Friday, December 13, 2024

-->

‘कारागारका अवैध गतिविधिमा जेल प्रशासनदेखि प्रहरी अफिसरसम्मको संलग्नता हुन्छ’

‘ठूल्दाइ र भाइनाइके भनिएकाहरूको संरचना हेरफेर गर्ने हिसाबले एउटा अधिकारसम्पन्न आयोग बन्नुपर्छ। अनि सुधारको बाटोतिर कारागार जान्छ।’

‘कारागारका अवैध गतिविधिमा जेल प्रशासनदेखि प्रहरी अफिसरसम्मको संलग्नता हुन्छ’ 

काठमाडौँ– बन्दी जीवन बिताइरहँदा कारागारमा नाइके र चौकीदारको भूमिकामा रहनेहरूले चलाएका बेथितिबारे जानकार छन् नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल। तर सुधारमा सरकारी संयन्त्रले चासो नदेखाउँदा उनीहरूकै हालीमुहाली भइरहेको र कारागारभित्रको समस्या ज्युँका त्युँ रहेको उनको निष्कर्ष छ। यससम्बन्धी विभिन्न अध्ययन अनुसन्धानको नेतृत्वसमेत  गरेका ढकालसँग उकालोकर्मी लोकेन्द्र विश्वकर्माले कारागार र आन्तरिक प्रशासनबारे गरेको कुराकानीः

कारागारलाई सुधारगृह मानिन्छ, यहाँको नजरमा के हो?
कारागार निश्चय पनि सुधारगृह नै हो। सुधारगृहका मापदण्डहरू मुलुकका आफ्ना परिस्थितिअनुसार संसारभर फरक–फरक छन्। तपाईंहामीले विकसित भनेर बुझ्ने मुलुकहरूको आधारभूत संरचना, सुविधा र हाम्रो जीवनशैलीमा फरक छ। त्यसैले उनीहरूसँग हामीलाई तुलना गर्न मिल्दैन। तर पनि कानूनले दिएको सजायको समयभित्र कारागारमा स्वरोजगारीका सीपहरू सिकेर कैद भुक्तानीपछि निस्किँदा सामान्य नागरिकका रूपमा समाजमा रहनबस्न सकून् भन्ने मनसायले अपराध गर्ने कसैलाई कारागार पठाइने हो। तर यो कुरा नीतिगत हो, व्यवहारमा त यस्तो देखिएको छैन।

त्यस्तो किन भएको?  
त्यसका दुई पाटा छन्। पहिलो, हाम्रा भौतिक संरचनाहरू नै त्यो स्तरसम्म पुगेका छैनन्। अर्को, हाम्रा कारागारहरू अति खचाखच छन्। हाम्रो संरचनाले जति मानिसहरूलाई सहज रूपमा, स्वस्थकर वातावरणमा राख्नुपर्ने हो, त्योभन्दा दोम्बर तेम्बर संख्यामा बस्नुपर्ने परिस्थिति छ। यसमा कैदीबन्दीको जीवन रूपान्तरणको सवाल पनि जोडिन्छ। एउटा व्यक्ति आपराधिक परिस्थितिबाट सामान्य परिस्थितिमा फर्कन बत्तीको स्विच थिचेजस्तो सजिलो त पक्कै हुँदैन, समय लाग्छ। यस्ता थुप्रै प्रयासहरू जति हुनुपर्ने थियो त्यो मात्रामा भएको छैन। 

कारागारको आन्तरिक प्रशासनबारे के कति जानकार हुनुहुन्छ? 
कानूनले कारागारभित्र आन्तरिक प्रशासनको व्यवस्था गरेको छ, जुन बाह्य प्रशासनको मातहतमा रहनुपर्छ र कारागार प्रशासनको घेरामा हुन्छ। आन्तरिक प्रशासनका दाइ नाइके र भाइ नाइकेहरूले मनोमानी कारागार चलाइरहँदा कारागारको प्रशासनिक र सुरक्षा पंक्तिमाथि पनि प्रश्न उठ्छ। यसमा मुख्य कुरा, त्यहाँ हामी पर्याप्त जनशक्ति पठाउँछौँ कि पठाउँदैनौ, त्यो कति जिम्मेवार छ, कैदीबन्दीहरू र राष्ट्रिय सुरक्षाको हितमा हुन्छन् कि हुँदैनन् भन्ने कुरा हुन्छ।

