Saturday, April 27, 2024

-->

अरनिको राजमार्ग स्तरोन्नति : सरासर बन्दैथ्यो, सरकारकै कारण अलमलियो

भइसकेका कामको २२ करोडको बिल भुक्तानी हुन बाँकी रहेको धुलिखेलस्थित आयोजना कार्यालयले जनाएको छ। सरकारले बजेट नदिँदा निर्माण क्षेत्रभित्र परेका घरहरूको मुआब्जा टुंगिन र निर्माणस्थल खाली हुन पनि बाँकी छ।

अरनिको राजमार्ग स्तरोन्नति  सरासर बन्दैथ्यो सरकारकै कारण अलमलियो 
तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ– सवारीसाधनको चापको तुलनामा साँघुरिइसकेको दुई लेनको सूर्यविनायक–धुलिखेल सडकखण्ड अबको दुई वर्षभित्र ६ लेनको आधुनिक मार्ग बनिसक्नु पर्ने थियो। निर्माण पूरा भएपछि २० मिनेटमा पार गर्न सकिने यो खण्ड अहिले धुलो र खाल्डाखुल्डी छिचोल्दै गाडीमा दुई घण्टासम्म लगाएर पार गर्नुपर्छ। 

सरकारले काम भएअनुसारको बजेट भुक्तानीसँगै अरू प्राविधिक कामहरू बेलैमा नगर्दा राजमार्ग विस्तार सुस्ताएको हो। अरनिको राजमार्ग अन्तर्गतको उक्त सडक स्तरोन्नतिका लागि दुई ‘प्याकेज’मा बेग्लाबेग्लै ठेक्का लगाई काम अघि बढे पनि असोजयता निर्माण कम्पनीहरूले आयोजनाबाट भुक्तानी पाएका छैनन्। सडक विभाग अन्तर्गतको ‘सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना’ले १५.८ किलोमिटरको उक्त सडक स्तरोन्नति गरिरहेको छ। 

यो सडकका लागि विनियोजित बजेटको अनुपातमा सरकारले भुक्तानी नदिँदा योजना लम्बिने अवस्था देखिएको भन्दै सडक प्राविधिकहरूले चिन्ता प्रकट गरेका छन्। बेग्लाबेग्लै ठेक्का लगाइएकामध्ये पहिलो ‘प्याकेज’ सूर्यविनायकदेखि साँगासम्मको साढे ७ किलोमिटर खण्ड पर्छ भने दोस्रो प्याकेजमा साँगादेखि धुलिखेलसम्मको बाँकी ८.३ किलोमिटर खण्ड छ। 

२०७९ पुसभित्रै दुवै प्याकेजमा गरी कुल ८ अर्ब रुपैयाँको ठेक्का अलग–अलग सम्झौता भएलगत्तै काम शुरू भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेले बताए। अहिले शुरूआती काम भएकाले भौतिक प्रगति कम देखिए पनि मूल संरचनातिर काम हुन थाल्दा मात्र उल्लेखनीय प्रगति देखिने लामिछानेले बताए। सम्झौता बमोजिम तीन वर्षभित्रै निर्माण सकिने गरी काम भइरहेको उनको दाबी छ। 

लामिछानेले यसो भने पनि अगाडि नै निर्माण शुरू भएको साँगादेखि धुलिखेलसम्म ८.३ किलोमिटर खण्डको काम समयमा भुक्तानी नपाउँदा सुस्ताएको छ। पछि थालिएको सूर्यविनायकदेखि धुलिखेलसम्मको काम पनि भुक्तानीकै अभावमा रोकिने खतरा रहेको भन्दै निर्माण कम्पनीले चिन्ता जनाएको छ। बजेट जोहो गरी बिलहरूको भुक्तानी गराउन प्रयासरत रहेको आयोजना कार्यालयका अधिकारीहरूले बताएका छन्। 

