Sunday, November 10, 2024

-->

रोल्पाली क्रान्तिको ज्वार साउदीमा अन्त्य

प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्।

रोल्पाली क्रान्तिको ज्वार साउदीमा अन्त्य

सीमित व्यक्तिले ग्रहण गरेको लाभ छोड्ने हो भने तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षको सशस्त्र द्वन्द्वमा सर्वस्व गुमाउनेको संख्या अग्लो छ। माओवादीलाई बुई चढाएर सत्ताको भर्‍याङ उकाल्नेहरूको कथाले यस्तै भन्छ।

अघिल्लो साता बजारमा आएको लेखक जेबी दर्लामीको ‘मारी खोलाको ढुङ्गो’ले त्यही युद्ध खोतल्छ। तिनै पात्रलाई पछ्याउँछ। पार्टी नै सर्वोपरी ठानेर सर्वश्व गुमाएका पूर्वलडाकू मानबहादुर रोकामगरको कथासँगै नेपाल छाडेर साउदीसम्म पुग्छ। 

यो उपन्यासमा १० वर्षे युद्धमा होमिएका लडाकुको दुःखान्त जिन्दगी मसिनो गरी आएको छ। देशको कायाकल्प गर्ने सपना बोकेर बन्दुक बोक्न पुगेका मानबहादुरहरूको कथा हो ‘मारी खोलाको ढुङ्गो।’

अब उपन्यासको कथातर्फ लैजान्छु। 

सरकारी पक्षबाट निहत्था परिवारका सबै सदस्य मारिएपछि मुख्य पात्र मानबहादुर रोका हतियार उठाउने मनस्थितिमा पुग्छ। ऊ बदला भाव लिएर युद्वमा होमिएको हुन्छ। तर युद्घमोर्चामा भिज्दै जाँदा देश परिवर्तन हुने शर्तमा हतियार उठाउनु जायज ठान्छ। युद्घमा शहीद नै हुनु परे पनि उसलाई किञ्चित् पछुतो छैन। 

अर्घाखाँचीको सन्धिखर्क आक्रमणको तयारीका लागि कमरेड बलिदान उर्फ मानबहादुर रोक मजदुर बनेर त्यहाँ पुग्छ। आर्मी ब्यारेकभित्र पनि मजदुर बनेर छिर्छ। त्यहाँको भित्री सूचना निकाल्न पार्टीले उसलाई खटाएको छ। आक्रमणका लागि योजना बनाउन चाहिने सूचना पत्ता लगाउँछ। 

अर्घाखाँचीमा उसले आश्रय पाएको घरको छोरो तत्कालीन शाही सेना हुन्छ र ऊ विगतमा मानबहादुरकै हातबाट मारिएको हुन्छ। वास्तवमा घरधनीको छोराले आत्मसमर्पण गरेको हुन्छ। बन्धक बनाएको अवस्थामा उसको हत्या गर्नुपर्दा मानबहादुर सन्तापले जलिरहन्छ।

युद्ध रोकिएर शान्ति सम्झौतापछि माओवादी सेना क्यान्टोनमेन्टमा पुग्छ। त्यहाँबाट मानबहादुरको जिन्दगीले नै नयाँ मोड लिन्छ। हतियार बिसाएर क्यान्टोनमेन्ट छिरेका लडाकु नयाँ क्रान्तिका लागि तम्तयार छन्। तर नेतृत्वको उद्देश्य अर्कै भएको उसले पत्तो पाउँछ। “हामीले मेहेनत गरेर शिविरलाई बस्न योग्य बनायौँ। त्यसपछि हरेक दिन शिविरमा नयाँनयाँ मानिस भित्रिन थाले। यतिसम्म कि पुराना र वास्तविक लडाकुहरू ती नयाँ मानिसको हुलमा मिसिएर हराउने अवस्था आयो।” (पेज नं. ६७)
आफ्नो अभिष्ट प्राप्तिका लागि माओवादीले कसरी गैरलडाकु भित्र्यायो? जनवादी सरकार र समानताको कल्पना गरेका वास्तविक लडाकुको सपनामा कसरी पानी फेरियो? क्यान्टोनमेन्ट छिरेपछि माओवादीभित्र मौलाएको स्वार्थ र चलखेलको नालिबेली के थियो? यिनै विषयलाई लेखकले कथामा मिहिन रूपले बुनेका छन्।

युद्ध चलिरहँदा माओवादीलाई समाप्त पार्न लागेकाहरू नै अब पार्टीको नेता हुने बाटोमा थिए। मानबहादुरले यसरी आत्मलाप गरेका छन्, “पार्टीको अवस्था पनि यस्तै थियो। आन्दोलनमा आधा जीवन बिताएकाहरू रातारात विस्थापित हुँदै थिए। हिजोअस्तिसम्म माओवादी शब्द सुन्न घिन मान्नेहरू पार्टीमा स्थापित भइरहेका थिए।” (पेज नं. ६८)