प्रहरीमा पनि जो त्यहाँका नेक्ससमा हुन्छन् तिनीहरूबाहेक कारागार सुरक्षाको ड्युटीमा भरसक जानु नपरे हुन्थ्यो भन्ने हुन्छ। जेल प्रशासन त सधैँ सम्बन्धित दर्जाभन्दा कि कम दर्जाको मान्छेहरू पठाउने अथवा कारागार गयो भने अर्को ठाउँमा जान तयारी गरिहाल्ने, अस्थायी किसिमको पोस्टिङ हुने परिस्थिति छ। अब्बल मानिने मानिसहरू नपठाएर अरू ठाउँतिर खप्न नसकेकाहरूलाई त्यहाँ पठाइन्छ। 

यसरी कारागार सुरक्षामा पठाइने जनशक्तिमै सम्झौता हुन्छ। मैले आफ्नो अनुभव र जानकारीबाट त्यही नै पाएको छु। दोस्रो कुरा, पहिलादेखि जुन दाइनाइके, भाइनाइकेहरूको संरचना कारागारभित्र बनाइयो, त्यो संरचना हामीले हालसम्म पनि तोड्न सकिरहेका छैनौँ। अहिले त्यही संरचनाको धेरै दुरूपयोग भइरहेको देखिन्छ।

आन्तरिक संरचना एक मिसिमले कारागार प्रशासनलाई सघाउने, त्यहाँका कैदीबन्दीहरूलाई सुविधा दिलाउने, प्रशासन र कैदीबन्दी बीचको पुलका रूपमा काम गर्न, प्रशासनिक रूपमा अरू सरसहयोग गर्ने हिसाबले बनाउनुपर्ने हो। तर त्यहाँ उल्टो भइरहेको छ। ती ठूल्दाइ (चौकीदार) भनिएका र भाइ नाइके भनिएकाहरूले कैदीबन्दीहरूमाथि दमन, शोषण गर्ने र सुधारगृहलाई व्यापारको माध्यम बनाउने गतिविधिहरू बढी भए। किनमेल गर्न बाहिर जान दिइने छुटको उनीहरूले दुरूपयोग गरिरहेका हुन्छन्। यस्ता कुराको गुनासो हामीकहाँ पनि धेरै आउने गर्थ्यो।

सुधारका लागि काम नभएको होइन। सुरक्षा निकायबाट पनि केही भएका हुन्। यतिले मात्रै पुग्दैन। ठूल्दाइ र भाइनाइके भनिएकाहरूको संरचना हेरफेर गर्ने हिसाबले एउटा अधिकारसम्पन्न आयोग बन्नुपर्छ। अनि सुधारको बाटोतिर कारागार जान्छ जस्तो मलाई लाग्छ। 

कारागारका बन्दीहरू बाहिर निस्किनुअघि सुधारका पक्षमा तयार होऊन् र उनीहरूको विचार नै सुधारिएको होस् भन्ने विश्वव्यापी मान्यता हो। त्यसका लागि एउटा अधिकारसम्पन्न आयोग गठन गरेर कारागाराको आन्तरिक प्रशासनभित्र अहिले भइरहेको के हो, गर्ने के हो? यी कुरालाई उठाउनुपर्छ। सुधारका सुझावहरू तयार गर्ने र त्यसलाई कार्यान्वयनको तहमा पुर्‍याउनुपर्छ। त्यसमा आर्थिक पाटो पनि छ। 

