युक्रेनी भूमिमा भिडन्तमा पर्दै आएका ललितपुरका सजन लोप्चन तामाङ, गोरखाका मदन कुमाल र झापाका सुरेन तामाङ मस्को विमानस्थलबाटै ‘पक्राउ’ परेका छन्। उनीहरू बुधबार एयर अरेबियाको उडानबाट घर फर्किँदै थिए।
काठमाडौँ– रुस अधीनस्थ युक्रेनको दोनेत्स्कको भिडन्तबाट भागेर मस्को आइपुगेका तीन नेपाली मस्कोस्थित विमानस्थलको अध्यागमनबाट फेरि रुसी सेनाको नियन्त्रणमा पुगेका छन्।
तीन महिनाअघि रुसी सेनामा भर्ती भएर युक्रेनी भूमिमा लगातारको भिडन्तमा पर्दै आएका ललितपुरका सजन लोप्चन तामाङ, गोरखाका मदन कुमाल र झापाका सुरेन तामाङ गत बुधबार अपराह्न एयर अरेबियाको उडानबाट मस्को–सारजहाँ–काठमाडौँको उडानमा घर फर्किँदै थिए।
मस्को विमानस्थलबाट रुसी सेनाले नियन्त्रणमा लिएर अज्ञात स्थलमा लगेको सूचना पाएपछि बिहीबार कुमालका आफन्तले कन्सुलर सेवा विभागमा जानकारी गराएका थिए। यी तीनैजना मस्कोस्थित नेपाली दूतावासबाट तत्कालीन सेवाको ट्राभल डकुमेन्ट लिएर विमानस्थल गएका थिए।
“यो सूचनाबारे तत्कालै मस्कोस्थित दूतावासमा बुझेका छौँ। जानकारीमा आएअनुसार तीन जनामध्ये सजन लोप्चन तामाङ भने यसअघि पनि दुई पटक भाग्ने प्रयास गर्दा अध्यागमनबाट पक्राउ परेका रहेछन्,” कन्सुलर सेवाका उच्च अधिकृतले भने, “त्यही कारण सजनसँग साथै गएका अरू दुई जना पनि पक्राउ भएका रहेछन्। तर, पक्राउपछि कता लगिएको छ। कहाँ राखिएको छ भन्नेबारे भने जानकारी छैन।”
मस्कोस्थित दूतावासले दिएको जानकारीमा, रुसी सेनाबाट फर्केर ट्राभल डकुमेन्ट लिएर घर फर्किनेमा अहिलेसम्म घर फिर्तीमा समस्या आएको थिएन। दूतावासले कन्सुलरलाई पठाएको सूचीअनुसार, पछिल्लो दुई महिनामा १० जना मात्रै नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट लिएर घर फर्किएकाका छन्। घर फिर्नेमा खगेन्द्र सोमाइ (सुर्खेत), विनोद बानिया (गोरखा), दीपक पौडेल (पर्वत), लालबहादुर पुन मगर (बाँके), डोजबहादुर लुंगेली (महोत्तरी), महावीर सोमाइ (सुर्खेत), कुन्दन कँडेल (सुर्खेत), गंगाराम सापकोटा (कैलाली), विजयराम नापित (सिन्धुपाल्चोक) र खिमबहादुर थापा (सुर्खेत) रहेका छन्।
मस्को विमानस्थलबाट रुसी सेनाले बुधबार साँझ नियन्त्रणमा लिएका तीन जनासहित १० जनाको टोली युक्रेन युद्धस्थलमा रहेकै बेला यो प्रतिनिधिले दुई साताअघि मात्रै भिडिओ संवाद गरेका थियो। उक्त कुराकानीमा सहभागी सुरेश तुम्बापो, साजन लोप्चन तामाङ (ललितपुर), सन्तोष केरुङ (पाँचथर), मदन कुमाल (गोरखा), खिलबहादुर दाहाल (धादिङ), सञ्जय बुढामगर (दाङ), नवीन्दसिंह डोबाल र विशाल डोबाल (दार्चुला), सुकवीर लिम्बू (इलाम), उपेन्द्र राई (भोजपुर), राम खत्री र विनोद सुनुवार (ओखलढुंगा)मध्ये सन्तोष र खिलबहादुर युद्धमा घाइते भएर अस्पताल उपचारमा छन्।
