‘हामीले गर्न खोजेको के थियो? अहिले कुन अवस्थामा आयौँ? त्यतिबेला राम्रोसँग पढेलेखेको भए पनि अहिले कुनै संघसंस्थामा जागिर खान्थ्यौँ होला। तर अब हाम्रो जाने बाटो कतै छैन।’
काठमाडौँ– माओवादीको सशस्त्र द्वन्द्व शुरू भएको पाँच महिना नबित्दै बुवा रतिलाल रावतलाई प्रहरीले मारिसकेको थियो। साथमा सिउँदो पुछिएकी आमा र साना भाइहरू थिए। गाउँघर करिब पराइजस्तै थियो। ऐँचोपैँचो, सरसापट दिने छिमेकीलाई पनि प्रहरीले निगरानीमा राख्थ्यो।
लुकिछिपी गाउँमा बस्नुपर्ने बाध्यताले नछाडेपछि जाजरकोट बारेकोटकी रमा रावतले माओवादी युद्धकै बाटो रोजिन्। भन्छिन्, “गाउँलेहरू नजिक नआइदेऊ, अन्तै गएर बस, हामीलाई पनि मार्छ, तिमीहरूलाई पनि मार्छ भन्थे। गाउँमा बस्ने वातावरण भएन। अनि बुवाको सपना पूरा गर्छु भनेर पार्टीमा लागेको हुँ।”
तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पाको होलेरीबाट सशस्त्र विद्रोह शुरू गर्यो। फागुन ३ गते पूर्वमन्त्री दीपबहादुर सिंहको घरबाट माओवादीले महत्वपूर्ण धनमाल कब्जा गर्यो। त्यसपछि जाजरकोटमा चिनिएका केही माओवादी नेताहरूविरुद्ध प्रहरीले मुद्दा चलायो। तिनैमध्येका एक थिए बारेकोट गाउँपालिका–४ जिरीका रतिलाल रावत।
त्यसबेला बारेकोटमा ‘माननीय दीपबहादुर सिंह’ भनेपछि धेरैको होस गुम्थ्यो। पूर्वको तामुदेखि पश्चिमको मुल्सामसम्म उनको नाम चल्थ्यो। तर माओवादीले सम्पत्ति कब्जाको थालनी उनकै घरबाट गर्यो। त्यो मुद्दा तत्कालीन माओवादी नेता रतिलाल रावत, कालिबहादुर बस्नेत लगायतलाई लागेको थियो। शुरूमै मुद्दा लागेपछि गाउँमा बस्न सक्ने स्थिति भएन। केही महिना टोलछिमेकमा लुकिछिपी बसेका रतिलालले प्रहरीबाट जोगिन गाउँ छाडे।
२०३६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका रतिलाल त्यो बेलाकै ‘टेस्टपास’ र जिल्लामा चिनिएका नेता थिए। कालिबहादुर बस्नेत पनि स्थायी शिक्षकको जागिर छाडेर माओवादी युद्धमा लागेका थिए। मुद्दा लागेपछि उनीहरू दुवै जना जिरीकै जंगलमा रहेको बुराउस्या ओडारमा गएर बस्न थाले। नाताले ज्वाइँजेठान रहेका उनीहरूलाई अनकन्टार जंगलमा रहेको त्यो ओडार प्रहरीले भेट्टाउँदैन भन्ने लागेको थियो।
दिनहुँजसो आउने प्रहरीले उनीहरूको परिवारलाई यातनासँगै मार्ने धम्की दिन्थ्यो। परिवारलाई उनीहरू जंगलमा छन् भन्ने थाहा थियो, तर ओडारमै बस्छन् भन्ने चाहिँ जानकारी थिएन। खोजिरहेको प्रहरीले अन्ततः तीन–चार महिना लगाएर त्यो ओडार पत्ता लगाइछाड्यो। २०५३ असार ८ गते रतिलाल बुराउस्या ओडारमा चाँद (तान) हालेर गलैँचा बुन्दै थिए। कालिबहादुर दाह्री काट्दै थिए। दर्जनभन्दा बढी प्रहरीहरूले पहिला ओडारलाई घेरा हाले अनि गोली चलाए। गोलीको आवाज गाउँसम्म सुनियो। उनीहरू दुवैलाई प्रहरीले मारिसकेको परिवारले तीन दिनपछि मात्र थाहा पाए।
“बुवाको हत्या भएको खबर गाउँमा भित्रभित्रै चलिसकेको रहेछ। प्रहरीले जिरी आएर माओवादी त माओवादी नै हुन्। बाहिरका हुन् कि गाउँका हुन्, दुई जनालाई हामीले मारिसकेका छौँ। गएर लास चिनेर आउनू भनेर गाउँका जान्नेमान्ने मान्छेलाई खबर गरेको रहेछ,” रमा सुनाउँछिन्।
