Saturday, April 27, 2024

-->

रुस–युक्रेन युद्धभूमिमा कम्तीमा एक हजार नेपाली, राज्य भन्छ– ‘खोज्दैछौँ, हुँदैछ, गर्दैछौँ’

नेपाली सेनाकै एक वरिष्ठ अधिकृतले समेत रुसी सेनामा भर्तीबारे सूचना दिई एजेन्टको काम गरेर युद्धमैदानमा पठाएको पाइएको छ। धादिङ घर भएका तिनले सेनाका धेरै भूतपूर्व र बहालवाला जवानलाई पठाएको सूचना छ।

रुस–युक्रेन युद्धभूमिमा कम्तीमा एक हजार नेपाली राज्य भन्छ– ‘खोज्दैछौँ हुँदैछ गर्दैछौँ’  
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकार सम्मेलन राखेरै भनिरहेका छन्– रुसी सेनामा २०० जति नेपाली पुगेको सूचना छ।
  • परराष्ट्रमन्त्री एनपी साउद भन्छन्– रुसमा १४ नेपाली मारिएको सूचना छ, सबैको शव उतै छ।
  • परराष्ट्रको कन्सुलर विभाग भन्छ– रुसी सेनामा भर्ती भएकामध्ये १६० जतिको तर्फबाट उद्धारका लागि निवेदन परेको छ। त्यसमध्ये १० जनाको मात्रै उद्धार हुन सकेको छ।

  • काठमाडौँ– राज्यले सधैँ ‘सजिलो’ खोज्छ, यो हरेक राज्य–शासनको विशेषता हो। निकै अप्ठ्यारोमा परेपछि मात्रै विगतमा इराकदेखि लेबनान र लिबियादेखि अफगानिस्तान र इजरायलसम्म पुगेर आफ्ना नागरिकको जिउज्यान जोगाउने आँट राज्यले देखाएको थियो। 

    सरकारको सधैँको र सजिलो जवाफ हुन्छ– ‘श्रम स्वीकृति नलिई किन गएको? भिजिट भिसामा किन गएको? कसलाई सोधेर उता गएको?’ 

    अझ पछिल्ला महिनामा त रुस–युक्रेनको युद्धभूमिमा सयौँ नेपाली पुगेको, मारिएको र बेपत्ता भइरहेको खबर तारन्तार आइरहे पनि सरकारले भन्न थालेको छ– ‘मरिन्छ भन्ने थाहा हुँदाहुँदै किन गएको त? अब पर्ख र हेर।’

    २०७८ फागुनमा रुस–युक्रेन युद्ध शुरू भयो। त्यसलगत्तै झन्डै १२ सय नेपालीले युक्रेनी भूमि छाडेर हिँडेका थिए। युद्ध चलिरहँदा २०७९ साउनमै नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै रुसी सेनामा भर्ती नहुन आफ्ना नागरिकलाई आह्वान गर्‍यो। तर त्यसको चार महिनापछि रुसी सेनामा कार्यरत तीन नेपालीको निधन भएको खबर पहिलोपटक औपचारिक रूपमा आयो। यसरी मारिनेमा प्रितम कार्की (स्याङ्जा), रोजकुमार रोका (दोलखा) र गंगाराम मोक्तान (इलाम) थिए।

    यी सबै सूचना र यसपछिको स्थितिबारे जानकार रहेरै पनि राज्यले रुस जानका लागि श्रम स्वीकृति दिइरहेको जानकारी आयो। पछिल्लो डेढ वर्षमा ६०० भन्दा बढी र गत मंसिर महिनामा मात्रै ४० जना श्रम स्वीकृति लिएर रुस गएको खबर राज्यकै संयन्त्र वैदेशिक रोजगार विभागले दियो। यसरी श्रम स्वीकृति लिएरै जाने पनि छद्म बाटोबाट रुसी सेनामा पुगेको खबर फैलिएपछि मात्रै गत पुस १९ मा विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको सूचना सार्वजनिक गर्‍यो।