“तीन वर्षभित्र काम सक्नुपर्ने भएकाले प्रत्येक वर्ष कुल लागतको ३३ प्रतिशत बजेट खर्च गर्दै गएमा मात्र बेलैमा काम पूरा हुन्छ। त्यो अवस्थामा मात्र ढिलाइ भयो भने निर्माण कम्पनीलाई कडाइ गर्ने कुरा आउँछ,” योजनासम्बद्ध एक इन्जिनियरले भने। भुक्तानी रोकिएका कारण बेलैमा काम सम्पन्न हुने सम्भावना कम हुँदै गएको भन्दै उनले चिन्ता पाखे।  

सरकारले यो वर्ष जम्मा ५४ करोड विनियोजन गरेको छ। यो भनेको कुल लागतको ६.७५ प्रतिशत हो। ठेक्काको समयावधिका हिसाबले यस आयोजनालाई तीन वर्षसम्म चाहिने बर्सेनि बजेट भने दुई अर्ब ६६ करोड ६६ लाख रुपैयाँ हो।

“यो वर्षको वार्षिक बजेटको तुलनामा ९० प्रतिशत र कुल लागतको तुलनामा १२.५ प्रतिशत आर्थिक प्रगति भएको छ, ५४ करोड वार्षिक बजेट हो,” आयोजना प्रमुख दासले भने, “बजेट निकै कम छ। हामीले जति काम हुन्छ, त्यति नै बजेट आउँछ भनेर थप पैसाको लागि माग गरिसकेका छौँ, तर आउन बाँकी छ। निर्माण कम्पनीहरूले पनि त्यही आश्वासन पाएकाले मात्र काम रोकेका छैनन्,  आर्थिक प्रगति १२.५ प्रतिशत हुँदा समग्रमा भौतिक प्रगति २० प्रतिशतको हाराहारीमा छ, उनले भने। 

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेका कारण भौतिक प्रगतिको तुलनामा खर्च भुक्तानी पछाडि पर्दै गएको निर्माण कम्पनीको जनाएको छ। दासका अनुसार धुलिखेलस्थित आयोजना कार्यालयमा निवेदनसहित दर्ता हुन आएका २२ करोडको बिलको भुक्तानी हुन बाँकी छ। अर्थ मन्त्रालयले यस आयोजनाको लागि मात्र नभएर सडक विभाग अन्तर्गतका कामहरूका लागि एकमुष्ट नै बजेट छुट्ट्याउन खोजेको दासले बताए।

अहिले भइरहेको संरचना निर्माणको काम सकिनासाथ ग्राभेल हाल्न शुरू हुने छ। बजेट अभावकै कारण निर्माण क्षेत्रभित्र परेका घरहरूको मुआब्जा टुंगिन नसक्दा निर्माणस्थल अझै खाली भएको छैन। विद्युत्, खानेपानी र अप्टिकल फाइबर केबलहरूको व्यवस्थापन नहुँदा त्यसले पनि ठाउँ–ठाउँमा काम अवरुद्ध भइरहेको निर्माण कम्पनीका प्राविधिकहरूले बताएका छन्। 

आयोजना कार्यालयले गर्नुपर्ने काम कारबाही गरिरहेको प्रमुख दासले दाबी गरे। त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र विस्तृत योजना खाका (डीपीआर)को डिजाइन कार्यान्वयनमा लैजाँदा त्यसमा धेरै परिमाणमा सुधार आवश्यक भइरहेकाले सच्याउँदै अगाडि बढाउनुपर्ने प्राविधिकहरूको भनाइ छ। ठेकेदारहरूको तयारी राम्रो रहेकोले बेलैमा बजेट पाउन सके तोकिएकै समयमा काम सकिने आयोजना प्रमुख दासले बताए। 

सडकहरूको निर्माण शुरू हुने तर काम अगाडि नबढाइने अवस्थामा विभिन्न खालका समस्याहरू देखिने गरेको सडक यातायातविज्ञ भगवती सेढाईं बताउँछिन्। “त्यसबाट लागत बढ्छ र सडक प्रयोगकर्ताहरू पनि दुर्घटनाको जोखिममा पर्छन्,” उनले भनिन्, “सडक धुलाम्मे हुँदा सडक प्रयोगकर्ता र वरपर बसोबास गर्नेहरूमाथि पर्ने स्वास्थ्य समस्या त छँदैछ।” यसको असर देशको समग्र अर्थतन्त्रमै पर्ने चिन्ता उनले व्यक्त व्यक्त गरिन्। 