प्रहरीले मारेर खबर छोडेकै दिन गाउँका तीन–चार जना बुराउस्या ओडारमा हेर्न गए। उनीहरूले शरीरभरि गोली लागेको अवस्थामा रतिलाल र कालिबहादुरको शव फेला पारे। घरमा साना बालबच्चा छन्, परिवारलाई नभनौँ भनेर गाउँलेहरूले तीन दिनसम्म बुवालाई प्रहरीले मारेको खबर नसुनाएको रमालाई अहिलेजस्तै लाग्छ।
चार दिनपछि केही मानिसहरू सुटुक्क गएर उनीहरूको शव अन्त्येष्टि गरेर फर्किए। त्यो बेला माओवादीको लास जलाउने र हेर्न जाने मान्छेलाई पनि मुद्दा लाग्ने भएकाले उनीहरूको अन्त्येष्टि पनि राम्ररी गरिएन। “लुकिछिपी लास जलाउन लगायौँ। प्रहरीले बाहिरको मान्छे कसैलाई पनि आउन र भेटघाट गर्न दिएन। कोही मान्छे आए भने माओवादी होस् भनेर मुद्दा लगाइहाल्थ्यो,” रमाले भनिन्।
रतिलालको हत्या भइसकेपछि रमालाई ‘बुवाको बाटो समात्नुपर्यो’ भन्ने लाग्यो। अनि घरपरिवारलाई छाडेर रतिलालले बोक्ने झोला र राता किताब बोकेर उनी युद्धमा लागिन्। “वैचारिक रूपमा हाम्रो परिवार कम्युनिस्ट थियो। पछि बुवाको बलिदान भयो। त्यसले पनि पार्टीमा लागियो,” रमाले सम्झिइन्। माओवादी विद्रोहमा लागेकामध्ये आफ्नो बुवा जाजरकोट जिल्लाको दोस्रो शहीद भएको उनले बताइन्।
पितृवियोगको पीडाले उनलाई अहिलेसम्म पनि सताइरहन्छ। बेलाबखत घटनास्थल याद गर्छिन्, “ठूलो घोइलो रूख छ। त्यो रूख अझैसम्म छ। रूखको पछाडि ओडार छ। त्यो ओडारभित्र जाँदा निहुरिएर जानुपर्छ। भित्र गइसकेपछि खण्डखण्डका कोठाहरूजस्तो छ। भित्र आगो बाल्दा पनि ढोंकरहरूमा पसेर धुवाँ पटक्कै बाहिर आउँदैनथ्यो। यो कुरा जिरीकै मान्छेहरूलाई पनि कम थाहा थियो। घटनास्थलमा प्रहरी लिएर जाने सुराकीलाई थाहा रहेछ। बुवा र मामालाई पत्ता लगाएरै मारी छाडे।”
रतिलाल मारिएपछि शोक र बिचल्लीमा परेको परिवारलाई पनि प्रहरी प्रशासनले यातना दिन छाडेन। ‘बुवालाई मारिसक्यो, अब हामीलाई पनि मार्छ’ भन्ने रमालाई लाग्यो। अनि ‘मरे पनि, बाँचे पनि बुवाकै बाटो पछ्याउँछु’ भन्ने अठोटले उनी युद्धमा होमिएकी थिइन्। त्यसपछि क्रमशः माओवादी युद्धमा लाग्नेहरूको संख्या बढ्दै गयो। सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको सशस्त्र विद्रोह उत्कर्षतर्फ अघि बढ्यो।
त्यतिबेला रमालाई राजनीति भनेको के हो भन्ने पनि थाहा थिएन। तर राज्य प्रशासनले ‘माओवादी’ भनेर परिवारलाई दिएको यातनाले उनलाई सशस्त्र विद्रोहमा धकेल्यो। त्यसबेलाको अवस्था सम्झिँदै उनले भनिन्, “बुवालाई मारिसकेपछि प्रहरीले हामीलाई घरमा बस्नै दिएन। घर, श्रीसम्पत्ति सबै छाडेर बाहिर बस्न थाल्यौँ।” त्यसको एक वर्षमै उनी पार्टी संगठनमा जोडिन पुगेकी थिइन्।
“बुवाआमाका पाँच छोराछोरीमा छोरी म मात्र थिएँ। प्रहरीले हामीलाई पनि लैजान्छ कि भन्ने डर थियो। घरमा प्रहरी आएर आमालाई गाली बेइज्जती गर्ने, धम्की दिने काम गर्थ्यो। त्यसपछि सबैले घर छोड्यौँ। म पार्टीमा लागेँ,” रमाले भनिन्। उनी पार्टीमा लागेपछि परिवारको सहारा टुट्यो। परिवारका सदस्यहरू को कता छन् त्यो पनि जानकारी हुन छाड्यो। युद्धले परिवार नै छिन्नभिन्न बनाइदियो। गाउँमा उनको परिवारलाई ‘रोटी खान दिने मान्छेहरू’लाई समेत प्रहरीले पक्राउ गर्ने सम्भावना थियो।