    यसरी सरकारले जहिल्यै पनि ‘ढुक्क हुने’ बाटो खोजिरहने गरेको देखिएको छ। श्रम स्वीकृति रोक्का गरिएपछि धेरै कठिनाइ र बाधाअड्चन सुल्झिएजस्तो देखियो। फेरि माघ ५ गते सरकारलाई थप ‘ढुक्क’ बनाउने गरी मस्कोस्थित नेपाली राजदूत मिलनराज तुलाधरको हस्ताक्षरमा परराष्ट्रले एउटा पत्र पायो जसमा ‘रुसी सेनामा मृत्यु भएकाको क्षतिपूर्ति सम्बन्धमा’ खुलाइएको थियो। 

    रुसी सेनामा गई मृत्यु हुनेका परिवारले रुसी राष्ट्रपतिद्वारा ५ मार्च २०२२ मा प्रमाणीकरण गरिएको कानूनअनुसार पाउने क्षतिपूर्ति रकम भुक्तानीका लागि उनीहरूका निकटतम आफन्त तथा तिनको बैंक खाताको विवरण उपलब्ध गराइदिन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले १७ जनवरी २०२४ मा पठाएको ‘नोट’को प्रत्युत्तरमा त्यो पत्र लेखिएको थियो।

    पत्रमा भनिएको थियो, “क्षतिपूर्तिको विषयमा रुसी पक्षसँग भएका संवादबाट रुसी सेनाको विद्यमान नियम–कानूनअनुसार प्राप्त हुने क्षतिपूर्ति रकम मृतकको निकटतम आफन्तको खातामा मात्र भुक्तानी दिने बुझिएको छ। हाम्रो जिकिर दूतावासको खातामार्फत पठाउने रहेको भए पनि यस बिषयमा सकारात्मक जवाफ आएको छैन। तर मृतकको आफन्त नै यहाँ आउनुपर्ने अवस्थामा सोको लागि चाहिने आवश्यक कागजात, भिसालगायतको कार्यका लागि काठमाडौँस्थित रुसी राजदूतावासको समन्वयमा आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन अनुरोध छ।”

    अहिलेसम्म रुसी सेनामा भर्ती भएका नेपालीको सास न आसको स्थिति रहेकै बेला मृत्यु ब्यहोर्नेका परिवारले पाउने क्षतिपूर्तिबाट मात्रै पनि सरकारले राहत महसुस गर्‍यो। परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलरका विभागका एक अधिकारी भन्छन्, “यो स्थितिमा झन्डै ५० लाख रुबल (७५ लाख नेपाली रुपैयाँ) खातामा आउने रहेछ।”

    तस्वीर सौजन्य: रुसी सेनाबाट उद्धारको पर्खाइमा रहेका नेपाली


    यद्यपि कुनै सम्झौता, सन्धि वा सहमतिबिनै नेपाली नागरिकलाई योद्धा बनाइएको रुस–युक्रेन युद्धमा अहिलेसम्म कति सहभागी भए, कति मरे, कति अंगभंग भए त्यसको तथ्यांक नै छैन। अहिलेसम्म मृतक भनिएका १४ जनाको पनि शव आएको छैन, न त कसैको क्षतिपूर्ति नै आएको छ। युगान्डाको राजधानी कम्पाला पुगेर परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेइ वर्सिनिनसँग भेट गर्न सकेका छन्। मन्त्रीले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन’ आग्रह गर्नसमेत पाएका छन्। अहिलेसम्मको सरकारी उपलब्धि यतिमै सीमित देखिएको छ। 

