Saturday, April 27, 2024

-->

कानून बनेयताको ४ वर्षमा तेजाब आक्रमणका २० घटनाः पीडित अझै असुरक्षित

२०७७ सालमा पहिलो पटक कानून बनेयताको चार वर्षमा तेजाब आक्रमणका २० वटा मुद्दा दर्ता भएका छन्। स्वास्थ्योपचार र सुरक्षामा पीडितहरूको असन्तुष्टि भने अझै बाँकी छ।

कानून बनेयताको ४ वर्षमा तेजाब आक्रमणका २० घटनाः पीडित अझै असुरक्षित
तेजाब आक्रमणका 'सर्भाइभर'हरू बायाँबाट क्रमश: मुस्कान खातुन, जेनी खड्का र संगीता मगर। तस्वीर सौजन्य: हिमालखबर

काठमाडौँ– “अहिले पनि मलाई लाग्दैन कि म सुरक्षित छु,” चार वर्षअघि आफूमाथि भएको तेजाब आक्रमण र त्यसपछिको जीवनका संघर्षमयी जीवन सम्झँदै मुस्कान खातुन भन्छिन्, “हरेक दिन आफ्नो अनुहार ऐनामा हेर्छु, बिर्सन नसक्ने पीडा भरिएर आउँछ।”

फोनको अर्को साइडमा मुस्कानको बोली यतिमै रोकिएको थिएन। उनी भन्दै थिइन्, “यी दागहरूले हामीमाथि के भएको थियो भनेर कहिल्यै बिर्सन दिने छैनन्।”

मुस्कान खातुन उनै हुन्, जसमाथि २०७६ भदौमा वीरगन्जमा तेजाब प्रहार भएको थियो। त्यसबेला उनी केवल १४ वर्षकी थिइन्। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै खातुनमाथिको वीरगन्जकै सम्साद मियाँले तेजाब आक्रमण गरेका थिए। 

उक्त घटनापश्चात् उनीमाथि भएको जघन्य अपराधको चौतर्फी निन्दा, चर्चापरिचर्चा र बहस भयो। खातुनको साथ, समर्थन र सान्त्वनामा विभिन्न सार्वजनिक व्यक्तित्व, सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमहरू एकजुट भए। 

हाल काठमाडाँै मोडल कलेजमा कानून विषय पढिरहेकी खातुन तेजाब पीडितको पक्षमा वकालत गरिरहेकी छन्। मुस्कानसहित अन्य तेजाब पीडितका कथाव्यथा समेटेर ‘नमेटिने घाउ’ नामको फिल्म बन्दैछ। यसको प्रस्ताव नायक तथा निर्देशक रमित ढुंगानासँग मुस्कानले नै राखेकी हुन्। 

“चार वर्षअघि ‘बुद्ध बर्न इन नेपाल’ फिल्म हेर्दा मलाई हौसला मिलेको थियो। त्यसबेला तेजाब पीडितका विषयमा पनि जनचेतनामूलक फिल्म बनाउन उहाँलाई आग्रह गरेको थिएँ। अब आएर फिल्म बन्ने भएको छ,” उनले भनिन्। 

तेजाब पीडितको विषयमा फिल्म नै किन त? जवाफमा मुस्कान भन्छिन्, “कानून त बन्यो तर अझै पनि आममानिसमा जनचेतनाको कमी देखिन्छ। त्यही भएर सबैमाझ छिटो र प्रभावकारी रूपमा सन्देश पुर्‍याउन फिल्म बन्नु जरूरी छ।” 

तेजाब आक्रमणमा परेलगत्तै अस्पतालमा उपचाररत मुस्कानको मनोबल बढाउन भारतीय सुपरस्टार अमिताभ बच्चनले सामाजिक सञ्जालबाट दिएको सान्त्वनाको भिडियो देखाउँदै पीडितहरूको उपचार र न्यायका लागि सक्रिय अभियन्ता उज्ज्वलविक्रम थापा। तस्वीर सौजन्य: सामाजिक सञ्जाल

नायक तथा निर्देशक ढुंगानाको निर्देशनमा बन्न लागेको ‘नमेटिने घाउ’ फिल्मको शुभमूहर्तमा गत आइतबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए। कार्यक्रममा आफूलाई तत्कालीन प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न प्रस्ताव भएपछि स्वीकार गरेको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा पोस्ट गरेका छन्। 