बिर्सन नसक्ने यातना र युद्ध
२०५५ कात्तिक ५ गते रमा जिरीबाटै पक्राउ परिन्। त्यसपछिका ३५ दिन प्रहरी हिरासतमा बिताउनुपरेको क्षण उनले अहिलेसम्म कसैगरी बिर्सिन सकिरहेकी छैनन्। प्रत्येक दिन बयान लिने प्रहरीले माओवादी नेताहरू कुन ठाउँ बस्छन्, के गर्छन् कस्ता योजना बनाउँछन् भनेर सोध्थ्यो।
उनीसँगै पक्राउ परेका अन्य माओवादी कार्यकर्तालाई छोडिसकेपछि पनि आफूलाई भने प्रहरीले ब्लेड लगाएर हाटखुट्टाका छाला चिर्ने र नुनखुर्सानी हालेर यातना दिने गरेको रमा बताउँछिन्, “त्यसरी यातना दिएपछि सबै कुरा खुलस्तसँग भन्छन् भन्ने उनीहरूको सोच थियो। मान्छेलाई सताउने विधि रहेछ। प्रहरीहरूले पूरै शरीरमा सिस्नोपानी लगाएर पिट्ने गर्थे। हातखुट्टाहरूमा पिनकिला ठोक्ने गर्थे। अरूलाई भन्दा मलाई बढी यातना दिन्थे।”
रमाका अनुसार अरूलाई एक–दुई दिन सोधपुछ गर्थ्यो र यातना दिन्थ्यो। तर उनलाई दुई दिनसम्म लगातार यातना दिन्थ्यो। उनी ती काला रातहरू सम्झन्छिन्, “मलाई राति १२–१ बजे लैजान्थ्यो, कुटपिट गर्थ्यो। भन्न नसकिने भाषाहरू बोल्थ्यो।” अन्ततः ३५ दिनसम्म यातना दिएर प्रहरीले उनलाई छाड्यो।
आफूलाई यातना दिएका कैयौँ घटनाहरू याद भएर पनि यातना दिने व्यक्ति चिन्न नसक्ने उनी बताउँछिन्। जतिसुकै यातना पाए पनि आफ्ना नेता–कार्यकर्ताबारे कुनै पनि जानकारी प्रहरीलाई नदिएको उनले बताइन्। हिरासतमुक्त भएपछि केही दिन घरमै बसेर उनी पूर्णकालीन युद्धमा लागिन्। रमा भन्छिन्, “मेरा कैयौँ साथीहरूलाई यौन शोषणसँगै चरम यातना दिएर मारेर जंगलमा फालिदिएका थिए। मलाई पनि त्यस्तै गर्छन् होला भन्ने डर लागेको थियो, तर ३५ दिनपछि ज्युँदै छाडिदिए।”
पूर्णकालीन भएको एक वर्षपछि मात्र उनले पार्टीको सदस्यता लिइन्। २०५७ जेठ २७ गतेदेखि पार्टीको संगठनमा आवद्ध भएकी उनले माओवादी युद्धका विभिन्न विभागमा रहेर काम गरिन्। पार्टीको गाउँ कमिटी र इलाका कमिटी सदस्य हुँदै जिल्ला कमिटी सदस्यसम्म भइन्। कला सांस्कृतिक समूहमा बसेर सांस्कृतिक कार्यक्रमहरूमा सामेल हुनु र संगठन निर्माण गर्नु उनको जिम्मेवारी थियो। त्यतिबेला पद पाउन गाह्रो थियो। तर बुवाको बलिदान र सारा परिवार नै युद्धमा भएपछि उनलाई पार्टीले विभिन्न समूहहरू हेर्ने जिम्मा दिएको थियो।
जिल्ला कमिटीमा गइसकेपछि इलाका र गाउँ संगठनहरू बनाउने जिम्मेवारी उनीमा आयो। रमा भन्छिन्, “त्यतिबेला संगठन बनाउन कुनै दुःख गर्नुपर्दैनथ्यो, सबै माओवादी थिए। हामी डीसीएम (जिल्ला कमिटी सदस्य) भएकाहरूले तलका संगठनहरू कति बनाउने, सदस्यहरू कति राख्ने, कति समूह बनाउने भन्ने निर्णय लिन्थ्यौँ।”
