Saturday, April 27, 2024

-->

९ वर्षदेखि निर्माण अलपत्र तीनकुने आर्क ब्रिजः ठेक्का फेरियो, अलमल उस्तै

पप्पु कन्स्ट्रक्सनले लापरबाही गरेपछि बागमती नदीमा बनाइने ‘आर्क ब्रिज’को ठेक्का तोडेर वाईपी किरातेश्वरलाई दिइएको थियो। तर नयाँ ठेक्काको २१ महिनामा भौतिक निर्माण त के, पुलको डिजाइनसमेत तयार भएको छैन।

९ वर्षदेखि निर्माण अलपत्र तीनकुने आर्क ब्रिजः ठेक्का फेरियो अलमल उस्तै

काठमाडौँ– व्यस्त समयमा सवारीसाधनको चाप हुने बानेश्वर–तीनकुने सडकखण्डमा बागमती नदीको वारि र पारि नै आठ लेन छ। बीचमा ‘डिभाइडर’ पनि छन्। तर नदीमाथिको चार लेनको पुल भने ‘बोटल नेक’ बनेको छ। जसकारण वारि र पारि सवारी जाम हुने गरेको छ।

सडकको तुलनामा पुल साँघुरो भएर बोतलको घाँटीजस्तो बन्दा वारि र पारि जाम हुने गरेको सडक तथा सवारीसम्बन्धी अध्ययन गरेकी भगवती सेढाईं बताउँछिन्। विकासका योजना कार्यान्‍वयनमा राज्यको कमजोरीको यो एउटा नमूना मात्र भएको उनको भनाइ छ। “पुल साँघुरो, सडक मात्र फराकिलो बनाएर ट्राफिक व्यवस्थापन हुँदैन,” उनी भन्छिन्, “दीर्घकालीन सोचले योजना बनाउने तर कार्यान्वयन नगरिँदा त्यत्रो ठूलो बाटो एउटा पुलले बोतलको घाँटीजस्तो भयो।”

सडक तथा यातायात मामिलाका जानकार आशिष गजुरेलका अनुसार आठ लेनको सडक तीनकुनेमा पुल नहुँदा चार लेन क्षमतामा मात्र चलेको छ। यो सडक भक्तपुर, नगरकोट, काभ्रे र त्यहाँभन्दा पनि पूर्वका जिल्लाबाट काठमाडौँ आउने प्रवेशमार्ग हो। संघीय राजधानीलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग हुँदै आउने अधिकांश गाडी पनि यही पुल भएर काठमाडौँको मुख्यक्षेत्र पुग्छन्। त्यसैगरी, बानेश्वर क्षेत्रबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सडक पनि यही हो। गजुरेल भन्छन्, “पुल नबन्दा एयरपोर्टतिर जान, कोटेश्वरतिर जान र उताबाट बानेश्वरतिर आउन असर भयो। गाडी सनननन आउँछन्, पुलअगाडि आएर चार लेनमा सीमित हुँदा जाम शुरू भइहाल्छ।” 

यो क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न मौजुदा पुलको दुवैतर्फ दुई–दुई लेनका पुल बनाउन नौ वर्षअघि नै ठेक्का लागेको थियो। ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्र पुल निर्माण सक्ने गरी २०७१ सालमै ठेक्का लिएको थियो। तर म्याद थपिँदा पनि निर्माण सकिएन नै पुलको लागि तयार भएको जगसमेत त्रुटिपूर्ण रहेको पत्ता लाग्यो। त्यसपछि उक्त ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइयो तर पुल निर्माण अघि बढ्न सकेको छैन।

तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

पहिलोपटक २१ करोडमा ठेक्का लगाइएको थियो भने त्यसको आठ वर्षपछि दोस्रो ठेक्का लगाउँदा १७ प्रतिशत बढी अर्थात् २४ करोड ५९ लाखमा सम्झौता भएको छ। यहाँ करिब ८६ मिटर लम्बाइ र १७ मिटर चौडाइका दुई वटा पुल आर्क डिजाइनमा बनाउने योजना छ। ती पुल तयार नभएसम्म यो सडकखण्ड आठ लेनको पूर्ण क्षमतामा चल्न सक्दैन।

सडक विभागअन्तर्गत काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाबाट पछिल्लो पटक लगाइएको ठेक्काको आधा अवधि अर्थात् २१ महिना बितिसक्दा भौतिक प्रगति शून्य छ। आयोजना कार्यालयका अनुसार वाईपी किरातेश्वर जेभीसँग ४२ महिनाभित्र काम सक्नेगरी २०७९ वैशाख २६ गते ठेक्का सम्झौता भएको थियो। 

यसअघि, काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण रणनीतिक सडक सञ्जाललाई ट्राफिक जाममुक्त बनाउन भन्दै २०६३/६४ मा काठमाडौँ उपत्यका सडक विस्तार आयोजना शुरू गरिएको थियो। अहिले यो आयोजनालाई चक्रपथ आयोजनाभित्रै राखिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए।

