Sunday, April 28, 2024

-->

जेलबाट छुट्दाछुट्दै कांग्रेसमा ‘खाँण प्रभाव’को चर्चा

उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।

जेलबाट छुट्दाछुट्दै कांग्रेसमा ‘खाँण प्रभाव’को चर्चा

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण २२० दिनको बन्दी जीवन बिताएर शुक्रबार थुनामुक्त हुँदा उनको अनुहारमा केही चमक देखिन्थ्यो। उच्च अदालत पाटनले मागेको ३० लाख धरौटीबापत शुक्रबार बैंक ग्यारेन्टी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको थियो।

सम्पत्ति शुद्धिकरण विभागले पनि उनीसँग १५ लाख धरौटी माग गर्‍यो। त्यसका लागि उनले जग्गा धितो राखेर बैंक ग्यारेन्टी बुझाए। अख्तियारले भने उनलाई साधारण तारेखमा छाडिदियो। 

उच्च अदालतले नक्कली शरणार्थी प्रकरणका अन्य अभियुक्तबारे मंसिर १५ गते नै आदेश दिएको थियो। त्यही दिन खाँण थुनामुक्त हुने आशामा अदालत परिसरमा उनका समर्थकको ठूलो भीड जम्मा भएको थियो। तर न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा उनको बारे आदेश आउन सकेन। बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको सुनुवाइपछि न्यायाधीश पाण्डेकै रायमा कोइरालाले सहमति जनाएपछि खाँण रिहा हुने बाटो खुलेको थियो। मंसिर १५ मा न्यायाधीश खरेलले खाँणलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएका थिए भने, पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। 

उच्च अदालत नियमावली २०७३ को दफा १२ मा राय बाझिएमा तेस्रो न्यायाधीशको इजलासबाट हेरिने व्यवस्था छ। त्यही कारण बिहीबार उच्च अदालत पाटनकै एकल न्यायाधीशको इजलासमा पुनः पेसी तोकिएको थियो। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए। प्रारम्भिक सुनुवाइपछि असार १ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले खाँणसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

मुद्दाको अन्तिम टुंगो नलागे पनि उच्च अदालतको आदेशले खाँणलाई तत्काल राहत भएको छ। उनी रिहा भइसकेपछि यसले कांग्रेसको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने चासो पनि देखिन्छ। बुधबार मात्र शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको बैठक बसेको थियो। कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ। खाँण पक्राउ परे पनि कांग्रेसले निलम्बन गरेको थिएन।

यसअघि, खाँण पक्राउको विषयलाई लिएर पार्टीभित्रै फरक मत सार्वजनिक भएका थिए। खाँण निकटका नेताहरूले पार्टी सरकारमा हुँदा पनि उनलाई फसाउने काम भएको बताएका थिए। केही नेताहरूले भने पक्राउ परेर अदालतले पूर्पक्षका लागि थुनामा पठाइसकेपछि उनलाई तत्काल केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए।

तर यसमा सभापति शेरबहादुर देउवा मौन थिए। उनले तत्काल खाँणलाई निलम्बन गर्ने विषयमा कुनै चासो देखाएनन्। उल्टै खाँणले अदालतबाट सफाइ पाउने बताइरहन्थे। खाँण निकट नेताहरू भने उनी पक्राउ पर्ने अवस्था आउँदा पनि देउवा मौन बसेको भनेर असन्तुष्ट थिए। 

गएको मंसिर १२ गते रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवालाई जिल्लाका नेता कार्यकर्ताले खाँणलाई फसाइएको बताएका थिए। त्यसपछि देउवाले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए। “बालकृष्ण खाँण यहाँको नेता हो, तपाईंहरूले चुनेर पठाएको प्रतिनिधि पनि हो। त्यसकारण तपाईंहरूलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,” उनले भनेका थिए, “मलाई न्यायालयमा विश्वास छ। उहाँले न्याय पाउनुहुनेछ।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जस्तो अपराधमा आफ्नै विश्वासपात्र मुछिएपछि देउवा गम्भीर बनेको उनी निकट एक नेता बताउँछन्। “धेरै साथीभाइहरूले खाँणलाई बचाउन भूमिका खेलेन भन्नुहुन्छ। तर गम्भीर अपराधमा मुछिइसकेपछि सभापतिज्यू पनि मौन बस्नु भएकै हो,” उनले भने। 