रुसी सेनामा भर्ती भएका र सम्पर्कहीन बनेका नेपालीबारे मस्कोस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय तथा उद्धार समन्वयको निकाय कन्सुलर समेत बेखबर छ। रुसी युद्धमा परेर मर्ने नेपालीको संख्या १४ जना भनिए पनि त्यसको विवरणसमेत स्पष्ट छैन। युद्धमा परेर मृत्यु हुनेको परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिइने सूचना आए पनि अहिलेसम्म त्यो रकम कहाँ, कुन निकाय र उपायबाट लिने भन्नेमासमेत परराष्ट्र मन्त्रालय बेखबर छ।

टोखा, काठमाडौँका शुक्रबहादुर तामाङको पनि रुस–युक्रेन युद्ध मैदानमा रहेकै बेला गत जनवरी २६ मा मृत्यु भएको खबर आयो। बाबुको मृत्युबारे छोरा सोनमले परराष्ट्रको कन्सुलर शाखामा पनि अवगत गराए। क्षतिपूर्ति र अरू राहतका बारेमा पनि बुझ्न चाहे। तर, न मृतक बाबुको शव आयो, न क्षतीपुर्तीको कुरो कतै उब्जिएको छ। “बाबु मरेको थाहा भयो, तर त्यसपछिको स्थिति र अरू प्रक्रिया केही पनि थाहा छैन,” छोरा सोनमले भने।
यो पनि: रुस–युक्रेन युद्धभूमिमा कम्तीमा एक हजार नेपाली, राज्य भन्छ– ‘खोज्दैछौँ, हुँदैछ, गर्दैछौँ’
रुसी सेनामा पुगेका नेपालीमध्ये कन्सुलर शाखामा आएको १९६ को विवरणमध्ये १०० भन्दा बढी दुई महिनायता सम्पर्कहीन रहेको देखिन्छ। “मेरो आफन्त सन्तोष राना मगर (गोरखा) दलाललाई सात लाख रुपैयाँ बुझाएर तीन महिनाअघि रुस गएको थियो,” शुक्रबार मात्रै कन्सुलरमा आएका सन्तोषका आफन्त कृष्णबहादुरले भने, “बीचमा बिरामी भएर अस्पतालमा छ भन्ने थाहा भयो। अहिले सम्पर्क नरहेकाले यहाँ खोज उद्धारका लागि आएको हुँ।”
युक्रेनमा युद्धबन्धक चारजना
रुसी सेनामा भर्ती भइरहेका नेपालीको बिचल्ली र उद्धारका बारेमा मात्रै सरोकार देखिएका बेलामा रुस–युक्रेन युद्धमाझ युक्रेनी सेनाले पक्रेर युद्धबन्दी बनाएका चार नेपालीबारे भने कहीँ कतै चासो देखिएको छैन।
युक्रेनमा युद्धबन्दी रहेका २३ वर्षीय प्रतीक पुन (रोल्पा)की आमा तिलकुमारी कतै छोराको रिहाइ र घरफिर्ती सूचना आइहाल्ला कि भनेर दाङ सदरमुकाम आएर बसेकी छन्। “पोर्चुगल जाने भनेर हिँडेको थियो छोरो, ११ लाख रुपैयाँ खर्च भएको थियो,” आमा तिलकुमारीले सुनाइन्, “छोरो मरिसको कि बाँचेकै छ भनेर थाहा पाउन पनि सकिन। सरकारलाई सोध्न पनि कता जाने भनेर यहाँ अलमल गर्दै बसेकी छु।”
कन्सुलर शाखाका अनुसार, युक्रेनी सेनाको युद्धबन्धक भएर विवेक खत्री (बर्दिया), सिद्धार्थ ढकाल (काभ्रे) र विकास राई (मोरङ) पनि युक्रेनी कारागारमा छन्।
“हाम्रो लेटाङ (मोरङ) गाउँकै १० जना जति युवा रुसी सेनामा गएका छन्। गाउँकै एक जना भाइले रुस पुगेर दिएको सूचनामा मेरो आफन्त विकास गएको डिसेम्बर ४ मा दुबई गएको थियो। त्यहाँबाट मस्को पुगेको पनि थाहा भयो। पछि युक्रेनमा बन्धक भयो भन्ने थाहा भयो। तर, अहिले स्थिति के छ, केही सूचना छैन,” विकासका आफन्त गोकर्ण राईले फोनमा भने, “यस्तो बिचल्लीको कुरा सरकारलाई भन्नुपर्छ भनेर सबैले भन्छन्, तर कसैले कहीँ पनि सुनुवाइ गरेको छैन। कहाँ जाने, कसलाई भन्ने होला?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