धेरै कारागारमा अहिले पुराना भवनहरू छन्। त्यसलाई हेर्नुपर्छ। हामी कारागारमा मानिस पठाइरहेका छौँ। उनीहरू त्यहाँ परिस्कृत भएर बाहिर निस्किनुपर्नेमा सुधारिएर निस्किन सक्षम छन् कि छैनन्? सुधार पर्याप्त छ कि छैन? त्यहाँ गरिएका प्रयासहरू नीतिअनुरूप छन् कि छैनन्? त्यसलाई राम्रोसँग हेरेर, आएका सुझवलाई राम्रोसँग ग्रहण गर्ने हो भने निश्चय पनि हामीले सुधार देख्न सक्छौँ। यसको विकल्प पनि छैन। तर अहिले हामी त्यो ठाउँमा पुगेका छैनौँ।

नपुग्नुको कारण के होला?
संसारभर हेर्ने हो भने पनि यस्तो देखिन्छ। तत्कालको सुधार परिस्थितिले मात्रै हुँदैन। कैदीबन्दीहरू बाहिर गइसकेपछि तिनमा रूपान्तरण कति हुन्छ? त्यसतर्फ कत्तिको नजर लगाइन्छ? उनीहरूलाई समाजले स्वीकार गरिरहेको छ कि छैन? कति त समाजले स्वीकार नगरेकै कारण झन् खराब बाटोमा लाग्छन्। त्यसैले कैदीबन्दीले सजाय काटेर समाजमा निस्केपछि उनीहरूको अनुगमन गर्नुपर्छ। तर त्यस्तो काम गर्ने संयन्त्र हाम्रोमा छैन। सामान्यतया समाज र प्रहरी दुवैमा यो सजाय पाएको मानिस हो, यसलाई निगरानी गर्नुपर्छ भन्ने मात्र मान्यता छ। त्यसलाई सुधारको दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने कुरा छैन।

कारागारमै रहँदा पनि थुप्रै मानिसहरू परिस्थितिजन्य अपराधमा पर्छन्। मानसिक हिसाबले समस्यामा रहेका उनीहरूलाई मनोपरामर्श दिएर सामान्य जीवनमा फर्काउन र अन्य मानिसजस्तो बनाउन कुनै प्रयास भएको छैन। कतिपय त समय र परिस्थितिको कारणले भित्र गएका हुन्छन्। तर त्यहाँ गइसकेपछि अपराधको नेक्ससमा पर्ने र बाहिर निस्किएपछि त्योभन्दा ठूलो आपराधिक घेरामा परेर ठूलो अपराध गर्न थाल्नेहरू पनि धेरै छन्।

कारागारभित्र गइसकेको व्यक्तिले पाउनुपर्ने मानसिक सहयोग, बौद्धिक सहयोग र परामर्श सेवा पाएको छ या छैन र पाएको छ भने त्यसले कत्तिको काम गरिरहेको छ? हामीकहाँ यस्ता कुरालाई गतिलोसँग अनुगमन गर्ने र त्यसको प्रभावकारिता बढाउने कामहरू कम भएको छ। त्यसले गर्दा पनि कारागारभित्रै अपराध हुने क्रम बढेको देखिन्छ।

कतिपय विभिन्न परिस्थितिजन्य कारणले कारागार पुग्छन्। त्यहाँ गएपछि अपराध गर्नेहरूको एउटा नयाँ ग्याङ बन्छ। पाँचतिरको पाँच जना मिलेर बाहिर निस्केपछि नयाँ ग्याङ तयार गरेका हुन्छन्। त्यसपछि उनीहरू पहिलाभन्दा अलि माथिल्लो तहको अपराध गर्न तयार हुन्छन्। सुधारको लक्ष्यलाई ध्यानमा राख्ने हो भने कारागार सुधारगृह बन्छ, तर बिग्रियो भने अपराधको अर्को प्रयोगशाला बन्छ।

