Saturday, December 14, 2024

-->

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि याैनहिंसा झेल्दै

हिजो (मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइयो। तर युद्धको चपेटामा परेका हजारौँ महिलाहरूको अवस्था उस्तै छ।

युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला भोकमरीदेखि याैनहिंसा झेल्दै

विश्वमा अहिले ठूला दुई युद्ध जारी छन्। रुस–युक्रेन युद्ध शुरू भएको दुई वर्ष बित्यो, इजरायल–हमासबीचको द्वन्द्वले पाँच महिना नाघिसक्यो। यी युद्धमा मृत्यु भएकाहरूको तथ्यांक, भौतिक क्षतिको विवरण र अन्तर्राष्ट्रियस्तरमा परेको असर त छँदैछ, युद्धको चपेटामा परेका महिला तथा बालबालिकाको अवस्था अझ विकराल छ। शुक्रबार(मार्च ८) विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गर्दै भव्यतासाथ मनाइयो। अब एकछिन दोहोरो युद्धको चेपुवामा परेका हजारौँ महिलाको कारुणिक अवस्था नियाल्ने की!

गाजा युद्ध
प्यालेस्टिनी भूमि गाजाको रफा क्षेत्रमा गत हप्ताको एक आक्रमणमा पाँच शिशुको मृत्यु भयो। त्यही आक्रमणमा रानिया अबु अन्जाले आफ्ना दुई जुम्ल्याहा सन्तान गुमाइन्। बिहे भएको ११ वर्षपछि पहिलो सन्तानका रूपमा जन्मिएका थिए ती जुम्ल्याहा सन्तान। उनले यही युद्धमा आफ्ना श्रीमान् गुमाइन्। अहिले छोराछोरी गुमाउँदाको गहिरो शोकमा छिन् उनी। शव अन्त्येष्टिका लागि लैजाँदै गर्दा उनले बिलौना गरेकी थिइन्, “यी मेरा मुटुका टुक्रा हुन्, यिनीहरूलाई मसँगै रहन दिनूस्।”

गत अक्टोबर ७ मा युद्ध शुरू हुँदा गाजामा झन्डै ५० हजार महिला गर्भवती रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या निकायको अनुमान थियो। तीमध्ये कैयौँ महिला अहिले सुत्केरी भइसकेका छन्। तर युद्ध जारी रहेकाले सुत्केरी तथा गर्भवती महिलाले आवश्यक स्याहार पाएका छैनन्। गर्भवती महिलाले आफ्नो सन्तानलाई जन्म दिन डराइरहनुपर्ने अवस्था सिर्जित छ।

गाजामा गर्भवती र सुत्केरीका आश्रयस्थल अस्पताल तथा स्याहार केन्द्रमै इजरायली सैनिकले धेरै पटक आक्रमण गरिसकेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा क्षेत्रका ३५ मध्ये अधिकांश ठूला अस्पताल ध्वस्त भएका छन्। १२ अस्पताल आंशिक रूपमा सञ्चालित छन्। उपयुक्त उपचार र खाद्यान्न अभावले नवजात शिशुलाई बचाउन गाह्रो भइरहेको छ। सुत्केरी महिला बिरामी पर्ने क्रम बढेको छ।

रानिया अबु अन्जा/तस्वीर: रोयटर्स


प्यालेस्टाइनको एक भाग गाजा क्षेत्रमा शासन गदै आएको सशस्त्र समूह हमासले गत अक्टोबर ७ मा इजरायलमाथि आकस्मिक आक्रमण गर्दा १० जना नेपालीसहित ११ सयभन्दा धेरै सर्वसाधारणको मृत्यु भएको थियो। त्यसको जवाफी प्रतिक्रियामा उत्रेको इजरायलको आक्रमणबाट अहिलेसम्म ३० हजार ८०० भन्दा धेरै प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन्। जसमध्ये आठ हजारभन्दा धेरै महिला छन्। त्यस्तै, १२ हजारभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन्। घाइते हुनेमा पनि महिला र बालबालिकाकै संख्या अधिक रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गाजामा इजरायली आक्रमणबाट प्रत्येक दिन सरदरमा ३७ आमासहित ६३ महिलाको मृत्यु हुने गरेको राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमन)ले तथ्यांक सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार इजरायल–हमास युद्ध शुरू भएयता गाजाक्षेत्रका दुई तिहाइ मानिसले रोजगारी गुमाएका छन्। जसको प्रत्यक्ष असर घरको भान्छा हुँदै महिलासम्म पुगेको छ। यूएन वुमनले गरेको अध्ययनअनुसार ८४ प्रतिशत परिवारले आधा पेट खाना खान्छन्। अधिकांश महिलाहरूले सन्तानका लागि खाना जोगाएर राख्छन् र आफू भोकै सुत्छन्।