संगठनमा काम गर्दा उनी केन्द्रको सर्कुलर जे हुन्थ्यो त्यो जनतामाझ पुर्याउँथिन्। पार्टीभित्र तल्लो तहका विभागहरूलाई इमान्दार बन्न, पार्टी बचाउन र सकेसम्म सबैलाई कम्युनिस्ट बनाउन उनी जोड दिइरहन्थिन्। त्योबेला सबैले क्रान्ति गरौँ भन्ने नै मूल नारा थियो। ‘हाम्रो राज्यसत्ता आयो भने प्रत्येक घरका हरेक व्यक्तिले रोजगारी पाउँछन्। महिलाहरू स्वतन्त्र हुन्छन्, दलितले मुक्ति पाउँछन्। उनीहरूले बस्नका लागि जमिन पाउँछन्’ भनेर जनतालाई आश्वस्त पारेको रमालाई याद छ।
उनी भन्छिन्, “मुख्य कुरा जनवादी व्यवस्था ल्याउनुपर्छ भन्ने थियो। तपाईंहामी जुटेर जनताको जनवादी व्यवस्था ल्याउनुपर्छ भनेर सर्कुलेसन गर्थ्यो। यो व्यवस्था ल्यायौँ भने जनताले सुखशान्ति पाउँछन् भनेर भन्थ्यौँ। हाम्रो लक्ष्य साम्यवाद हो भनिन्थ्यो। जनयुद्धकालमा सबैतिर यही नै प्रशिक्षण हुन्थ्यो। पार्टीको मुख्य लक्ष्य नै जनवादी व्यवस्था ल्याउनु थियो।”
त्यसपछि बाटो बदलियो
तर अहिले जनताका प्रश्नको जवाफ दिन रमालाई गाह्रो पर्छ। राजनीतिबाट टाढा रहेकी उनलाई बेलाबखत बाटोमा भेट्दा त्यसबेला आफूबाट प्रशिक्षण लिएका जनताले ‘खोइ समाजवाद? खोइ जनवाद?’ भनेर सोध्छन्। उनी भन्छिन्, “जनताको व्यवस्था त आएन, कहिले आउँछ भन्छन्। यो गर्छौं, ऊ गर्छौं भन्थ्यौ। अहिले तिम्रा नेताले के गरे, तिमीले के गर्यौ भन्छन्।”
माओवादीका शीर्ष नेताहरूको धोखाधडीले जनतालाई जवाफ दिन नसकेको रमा स्वीकार गर्छिन्, “हजार जना जाग्छन् भने सय जनाले बलिदान दिँदा केही पनि हुँदैन। सय जना मर्दा केही पनि हुँदैन भन्ने लाग्थ्यो। क्रान्तिको होस्टेमा हैँसे गर्नुपर्छ भन्ने थाहा थियो। नेताहरूले यसरी गद्दारी गर्लान् भन्ने कहिल्यै सोचिएन।”
शान्ति पक्रिया शुरू भएको केही समय पार्टीमा बसेकी रमाले त्यसपछि माओवादी नेताहरू बदलिँदै गएको देखिन्। जे कुरा जनयुद्धमा भनिएको थियो, त्यसको उल्टो भएपछि उनी राजनीतिबाट टाँढिदै गइन्। भगवती प्राथमिक विद्यालयबाट पाँच कक्षासम्मको पढाइ पूरा गरेकी उनले माओवादीले ‘बुर्जुवा शिक्षा काम लाग्दैन’ भनेपछि पढाइ छाडेकी थिइन्। पहिले त्यही भनेर युद्धमा आकर्षित गर्ने नेताहरूले पनि खुला राजनीतिमा आएपछि उनलाई चटक्कै छाडे। कुनै जागिर गर्न पढाइ दिएन। युद्धकालमा आफैँले गरेका कुरा सम्झिँदै मन खिन्न पार्नुको विकल्प उनीसँग रहेन।
उनी भन्छिन्, “अहिले यसो हेर्दा मन खिन्न हुन्छ। हामीले गर्न खोजेको के थियो? अहिले कुन अवस्थामा आयौँ? आफ्नो प्रगति पनि केही गर्न सकेनौँ। त्यतिबेला राम्रोसँग पढेलेखेको भए पनि अहिले कुनै संघसंस्थामा जागिर खान्थ्यौँ होला। अब त हाम्रो जाने बाटो कतै छैन।”
युद्धबाट फर्केपछि पुनः पढाइलाई निरन्तता दिने उद्देश्यले जुम्लाको झार्दोला विद्यालयबाट उनले ०६५ सालमा एसएलसी पास गरिन्। त्योभन्दा माथिको शैक्षिक यात्रामा भने उनी अघि बढिनन्। किन त? उनी सुनाउँछिन्, “उमेर अवस्थाका हिसाबले पनि थन्किएर बस्नुपर्ने स्थिति बन्यो। समय बितेपछि शिक्षामा अघि बढ्न सकिँदो रहेनछ। अहिले यताउता हेर्दा मन कस्तो कस्तो हुन्छ। नेताहरूले यस्तो गद्दारी किन गरेका होलान्?”