चौकीदार र नाइकेहरूले कैदीबन्दीलाई यातना दिने र कारागारलाई असुली केन्द्र बनाइरहने गर्दा पनि किन नियमन नभएको होला? 
भित्र काम गरिरहेकाहरूको आफ्नै किसिमको मूल्यांकन होला। हामीले सुरक्षा निकायमा गरेको लामो अनुभवको आँखाले हेर्दा धेरै कुराहरू देखिन्छन्। पहिलो त सरकारी निकायमा जनशक्तिको कमी छ। कारागारलाई व्यवस्थित गर्न आन्तरिक प्रशासनलाई जनशक्ति र पूर्वाधार दुवै हिसाबले बलियो बनाउनुपर्छ। हाम्रोमा त्यसको कमी देख्छु।

यो पनि: नाइके–चौकीदारले कमाउने अखडा बनिरहेका ठूला कारागार

कारागारहरूमा धेरै संख्यामा कैदीबन्दीहरू छन्। त्यसकारण त्यहाँ खटिनेहरू उदार बन्न गाह्रो पनि हुन्छ। उनीहरू टप भएपछि उनीहरूलाई सहयोग गर्नेहरू पनि टपर हुन्छन्। भित्रका मानिसहरूलाई आन्तरिक प्रशासनले अलिकति डरमा पनि राखेको हुन्छ। त्यसकारण पनि नाइके र भाइनाइकेहरूले डरलाई एउटा माध्यम बनाएको हुनसक्छ। तर सबै मानिसलाई एउटै व्यवहार गर्नुपर्छ भन्ने हुँदैन। त्यहाँ विभिन्न प्रकारका मानिसहरू हुन्छन्। त्यसलाई ध्यानमा राख्नुपर्‍यो।

नाइके र चौकीदार भएपछि कमाइन्छ भन्ने मानसिकतालाई तोड्नुपर्‍यो। कैदीबन्दीहरूका रूपमा आएका मान्छेहरूलाई व्यवस्थापन गर्न र नियन्त्रणमा राख्न सजिलो छैन। त्यसले गर्दा पनि कारागार प्रशासन उनीहरूमाथि नै भर पर्नुपर्ने स्थिति छ। यसमा परिवर्तन आउने सम्भावना म खासै देख्दिनँ। अनुगमन र पहिलाभन्दा केही सुधार भइरहेको छ। तर दुर्भाग्य, त्यो कुरा चाहिँ मान्छेअनुसार भर पर्छ। 

कसरी त्यस्तो भएको?   
कारागारमा जेलर अथवा सुरक्षाप्रमुख राम्रो व्यक्ति गयो र सुधारमा क्रियाशील भयो भने केही आशालाग्दा लक्षणहरू देखिन्छन्। उसले कैदीबन्दीहरूको मनोभाव बुझ्ने गर्छ। विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मानसिकरूपमा होस् या भौतिकरूपमा सकारात्मक वातावरण सिर्जना गर्छ। नीति र कानूनको पालन गरेर कारागारभित्र राम्रो काम गरेका प्रहरी अफिसर र जेलरहरू पनि होलान्। तिनीहरूको मूल्यांकन प्रशासन सम्हाल्ने व्यक्तिको स्वभावमा भर पर्छ।

प्रणाली राम्रो भयो भने जो सुरक्षा प्रमुख र जो जेलर आए पनि तलमाथि हुँदैन। तर त्यस्तो पद्धति नै भएन। त्यसकारण अहिले हामीसँग भएको जनशक्ति, कारागारभित्र सुरक्षा निकायहरूको अवस्था र उनीहरूको मानसिकता बुझ्दा अहिले नै ठूलो परिर्वतन आइहाल्ने र नाइके चौकीदारहरूको शासन कमजोर भइहाल्ने जस्तो मलाई लाग्दैन।