ओलीले लेखका छन्, “तेजाब आक्रमणविरुद्ध जनचेतना जगाउन अभिनेता रमित ढुंगानाले ‘नमेटिने घाउ’ नामको फिल्म बनाउँदै हुनुहुन्छ। तेजाब आक्रमणबाट पीडित नानीबाबुहरूले पनि फिल्ममा अभिनय गर्दैछन्। आज तिनै पीडितहरूसँगै फिल्मको शुभमुहूर्तमा सहभागी हुने अवसर मिल्यो। ...त्यसबेला म प्रधानमन्त्री थिएँ। आज नानीबाबुहरूले फिल्ममा पनि मैले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुपर्छ भन्ने प्रस्ताव राखे। मैले स्वीकृति जनाएको छु।”

फिल्ममा ओलीलाई प्रधानमन्त्रीको भूमिकाको लागि अनुरोध गर्नुको कारणबारे मुस्कान भन्छिन्, “०७७ सालमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७७’ तथा ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ नेपाल सरकारबाट जारी भयो। १५ दिनको अवधिमा अध्यादेश आउनु सराहनीय पाटो थियो। त्यसबेला प्रधानमन्त्री पदमा रहेर उहाँले निर्वाह गर्नुभएको भूमिका सान्दर्भिक हुने हामीले देख्यौँ।” 

अध्यादेश यताका साढे चार वर्षः कहिले के भए? 
२०७७ सालमा जारी भएको अध्यादेशयता चालु आर्थिक वर्षसम्म करिब २० वटा तेजाब आक्रमणका घटना दर्ता भएका छन्। नेपाल प्रहरीले उकालोलाई दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ वटा २०७८/७९ मा पाँच वटा र २०७९/८० मा सात वटा घटना दर्ता भएका छन्। चालु आर्थिक वर्षको झन्डै सात महिनामा भने कुनै घटना नभएको उनले बताए। 

ती घटना काठमाडौँँ, भक्तपुर, सुनसरी, मोरङ, सोलुखुम्बु, सल्यान, बाजुरालगायत १२ वटा जिल्लामा भएका थिए। प्रहरीका अनुसार आक्रमण गर्नेहरू पहिलो वर्ष चार, दोस्रो वर्ष पाँच र तेस्रो वर्ष चार गरी १३ जना थिए। उनीहरू सबै पुरुष हुन्। तेजाबले जलेर घाइते भएका २० जना पीडितमध्ये १८ महिला र दुई पुरुष थिए।

नुवाकोट घर भई हाल काडमाडौँको कलंकी बस्ने रामराजा थापालाई २०७६ फागुन २५ गते मध्यरातमा तेजाब आक्रमण भयो। त्यसबेला उनी पूर्वी नेपालमा गाडी चालकको काम गर्थे। कामबाट फर्केका उनी त्यसदिन पनि खानपिन गरी सुतेका थिए। 

निद्रामै रहेका उनलाई अनुहारमा कसैले पानी खन्याएजस्तो लाग्यो। केही पलको अन्तरमै आँखा पोलेको महसुस भयो। त्यसपछि मात्र राम्ररी ब्युँझिए। आँखा खोलेर हेर्दा वरपर आगो बलेकोजस्तो देखेको उनी बताउँछन्। सहन नसकेपछि उनले आँखा बन्द गरे अनि चिच्याउन थाले। उनी भन्छन्, “पोल्यो भनेर चिच्याएको सुनेपछि छेउको कोठामा रहेका सालाभाइरूले ५ मिनेटसम्म पानीमा नुहाइदिए।”

त्यही ५ मिनेट नुहाइदिएकाले नै आफ्नो ज्यान बचेको भनाइ उनले डाक्टरहरूबाट सुन्दै आएका छन्। ५ मिनेटको सट्टा आधा घण्टा पानीमै राखेको भए उनको शरीररका अंगहरू धेरै जल्न पाउने थिएनन्। उनका दुवै आँखा, देब्रे कान र शरीरका अन्य भाग तेजाबले जलेका छन्। 

करिब सात महिनाको उपचारपश्चात् फर्किएका रामराजा श्रीमतीले स्वीकार नगरे पनि आफूमाथि उनले नै तेजाब प्रहार गरेको जानकारी प्रहरीमार्फत अप्रत्यक्ष रूपमा पाएको बताउँछन्। ड्राइभिङ पेसामा रहँदा विभिन्न व्यक्तिको फोन आउने गरेको र त्यसैका आधारमा श्रीमतीले धेरै शंका गर्ने गरेकाले सोही कारण तेजाब छ्यापेको हो कि भन्ने अनुमान उनको छ। 