सयौँ दिनको दुःखलाई नेताहरूले अहिले दुई–चार दिनको सुखसँग साटेको उनलाई लाग्छ। भन्छिन्, “त्यतिबेला प्रहरीले त्यत्रो यातना दिँदा पनि मेरो जोशजाँगर अर्के थियो। म मरे पनि केही हुँदैन भन्ने लाग्थ्यो। बिर्सिने हो भने कहानीजस्तो भइहाल्यो। युद्धका कुरा बिल्कुलै बेवास्ता गरियो। नेताहरू स्वार्थी भए।”
यो पनि: युद्धमा ३ पटक मृत्यु जितेर पनि अहिले पलपल ‘मरिरहेका’ नरवीर
युद्धका घाइतेहरूको व्यवस्थापन र अपांगता भएका व्यक्तिहरूको संरक्षण भएको देख्न चाहने रमाको मन शहीद परिवारहरूको बिचल्ली भएकोमा कटक्क दुख्छ। हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर युद्धको घाउ बोक्नेको व्यथा माओवादीले बिर्सिएकोमा उनलाई पीडा छ।
क्रान्तिपछि बाँच्ने विकल्पको खोजी
रमा अहिले जाजरकोटकै बारेकोट गाउँपालिका–४ लाग्नामा बस्छिन्, जहाँ उनको होटल छ। होटलमा प्रायः जुम्ला, डोल्पा र मुगुबाट आउनेहरू बास बस्छन्। उनले केही बंगुर पनि पालेकी छन्। होटल र बंगुरपालनको आम्दानीबाट घर धानिएको छ। उनको हातमा झोला, टोपी, स्विटर आदि बुन्ने घरेलु सीप पनि छ। होटल लेकमा भएकाले अत्यधिक चिसोका कारण हिउँदका दुई–तीन महिना बन्द हुन्छ।
आयआर्जनभन्दा पनि जीविकोपार्जनको उपाय बनेको व्यवसायबारे रमा भन्छिन्, “अहिले सानोतिनो व्यापार–व्यवसायमा छु। खुद्रा पसल छ। सानो होटल छ। अहिले त्यसलाई छाडेर राजनीतिमा लागौँ भने बाँच्ने बाटै बन्द हुन्छ।”
शान्ति प्रक्रियामा आइसकेपछि पार्टीभित्र ‘दलालीकरण’ बढी देखिएपछि राजनीति छोड्ने योजना बनेको रमा बताउँछिन्। “तिनै दलाली गर्नेहरूको पुछर बन्नुपर्यो, उनीहरूलाई समर्थन गर्नुपर्यो। पुच्छरले सिङ हल्लाउने अवस्था देखेँ” उनी भन्छिन्, “त्यसमाथि योग्यता पनि भएन। त्यतिबेला बुर्जवा शिक्षा भनेर स्कुल छाडियो। सबैको भनाइ त्यही थियो। के थाहा यी नेताहरूले आफ्ना छोराछोरीलाई बाहिर पढाइरहेका छन् भन्ने कुरा। यो सम्झँदा पीडाले झन् पोल्छ। हामीमाथि अहिले नै यो कुरा बितिरहेको होलाजस्तो लाग्छ।”
तर आफूसँगै राजनीतिमा लागेका बेपत्ता, घाइते र शहीदहरूलाई भने रमा सम्मान गर्छिन्। “केही गर्न नसके पनि म त सकुशल छु। सानोतिनो व्यवसाय गरेर जीवन चलाउँदैछु। युद्धका बेला पार्टीलाई छलछाम र बेइमान गरेकाहरू अहिले चुनाव जितेर वडाध्यक्ष, र सदस्य भएका छन्। यो देख्दा दुःख लाग्छ। मजस्ता अरू कैयौँ साथीहरूलाई आरामसँग खाने व्यवसाय पनि छैन। रमाउने ठाउँ छैन। कमाएर खाउँला, अरूलाई दिउँला भन्ने आशाले पनि डाँडो काटिसक्यो। अब के गर्ने होला भन्ने चिन्ता मात्र मनमा छ,” उनले भनिन्।
