलो कंक्रिट हटाइएको र खुलामञ्चलाई खुला बनाउने प्रक्रिया अर्को चरणमा पुगेको उल्लेख गरेका छन्।

खेलकुद मैदान बनाउनकै लागि खुलामञ्च सफा गरिएको चर्चा चलेपछि महानगरका प्रवक्ता नवीन मानन्धरले दुबो राख्नका लागि सफा गरिएको बताएका थिए। तर दुबो ओछ्याउने जिम्मा दिइएको कम्पनी निकट स्रोतले उकालोलाई दिएको जानकारी अनुसार एकै रातमा दुबो राखिसक्ने योजना थियो। दुबो नराख्दै विवाद भएपछि उक्त काम रोकिएको हो।

स्रोतका अनुसार शुरूमा त्यहाँ चिनियाँ दुबो ओछ्याउने योजना थियो। तर त्यसको विरोध हुने देखिएपछि अहिले रैथाने दुबो रोप्ने विषयमा छलफल चलिरहेको छ। अभियन्ता तुलाधर भने अहिले खुलामञ्चमा दुबो रोक्न रोकिए पनि पछि उपभोक्ता समिति हुँदै स्थानीय क्लबलाई मैदान हस्तान्तरण हुनसक्ने आशंका गर्छन्।

अर्का अभियन्ता गणपतिलाल श्रेष्ठ स्थानीय क्लबलाई मैदान हस्तान्तरण गर्ने बहानामा खुलामञ्च खुला नै राख्नुपर्ने पक्षका स्थानीयबासीलाई विभाजन गर्न खोजिएको बताउँछन्। मेयर शाहबाट स्पष्टीकरण आए पनि अभियानकै कतिपय सदस्यलाई उपभोक्ता समिति सदस्य बन्न प्रस्ताव गरिएको कारण पनि आशंका उब्जिएको उनको भनाइ छ। खुलामञ्चमा मैदान बनाएर संकटा, आरसीटीलगायत क्लबलाई दिने योजना बनाइएको अभियन्ताहरूको भनाइ छ।

“हाम्रै अभियानका मानिसलाई पनि उपभोक्ता समितिमा जोडिन पटकपटक फोन आयो, यसले महानगरको योजना प्रस्टै हुन्छ,” उनी भन्छन्, “यदि फुटबल ग्राउन्ड बनाउन सफल भए यहाँका स्थानीय साथीभाइमाझ पनि विभाजन हुनसक्थ्यो होला।”

काठमाडौँ महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी खुलामञ्चमा सरसफाइ भइरहेको र त्यसबाहेक अन्य कुनै पनि काम गर्ने योजना नभएको बताए।

खुलामञ्च बन्द गर्न पटकपटक प्रयास
इतिहासकार दिनेशराज पन्त टुँडिखेलको इतिहास लिच्छवि कालसम्म जोडिने बताउँछन्। खुलामञ्च टुँडिखेलकै एक भाग हो। पन्तका अनुसार अंशुवर्माको शासनमा विउ वर्मा भनिने सरकारी जागिर खाने एक व्यक्तिले त्यहाँ धारो बनाएका थिए।

त्यस्तै, जंगबहादुरको पालाको टुँडिखेललाई एशियाको ठूलो परेड मैदान मानिन्छ। त्यहाँ सेनालाई परेड गराइन्थ्यो। अन्य देशबाट पाहुना आउँदा पनि त्यहाँ लगेर सत्कार गर्ने चलन भएको पन्त बताउँछन्।

अतिक्रमण हुँदै आएको टुँडिखेल।

राजा महेन्द्रले शहीदगेट बनाउन टुँडिखेलको भूभाग प्रयोग गरेपछि रानीपोखरीदेखि दशरथ रंगशालासम्मको टुँडिखेल खण्डीकरण भयो। टुँडिखेलबीचैबाट बनाइएको सडकले पनि यसलाई दुई भागमा बाँड्यो। अहिले शहीदगेटको दक्षिणतर्फको टुँडिखेल सेनाले कब्जा गरेर मुख्यालय नै खडा गरेको छ।

पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान गणतन्त्रमा भन्दा राणाकाल र पञ्चायतमै टुँडिखेल नागरिकका लागि खुला रहेको बताउँछन्। कुनै समय टुँडिखेल लाजिम्पाटदेखि बागमती चौरसम्म फैलिएको उनको भनाइ छ। मल्लकालमा राजा प्रताप मल्लले टुँडिखेल ओगटेर आफ्नी रानीको नाममा जमलमा रानीपोखरी बनाएका थिए।

