Wednesday, May 01, 2024

-->

व्यावसायिक कम्पनी खोलेर रैथाने बाली संरक्षणमा किसानलाई उत्साह थपिरहेका तिलक

तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।

व्यावसायिक कम्पनी खोलेर रैथाने बाली संरक्षणमा किसानलाई उत्साह थपिरहेका तिलक

काठमाडौँ– रैथाने कृषि उत्पादनको प्रचारप्रसार र बजारीकरणका लागि सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा छ्यापछ्याप्ती छाइरहने नाम हो तिलक ढकाल। २० वर्षसम्म संरक्षणको क्षेत्रमा काम गरेका उनी पछिल्लो चार वर्षदेखि गाउँघरका रैथाने कृषि उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण तथा प्रचारप्रसारमा लागेका छन्।

विभिन्न जिल्लाका गाउँगाउँमा भएका स्थानीय उत्पादनलाई काठमाडौँसम्म ल्याएर रैथाने बालीहरूको स्वाद काठमाडौँवासीलाई चखाउने काम ‘रैथाने एग्रिप्रडक्ट’मार्फत गरिरहेका छन् उनी। निर्वाहमुखी खेतीकिसानी गर्दै रैथाने बालीलाई अहिलेसम्म जोगाइरहेका किसानहरूलाई उनको यस्तो कामले राहत प्रोत्साहन मिलेको छ। घरमा उपभोग गरेर बढी भएको रैथाने बाली बिक्री गर्दा किसानहरूले थोरै उत्पादनबाट पनि उच्च मूल्य पाएका छन्।  

करिब १२ वर्षअघि बर्दियाको एउटा घटनाले ढकाललाई रैथाने कृषि बाली प्रवर्द्धनतर्फ मोडिदियो। उनी विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) मा कार्यरत थिए। उनको कार्यक्षेत्रमा कैलाली र बर्दिया जिल्ला पर्दथे। २०६७ सालमा सरकारले ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने भन्दै होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि ल्यायो। संरक्षणको क्षेत्रमा काम गर्ने भएकाले यसका चुनौती उनलाई राम्रोसँग थाहा थियो। संरक्षणका कामबाट मानिसले लाभ प्राप्त नगरेसम्म संरक्षण सफल हुन कठिन छ भन्ने कुरा उनले राम्रोसँग बुझेका थिए। 

राष्ट्रिय निकुञ्जनजिक रहेको बर्दियाको मधुवनमा अवस्थित डल्ला गाउँ जंगली जनावरबाट त्रसित थियो। त्यहाँ बाघ, हात्ती लगायतका जनावरहरूसँग मानिसको जम्काभेट भइरहन्थ्यो। यसले गर्दा स्थानीय वासिन्दामा वन्यजन्तुप्रति नै नकरात्मक धारणा थियो। त्यसकारण आर्थिक उपार्जनका कामसँग जोडेर वनजंगलप्रति उनीहरूको परनिर्भरता घटाउने उपायस्वरूप डल्लामा पर्यटकका लागि ‘होमस्टे’ सञ्चालन गर्ने योजना बन्यो। २०६८ सालमा होमस्टे सञ्चालनमा पनि ल्याइयो। वन्यजन्तु हेर्न आएका पर्यटकलाई गाउँमा भित्र्याएर त्यसबाट आयआर्जन गर्नु त्यसको उद्देश्य थियो। 

होमस्टेका पाहुनालाई घरमा जे उत्पादन हुन्छ त्यही खुवाएर र स्थानीय संस्कृतिसँग साक्षात्कार गराइन्छ। “होमस्टे त शुरू गरियो। तर गाउँमा स्थानीय उत्पादन केही थिएन। सबै सामान बजारबाट ल्याउनुपर्ने,” उनी भन्छन् “त्यसपछि रैथाने कृषि उत्पादन नासिएछ भन्ने लाग्यो। त्यहाँदेखि हो मेरो मनमा स्थानीय कृषि उत्पादनको संरक्षण गर्नुपर्छ भन्ने चेत आएको।” डब्ल्यूडब्ल्यूएफमा नजोडिएको भए रैथाने कृषि बाली संरक्षण गर्नुपर्छ भन्ने चेत आउँदैनथ्यो भन्ने लाग्छ उनलाई अहिले।   

कतिसम्म भने मानिसले स्थानीय थारू संस्कृतिसमेत बिर्सिसकेका थिए। थारू समुदायकै बाक्लो बसोबास रहेको दाङका मानिसलाई बर्दिया लगेर थारू संस्कृति जोगाउने तालिम दिएको ढकाल सम्झन्छन्। डब्ल्यूडब्ल्यूएफसँग जोडिनुमा पनि उनको रोचक कथा छ। उनको अध्ययन वन विज्ञान र वतावरणसँग सम्बन्धित होइन। उनी व्यवस्थापनका विद्यार्थी हुन्। 