    त्यसबाहेक यो संकटको स्थितिमा काठमाडौँमा रहेका रुसी राजदूत र मस्कोमा रहेका नेपाली राजदूतले निर्वाह गर्दै आएको भूमिकाबारे न परराष्ट्रलाई थाहा छ, न त मन्त्री साउदलाई नै। राज्यको यस्तै निरीहता झल्किने केही नजिरहरू यहाँ प्रस्तुत छन्ः

    पाँचथर, फिदिमकी सानुकान्छी तुम्बापो माघ ९ गते दिउँसो त्रिपुरेश्वरको कन्सुलर सेवा विभागमा आइपुगिन्, साथमा नाबालक छोरा लिएर। श्रीमान् सुरेश तुम्बापो रुसी सेनामा भर्ती भएर रुसको युक्रेन अधिनस्थ युद्धमैदान (दोनेत्स्क)मा पुगेकाले जीवनरक्षाको अपिल गर्दै हारगुहार मागिएको निवेदन उनको हातमा थियो। 

    कन्सुलर विभागमा पीडित समन्वयको काम गरिरहेका कानून अधिकृत कृष्ण बस्यालले उनको कुरा सुनेपछि जवाफ फर्काए– “यस्तो आवेदन दिनेमा तपाईं १५१ नम्बरमा पर्नुभएको छ। यसरी निवेदन दिनेमध्ये १० जना फिर्ता भइसकेका छन्। निवेदन नहालेरै पनि ४५ जना फिर्ता भएका छन्। अरू कतिपय सम्पर्कमा छैनन् र केहीचाहिँ मस्कोको नेपाली दूतावासको सम्पर्कमा रहेर घर फिर्ने क्रममै छन्।” 

    आफ्नो भाइलाई लिएर आएकी सानुकान्छी कन्सुलर विभागमा श्रीमान‍्लाई फर्काउने उपायका बारेमा सोधखोज गर्दै। तस्वीर: देवेन्द्र


    कन्सुलरमा निवेदन बुझाउँदै गर्दा सानुकान्छीले आफ्ना श्रीमान् सुरेशसँगको दाम्पत्य तस्वीरसँगै विगतमा नेपाली सेनामा छँदाका फौजी फोटा देखाइन्। चार महिनाअघि रुस गएपछि स्थानीय नेपाली एजेन्टसँग उभिएको र पछि युद्धमैदानमा गोली–गठ्ठासहित तैनाथ भएका तस्वीरहरू पनि उनीसँग थिए। ‘श्रीमान् सुरेशसँग युद्धमैदानमा गएकाहरू केही दिनयता सम्पर्कविहीन रहेकाले आफ्ना श्रीमान‍‍्लाई जे जसरी भए पनि घरफिर्ती गराइपाऊँ’ भनेर उनी बिदा भइन्।

    नेपाली सेनाका अवकाशप्राप्त जवान सुरेशलाई सेनाकै एक वरिष्ठ अधिकृतले रुसी सेनामा भर्तीका बारेमा सूचना दिई एजेन्टको कामसमेत गरेर युद्धमैदानमा पुर्‍याएका थिए। धादिङ घर भएका ती सैन्य अधिकृतले सुरेशलाई जस्तै सेनाका धेरै अवकाशप्राप्त र बहालवाला जवानलाई रुस–युक्रेन पठाइसकेको पाइएको छ। न्यौपाने थरका अर्का एजेन्टले भने भारतको राजधानी नयाँ दिल्लीमा बसेर मस्को–सेटिङ मिलाउने गरेको पाइयो। गहतराज थरका अर्का एजेन्ट पनि यसमा जोडिएका देखिए। आफ्नो भाइलाई साथमा लिएर आएकी सानुकान्छी यस्ता अनेक सम्पर्कसूत्रको नाम–नम्बर टिपाएर कन्सुलर विभागबाट फर्किइन्।