द्वन्द्वकालको यातनाका कारण शरीर कमजोर छ। भाइहरूले ‘अब अरू काम गर्न सक्नुहुन्न, व्यवसाय गर्नुस्’ भनेपछि व्यवसायमा जोडिएको उनी बताउँछिन्, “बाहिर भारी बोकेर लौरो टेकेर खान सक्ने अवस्था भएन। जे भए पनि जीवन गुजारा गर्नुपर्ने रहेछ। कुनैबेला देश बदल्ने सोचले युद्धमा लागेका थियौँ। अहिले ठ्याक्कै त्यसको उल्टो भइदियो। आखिर अहिले पैसा पनि चाहिँदो रहेछ। त्यसपछि व्यवसायतिर फर्किएको हुँ।”
उमेरले चार दशक पार गरिसकेकी रमाले तीन दशक राजनीतिमै बिताइन्। युद्धकालमा उनले संगालेका तितामिठा अनुभव उनकै शब्दमाः
पैसामा परिणत राजनीति
मेरो भाइको भूमिगत नाम विकास र खास नाम लालबहादुर रावत हो। उसको शरीरमा अहिले पनि गोलीहरू छन्। तैपनि जनयुद्धका घाइतेमा उसको नाम जहिल्यै छुट्छ। यो पटक फारम भर्यो, पर्दैन। अर्कोपटक भर्यो, पर्दैन यस्तै भइरहेको छ। घाइते नभएका साथीहरूले पनि राहत तथा उपचार सुविधा पाइरहेका छन्। तर अधिकांश घाइतेहरू कता छन्? उनीहरूको परिवार कस्तो छ? कसैलाई वास्ता छैन। कोही साथीहरूको शरीरमा अझै पनि गोली छन्। उनीहरूको अहिलेसम्म गणना छैन। यसको लेखाजोखा भइदिएको भए मनमा शान्ति हुन्थ्यो।
यो पनि: माओवादी ‘क्रान्ति’को रङ बदलिएपछि हन्डर रोजेका युद्ध–पत्रकार
गाउँमा हामी जनवादी सत्ता ल्याएर मात्र फर्किन्छौँ भन्थ्यौँ। आफैँ रित्तो हात फर्कियौँ। हामी जस्ता मान्छेहरूले सत्ता देख्न पाएनन्। कस्तो छ थाहा पनि भएन। सत्तामा हामीभन्दा भिन्न मान्छेहरूको हालीमुहाली भयो। अहिले राजनीतिको ‘र’ पनि थाहा नभएका मान्छे पनि सांसद बनेका छन्, मेयर बनेका छन्, अध्यक्ष, उपाध्यक्ष बनेका छन्। पहिले श्रम नगरेका र कहिल्यै पीडित नभएका मान्छेहरूले अहिले राजनीतिबाट लाभ लिइरहेका छन्।
हिजो आफूले गोली खाएर पार्टी बचाउनुपर्छ, बलिदान गर्नुपर्छ भन्नेहरू पाखा लागेका छन्। यो व्यवस्थामा त्यस्ता खालका साथीहरूले वडा सदस्यको जिम्मा पनि पाएका छैनन्। अब हामीजस्ता मान्छेहरूले राजनीति गर्न सक्देनौँ। किनकि अहिले पैसाको राजनीति चलिरहेको छ। जोसँग पैसा छ त्यतै गयो राजनीति। आफ्नै संगठनका साथीहरूलाई पैसा बुझाउनुपर्छ भनेर राजनीति गर्ने आँट र जोशजागर हराउँदै गयो।
हिजो पार्टी जोगाउन गाह्रो थियो, आफू जोगिन गाह्रो थियो। मुद्दा लगाएर हामीलाई राज्यले यातना दिइरहेको हुन्थ्यो। हाम्रो कमाइ त थिएन। अब कहाँबाट पैसा ल्याएर चुनाव लड्ने? कहाँबाट पैसा ल्याएर टिकट किन्ने? अब गाह्रो भएन? अहिले त हिजो पार्टीभित्र सांस्कृतिक विचलन र आर्थिक पाटोमा कारबाहीमा परेकाहरू अगाडि छन्। मजस्ता पीडित साथीहरू त्यो ठाउँमा कोही पुग्न सकिरहेका छैनन्। अहिले हामीजस्तो सोझासादा र इमान्दारीर्पूवक काम गर्नेहरूको केही पनि हुँदो रहेनछ।