दोस्रो पटक पनि डिजाइनमै अलमल
यसअघि ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले पुलको पिल्लरसहित जग हालेको थियो। तर त्यो संरचना कामै नलाग्ने भएको छ। नयाँ ठेक्कामा पुलको नयाँ डिजाइन तयार गरी निर्माण गर्ने सम्झौता छ। सम्झौताको २१ महिना सकिँदा डिजाइन नै तयार भएको छैन।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) कृष्णनाथ ओझाले डिजाइनको खाका पुल महाशाखामा करिब दुई महिनाअगाडि पुगेको र त्यहाँबाट स्विकृत भएर आउन बाँकी रहेको बताए। डिजाइन नै नबनेकोले भौतिक संरचाना निर्माण शुरू नहुनु स्वाभाविक रहेको उनको भनाइ छ। तर दुवै पुल डिजाइनका लागि सम्झौतामा छुट्याइएको एक वर्षको अवधि गत वैशाखमै सकिइसकेको छ।

९ महिनाअगाडि नै तयार भइसक्नु पर्ने डिजाइनमै अलमलिँदा योजना पछाडि धकेलिँदै गएको छ। डिजाइन तयार भएर स्विकृत भएपछि बल्ल निर्माणको ३६ महिने समयसीमा शुरू हुने भएकोले अहिले भइरहेको ढिलाइले ठेकेदारलाई फरक पर्दैन। “ठेक्का अवधि कुल ४२ महिनामध्ये एक वर्ष जति डिजाइनको लागि हो, डिजाइन भइसकेर काम शुरू भएपछि ठेकेदारले ३६ महिना पाउँछ,” सीडीई ओझाले भने, “उसको प्रस्तुति सम्पन्न भइसकेको छ, त्यसमा आएको टिप्पणी समेटेर उसले (ठेकेदारले) डिजाइन पेश गर्न बाँकी छ। स्विकृत भएपछि मात्र हामीले ताकेता गर्न सक्छौँ।”

ओझाका अनुसार यसअघिको ठेकेदार कम्पनीले गरेको भौतिक निर्माण थोरै स्वीकार गरेर नयाँ डिजाइनमा राख्ने सहमति छ। अधिकांश भाग भने काम लाग्दैन।

यसरी बर्बाद भयो शुरूका ७ वर्ष
पुलको पहिलो ठेक्का पप्पु कन्स्ट्रक्सनले २१ करोड ३३ हजार रुपैयाँमा हात पारेको थियो। ४२ महिनाभित्र निर्माण सक्ने गरी पप्पु कन्स्ट्रक्सन र सडक विभागबीच २०७१ पुस ४ गते सम्झौता भएको थियो। शुरूको ठेक्कामा पनि अहिलेजस्तै डिजाइनमै अलमल भएको थियो। सम्झौताअनुसार २०७५ असार ३ गते निर्माण सक्नुपर्ने थियो। तर पुलको डिजाइन तयार गर्नै करिब दुई वर्ष लाग्यो।

पुल डिजाइनपछि पनि भौतिक निर्माणले गति लिएन। निर्माण सम्पन्न गरिसक्ने मितिभन्दा एक महिनाअघि २०७५ जेठ २८ गते ठेकेदार कम्पनीले ३० प्रतिशत भौतिक र वित्तीय प्रगति भएको विवरणसहित ठेक्काको म्याद थप्न विभागमा निवेदन दियो। नयाँ थपिएको म्यादअनुसार २०७७ असार ३ गतेभित्र निर्माण सक्नुपर्ने थियो। तर पुलको लागि हालिएको जग नै त्रुटिपूर्ण रहेको भन्दै आयोजनाले भत्काउन आदेश दियो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले काम अघि नबढाउन निर्देशन दिँदै २०७५ मंसिर १८ गते ठेकेदार कम्पनीलाई पत्र पठायो।

यसअघि नै ठेकेदार कम्पनी पप्पुले काममा बिलम्ब गर्ने अन्य आधार पाइसकेको थियो। निर्माणस्थलमा पहिलेदेखि रहेका भौतिक संरचना आयोजनाले हटाएको थिएन। निर्माणमा अवरोध हुने सामग्रीमध्ये ५० प्रतिशत खाली गराई आयोजनाले उपलब्ध गराउन नसकेको पप्पु कन्सट्रक्सनका संचालक सुमित रौनियारको दाबी छ।

“पुलका चारमध्ये एउटा जगमा पूर्वदक्षिणतर्फ रहेको बानेश्वर प्रहरी वृत्तको पर्खाल परेको छ। सडक विभागले २०७४ असोजमा प्रहरीलाई पत्राचार गरे पनि त्यसलाई हटाउन नसकिएकोले त्यस दिशातर्फ निर्माणकार्य अघि बढ्न कठिनाइ भयो,” रौनियारले भने, “निर्माणस्थलमा परेको खानेपानीको पाइप र विद्युतको पोल नहट्दा काम गर्नसक्ने अवस्था भएन। ती बाधा हटाउन २०७३ चैतमा विद्युत् प्राधिकरणलाई र २०७४ असोजमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्राचार गरिएको थियो।”