    उनका श्रीमान् सुरेश रुस–युक्रेन सीमावर्ती रणमैदानबाट त्यही साँझ सम्पर्कमा आए। सुरेशसँगै युद्धमा जान तयार अवस्थामा थिए– साजन लोप्चन तामाङ (ललितपुर), सन्तोष केरुङ (पाँचथर), मदन कुमाल (गोर्खा), खिलबहादुर दाहाल (धादिङ), सञ्जय बुढामगर (दाङ), नवीन्दसिंह डोबाल र विशाल डोबाल (दार्चुला), सुकवीर लिम्बू (इलाम), उपेन्द्र राई (भोजपुर), राम खत्री र विनोद सुनुवार (ओखलढुंगा)। 

    यी सबैजसो जनही आठदेखि ११ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएर काठमाडौँ, दिल्ली, दुबई वा अन्यत्रको बाटोबाट चार महिनाअघि रुस उत्रिएका थिए। उनीहरूमध्येका सुरेश मात्रै भूतपूर्व सैनिक हुन्। सुकवीर, सञ्जय र उपेन्द्र सामान्य नागरिक हुन् भने बाँकी सबै बहालवाला सैनिक। तिनमा कोही हवल्दार, कोही अमल्दार र कोही लेसनायक थिए। 

    सन्तोष केरुङ र सुरेश तुम्बापो। 


    आफूलाई रुस पुर्‍याउने एजेन्टहरू काठमाडौँ, दिल्ली, दुबई र मस्कोसम्म रहेको सुनाइरहेका थिए उनीहरू। तर केहीले मात्रै एजेन्टको डिटेल खुलाउन चाहे। अरू मौन रहे, घरपरिवारको सुरक्षा खतरा सम्झेर।  

    “हो हजुर, हाम्रा प्रधानमन्त्रीले रुसी सेनामा २०० जति नेपाली रहेको भनेर बोलेको हामीले नि थाहा पायौँ,” मुस्किलले टिप्ने नेटवर्कमा सुरेश सुनाइरहेका थिए, “तर यो सत्य होइन। त्यति त यही दोनेत्स्क सिटी वरपर नै विभिन्न समूह र डफ्फा रहेका नेपाली नै छौँ। सबै ठाउँका युद्धमा गरेर हामी कति छौँ कति! यहाँ कति मरिसके भन्ने पनि हिसाब छैन।”

    रुसी सेनामा रहेका सुरेश र सेनाकै अरू बहालवालाहरूले बताएअनुसार नेपाली सेना वा प्रहरीकै बहालवालामध्ये ५०० जति त रुसी सेनामा भर्ती भइसकेका छन्। उनीहरू अहिले कुन हालतमा छन् त्यसबारे यकिन जानकारी कतै छैन। 

    यी विषयमा कुरा भइरहँदा सुरेशको लडाकु समूहमा कल्याङमल्याङ शुरू भयो। उनीसँगै त्यहाँ रहेका अधिकांश रुसी सैनिक नेपाली सेना र प्रहरीका भूपू वा बहालवाला फौजी रहेछन्। 

    युद्धस्थलमा खटिएका सुरेशको तस्वीर श्रीमती सानुकान्छीको मोबाइलमा। तस्वीर: देवेन्द्र


    ‘लु सर, रेडी हुने आदेश आयो। अब फिल्डमा लैजान्छ, फेरि भेट होला–नहोला। बाँचिएछ भने सकेसम्म हामी सबैलाई सकुशल घरफिर्ता गराउन दबाब बढाइदिनुहोला’ भन्दै उनले हतारिएर बिदा मागे। लगत्तै फोन काटियो। 

    ०००  

    परराष्ट्रको कन्सुलर शाखामा ‘आफन्तको उद्धार गरीपाऊँ’ भनेर निवेदन दिने गोर्खा, बोर्लाङकी कविता कुमालले भने फोनमै अलिक लामो कुरा गर्न चाहिन्। नेपाली सेनामा बहालवाला लेसनायक रहेका भतिज मदनलाई रुससम्म पुर्‍याउने गहतराज थरका एजेन्टबारे उनले जानकारी गराइन्।