‘अन्डरपास’को डिजाइन नबन्दा अलमल
सूर्यविनायक–धुलिखेलखण्ड सडक ६ लेनमा स्तरोन्नति गर्न पहिलो प्याकेज सूर्यविनायकदेखि साँगासम्म ७.५ किलोमिटरको ठेक्का आशिष–कुमार श्रेष्ठ वन्दन भगवती (संयुक्त) निर्माण कम्पनीले पाएको छ। यसको लागि २०७९ पुस २४ मा सम्झौता भएर फागुनदेखि काम शुरू भएको थियो। 

यस खण्डमा अहिले ६.१ किलोमिटरमा ६ लेन छ भने साँगा नजिकको १.४ किलोमिटर सडकमा ‘सर्भिस लेन’ छैन। त्यस क्षेत्रमा भने चार लेनको मात्र सडक बन्दैछ। यसै खण्डमा करिब २० मिटरको एउटा ‘अन्डर–पास’ पनि बनाउनुपर्ने भएको छ। अन्डरपासको डिजाइन योजना कार्यालयले नै गरेर दिने भएका कारण उक्त खण्डको डिजाइन फाइनल हुन सकेको छैन।

“अन्डरपासको डिजाइन हामीले पाएका छैनौँ। यसै कारणले करिब डेढ किलोमिटर सडकको डिजाइन बाँकी छ, उक्त डिजाइनमा काम भइरहेको छ,” निर्माण कम्पनीका ‘कनट्र्याक्ट म्यानेजर’ लक्ष्मण नकर्मीले भने, “भुक्तानी नहुँदा पनि हामीले काम रोकेका छैनौँ। तर निर्माण क्षेत्रमा परेका घरहरूलाई खाली गराउने, त्यसको लागि मुआब्जा क–कसलाई के कति दिने हो त्यो टुंग्याउने र घरधनीलाई भुक्तानी दिनेजस्ता कामहरू बाँकी हुँदा बेलैमा काम सकिहाल्ने हाम्रो लक्ष्यमा समस्या हुने देखिन्छ।”

नकर्मीका अनुसार सडक विस्तार हुने क्षेत्रभित्र परेका  घरहरूको मुआब्जा तिर्न बाकी रहेकाले कतिपय ठाउँमा ती घरहरूकै कारण काम अघि बढ्नमा समस्या भइरहेका छन्। आयोजना कार्यालयका इन्जिनियर विवेक पाण्डेका अनुसार सूर्यविनायकदेखि साँगासम्मको प्याकेजमा ७४ वटा र साँगादेखि धुलिखेलसम्म १७ वटा गरी ९१ वटा घर परेका छन्। त्यस्तै, आठ वटा मन्दिरहरू पहिलो प्याकेजमा र ३ वटा दोस्रोमा परेका छन्।

यस खण्डमा आठ वटा कल्भर्टहरू पनि बनाउनुपर्ने निर्माण कम्पनीका सिनियर इन्जिनियर राजन योगल श्रेष्ठले बताए। सडकमा राजमार्गको पानीको निकासका लागि बनाइने नाला ‘प्रिकास्ट’ (पहिल्यै तयार गरिएको) लगाउने योजना रहेको उनले बताए। ‘प्रिकास्ट’ नालाका खण्डहरू दुवै प्याकेज खण्डमा निर्माण कम्पनीहरूले धमाधम तयार पारेर राखिरहेका छन्। सर्भिस लेनको कामसँगै नालाको काम पनि अघि बढाउन सजिलो हुने र यसले छिटो भौतिक प्रगति हासिल गर्न मद्दत मिल्ने निर्माण कम्पनीहरूको दाबी छ।