युक्रेन युद्ध
आफ्ना छोरा तथा श्रीमान् सेनामा भर्ती भएपछि एक्लिएका हजारौँ रुसी आमा र श्रीमतीहरूले अघिल्लो वर्ष मस्कोमा हडताल नै गरेका थिए। उनीहरूले सरकारसँग आफ्ना प्रियजनलाई युद्धबाट फर्काइदिन माग गर्दै सडक अवरुद्ध पारे।

युद्धमा अनिवार्य भर्ती गराइएका रुसी पुरुष आफ्नो परिवारसँग बिदा माग्दै/ तस्वीर: द मस्को टाइम

युद्धमा होमिएकाहरू सुरक्षित घर फर्किन्छन् या फिर्किँदैनन् भन्ने संशयकैबीच रुसको तल्लो सदन डुमाले १८ देखि २७ वर्ष उमेरसमूहका सबै रुसी पुरुषले एकवर्ष अनिवार्य सैनिक सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था अनुमोदन गर्‍यो। जसमा पुटिनले २०२३ मे १५ मा हस्ताक्षर गरे। जसले गर्दा उक्त उमेरसमूहका रुसी युवा युद्ध लड्नुपर्ने भयले देशै छाडेर पलायन हुन थाले। त्यसपछि रुसी महिला झनै एक्लिए। युद्धका कारण रुसको परिवार पुरुषविहीन जस्तै बन थाल्यो। न्युयोर्क टाइम्सले ‘कहाँ गए मस्कोका पुरुष’ भनेर रिपोर्ट नै तयार पारेको थियो। 

यस्तै पीडा भोगिरहेका छन् युक्रेनी महिलाहरूले पनि। नेटोको विषयलाई लिएर रुसले सन् २०२२ फेब्रुअरी २४ मा गरेको आक्रमणले दुई देश एकपटक फेरि युद्धमा होमिए। यसअघि सन् २०१४ मा पनि रुसले आक्रमण गरेर युक्रेनका भूभाग क्रिमियालाई कब्जा गरेको थियो। अहिलेको आक्रमण भने दोस्रो विश्वयुद्धपछि युरोपेली देशमा भएको सबैभन्दा ठूलो आक्रमण बन्न पुग्यो। अहिलेसम्म यी दुई देशबीचको युद्धमा पाँच लाखभन्दा धेरै सेनाको मात्रै मृत्यु भएको बताइएको छ। तर दुवै देशले आफ्नो पक्षका सेनाको मृत्युको वास्तविक संख्या घटाएर घोषणा गर्ने गरेका छन्।

युक्रेनी सेना आफ्नो घरबिदा सकेर छुट्टिने बेला श्रीमतीलाई अँगालोमा कस्दै/ तस्वीर: बीबीसी


रुसमा त सेनाको हताहतीका कारण थप भर्ना गर्नका लागि त्यहाँको संसद्ले नयाँ नियम नै लागू गरेर विदेशीलाई भर्ती हुन आकर्षित नै गर्‍यो। रुसी सेनाको सहयोगीका रूपमा नेपाल भारत लगायतका देशका नागरिक पनि भर्ना भएका छन् भने आक्रमणमा परेर ज्यान गुमाएका पनि छन्। यता युद्धका कारण देशको जनसंख्या घट्ने थालेपछि राष्ट्रपति पुटिनले रुसी महिलालाई ८ भन्दा धेरै बच्चा जन्माउन खुला आग्रह नै गरे। उनको आग्रहपछि उनले महिलालाई बच्चा जन्माउने मेसिनका रूपमा हेरेको भन्दै आलोचना पनि भएको थियो।  

युद्धमा यौन शोषण
गाजामा बन्धक बनाइएका इजरायली महिलामाथि हमास लडाकुले बलात्कार गरेका खबर पनि बाहिरिएका छन्। इजरायल सरकारले यो मामिलालाई लुकाउन चाहे पनि पीडितको पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रमहरू नै ल्याएको छ।

रुसले पनि सन् २०१४ मा युक्रेनमा आक्रमण गरेदेखि युद्धको हतियारका रूपमा यौन हिंसालाई प्रयोग गर्दै आएको छ। सन् २०२२ को आक्रमणपछि भने युक्रेनमा युद्धसम्बन्धी यौन हिंसाको दर नाटकीय रूपमा बढेको विभिन्न मानव अधिकारसम्बन्धी संस्थाले बताएका छन्।

यसका साथै युद्धले घरेलु हिंसा पनि बढाउने गरेको अध्ययनले देखाउँछ। तनाव, आर्थिक कठिनाइ, बेरोजगारी, र द्वन्द्वसम्बन्धी आघातले यो यौन हिंसा तथा घरेलु हिंसालाई बढवा दिइरहेको विभिन्न अध्ययनले देखाएका छन्।


सम्बन्धित सामग्री