    हाल युक्रेनी भूमि (रुस अधीनस्थ) मा रहेका मदन अघिल्लो आइतबार साँझ सम्पर्कमा आए। “म यता अक्टोबर ४ मा उत्रिएको हुँ सर, मेरो ग्रुपमा धेरैजसो नेपाली सेनाका बहालवाला साथी छन्, हामी तैनाथी अवस्थामा बसेका छौँ,” उनले सुनाए, “मर्ने–मारिने टुंगो नि छैन। आँखैसामु धेरै साथी गुमायौँ पनि। पाँच जना घाइते भएर यहाँ अस्पतालमा छन्। यता आउनु गलत भएछ, अहिले जीवनरक्षाका लागि गुहार माग्दैछौँ।”

    यति भनेर बचावटका लागि हारगुहार गर्ने नेपालीका तस्वीर उनैले पठाइदिए। के कता छापेर, बोलेर वा दबाब दिएर हुन्छ, नेपालीको जीवनरक्षा गरिदिनुपर्‍यो भनेर मदनले तारन्तार फोनमा सन्देश पठाइरहेका थिए। उनले दोहोर्‍याएर सुनाए, “हामीमध्ये म, खिल दाहाल, सुरेश तुम्बापो, सन्तोष केरुङ भने नेपाली सेनाका हौँ। अरू पनि निकै छन् सेना र प्रहरीका। चिनेकैमध्ये पनि थुप्रै त एक महिनायता सम्पर्कमै छैनन्।”

    रुसी सैनिक बन्नेको भीडमा केही भारतीय, चिनियाँ, किर्गिस्तानी, बेलारुसी युवासमेत रहेको देख्न पाइने भए पनि नेपाली प्लाटुन (डफ्फा) को संख्या बढ्दै गएको युद्धमा खटिने तयारीमा रहेका फौजीले फोनमा सुनाए। 

    रुसी सेनामा काम गर्न मदनले गरेको सम्झौता।

    मदनको परिवारसहितका आफन्तले उद्धार सहायताका लागि परराष्ट्रको कन्सुलर सेवा विभागमा निवेदन दिएकै दुई महिना हुन लागेको छ। रुसको मस्कोस्थित नेपाली दूतावासका अधिकारी फोन सम्पर्कमा आउनै मान्दैनन्। आइहाले पनि ‘पर्ख र हेर’को सनातनी जवाफ दिन्छन्। 

    “यसरी यता आउनु हाम्रो गल्ती नै हो, तर भुल भयो भन्दैमा हामीलाई राज्यले उद्धार नगर्ने? हाम्रो हारगुहार नसुन्ने?,” अलिक हक्की स्वभावका सुनिने सुरेश तुम्बापो भन्दै थिए, “हामी दिनरात नभनी सरकारको उद्धार पर्खी बसेका छौँ, खबर भनिदिनुपर्‍यो सर!”

    ०००  

    अनेक तरतिबका यी घटना विवरणहरू आइरहेका बेला पर्वतको भित्री गाउँका एक तन्नेरी काठमाडौँ, मनमैजुको ओरालोमा भेटिए। परराष्ट्र मन्त्रालयले गरेको उद्धार सूचीमार्फत फेला परेका उनी जनवरी दोस्रो साता मात्रै मस्कोबाट काठमाडौँ उत्रिएका रहेछन्।  

    देब्रे हातको जोर्नी र छातीमा लागेको ड्रोन–बमको छर्रा बोकेर उपचारका निम्ति भरथेग खोज्दै हिँडिरहेका यी युवाले आफ्नो नाम–ठेगाना खुलाउन चाहेनन्। अलिकति क्षतिपूर्ति वा बिमाको रकम फेब्रुअरी महिनाभित्रमा मस्कोबाट आउने आश्वासनका कारण पनि गुपचुप रहन चाहेको उनले बताए। रुसी सेनामा भर्ती भएर दुई महिनाजति युद्ध मैदानमा खटिँदा छर्रा खाएपछि ‘भगौडा’ बनेर नेपाल आइपुगेका यिनले आफ्नो कथा भने लुकाएनन्।  

