Monday, April 29, 2024

-->

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीबाट गर्नुपर्छ : कांग्रेस

कांग्रेसले सुन तस्करी प्रकरणको सीआईबीलगायत सरकारी निकायमार्फत निष्पक्ष छानबिन गराई घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीबाट गर्नुपर्छ  कांग्रेस

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १०० किलो सुन प्रकरणको नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकायले गर्नुपर्ने निर्णय गरेको छ।

कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भए भन्दै यस्ता प्रकृतिका अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि गठित भएको सीआईबीलगायत सरकारी निकायहरूबाट निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएको हो।

“यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानबिन, अनुसन्धान गरिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ,” सोमबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने।

कांग्रेसभित्र सुन तस्करी लगायतका प्रकरणको उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान गर्नुपर्ने माग उठेको थियो। संस्थापनइतर सांसदले उच्च स्तरीय छानबिन समितिको माग गरे पनि कांग्रेस संस्थापन पक्ष सुन प्रकरण सीआईबीमार्फत गर्नुपर्ने पक्षमा उभिएको हो। प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन पार्टीले अनुरोध गरेको बताए।

त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसद्को अवरोध अन्त्य गर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलले लामो समयदेखि संसद्को बैठक अवरोध भएको भन्दै संसद्को अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपिल गरेको छ। प्रतिपक्षले कुनै विषयमा संसद्मा आलोचनात्मक रूपमा प्रस्तुत हुनु स्वाभाविक भए पनि लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारी भएको कांग्रेसको ठहर छ।

“लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारी हो । सदन अवरुद्ध भएका कारण एकातिर जनताका सरोकारका विषय सदनमा उठ्न सकेका छैनन् भने अर्कोतर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानून बन्न सकेका छैनन्” उनले भने।

बैठकले सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए।

त्यसैगरी, संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न कांग्रेसले सरकार र संसद्मा क्रियाशील सबै दलहरूलाई अपिल गरेको छ। संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेसम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ। कांग्रेसले संसद्भित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रूपले लाग्ने निर्णय गरेको लेखकले स्पष्ट पारे।

कांग्रेस संसदीय दलको बैठकले आव २०८०/८१ को बजेटमा भएका कमीकमजोरीलाई सुधार गर्दै चालु आवको बजेटलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न सरकारसमक्ष अनुरोध गरेको छ। कांग्रेसले संघीय संसद्लाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

त्यसैगरी कांग्रेस संसदीय दलको बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सबै प्रकारका घटनाहरूको स्वतन्त्र रूपमा छानबिन गर्न सरकारसँग माग गरेको छ भने भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारलाई अनुरोध गरेको छ।

कांग्रेस प्रमुख सचेतक लेखकले सरकारी निकायले दिने सेवा प्रवाह छिटो, छरितो हुनुपर्ने, जग्गाको कित्ताकाटमा देखिएको समस्याको समाधान गर्नुपर्ने लगायत अन्य विभिन्न जनसरोकारका विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराए।

कांग्रेस प्रमुख सचेतक लेखकले वर्तमान सत्तारुढ गठबन्धन नेपाली कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको उल्लेख गर्दै गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक रहेको बताए। “गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक छ। तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गर्दछ,” उनले भने।


सम्बन्धित सामग्री