साबिकमा रहेका प्राकृतिक खोल्सा र नालाहरूमा मानव बस्तीका ढलहरू मिसिने भए पनि राजमार्गसँगै बन्न लागेको नालामा त्यस्ता ढल नमिसाइने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ। तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागेको ठेक्काको भौतिक प्रगति करिब २० प्रतिशत पुगेको बेला आर्थिक प्रगति १३ प्रतिशत मात्र छ। सम्झौता अनुसार २०८३ पुस १८ भित्र निर्माण कम्पनीले काम सम्पन्न गरिसक्नु पर्नेछ। 

सम्झौता अवधिभित्रै काम सक्न आफूहरू अहिले पनि दृढ रहेको निर्माण कम्पनीका कनट्र्याक्ट म्यानेजर नकर्मीको भनाइ छ। सम्पन्न गरिसकेको कामको बिल भुक्तानी नहुँदा गति लिइसकेको काममा सुस्तता आएको उनले बताए। 

“अहिले भुक्तानी नदिए पनि पछि सरकारले दिइहाल्छ भनेर काम गरिरहेका छौँ। तर एउटा बिन्दुमा गएर निर्माण कम्पनीले लगानी गर्न सक्ने उसको दायरा रोकिन्छ। त्यस बेला कामको गति प्रभावित हुन्छ,” नकर्मीले भने, “यसले निर्माण अवधिमा असर गर्छ। तीन अर्ब बढीको रकम निर्माण कम्पनीले आफ्नो तर्फबाट लगानी गरेर तोकिएकै समयमा काम सम्पन्न गरिहाल्ने अवस्था नभएकाले यसमा सरकारको भूमिका सबभन्दा बढी महत्त्वपूर्ण छ।”

दोस्रो प्याकेजमा काम ठप्पप्रायः
लामा कन्स्ट्रक्सनले ठेक्का पाएको साँगादेखि धुलिखेलसम्मको ८.३ किलोमिटर खण्डको दोस्रो प्याकेजमा शुरूमा उल्लेखनीय प्रगति भएको थियो। निर्माण थालिएपछि मासिक तीनदेखि चार प्रतिशतसम्मको भौतिक प्रगतिसहित अघि बढेको आयोजनाको अहिलेको गति सुस्त हुँदै महिनामा एक प्रतिशतको हाराहारीमा सीमित छ। 

“२०७९ मंसिरमा सम्झौता भयो, पुसदेखि हामीले काम शुरू गर्‍यौँ। प्रत्येक महिना ३ देखि ४ प्रतिशतसम्म हाम्रो भौतिक प्रगति थियो। यस हिसाबले निर्धारित ३६ महिना अगावै काम सकिने थियो,” उक्त खण्डको निर्माण कम्पनीका ‘कनट्र्याक्ट म्यानेजर’ रवीन्द्र श्रेष्ठले भने, “अलि बढी समय लिने खालको प्रारम्भिक काममा राम्रो प्रगति गरेका कारण पछिको काममा अझ राम्रो गति लिने आशा थियो। तर भुक्तानी रोकिएका कारण अहिले महिनामा मुस्किलले १ प्रतिशत जति मात्र भौतिक प्रगति भइरहेको छ।”

गत असोजयता चार महिनादेखि आयोजना कार्यालयबाट आफूहरूले भुक्तानी नपाएको र करिब २० करोडको बिल बक्यौता रहेको उनले बताए। ठूलो आयोजनामा एक पटक काम बन्द गरेपछि पुनः शुरू गर्न झन्झटिलो हुने भएकाले मात्र आफूहरूले निर्माण ठप्प नपारेको श्रेष्ठले बताए। 

यो खण्डको भौतिक प्रगति कम्तीमा १० प्रतिशतले पछाडि धकेलिएको उनको भनाइ छ। “बजेट अभावको कारण देखाउँदै आयोजनाले हाम्रो भुक्तानी नगर्दा निर्माणको काम सुस्ताएको छ,” उनले भने, “अहिले सर्भिस लेनको बेस, नाला र किनाराका पक्की भित्ताहरू बनाउने काम भइरहेको छ। हामीले यस सडक खण्डमा २३ वटा कल्भर्ट पनि बनाउनु पर्नेछ, जसमध्ये १६ वटामा काम भइरहेको छ भने अरू सात वटामा पनि शुरू हुँदैछ।”