    तीन महिनाअघि रुस–युक्रेन सीमावर्ती ‘सि अफ अजोभ’मा पुगेर युद्धरत रहेका बेला यी तन्नेरीका साथमा एक जना रुसी कमान्डरसहित अरू २६ नेपाली लडाकु थिए। आज तीमध्ये को कहाँ छन् वा छैनन्, पत्तो छैन। उनी भने जिउमा बमका छर्रा र घाउका दाग लिएरै भए पनि घर आइपुगेकोमा खुशी छन्।   


     

    रुसी सेनामा किन र कसरी पुगियो भन्ने जिज्ञासामा फिदिमका सुरेश तुम्बापोझैँ पर्वतका यी पात्र पनि उस्तै सनातनी जवाफ दिन्छन्– घरपरिवार, बाध्यता, ऋणभार आदि। त्यसमाथि भुसको आगोझैँ सल्केको सूचना ‘रुसी सेनामा भर्ती भयो भने चाँडै धन कमाइने र चाहेमा रुसी नागरिकता पाइने’ सम्मका खबरले पनि धेरैलाई लोभ्याएको देखिन्छ। 

    पर्वतका यी युवाले रुसी सेनामा भर्ती हुन आफूले सात लाख रुपैयाँ खर्च गरेको बताए। एजेन्टले मासिक एक लाख ९५ हजार रुबल तलब र अरू भत्ता पाइने प्रलोभन देखाएका थिए। त्यही गुप्त आडभरोसा र लहैलहैले उकासेको आत्मबलकै भरमा हुँदाखाँदाको जागिर (हाइड्रो सेक्युरिटी–गार्ड) छाडेर दलालले मागेजति रकम बुझाएर गएको दशैँको छेकोमै उनी रुस पुगेका थिए। पर्वतकै कृष्णबहादुर क्षेत्रीसहितको डफ्फा बाटैमा भेटिँदा आड महसुस गरेका उनको मस्को उत्रनासाथैको दैनिकी भने नसोचेको हुन पुग्यो– तावाबाट भुंग्रोमा खसेजस्तै।    

    कहिल्यै बन्दुक नछोएका कच्चा युवकलाई दुई दिनको हातहतियार तालिम दिलाएपछि रुसी कमान्डरले भनेका थिए, “युद्ध मैदानबाट तिमी बाँचेर आयौ भने मेरो साथी हुन्छौ, नत्र थाहा छैन।” 

    कतिसम्म भने रुसी सेनाबाट लडेपछि आउने पैसा सिधै परिवारलाई पठाइने भनेर गाउँमा श्रीमती वा बाआमाको पनि पासपोर्ट र बैंक खाता तम्तयार पार्न लगाइयो, मरे पनि वा बाँचे पनि राम्रै पैसा आउँछ भनेर। तर जिउज्यानको तुलनामा पैसा केही रहेनछ भन्ने पाठसँगै आफ्नो सास मात्रै लिएर यी पर्वते तन्नेरी अहिले घर आइपुगेका छन्। उनले पर्वतको गाउँदेखि काठमाडौँ र दुबईदेखि मस्कोसम्म दलालै दलालको गोलो देखे।

    मस्को उत्रिएकै दिन रुसी आर्मीका एक कमान्डरसहित २७ जनाको टोलीमा मिसाएर उनलाई युक्रेनी जंगलको सेल्टर (बंकर) मा लगिएको थियो। गइरहेको के कता हो, ठाउँ थाहा थिएन, युक्रेन–युक्रेन भन्थे। जंगलको बाटो तीन दिन तीन रात हिँडाएपछि सुनसान ठाउँको एउटा घरमा लगियो जुन युक्रेनीको खाली गरिएको घर थियो। त्यहाँ बालबच्चाका खेलौनासँगै टुक्रिएका तस्वीरहरू थिए। त्यसबेला गाउँका ससाना छोरा र परिवारलाई खुबै सम्झेको यी तन्नेरीले बताए। 