डब्ल्यूडब्ल्यूएफमा जोडिनुअघि ढकालले रेडक्रस र खानेपानीसँग सम्बन्धित एक संस्थामा काम गरेका थिए। त्यसबेला धनप्रसाद राईसँग चिनजान थियो। उनीसँगकै सम्पर्कका कारण उनी डब्ल्यूडब्ल्यूएफमा जोडिए। “मैले डब्ल्यूडब्ल्यूएफमा जागिर खान परीक्षा दिएको होइन। सामान्य अन्तर्वार्तामा सहभागी भएको हुँ,” उनी सुनाउँछन् “त्यतिबेला उपल्लो डोल्पामा काम गर्ने गरी मान्छे चाहिएको रहेछ। त्यही जिम्मेवारीका लागि म त्यहाँ जोडिएँ।” 

डोल्पा प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो, तर भौगोलिक रूपमा एकदमै विकट। यातायातका साधन चल्दैनथे। जहाजको पनि टुंगो हुँदैनथ्यो। सदरमुकामभन्दा बाहिर त सबैतिर हिँडेरै पुग्नुपथ्र्यो। उनको कार्यक्षेत्र भने उपल्लो डोल्पा थियो जहाँ सदरमुकामबाट हिँडेर पुग्न झन्डै एक हप्ता लाग्थ्यो। त्यतिबेला सञ्चारका साधन पनि अहिलेजस्तो छ्यापछ्याप्ती थिएनन्। जिल्ला सदरमुकाममा एउटा टेलिफोन बुथ थियो जहाँबाट बाहिर कतै फोन गर्न दुई–तीन दिनअघि नै नाम टिपाउनु पर्दथ्यो। 

पहिला मानवीय सेवाभावसँग सम्बन्धित रेडक्रसमा काम गरिसकेका ढकाललाई प्रकृति र वन्यजन्तु संरक्षणमा पनि रस पसिसकेको थियो। गाउँ–गाउँमा स्थानीय समुदायलाई प्रकृति र संरक्षणका कुरा सिकाउँदै हिँड्नु, समुदायलाई तालिम दिनु र समूह गठन गर्नु उनको दैनिकीजस्तै थियो। उनी प्रायः गाउँमै डुल्न र समाजसँग अन्तरक्रिया गर्न रुचाउँथे जसले उनलाई प्राकृतिक विविधतासँग झन् नजिक बनाउँदै लग्यो। 

माओवादीको अपहरणमा
डोल्पामा बस्दा उनले जीवनमा भुल्नै नसक्ने घटना पनि भयो जसले उनलाई अहिले पनि झस्काइरहन्छ। सन २००३ को कुरा हो। त्यतिबेलाको सशस्त्र विद्रोही माओवादीको प्रभाव सबैतिर थियो। उनी शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गठित उपभोक्ता समूहसँगको एउटा कार्यक्रममा भाग लिन डोल्पाको तत्कालीन त्रिपुराकोट गाविसमा पुगेका थिए। कार्यक्रम सकेर साँझ गाउँमै बास बसे। तर राति पाँच जना हतियारधारी माओवादी लडाकु आएर उनलाई अपहरण गरी डेढ दिन हिँडाएर कालिका भन्ने ठाउँमा पुर्‍याए। त्यसरी अपहरणमा पर्नुको मुख्य कारण चन्दाको आशा र सेनासँगको सम्बन्ध हो भन्ने लाग्छ उनलाई। 

अपहरण गरेपछि माओवादीले चन्दा मागे। तर उनले संस्थागत रूपमा चन्दा दिनै नमिल्ने बरु डब्ल्यूडब्ल्यूएफका कार्यक्रम नै डोल्पाबाट फिर्ता जानेसम्मको प्रष्ट सन्देश अपहरणकारीहरूलाई दिए। त्यो सुनेपछि माओवादी लडाकुहरू चन्दा माग्नबाट पछि हटे। नेपाली सेनासँग मिलेर संरक्षणको काम गर्ने र सेनालाई तालिम पनि दिने भएकाले माओवादीले आफूलाई अपहरण गरेको हुनसक्ने उनी अहिले अनुमान गर्छन्। अपहरणको सातौँ दिन उनलाई माओवादी कार्यकर्ताले जहाँबाट लगेका थिए त्यहीँ ल्याएर मानवअधिकारवादी संघसंस्थाको रोहवरमा मुक्त गरे। 