प्रहरीमा स्पष्टसँग अपराध स्वीकार नगरेको हुँदा के कारण आफ्नै श्रीमतीबाट यस्तो अन्याय भयो उनलाई अझै थाहा छैन। हाल ४ वर्षका छोरासहित दैनिकी गुजारिरहेका उनी महान्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्।

यस प्रकारको घटनामा प्रहरीले जतिसक्दो चाँडै अनुसन्धान गरी प्रमाण जुटाएर कानूनी कारबाहीका लागि न्यायिक निकायमा पेश गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले बताए। “तेजाब आक्रमणले पीडितलाई शारीरिक तथा मानसिक रूपमा क्षति पार्छ। मानिसको भौतिक तथा मानसिक घात गर्ने मनसायले आवेग तथा रिसइबीमा घटना घटाउने गरेको हाम्रा अनुसन्धानले देखाएका छन्,” उनले भने।

२०७७ सालको अध्यादेश निस्कृय बनेको लामो समयपछि सरकारले ल्याएको ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन–२०७९’ असार ३१ गते प्रमाणीकरण भएको थियो। त्यसयता तेजाब आक्रमणका घटनाहरूको संख्यामा कमी आएको मान्न सकिने प्रहरी प्रवक्ता ढकाल बताउँछन्।

किन आवश्यक थियो कानून? 
२०७१ साल फागुन ११ गते बिहान करिब ६ बजे काठमाडौँ, वसन्तपुरको एउटा ट्युसन सेन्टरभित्र संगीता मगर र सीमा बस्नेतमाथि तेजाब प्रहार भयो। २० वर्षका जीवन विकले ट्युसन पढिरहेको बेला एक्कासि आएर तेजाब प्रहार गरेका थिए। 

नेपाल प्रहरीबाट प्राप्त विवरणमा दुईबीच प्रेम सम्बन्ध भएको, तर संगीताले वास्ता गर्न छाडेपछि आगेवमा तेजाब प्रहार गरेको बयान विकले प्रहरीलाई दिएका थिए। प्रहरीले जुटाएको प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा पठाएर एक वर्षपछि गरेको अन्तिम फैसलामा काठमाडौँ जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय गर्‍यो। 

प्रेमसम्बन्ध अस्वीकार गरेको कारण चार वर्षअघि काभ्रे, नालाका विष्णुबहादुर भुजेलले काठमाडौँ, कालोपुल बस्ने जेनी खड्कामाथि तेजाब प्रहार गरेका थिए। चार वर्षअघि भएको त्यस घटनामा साँझपख भोड्काको सिसीमा तेजाब मिसाएर आफूमाथि ३–४ थोपा प्रहार गरेको जेनीले बयानमा बताएकी थिइन्।

त्यसको तीन महिना नहुँदै वीरगन्जमा १४ वर्षीया मुस्कान खातुनमाथि तेजाब प्रहार भयो। त्यसको ठ्याक्कै एक वर्षको अन्तरालमा बाफलकी पवित्रा कार्कीमाथि पनि आक्रमण भयो। आफ्नो दाहिने गाला र घाँटीको भागमा मोहम्मद आलम र फैयाज अन्सारीले तेजाब छर्केको उनले बयानमा बताएकी थिइन्। 

आफ्नी दिदीले काम गर्ने एक गार्मेन्ट कारखानामा छोटो समय काम गरेकी पवित्रालाई त्यसका सञ्चालक आलमले बिहेको प्रस्ताव राखेका थिए। त्यसलाई अस्वीकार गरेपछि त्यही झोँकमा आलमले आफ्नै कारखानाका कामदार अन्सारीको सहयोगमा उनीमाथि तेजाब प्रहार गरे। अदालतको आदेशबाट उनीहरू दुवैलाई सात/सात वर्षको कैद सजाय भयो। दुवै जनाबाट क्रमशः १० लाख र पाँच लाख पीडितले पाउने गरी राज्यकोषमा जम्मा गर्न पनि अदालतले आदेश दियो। 