नाइके चौकीदारहरूको ‘नेक्सस’ कुन तहसम्म हुन्छ?
देखिँदा उनीहरू नाइके–चौकीदार होलान्। तर उनीहरूको नेक्सस भनेको ठूला पार्टीका शीर्ष नेताहरूसँग हुन्छ, गुण्डा नाइकेहरूसँग हुन्छ, ठूला अपराधका गिरोहहरूसँग हुन्छ। त्यस्ता उदाहरण कति छन्, छन्। कारागारभित्रै योजना बनाएर बाहिर मानिस अपहरण गरेका केसहरू पनि छन्। लुटपाट गरिरहेका केसहरू पनि छन्। यस्तो हुनु मूलुकको दुर्भाग्य हो। 

बाहिर समाजमा जस्तो खालको वातावरण छ, कारागारभित्र पनि त्यस्तै हुन्छ। बाहिर जसरी हामी राजनीतिमा विचलन देखिरहेका छौँ, ठूला–ठूला भ्रष्टाचारका काण्डहरूमा नेता, मन्त्री, प्रधानमन्त्रीहरू नै भइसकेकाहरू जोडिएका हुन्छन्, भित्र पनि त्यस्तै छ। त्यसकारण कारागारभित्र पनि बाहिरकै विचलनले प्रतिनिधित्व गरेको हो। त्यो कुनै अलग्गै त होइन। कारागार त बाहिरभन्दा पनि खराब भएर पुगेको संसार हो। जनतामा बाहिर कति निराशा छ? जनताले तिरेको कर नेताहरूले कसरी दुरूपयोग गरिरहेका छन्? भित्र पनि त्योभन्दा फरक छैन। 

अझ कारागारहरू त सेक्युरीटी एजेन्सी र आपराधिक दुनियाँ दुवैका लागि खानी बनेका छन्। त्यहाँबाट नाइके–चौकीदारहरूले जे निकाल्छन् त्यसलाई भयंकर मूल्यवान बनाइरहेका हुन्छन्। चौकीदार र नाइकेहरू त्यस्ता शक्तिशाली हुन्छन्। एउटा अपराध गरेर भित्र गएपछि झन् ठूला अरू अपराध गर्न सफल भइरहेका नाइके र चौकीदारहरूलाई हामीले कम सोच्नुहुँदैन। उनीहरूमा सामान्य मानिसमा भन्दा माथिल्लो तहको ज्ञानसीप हुन्छ। ती मानिसहरू अपराधमा अब्बल हुन्छन्। उनीहरू यति शक्तिशाली हुन्छन् कि त्यहाँ राम्रो अफिसर पठाउने हो भने शीर्ष नेताहरूकै फोन आउन थाल्छ। 

ती मान्छेहरूको शक्तिसँगको सम्पर्क जुन खालको छ, त्यो जस्तो दुर्भाग्य अरू छैन। उनीहरू तिनकै शक्तिको आडमा नाइके र चौकीदार बन्छन् अनि संरचना र शक्तिको दुरूपयोग गरिरहेका हुन्छन्। यो कुरालाई एकाध व्यक्तिले चाहेर रोकिनेवाला पनि छैन। जबसम्म समग्र राजनीतिक परिस्थितिमा बाहिर आशा देखिँदैन, तबसम्म कारागारको आन्तरिक प्रशासन र बाह्य प्रशासनको सुधार देख्न सकिँदैन। 

सुधारको प्रयास गर्ने प्रशासनिक या सुरक्षा अधिकारी कोही पनि कारागारमा एक वर्षभन्दा बढी बस्न चाहँदैनन्। अब परी त हालियो, एक वर्ष पुर्‍याएर हिँडिहाल्नुपर्छ भन्ने अफिसरहरू धेरै पाएँ। कि त कारागारभित्र नाइके र चौकीदारहरूले गरिरहेको असुली, कैदीबन्दीमाथिको ज्यादती र कानूनको दुरूपयोगलाई रुचाउने अफिसर हुनुपर्‍यो। उनीहरूको अत्याचारलाई अनदेखा गर्नुपर्‍यो।