अनि जन्मियो ‘रैथाने एग्रिप्रडक्ट’ 
बर्दियामा होमस्टे स्थापनाका क्रममा भएका अनुभवले रैथाने कृषिलाई प्रवर्द्धन गर्ने सोँच पलाएको आठ वर्षपछि त्यसैलाई व्यवहारमा कायान्वयन गर्ने उद्देश्यअनुरूप तिलकले डब्ल्यूडब्ल्यूएफको जागिर त्यागे। अनि आफूभन्दा वरिष्ठ सहकर्मीहरू डा. शान्तराज ज्ञवाली र शन्तोषमणि नेपाललाई आफ्नो योजना सुनाए। ढकालको योजना सुनेपछि ज्ञवाली र नेपालले उत्साही हुँदै अभियानमा आफूहरू पनि संलग्न हुने बताए। 


“उहाँहरूले स्वीकृति मात्र जनाउनुभएन कि हामी पनि त्यसमा सहभागी हुन्छौँ भन्नुभयो। हुँदैन भनेको भए सायद म अहिलेसम्म जागिरमै हुन्थेँ होला,” उनी भन्छन्। त्यसभन्दा अघि उनले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका प्रमुख बालकृष्ण जोशी र रैथाने बीउ प्रवर्द्धनमा काम गरिरहेका बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठलाई पनि आफ्नो योजना सुनाएका थिए। उनीहरू दुवै जनाले समेत नेपालमा निजी क्षेत्रबाट त्यस्तो खालको काम अघि बढाउनु आवश्यक रहेकोमा जोड दिएका थिए। 

सुनाएका सबैबाट सकारात्मक सल्लाह–सुझाव पाएपछि उनको योजना अघि बढ्यो। ढकाल चाहन्थे, सबै जिल्लाका प्रतिनिधिहरूलाई समेट्ने गरी सहकारी बनाएर अघि बढ्ने। तर विद्यमान कानूनले स्थानीय तहको एउटै वडामा बसोबास गर्ने नागरिकबाहेक अन्यत्रका वासिन्दालाई सहकारीको शेयरधनी बनाउन नदिएपछि कम्पनीअन्तर्गत जानुपरेको उनी बताउँछन्। 

दश जना मात्र शेयर सदस्य भएको कम्पनी बनाउने भनिए पनि सबैलाई समेट्दा कम्पनीमा शेयरधनीको संख्या ४९ पुगेको ढकालले बताए। उनी भन्छन् “यो संरक्षण अभियान मात्र नभएर व्यापार पनि हो। त्यसकारण हामीले छरितो टीम बनाउन चाहेका थियौँ, तर सबै इच्छुक साथीहरूलाई समेट्दा ठूलो समूह बन्यो।” 

उनका अनुसार रैथाने बालीलाई व्यवसायिक ढंगबाट अगाडि बढाउन शुरू गरिएपछि किसानले स्थानीय स्तरमा लोप भइसकेका जातहरूको पुनः खेती गर्न थालेका छन्। उदाहरणको लागि तीन वर्षअघि नुवाकोटको शिखरबेसीमा मुस्किलले तीन क्विन्टल समुद्रफिनी नामको धान भेट्टाएका ढकालले एक क्विन्टल धानलाई १० हजार रुपैयाँ तिरेर खरिद गरे। अर्को वर्ष त्यहाँ २५ क्विन्टल धान पाए।

त्यसैगरी ढकाललाई पहिलो वर्ष मकवानपुर र चितवनका गाउँगाउँ डुल्दा ७५ किलो जुनेलो जुटाउन मुस्किल भयो। तर दोस्रो वर्ष तिनै गाउँबाट उनले तीन क्विन्टल जुनेलो पाए। “राम्रो मूल्य पाएपछि त किसान रैथाने बालीमा स्वतः आकर्षित हुँदा रहेछन् भन्ने यी केही उदाहरणले देखाउँछन्,” उनी भन्छन्।

अहिले ५० जिल्लाबाट करिब ३०० प्रकारका रैथाने उत्पादनहरू ‘रैथाने एग्रिप्रडक्ट’मा आउँछन्। किसानले कम्पनीलाई सोझै बिक्री गर्न पाउने हुँदा बीचमा नाफाका लागि किनबेच गर्ने व्यापारीको तह नभएकाले मूल्यमा किसान ठगिनु नपरेको ढकाल बताउँछन्। ‘रैथाने एग्रिप्रडक्ट’ नेपालले हाल बार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको उनले जानकारी दिए।


सम्बन्धित सामग्री