“राणाकालमा आइपुग्दा टुँडिखेल खण्डीकरणले अझ तीव्रता पायो। राणा शासकहरूले एकाध दरबार नै बनाए,” उनी भन्छन्, “शीतल निवास, प्रहरी प्रधान कार्यालयमा कृष्णशमशेरको दरबार, शंकर होटल, नारायणहिटी दरबार, सेतो दरबार, बहादुर भवन, राजदूतावासहरू टुुँडिखेलको समथर चौरमा बने।”

राजा महेन्द्रले २०१७ सालमा रानी रत्न राज्यलक्ष्मीको नाममा रत्नपार्क बनाएर टुँडिखेलको थप खण्डीकरण गरेको प्रधानको भनाइ छ। “सेनाले पनि सैनिक मञ्चको रूपमा टुँडिखेल कब्जामा लियो। सैनिक दिवस मनाउने बहानामा टुँडिखेल कब्जा गरिएको छ,” उनी भन्छन्, “म आफैँ रक्षामन्त्री भएको समयमा टुँडिखेलको जग्गाको लागि कराएको थिएँ। ”

पञ्चायत कालमा कसैले कुनै अभिव्यक्ति दिनुपरे खुलामञ्चकै प्रयोग गर्ने गरेको प्रधान सम्झन्छन्। बहुदलमा पनि टुँडिखेल राजनीतिक कार्यक्रम गर्ने केन्द्रीय स्थल थियो। २०४६ सालको जनआन्दोलन सफल भएपछि आन्दोलनमा होमिएका त्यति बेलाका दलहरूले खुलामञ्चमा नै संयुक्तसभा गरेका थिए। त्यसको डेढ दशकपछि २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ साल वैशाख १२ गते खुलामञ्चमा नै संयुक्तसभा भएको थियो।

त्यति मात्र नभई सांस्कृतिक पर्वहरू शिवरात्री, होली, गुरुमापालाई भोज खान दिने, चाक द्यःलगायतमा स्थानीयले यो ठाउँको प्रयोग गर्छन्। यसबाहेक बिरामी कुरुवा बस्ने, घाम ताप्नेलगायत धेरै तरिकाले खुलास्थानको उपयोग भइरहेको पूर्व रक्षामन्त्री प्रधान बताउँछन्। त्यही कारण यहाँ कुनै स्थायी संरचना बनाउन नुहुने र नपर्ने उनको भनाइ छ।

२०७२ सालको भूकम्पपछि टुँडिखेल खुला हुँदा कतिपय मानिसले पाल टाँगेर बस्न पाएका थिए। तर पछि केही ठूला संरचना बनाउन यहाँ निर्माण सामग्री राख्दा खुलामञ्च नै बन्द गरिएको थियो। दरबार हाइस्कुलको निर्माण सामग्री यहीँ राखिएको थियो। २०७४ सालअघि स्थानीय सरकार नहुँदा स्कुलले आफ्नो अनुकूलमा सामग्री राखे पनि पछि वीर अस्पतालले महानगरसँग अनुमति लिएर मात्र सामग्री राखेको महानगरकी तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन्।

२०७३ सालमा पुरानो बसपार्क भएको स्थानमा २१ तले टावर बनाउन बसपार्क अस्थायी रूपमा भन्दै खुलामञ्चमा सारिएको थियो। ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले फार्मेसी, क्यान्टिन, शौचालय र टिकट काउन्टर बनाउने भन्दै ५१ वटा सटर बनाएर भाडामा दिएको थियो। पछि स्थानीय र संरक्षणकर्मीहरूले विरोध गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सबै सटर हटाइएको थियो।

२०७९ सालको स्थानीय निर्वाचनपछि पनि खुलामञ्च मास्न खोजेको भन्दै पटकपटक चर्चा हुने गरेको छ। यसअघि मेयर बालेन शाहले ‘अन्डरग्राउन्ड पार्किङ’ तथा ‘वाटर रिर्चाज सिस्टम’को डीपीआर नै बनाएका थिए। यसमा पनि अभियन्ताहरूले विरोध गरेपछि महानगर पछि हटेको थियो।

शहरी विकास प्राधिकरणको प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू दिनानुदिन सुक्दै गइरहेको छ। काठमाडौँमा वातावरणीय संरक्षण र भूमिगत जलको अत्यधिक दोहन नियन्त्रणका लागि खुला स्थान संरक्षण गर्न जरुरी छ। 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यका खुलास्थलहरू सम्बन्धी मानचित्र पुस्तक (एटलास) निकालेकोे थियो। त्यसमा उल्लेख भएअनुसार नेपाल भुकम्पीय जोखिममा रहेको र ठूलो भूकम्प आउँदा उपत्यकामा मात्रै करिब १५ लाख नागरिक विस्थापित हुन्छन्। नेपालभर ८८७ खुल्लास्थलहरू छन्। जसमध्ये काठमाडौँमा ४८८, ललितपुरमा ३४६ र भक्तपुरमा ५३ वटा छन्।


सम्बन्धित सामग्री