“प्रायजसो तेजाब आक्रमण प्रेम सम्बन्ध अस्वीकार गरेकै कारण हुने गरेको अनुसन्धानले देखाउँछ”, प्रहरी प्रवक्ता ढकाल भन्छन्, “त्यसबाहेक आपसी रिसइबी तथा आर्थिक कारोबारमा हुने मतभेदबाट पनि यस्ता घटना घटिरहेका हुन्छन्।” 

लगातार भइरहेको तेजाब आक्रमणको नियमन र रोकको लागि छुट्टै कानून बनेको थिएन। “त्यही कारण हुनसक्छ आक्रमणकारीलाई कुनै डर र छेकबार भएन,” उनले भने, “२०७९ सालमा ऐन आएपछि हालसम्म तेजाब आक्रमणको कुनै पनि घटना दर्ता भएको छैन। यसलाई कानूनको प्रभाव नै मान्न सकिन्छ।”

तेजाब आक्रमणका दुई–तीन वटा घटना लगातार भए। तर त्यससम्बन्धी कानूनी व्यवस्था कमजोर हुँदा आक्रमणकारीहरूलाई ज्यान मार्ने उद्योग लगायतको अभियोगमा अधिकतम सजाय मागदाबी गर्नुपर्ने बाध्यता प्रहरी र सरकारी वकिल कार्यालयलाई थियो। अभियोग प्रमाणित नहुँदा अभियुक्तहरू सजिलै छुटेर जाने भए। त्यही कारण यसका लागि छुट्टै ऐन अत्यावश्यक हुन पुगेको अधिवक्ता इन्द्र अर्याल बताउँछन्। 

तेजाब पीडित संगीता मगरको सन्दर्भमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। तर मुस्कान खातुन, पवित्रा कार्कीदेखि जेनी खड्कासम्मका घटनाले तेजाब प्रयोग र आक्रमणसम्बन्धी अलग्गै कानूनको खाँचो देखियो। अधिवक्ता अर्याल भन्छन्, “समाजलाई आवयश्क भएपछि मात्रै नयाँ–नयाँ कानून बन्न थाल्छ, त्यो बेला तेजाब सम्बन्धमा कानून अत्यावश्यक हुँदा सरकार र संसदले छोटो अवधिमा तदारुकताका साथ कानून बनाउनु सराहनीय काम थियो।”

२०७९ को ऐनअघि २०७५ भदौबाट लागू भएको मुलुकी फौजदारी संहिता बमोजिम सजाय हुने गथ्र्यो। “मुलुकी फौजदारी संहिताको दफा १९३ (२) ले तेजाब आक्रमण गर्नेलाई कसुरको प्रकृति हेरि अनुहार कुरूप पारेमा पाँचदेखि आठ वर्षसम्मको कैद र एक लाखदेखि पाँच लाख रुपैँयासम्म जरिबाना हुने व्यवस्था गरेको थियो। 

कानूनको त्यो पाटो निकै फितलो भएको खातुन बताउँछिन्। “२०७७ सालमा आएको अध्यादेशले राहत दिएको थियो। नत्र हाम्रो घाउचोटको आकार हेरेर सजाय तोक्ने कस्तो नमिलेको कानून थियो,” उनी भन्छिन्, “नयाँ कानून आए पनि कानूनको प्रत्याभूति अझै हुन सकेको छैन। छोटो अवधिमा ल्याइएको अध्यादेशमा धेरै कुरा समेटिए पनि अहिलेको ऐन त्यति बलियो हुन सकेको छैन।”

नयाँ कानूनका व्यवस्था
२०७९ मा आएको ‘फौजदारी  कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन’ले तेजाब आक्रमणलाई जघन्य अपराधमा राखेको अधिवक्ता अर्याल बताउँछन्। साथै, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थको निमयन ऐन–२०७९’ले तेजाब खरिद बिक्रीमा गरेको कडाइले पनि आक्रमणको घटना न्यूनीकरण भएको उनी बताउँछन्।  

न्याय प्रशासन ऐन २०७३ को दफा २८ (क) को उपदफा (२) मा तेजाब प्रयोग गरी ज्यान मारेको वा अंगभंग गरेको वा शारीरिक क्षति पुर्‍याएको मुद्दा भए जहिल्यैसुकै दर्ता भएको भए तापनि पहिलो प्राथमिकता दिनुपर्ने भनी संशोधन गरिएको छ। त्यसबाट तेजाब आक्रमण पीडितका मुद्दाले अग्राधिकार पाएको अधिवक्ता अर्यालले बताए। 