मानबहादुर क्यान्टोनमेन्टमा अयोग्य ठहरिए। युद्धमा हातको औँला गुम्नु नै उनी आयोग्य हुन पर्याप्त भयो। क्यान्टोनमेन्ट छाडेर गाउँ पुगेपछि आफूले लडेको युद्धको महत्त्व सावित गर्न नसक्दा उनी पाइला पाइलामा पिरोलिन्छन्। बिहान–बेलुका हातमुख जोड्ने समस्या थपिँदै जान्छ। उनी विरक्तिन थाल्छन्।

अन्ततः कुनै उपाय नभेटेपछि मानबहादुर रोजीरोटीका लागि साउदी पुग्छन्। त्यहाँ काम गर्न पुगेको कम्पनीबाटै ठगिएको चाल पाएपछि अवैधानिक तरिकाले अर्को कम्पनीमा पुग्छन्। त्यहाँ सुरक्षा गार्ड बन्छन्। काम गर्दागर्दै बिरामी पर्छन्। बिनाकागजात बसेका उनी उपचारका लागि बाहिर निस्कन पाउँदैनन्।

अन्तिममा रोल्पाली क्रान्तिको ज्वार साउदीमा अस्ताउँछ। केही सञ्चार माध्ययमले खबर छाप्छन्, “एक नेपालीको शव ९ महिनादेखि साउदीमा अलपत्र।” 

मानबहादुरहरू हिजो प्रचण्डलाई दागेको गोली आफ्नो छातीमा थाप्थे। आज रेमिट्यान्स पठाएर प्रचण्डलाई सरकारमा टिकाइरहेका छन्। तर तिनै मानबहादुरलाई सरकारले सुरक्षा दिन सकेको छैन। मरेपछि शव पनि उतै अड्किएको छ। 

माओवादी विद्रोहले राजतन्त्र फालेर संघीयताको बिजारोपण गरेको दाबी माओवादी पक्षको छ। सीमान्तकृत समुदायको आरक्षणका लागि पनि आफैँ जस लिइरहेका हुन्छन्। तर मधेशबाट उठेको आवाजले काठमाडौँ नहल्लिएको भए संघीयता आउनेवाला थिएन। पटकपटक आफैँले अघि सारेको मुद्दाबाट सरक्क पछि सरेको माओवादी र सरकारबाट सर्वसाधारणले १० वर्ष सकस भोगे। तर परिवर्तन प्रचण्डहरूलाई मात्र आयो।

यदि, साँच्चै परिवर्तन हुँदो हो त माओवादी द्वन्दको आधार इलाकाबाटै करोड रूपैयाँसम्म खर्चेर जोखिम मोल्दै गाउँ नै रित्तिने गरी युवाहरू तल्लो बाटो अमेरिका छिर्दैन थिए होला। लाइन लागेर युवा विदेश जानका लागि त्रिभुवन विमानस्थल पुग्दैन थिए होला। देश परिवर्तनको झिनो आश मात्र बाँकी हुन्थ्यो भने युवाशक्ति देशभित्रै केही न केही उद्यम गर्न अग्रसर हुन्थ्यो होला।

गरिबको शासन व्यवस्था ल्याएर देशमा शान्ति कायम गर्ने आश्वासन दिएका सुप्रिमो प्रचण्ड अहिले भन्दै छन्, “म बाचुञ्जेल देशमा उथलपुथल भइरहन्छ।”

प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्। 

लेखक जेबी दर्लामी मगरले सानो उपन्यासमा माओवादी पार्टीको उत्थान र पतनको सिंगो कालखण्डको सुन्दर चित्र उतारेका छन्। रोल्पाबाट शुरू भएको क्रान्ति सिंहदरबार पुगेर अवसान हुँदा प्रचण्डलाई दुख्यो कि दुखेन कुन्नी, पश्चिम नेपालको नांगो पहाडतिर कतै छुटेका मानबहादुरहरूलाई भने पाइला पाइलामा दुखाइरहेको छ। भारतको कालापहाड र अरबको प्रचण्ड गर्मीमा उनका सारथीहरू मुर्झाइरहेको पत्तो पो प्रचण्डलाई छ कि छैन?

त्यो द्वन्द्वलाई आफैँले नजिकबाट नियालेका जेबीले गरेको बयान जीवन्त लाग्छ। त्यसका पात्रहरूलाई हाम्रै वरिपरि भेटिन्छ। किताब नसकिएसम्म कौतूहलता जागिरहन्छ। कथाले पाठकलाई चिमोटिरहन्छ।

किताबको अर्को सशक्त पाटो कथा वाचन शैली हो। कथा वाचनको आकर्षक शैलीले पाठकलाई अन्तिमसम्म बाँधिरहन्छ।


सम्बन्धित सामग्री