    त्यही घरमा बस्दै गर्दा चार जना नेपाली सैनिकको टोली फिर्ता भएर आयो जो युद्धमैदानबाट बाँचेर फिरेको थियो। उनले बताएअनुसार युद्धमा जाँदा टोलीमा ३२ जना गएकामा ती चार जना मात्रै फर्किएका थिए। उनीहरूले ड्रोन, बम, बारुद र मिसाइलको कुरा सुनाएपछि कोठामा बस्नेहरू ‘थरहरी’ बनेका थिए। ‘नफर्किएका ती २८ पो बेपत्ता भए। तिनलाई पो गोली, छर्रा लाग्यो। हामीलाई नलाग्न सक्छ। युद्धमैदानमा आइसकेपछि डराएर हुन्न’ भनेर आफैँभित्र आँट बटुलेपछि उनको टोली युद्धमा तैनाथीका लागि तयार भएको थियो। 

    “ग्रिनेड, हातहतियार र गोला बारुदसहित शरीरमा ३५ किलोको थप तौल बोकेर मैदानमा जानुपर्थ्यो। हतियारले सुसज्जित भएपछि एउटा ट्यांकमा लगेर राखिन्थ्यो र भनिन्थ्यो– ट्यांकले  तीन फायर गरिसक्दा तिमीहरू जमिनमा आएर सुतिसक्नुपर्छ,” ती तन्नेरीले सुनाए, “हामीले त्यही उपाय अपनायौँ।”

    उनका अनुसार कमान्डरको निर्देशन पछ्याउँदै आफ्ना हातहतियार ‘दुस्मन’तर्फ तेर्स्याएर अन्धाधुन्ध फायरिङ गर्दै अघि बढ्नुपर्थ्यो। ‘दुस्मन’ कता छ, कताबाट जवाफी प्रहार भइरहेको छ केही थाहा नपाइने स्थिति हुन्थ्यो। ‘युद्ध भनेको यही रै'छ’ भन्दै अघि बढिरहँदा ड्रोनबाट गोली–छर्रा पनि आइरहेको थियो। उनीहरूलाई ‘ड्रोनबाट चाहिँ सबैभन्दा चनाखो भएर बँच्नू’ भनिएको हुन्थ्यो। 

    तस्वीर सौजन्य: रुसी सेनाबाट उद्धारको पर्खाइमा रहेका नेपालीहरू


    “म भुइँमा सुतेकै बेलामा पनि माटो, हिउँ र झारपातले टाउको छोपेर घोप्टिएको थिएँ, शत्रुले जुम गरेर हेर्दा पनि शरीर नदेखियोस् भनेर,” उनी सम्झिरहेका थिए, “त्यो उपायले काम गर्‍यो पनि। ड्रोन आक्रमणमा परेर आँखैसामु धेरै साथीभाइले ज्यान गुमाएको देख्नुपर्‍यो।” 

    त्यो उपायले पनि नपुग्ने रहेछ भनेर उनी नजिकै जलेर भग्न भएको ट्यांकमुनि छिरे। अरू साथीभाइलाई पनि जोगाउनका लागि तानेर लैजाने क्रममा ड्रोनबाट आएको छर्रा लागेर घाइते हुन पुगेको उनले बताए। उनको छाती र देब्रे हातको जोर्नी गरी दुई ठाउँमा लागेका छर्राहरू अझै निकालिएका छैनन्।  