पहिला मलाई पार्टीको मान्छे भनेर चिन्थे, तर अहिले संगठनभित्र भए पनि खास हाम्रो वास्ता हुँदैन। हामी पार्टीको सिद्धान्त, विचार र बाटो भनेर लागिरह्यौँ। माथिकाहरूलाई यसको मतलब हुँदो रहेनछ। हामीलाई जनयुद्ध गरेकोमा पछुतो छैन, तर नेताहरू स्वार्थी भए, सत्तालिप्त भए, अवसरवादी भए। जसको हामी विरोध गर्थ्यौं ती मान्छेहरूसँगै घाँटी जोडर हिँडे। यस्तो बेला सोच्दा कमजोरी गरियो कि भन्ने लाग्छ। तर देशमा माटोभुंग्रो ओर्लिएको बेला शहीदले छाडेका झोलाहरू बोक्नुपर्छ। शहीदका सपनाहरू पूरा गर्नुपर्छ भन्ने विचार मनमा आयो। म मात्र होइन, नेताहरूबाट मभन्दा धेरै धोका पाएका साथीहरू पनि हुनुहुन्छ। कहिलेकसो भेट हुन्छ, दुःख पोखापोख हुन्छ।
जुक्तिले बाँचेको दिन
मेरो वास्तविक नाम ‘मना’ हो, तर सबैको जिब्रोमा ‘रमा’ झुन्डिइसक्यो। मना कसैले पनि भन्दैनन्। युद्धमा हामी धेरै कोड भाषा बोल्ने गर्थ्यौं। प्रहरीहरू आए भने बाख्राले खाल्यो, फलानो कहाँ गएछ भन्ने खालको भाषा प्रयोग गर्थ्यौं। गाईले बाली खाल्यो, कता घाँस गइतिस् भनेर भनिन्थ्यो।
त्यतिबेला पढे पनि, नपढे पनि झोलामा पार्टीको दर्शन र विचारहरूका किताब बोकिरहनुपर्ने हुन्थ्यो। एक चोटि जाजरकोटकै अर्छानी टालेगाउँबाट पार्टीका साथीहरूले दिएका चिठी र किताबहरू लिएर काफ्री भन्ने ठाउँतिर जाँदै थिएँ। बाटुलेबजार पुग्ने बेला सदरमुकाम खलंगाबाट प्रहरी गस्ती गएको रहेछ। बाटुले झर्ने ठाउँ एकदम भिरालो थियो। उनीहरू उताबाट आएका रहेछन्, म यताबाट गएको थिएँ। ट्याक्कै भेट हुन लाग्यो।
मलाई उनीहरूले देखे, मैले पनि उनीहरूलाई देखेँ। एकैछिन रोकिएँ। अगाडि बढौँ भने उनीहरूले समातेर खानतलासी गर्थे। त्यो मौकामा सकेजति यातना पनि दिन्थे। तल पनि भिर थियो, माथि पनि भिर। जताबाट आएको थिएँ त्यतै जान्छु भन्ने सोच आयो। फर्किएर आएकैतिर दौडिन लागेँ। उनीहरूले शंका गरिहाले। ‘माओवादी भेटियो, ठोक ठोक’ भन्दै लखेट्न थाले।
म अझै दौडिएँ। दौडिँदा दौडिँदै शक्ति पनि सकिइसकेको रहेछ। आत्मबल हराएर गयो। साथमा सलाई र कागतीको दाना थियो। सलाई कोरेर आगो बालेँ अनि कागतीको दाना प्रहरीहरूतिर फालिदिएँ। बम फालेको ठानेर उनीहरू ‘ब्याक’ गए। पछि म काभ्रा गाउँ पुगेर एउटा घरमा पसेँ। त्यहाँ पनि धेरै माओवादी साथीहरू रहेछन्। प्रहरीले छापा मारेर कतिलाई समातेर लग्यो। संयोगले म जुन घरमा लुकेँ त्यहाँ छापा मारेन र जोगिएँ। त्यही घरमा म तीन दिन बसेँ।