यस्तै अलमलबीच २०७५ चैत २७ मा सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख र आयोजना प्रमुखको सहमतिमा इन्जिनियरिङ अध्ययन संस्थानलाई डिजाइन अध्ययन गर्न पठाइएको थियो। २०७६ जेठ २३ गते पुलको डिजाइन पुनरावलोकन भएर आयो। त्यसअघि, यो महत्त्वपूर्ण योजनामा भएको ढिलाइले संसदको विकास तथा प्रविधि समितिको ध्यान तान्यो। समितिले २०७६ जेठ २ गते पुल निर्माणस्थलको स्थलगत अनुगमन गर्‍यो।

समितिको २०७६ जेठ ३१ को बैठकले अवलोकन भ्रमण प्रतिवेदन परिमार्जनसहित पारित गरेर सम्बन्धित निकायमा आवश्यक कार्यान्वयनका लागि पठाउने निर्णय गरेको थियो। प्रतिवेदनमा कम्पनीबाट पुलको निर्माणमा गम्भीर त्रुटि भएको र सरकारी पक्षका कमजोरी पनि फेला परेको उल्लेख थियो। पुलको पिल्लरमा साढे २९.५ मिटर गहिरो १६ वटा १२०० एमएमका पाइल्स (पिल्लरको जग) निर्माण गर्नेगरी डिजाइन स्वीकृत भएको थियो। तर ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र दुई वटा पाइल्समा दरार आएको प्राविधिक परीक्षणबाट देखिएको प्रतिवेदनमा उल्लेख छ। 

निर्माणधीन पुलका तीन वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीलाई समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो। तर निर्देशनको पालना नै नगरी पुलको ‘सब–स्ट्रक्चर’ निर्माण गरी ‘स्ल्याब’ ढलानको तयारी गरेको पाइएको पनि प्रतिवेदनमा जनाइएको छ।

पुलमा देखिएको समस्या समाधानका लागि इन्जिनियरीङ अध्ययन संस्थानमा पठाइएको डिजाइन त्यहाँबाट परिमार्जित भई त्यस बेलासम्म प्राप्त हुन नआएको समितिले २०७६ जेठ ३१ मा तयार पारेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै आयोजनाले पूर्वतयारी सम्पन्न नगरी ठेक्का लगाएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउनै ६ महिना लाग्दा आयोजनाको काम समयमै आरम्भ हुन नसकेको जनाइएको छ। 

त्यसैगरी, इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्यव गरी निर्माणमा देखिएका समस्या समाधान गर्न दिइएका निर्देशनको अटेरी गर्ने ठेकेदार कम्पनी र समयमै निर्माणस्थलमा रहेका अरू संरचना नहटाउने सम्बद्ध सरकारी पक्षलाई कारबाही गर्ने संसदीय समितिले निर्देशन दिएको थियो। तर समितिको निर्देशन पालना भएन। बरु काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७६ मंसिर ४ गते ठेक्का नै रद्द गर्ने सूचना प्रकाशित गर्‍यो। 

त्यसको करिब साढे दुई वर्षपछि २०७९ वैशाखमा मात्र नयाँ ठेक्का लाग्यो। यसरी शुरूका सात वर्षभन्दा लामो समय खेर गयो। नयाँ ठेक्कामा पनि डिजाइन स्वीकृत गर्ने प्रक्रिया पहिलो ठेक्कामा जस्तै ढिला गरिएको छ।

लापरबाहीपूर्ण संरचनाले गयो ज्यान
संसद्को विकास तथा प्रविधि समितिले त्यतिबेला पुल निर्माणका क्रममा निर्माण गरिएको संरचनाले दुर्घटना हुने सम्भावना देखिएको भन्दै तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको थियो। तर उक्त निर्देशन पालना नहुँदा पुल बनाउन खनिएको खाल्डो मानिसको मृत्युको कारण बन्यो।

गत असोज १४ गते खाडलमा परेर एक जनाको मृत्यु भयो भने अर्का एक जना मुस्किलले बाँचे। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार राति करिब सवा १ बजे दुई जना सवार मोटरसाइकल बागमतीमा खसेको थियो। मोटरसाइकल खसेको ठाउँमा पुल निर्माणका लागि खाल्डो खनेर छाडिएको थियो। त्यही खाल्डो धराप बन्यो। 

त्यहाँबाट प्रहरीले मोटरसाइकल चालक चाँगुनारायण–४, भक्तपुरका २० वर्षीय सरोज गुरुङ र १७ वर्षीय सुशील गुरुङलाई घाइते अवस्थामा उद्धार गरी सिभिल अस्पताल पुर्‍याएको थियो। मोटरसाइकलको पछाडि बसेका सुशीललाई चिकित्सकले बिहान ४ः४० बजे मृत घोषणा गरेका थिए। दाहिने खुट्टा भाँचिएका र अचेत अस्पताल पुर्‍याइएका सरोजलाई भने चिकित्सकले बचाउन सफल भएका थिए।


सम्बन्धित सामग्री