त्यसो गर्न रुचाउने कारागार प्रशासनका अधिकारीहरू मात्र हुन्छन् कि सुरक्षा अफिसरहरू पनि हुन्छन्? 
दुवै हुन्छन्। दुवै निकायको आ–आफ्नै भूमिका छ। नाइके चौकीदारहरूसँग मिलेर उनीहरूका गलत प्रवृत्तिलाई अनदेखा गर्ने सीप जान्नेको लागि फेरि कारागार गज्जबको ठाउँ हो। कैदीबन्दीहरूको समस्यामा आँखा नपार्ने, कर्नरमा हुने पनि गर्छन्। त्यस्ता कारागार प्रशासक र सुरक्षा अफिसरहरू कारबाहीमा पनि परेका छन्। 

यो पनि: ‘कारागारहरू असुली अखडा भएका छन्’

कारागारभित्रको वातावरणलाई रुचाएर त्यहीँको ड्युटीमा जान पाऊँ भन्नेहरू पनि एकथरी थिए, छन्। सुरक्षाकर्मी र प्रशासक सबैका आँखाले यो देखेका छन्। कतिपय अवस्थामा नाइके र चौकीदारहरूसँग मिलेमतो गरेपछि कारबाही गर्नुको विकल्प देखिँदैन।

तपाईंको नजरमा यस्ता समस्याको दिगो समाधान के हो? 
कारागार र सुरक्षालाई अलग–अलग राखेर हेरिएको छ। कारागार भनेको एकदमै महत्वपूर्ण र संवेदनशील ठाउँ हो। त्यहाँ सूचनाका हिसाबले, बाहिरको अपराध नियन्त्रणका हिसाबले, आर्थिक अपराधदेखिका कुराहरू हुन्छन्। मुलुकको समग्र सुरक्षा, जनताको सुरक्षासँग सम्बन्धित सूचना त्यहाँ हुन्छ।

त्यो सबै हेर्ने हो भने मुलुकको नीतिलाई नै हेर्ने हिसाब त्यहाँबाट आउन सक्छ। तर हामीले त्यसलाई सधैँ उपेक्षा गरिरहेका छौँ। सधैँ नाइके–चौकीदारहरूकै हालिमुहालीमा छोडेका छौँ। कारागारलाई दिनुपर्ने महत्व सरकार सञ्चालकहरूले दिएनन्। त्यहाँ खाली सजायका लागि मान्छेहरू पठाइदिने, भित्रको सुरक्षा भौतिक रूपमा मिलाउने बाहेक केही भएन। त्यहाँबाट मान्छेहरू सुध्रिएर निस्किनुपर्छ। यो पक्षलाई महत्वका साथ हेरिनुपर्छ। 

भित्र एउटा अलग्गै शासन चल्छ, नाइके र भाइनाइकेहरूको। उनीहरूकै मिलेमतोमा कारागार बसेर नेपालदेखि इन्डियासम्म धम्क्याएर पैसा उठाउने मान्छेहरू छन्। उनीहरूको नराम्रो पाटो अपराध हो, तर राम्रो पाटो हाम्रो सिस्टम सुधार गर्नु हो। उनीहरूलाई राम्रोसँग अनुगमन गरेर कानूनमा ल्याउने हो भने सुधार नै हुँदैन भन्न पनि सकिँदैन। त्यस्ता कुराहरू राज्यको प्राथमिकताबाट छुटिरहेका छन्। 

प्राथमिकतामा पार्नलाई के गर्नुपर्ला? 
मुलुकका कतिपय अत्यावश्यक कुराहरू प्राथमिकतामा परिरहेका छैनन्। यसलाई मात्रै के भन्नु र! राज्यले चासो राख्ने हो भने नाइके–चौकीदारहरूको क्रियाकलाप, मानव अधिकारका कुरा र संरचनागत कुराहरू छन्। भौतिक संरचना नै चाहिँदैन। सुरक्षाका लागि सीसीटीभी जडान गर्नुपर्ने आवश्यकता पनि छ। भौतिक सुरक्षा र समग्र सुरक्षाका विषयहरू सम्बोधन हुनुपर्छ। सबैभन्दा पहिला त गहिरोसँग अनुसन्धान गर्नुपर्‍यो। त्यसलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्‍यो। 