सहयोद्धाको यातना र हत्या
मेरा केही साथीहरूलाई प्रहरीले निर्मतापूर्वक मारेको छ। एक ठाउँबाट खेदाएर ल्याउँथ्यो, अर्को ठाउँमा यातना दिँदै माथ्र्यो। बाहुनथानकी सूर्य ओली भन्ने २०/२२ वर्षकी साथी हुनुहन्थ्यो। उहाँलाई प्रहरीले साँझ ६ बजेतिर समातेर बारेकोटको धनाखोलाबाट आँखामा पट्टी बाँधेर रामीडाँडासम्म पुर्याएछ। एक दिन कार्कीज्युलामा राखेर यातना दिएछ। त्यसपछि रामीडाडाँको माथि जंगलमा लगेर मारिदिएछ। उहाँको शरीर पूरै चिरेको थियो।
नलगाड, ऐरारीकी तुलसा शाहीलाई पनि प्रहरीले त्यसरी नै मारेको थियो। भर्खरै बिहे गरेकी उनी १८ वर्षकी मात्र थिइन्। त्यस्तै, रिम्नाका कुन्त खड्का र मनसरा खड्कालाई सुवाकोटको लाम्हान्न जंगलमा लगेर मारिदिए। कुन्त खड्काले सुवाकोटका गोरबहादुर सिंहका बुवासँग मित लगाएका रहेछन्। मितलाई भेट्न भनेर सुवाकोट गएका बेला भेटघाट गर्दागर्दै प्रहरीले समातेको रहेछ। अरू साथीहरू भागेछन्। दुई जनालाई मात्र भेट्टाएर मारेका रहेछन्। त्यस्ता सात जना शहीद त मेरो गाउँ जिरीमै छन्।
इमानदारी र बलिदानी मेटिएर बाँकी रहेको पार्टी
अहिले म कता छु भन्ने पनि थाहा छैन। संगठनको सदस्य त हुँला, तर कुनै कार्यक्रममा जाँदिनँ। मान्छेहरूले मलाई कट्टर माओवादी र क्रान्तिकारी कम्युनिस्ट भनेर चिन्छन्। कताको माओवादी हुँ भन्ने कुरा चाहिँ म आफैँलाई थाहा छैन। म पुरानो माओवादी हुँ। (हाँस्दै)
सबै कुराको रफ्तार हुँदो रहेछ। अहिले राजनीतिका कुरा गरेपछि लटारो (झिँजो) लाग्छ। मैले व्यापार गरे पनि छाक टार्न मात्र पुग्छ। अरू केही गर्न सकेको छैन। हिजो पार्टी भनेपछि परपर भाग्ने मान्छेहरू अहिले पार्टीको वरिपरि छन्। पार्टीकै नाममा कमाउन र कुम्ल्याउन लागे। पार्टी नै खाएर अघाउन लागे। हामीजस्ताहरूको अवस्था नाजुक छ। न ढंगको बास छ, न गाँस।
अहिले हामीजस्ता युद्धकालमा नेता भनेर चिनिएकाहरूलाई जीवन जिउन धेरै कठिन छ। खुम्चिएर बस्नुपर्ने अवस्था छ। पहिला पार्टीले कारबाही गरेका मान्छेहरूको हालीमुहाली चल्दा हाम्रो दुःखपीडाको कुनै सुनुवाइ र सोधपुछ नै हुँदैन। युद्धमा योगदान गरेका मान्छेहरूभन्दा पनि आर्थिक र संस्कृतिक रूपमा कारबाहीमा परेका मान्छेहरू नेता भएसम्म हामीले कुनै आस गर्नुको साटो घाँसदाउरा गर्दै बिताउनु वेश छ।
अहिलेको शक्तिमा पुग्ने न राजनीतिक योगदान दिएका मान्छेहरू हुन्छन्, न कहिल्यै जेल परेका, न त हिजो माओवादी भनेर यातना खेपेका नै छन्। इमानदारी, अनुभव र बलिदानी मेटिएर बाँकी रहेको पार्टी हो अहिलेको माओवादी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
