Sunday, April 28, 2024

-->

२९ वर्षमुनिका बालबालिका र युवाको मृत्युको प्रमुख कारण सडक दुर्घटनाः डब्ल्यूएचओ

दक्षिण एशियाली देशहरूमा दुर्घटनाको मृत्युदर र मृत्युसंख्या धेरै भएको तथ्यांकले देखाएको छ। दुर्घटना न्यूनीकरण गर्न डब्ल्यूएचओले बनाएका उत्कृष्ट पाँच नियम पालना नगर्ने ५४ देशहरूमा नेपाल पनि पर्छ।

२९ वर्षमुनिका बालबालिका र युवाको मृत्युको प्रमुख कारण सडक दुर्घटनाः डब्ल्यूएचओ
प्रतीकात्मक तस्वीर

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै सार्वजनिक गरेको सन् २०२१ को सर्वेक्षण प्रतिवेदनले सन् २०१६ को दाँजोमा नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ७५ प्रतिशतले वृद्धि भएको देखाएको छ।

सन् २०२१ मा मात्रै नेपालमा आठ हजार ४७९ जनाको मृत्यु भएको डब्ल्यूएचओको अनुमान छ। यो संख्या कम्तीमा ७ हजार ६२२ र बढीमा नौ हजार ३३६ हुनसक्ने प्रतिवेदनमा उल्लेख छ। उक्त एक वर्षमा भएको मृत्युदर प्रतिएक लाख जनसंख्यामा २८ जना हुन आउँछ। यो संख्या सन् २०१६ को भन्दा ७५ प्रतिशतले बढी भएको डब्ल्यूएचओले जनाएको छ।

सन् २०११ देखि २०२१ सम्मको दशकमा विश्वभर सडक पूर्वाधारको विस्तारसँगै एक अर्बभन्दा बढी जनसंख्या वृद्धि भएको छ। यस अवधिमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटाउने लक्ष्य राखिएकोमा अहिले सार्वजनिक भएको तथ्यांकले उक्त लक्ष्य पूरा नभएको देखाएको छ। 

सर्वेक्षणबाट ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाको मृत्युको प्रमुख कारण सडक दुर्घटना नै भएकोे पाइएको छ। सबै उमेर समूहका जनसंख्याको  मृत्युको कारणसँग तुलना सडक दुर्घटनाको स्थान गर्दा १२औँ नम्बरमा परेको छ। 

देशको अर्थतन्त्रलाई आधार मान्दा नेपालसहित निम्न–मध्यम आय भएका मुलुकको जनसंख्याको ४३ प्रतिशत मानिस विभिन्न कारणले सडक दुर्घटनामा पर्ने गरेको तथ्यांकमा उल्लेख छ। संसारमा इन्धनका सवारी साधनबाट भएका दुर्घटनाको हिस्सा ३४ प्रतिशत छ। त्यस्तै, कच्ची बाटोका कारण भएको सवारी दुर्घटनाको अंश १० प्रतिशत रहेको छ।

विश्वका १० मुलुकले मात्रै सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तोकिएको लक्ष्यअनुसार ५० प्रतिशतमा पुर्‍याएको तथ्यांकले देखाएको छ। अन्य ३५ वटा देशहरूले भने मृत्युदर ३० देखि ४९ प्रतिशतसम्म घटाएका छन्।

सन् २०१० देखि २०२१ सम्मको अवधिमा संयुक्त राष्ट्रसंघमा आवद्ध ५० भन्दा धेरै देशहरूले सडक दुर्घटनाबाट हुने मृत्युदर घटाएका छन्। यो समूहमा पर्ने निम्न आए भएका सहित १० देशहरूले पहिलो पटक ५० प्रतिशत घटाउने लक्ष्य पूरा गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

ती देशहरू बेलारुस, ब्रुनाई दरुस्लाम, डेनमार्क, जापान, लिथुआनिया, नर्बे, रुस, ट्रिनिदाद एन्ड टोबागो, संयुक्त अरब इमिरेट्स र भेनेजुयला हुन्। यीमध्ये आधाजति निम्न आय भएका र अन्य आधा उच्च आय भएका देशहरू पर्दछन्।

१५ वटा देशहरूले दुर्घटनाबाट हुने मृत्युदरमा ४० देखि ४९ प्रतिशतसम्म सुधार गरेको सर्वेक्षणले देखाएको छ। त्यस्तै, सडक दुर्घटनाबाट हुने मृत्युदर २० वटा देशहरूले ३० देखि ३९, ३३ वटाले २० देखि २९, १९ वटाले १० देखि १९ र ११ वटाले २ देखि ९ प्रतिशतले घटाएको पाइएको छ। यस अवधिमा २ प्रतिशत मात्रै मृत्युदर घटाएका मुलुकहरू १०८ छन्। 

संसारभरका सबै देशहरूको तुलनामा नेपाल लगायतका दक्षिण एशियाली देशहरूमा दुर्घटनाको मृत्युदर र मृत्युसंख्या दुवै धेरै भएको सर्वेक्षण नतिजाले देखाएको छ। थुप्रै देशहरूले सडक दुर्घटना न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनले बनाएका उत्कृष्ट पाँच नियमहरू पालना नगरेको पाइएको छ। तीमध्ये एउटा पनि नियम पालना नगर्ने ५४ देशहरूमा नेपाल पनि पर्छ।

पछिल्लो दशकमा विश्वमा अन्य क्षेत्रहरूसँगै यातायात पूर्वाधारको क्षेत्रमा प्रविधिको प्रयोग बढ्दा दुर्घटनाको संख्या पनि बढेको देखिने विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ। सडक विस्तार र सुविधायुक्त बनाएर पूर्वाधारको क्षेत्रमा प्रगति गर्दै सडक दुर्घटना न्यूनीकरणमा संवेदनशीलता देखाएका विकसित मुलुकहरूले भने उल्लेख्य सुधार गरेका छन्। 

विशेषगरी निम्न–मध्यम तथा निम्न आय भएका मुलुकहरूले मापदण्ड पूरा गर्न नसक्दा लक्ष्य प्राप्तिमा नगण्य मात्र सुधार गर्न सकेका छन्। डब्ल्यूएचओले सन् २०१० मा करिब १२ लाख ५० हजार मानिसको सडक दुर्घटनाबाट मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो। तर ११ लाख ९ हजार मानिसको मृत्यु भएको सन् २०२१ को तथ्यांकले एक दशकमा ५ प्रतिशत मात्र सुधार भएको देखाएको छ। 


सम्बन्धित सामग्री