सरकारले स्रोतको सुनिश्चितता गरेर कामको भुक्तानी बेलैमा गरिदियो भने पनि तीन वर्षभित्रै यो सडक निर्माण सकेर हस्तान्तरण गर्न निर्माण कम्पनी तयार रहेको उनले दाबी गरे। राजमार्गमा धेरै सवारी साधनको आवागमन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्दै काम अगाडि बढाउनु परेको आयोजनाका इन्जिनियर विवेक पाण्डेयले बताए। स्थानीय तह, ट्राफिक प्रहरी र निर्माण व्यवसायीसँगको समन्वयमा सवारी आवागमन व्यवस्थापन गर्ने गरिएको उनले बताए। पाण्डेका अनुसार दुई वटै पकेजमा पहिला किनारातिरको सर्भिस लेन तयार गर्ने र त्यताबाट सवारी आवागमन गराई अन्तमा बीचको मुख्य चार लेन बनाउने योजना छ। 

रूख हटाइयो, घर, पोल र पाइपले अलमल
राजमार्ग खण्डको निर्माणस्थलभित्र परेका रूखहरू करिब ९० प्रतिशत कटान भइसकेको आयोजना कार्यालयले जनाएको छ। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म ५९० रूखहरू कटान गर्नुपर्ने आयोजना प्रमुख दासले बताए। आयोजनाकै लगानीमा भक्तपुर र काभ्रे जिल्ला वन कार्यालयमार्फत ठेक्का लगाइएकाले बेलैमा रूख कटान गर्न सहज भएको उनले बताए। अरू विभिन्न आयोजनाका सडक निर्माण क्षेत्रमा परेका रुखहरू बेलैमा नहटाइँदा निर्माणको समय लम्बिने गरेको छ। 

यो सडक आयोजनामा रूख हटाउन सहज भए पनि विभिन्न निकायहरूसँग समन्वय गरेर हटाउनुपर्ने अरू संरचना नहटाइँदा काममा बाधा अवरोध भइरहेको साँगा–धुलिखेल प्याकेज निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनका म्यानेजर श्रेष्ठले बताए। विद्युत्का पोल, अप्टिकल फाइबरका तार, खानेपानीका पाइप, ढलका पाइप समयमै नसारिँदा पनि काम अघि बढाउन वाधा भइरहेको उनको गुनासो छ। 

सूर्यविनायक–साँगा खण्डमा हटाउनुपर्ने घरहरू नहटाइँदा पनि समस्या भइरहेको त्यस खण्डमा काम गरिरहेको कम्पनीका म्यानेजर लक्ष्मण नकर्मीले बताए। आयोजनाका इन्जिनियर पाण्डेले स्थायी घरहरूको मुआब्जाको काम भइरहेको बताए। “यसका लागि विभागमा फाइल पठाइसकिएको छ। उताबाट निर्णय भएर आइसकेपछि त्यो प्रक्रिया हामी चाँडै नै शुरू गर्छौं,” उनले भने, “यसमा केही बजेट विनियोजन भएको छ। आवश्यक पर्ने थप बजेटको पनि पहल भइरहेको छ।”

सूर्यविनायकदेखि साँगासम्म ७८ वटा र साँगादेखि धुलिखेलसम्म १३ वटा गरी ९१ वटा घरहरू सडक विस्तार क्षेत्रमा परेको उनले बताए। यसमा केही नयाँ र केही पुराना घरहरू भएकाले कुनलाई मुआब्जा दिने र कुनलाई नदिने भन्ने निर्णय भइसकेको छैन। त्यसकारण पनि मूल्यांकन बाँकी रहँदा मुआब्जा रकम यकिन हुन नसकेको नकर्मीले बताए। बनेपा, धुलिखेल, त्यहाँदेखि दक्षिणमा पूर्वपश्चिम राजमार्गको बर्दिबास र उत्तरतर्फ चीनको सिमानामा रहेको तातोपानी नाकासम्मको यातायात यो बाटो भएर सञ्चालन हुन्छ। 


सम्बन्धित सामग्री