यसलाई एउटै समस्या भनेर बुझ्नु गलत हुन्छ। यो समग्र समस्या पनि हो। जस्तो बाहिर समग्र रूपमा जे जस्ता समस्याहरू आइरहेका छन्, भित्र पनि त्यस्तै छ। यो कुरालाई सुधार गर्न गाह्रो पनि छैन। बलियोसँग अनुसन्धान गरेर यसको नतिजा निकाल्ने हो भने सुधार सम्भव छ। त्यसका लागि पनि सरकार प्रतिवद्ध हुनुपर्‍यो। नीति निर्माण गर्नेदेखि लिएर तल्लो तहसम्म कार्यान्वयनका लागि पुग्नुपर्‍यो।

हामीले अपराधी बनाउने होइन अपराधलाई नै निमिट्यान्न पार्नतर्फ लाग्नुपर्‍यो। हामी त कसैलाई ‘फिजिकल्ली’ अपराधी बनाइदिएपछि अपराध हुँदैन भन्ने ठानिरहेका छौँ जस्तो लाग्छ। अपराधको कारक जे हो त्यसलाई मार्नुपर्नेमा हामी मान्छेलाई नै अपराधी बनाएर थुनेपछि समस्या सकियो भन्ने मनस्थितिमा छौँ। यसलाई सुधार गर्न समय लाग्छ। जिम्मेवार निकायहरूले आफ्ना प्रयासको गति बढाए भने नियन्त्रण गर्न सकिन्छ। तर यही अवस्थामा छोड्ने हो भने त समस्या झन् बढ्ने देख्छु।

विराटनगर कारागारमा अभिषेक गिरीलाई कैदीबन्दीले प्रवेश गर्न नदिएको घटना होस् या त्यस्ता अन्य घटना होऊन्, ती भइरहन्छन्। जो गुण्डागर्दी गर्न सक्षम छन् उनीहरू नै नाइके–चौकीदार हुने, आफ्ना मान्छेलाई नाइके–चौकीदार बनाएर कैदीबन्दीहरूमाथि अन्याय गर्ने काम भइरहन्छ। 

एक त सानातिना अपराधमा कारागार बस्ने कैदीबन्दीहरूको मानसिकता यसै पनि कमजोर हुन्छ। तिनका लागि ठूला खालका गुण्डाहरू, ठूला अपराधीहरू कि त ठूला हिरो हुन् कि त ठूला भिलेन हुन्। त्यसकारण यी दुवैसँग कैदीबन्दीहरू डराउनु स्वाभाविक हो। त्यसमाथि प्रायः कारागारहरू गुण्डाहरूकै वरिपरि छन्। त्यो परिस्थिति नहोस् भन्नका लागि प्रशासन सुरक्षाको आफ्नो भूमिका छ। तर हाम्रो संरचनाको कुरामा पनि धेरै फरक पर्छ। यस्ता कुरामा हामी जति अगाडि बढ्छौँ, जति आधुनिकतामा जान्छौँ उति नै समस्या कम हुँदै जान्छ। 

यसमा आफ्नो देशको संरचनाले पनि धेरै फरक पर्दो रहेछ। केही महिनाअघि डेनमार्कको कारागारमा बस्ने मानिसहरू नै नभएपछि बन्द गर्नुपर्‍यो भन्ने समाचार आयो। डेनमार्कको कानूनमा कारागारबाट कोही भाग्यो भने त्यो अपराध होइन। किनकि त्यहाँ मान्छे नै छैनन्।


सम्बन्धित सामग्री