    “अब यसरी हुँदैन, बाँच्नका लागि यहाँबाट भाग्नैपर्छ भन्ने विचार मनमा आयो। अनि जिउमा भएका हातहतियार, ग्रिनेड र बाक्लो इस्टकोट भुइँमा फ्याँकेर रित्तो शरीरमै अन्धाधुन्ध बाटो लागेँ,” उनले सम्झिए। 

    जंगलको बाटो केही घण्टा हिँडेपछि उनलाई अर्को सैन्य समूह ‘वाग्नर’ले समातेर आवश्यक सोधपुछपछि प्राथमिक उपचारसमेत गरिदियो। त्यही समूहले उनलाई स्थानीय खानकला अस्पतालमा उपचारका लागि भर्ना गरिदियो। ३८ दिनको अस्पताल बसाइपछि त्यहाँबाट बाहिरिएको उनले सुनाए। त्यही अस्पतालमा काम गर्ने नर्सको सहयोगमा एक महिनाको अनिवार्य उपचार बिदा (रिफर लेटर) लिन सफल भए। अनि मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेका उनी दूतावासबाटै २४ घण्टे ट्राभल डकुमेन्ट पाएर काठमाडौँ उत्रिन सफल भए।        

    ‘धेरै त होइन, ५० हजार रुबल जति बिमाको पैसा आउने भनिएको छ। त्यही कारण फेब्रुअरी १५ सम्म पर्खिदिनुहोला। त्यो पैसा आएमा यो ज्यानमा गडेको छर्राको अप्रेसन गर्न पनि केही राहत होला। अनि खुलेर बात गरौँला, फोटा–प्रमाणसहित,” गाउँ जाने हतारमा पुरानो बसपार्कतिर हानिएका ती पर्वते पात्रले सुनाए।  

    ००० 

    त्यसको भोलिपल्ट माघ १५ गते साँझ पर्वतका अर्का तन्नेरी कृष्णबहादुर क्षेत्री र अछाम, साँफेबगरका चक्रबहादुर कुँवरसँग कुराकानी भयो। उनीहरू युक्रेनको दोनेत्स्क सिटीको बंकरजस्तो सेल्टरबाट सम्पर्कमा आएका थिए। 

    कृष्णबहादुरका तर्फबाट श्रीमती आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएकी थिइन्। कृष्णबहादुर कात्तिक २ मा रुस गएको र युक्रेनको नोभोपेट्रिका भन्ने ठाउँको आर्मी ब्यारेकमा रहेको भन्नेसम्मका विवरण उनले मंसिर २० गते दिएको निवेदनमा समेटेकी थिइन्।

    “दुई महिना हुनै लाग्यो सर, उद्धारका लागि हारगुहार गरेको,” कृष्णबहादुर सुनाउँदै थिए, “मस्को दूतावासमा त्यहाँका सर (सुशील घिमिरे) लाई सम्पर्क गरेका थियौँ, तपाईंहरूको खबर आएको छैन, पर्खनुस् मात्रै भन्नुहुन्छ। यहाँ त न आस न सास भइसक्यो। लौ न सरकारलाई भनिदिनुहोला।”

    कृष्णबहादुरले बताएअनुसार नेपालीसहितको ३७ जनाको टोलीमा अहिले उनी र चक्रबहादुर गरी दुई जना मात्र बाँकी छन्। “कति मरे अथवा के कति घाइते भए भन्न मुस्किल छ। यसरी युद्धमा आउनु गल्ती रहेछ भन्ने भइसक्यो। दिनहुँ साथीभाइ मरेको वा गोली–छर्रा लागेर विक्षिप्त भएको मात्रै देख्न, सुन्न पर्छ,” उनले ‘बिन्ती’को स्वरमा भने, “सर, बरु सरकारले सजाय नै दिन्छ भने पनि आफ्नै देशमा लगेर देओस्। लौ न, प्राणको रक्षा गरिपाम्। बिन्ती छ।”


    सम्बन्धित सामग्री