त्यस्तै, मुलुकी फौजदारीसंहितको दफा १२६ (क), दफा १९२ (क) मा तेजाब प्रयोग गरी अंगभंग गर्न नुहने र गरेमा आक्रमणको प्रकृतिअनुसार सजाय हुने व्यवस्था छ। 

संहिताको १९२ क (२) उपदफा (१) मा तेजाब आक्रमणको परिणामस्वरूप कसैको दुवै आँखा जली वा क्षति भई पूर्णरूपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पूर्णरूपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरूपमा जली वा क्षति भई कुरूप भएमा महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ जली वा क्षति भई नासिएमा त्यस्ता कसुर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र दश लाख रुपैयाँ जरिवाना हुने प्रावधान छ।

सोही दफाको (३) उपदफा (२), (४) उपदफा (२), (५) उपदफा (१) र (६) उप दफा (१) अन्तर्गत पनि यस ऐनले विभिन्न खालका सजाय तोकेको छ। 

“२०७९ आएको ऐनले तेजाब आक्रमणलाई फौजदारी कसुरमा पनि महिलामाथि हुने करणी, बेचबिखनसँगै निकृष्ट र घृणित अपराधको रूपमा चिनेको छ,” अर्याल भन्छन्, “कानूनमा स्पष्ट नलेखिए पनि महिलाकै निम्ति यो ऐन बनेको भन्न सकिन्छ।” 

‘संघर्ष जारी छ’
तेजाब आक्रमणपछिका चार वर्षमा पटक–पटक उपचारको लागि धाइरहेकी मुस्कान उपचारखर्च अर्को बोझ भएको बताउँछिन्। “डाक्टरले उपचारको लागि १०–२० वर्ष लाग्छ भन्नुहुन्छ। त्यहीअनुसार खर्च पनि,” उनी भन्छिन्, “ऐनमा स्वास्थ उपचार सेवाको विषयमा हामीले दबाब दिएर व्यवस्था मिलाएका थियौँ, तर कार्यान्वयन हुन सकेको छैन।”

पीडितमाथि हुने आक्रमणको कानूनी कारबाहीसँगै पीडितलाई स्वास्थ्य सेवामा आवश्यक पर्ने उपचारको विषय पनि सम्बोधन हुनुपर्ने उनको तर्क छ। सरकारबाट ढिला गरी आउने उपचार खर्चलाई आफ्नो शरीरको दागले पर्खन नसक्ने उनी बताउँछिन्। “बेलामा उपचार नभएमा हाम्रो छाला खुम्चिन्छ, बिग्रिन्छ। यसमा विशेष व्यवस्था कसरी होला?” मुस्कानले प्रश्न गरिन्।

कानून कार्यान्वयनमा सरकारको उपस्थिति फितलो हुँदा अन्य कानूनी पक्षमा पनि जटिलता थपिएको बताउने उनी भन्छिन्, “कानून आएसँगै तेजाब आक्रमणमा कमी आए पनि पीडितको जीवनमा पीडा कम भएको छैन।” 

यसमा रामराजा थापा पनि एकमत छन्। उनको आँखाको उपचार अझै बाँकी छ। “काठमाडौँजस्तो ठाउँमा अहिले हातमुख जोड्नै गाह्रो परिरहेको छ, उपचारको कुरा त निकै पर भयो”, उनी भन्छन्, “२०–२५ हजारको तलब छोराको पढाइ र रासनपानीमै खर्च हुन्छ।” 

असुविधा, पटक–पटक उपचारका लागि लाग्ने खर्च र बस्नुपर्ने बिदा लगायतका अनेकौँ समस्यासँग जुध्नु अहिले उनको दैनिकी भएको छ। उपचार खर्चमा सरकारको प्रशासनिक ढिलासुस्तीले पीडितमाथि थप अन्याय भएको उनी बताउँछिन्।

तेजाब पीडितको संख्या धेरै नहुँदा छोटो र छिटो विधिबाट उपचार सेवा तथा खर्च व्यवस्थापन सरकारको लागि जटिल नहुने पीडतहरू बताउँछन्। यस्तोमा कानूनी संरक्षण र सुविधाको प्रत्याभूति भए दैनिक जीविका र उपचारमा खर्च मात्र भए पनि केही हदसम्म बोझको भार कम हुने उनीहरू बताउँछन्।


सम्बन्धित सामग्री