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कोही पनि व्यक्ति संस्थामा हुनु र नहुनुमा फरक पर्ने बताउँछन्। “बालकृष्ण खाँण जस्तो कुशल संगठक पार्टीका मुख्य दुई शक्तिशाली भातृ संस्थाको अध्यक्ष भइसकेको र गृहमन्त्री भएको व्यक्तिको पार्टीमा भूमिका महत्त्वपूर्ण हुन्छ। उहाँलाई लागेको अभियोग अहिले अदालतले ठहर नगरेपछि त्यो आदेश न्यायोचित छ,” उनले भने, “पार्टीका साथीहरूमा न्यायपालिकाप्रतिको विश्वास फेरि जागेको छ।”

एकथरीले खाँणलाई कारबाही गरेन भनेर नेतृत्वलाई गाली गर्ने र अर्कोथरीले खाँणलाई छुटाएन भनेर गाली गर्ने काम भएको नेता विश्वकर्मा बताउँछन्। कसैको दबाब र प्रभाव केही नभएर न्यायोचित्त रूपमा उनी रिहाइ भएको भनेर बुझ्नुपर्ने विश्वकर्माको भनाइ छ।

थुनामा हुँदा शेखरको ढाडस
खाँण पक्राउ परेपछि हिरासतमा उनलाई भेट्न केही नेता त्यहाँ पुगेका थिए। तर अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागारमा राखिएको थियो। कारागारमै पुगेर नेता शेखर कोइरालाले साउन ३१ र असोज ६ गते उनीसँग भेट गरेका थिए। 

शेखर निकट एक नेता थुनामा रहेका बेला खाँणलाई ढाडस दिने काम भएको बताउँछन्। शेखर कारागारमै पुगेर खाँणलाई भेट्नुको पछाडि उनी निकट नेताको सहयोग आफूतर्फ तान्ने रणनीति भएको ती नेता बताउँछन्। 

१४औँ महाधिवेशनमा एकै समूह बनाएर अघि बढेका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच पछिल्लो समय अन्तरविरोध थियो। उक्त अन्तरविरोधले संस्थापन पक्षलाई फाइदा हुने भन्दै इतर समूहकै नेताहरू दुवै नेतालाई मिलेर जाने विषयमा सहमति जुटाउन प्रयत्नरत थिए। त्यसको सार्थकता मंसिर २७ गतेको भेलाले पायो। दुवै नेताहरू मिलेर अघि बढन सहमत भए। 

भेलामा बोल्दै महामन्त्री गगन थापाले शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन पहल थाल्नुपर्ने प्रस्ताव नै गरे। इतर समूहले संसदीय दलको नेताबाट देउवालाई हटाउने विषयमा छलफल गरेको तेस्रो दिन नै भएको खाँणको रिहाइले आन्तरिक राजनीतिमा उनले भूमिका खेल्न सक्ने कांग्रेस नेताहरूको बुझाइ छ।

खाँण पार्टीभित्र बलियो पडक भएका नेता हुन। उनले देउवाको साथ छोडेर कोइराला समूहसँग नजिक भए त्यसको लाभ लिन सकिने बुझाइ इतर पक्षको छ। तर उनले अहिले नै एउटा गुट छोडेर अर्कोमा जाने सम्भावना कमै छ। उनी निकट सहमहामन्त्री महेन्द्र यादव पहिले पनि नेता खाँणको सम्बन्ध सबै नेताहरूसँग राम्रो रहेको र अहिले पनि त्यही अवस्था रहेको बताउँछन्।

“रिहा भइसकेपछि उहाँ पहिले जसरी सक्रिय हुनुहुन्थ्यो, त्यसरी नै लाग्नुहुन्छ। कांग्रेसको राजनीतिमा सबै गुटका नेताहरूसँग राम्रो सम्बन्ध छ। त्यो रहिरहन्छ,” उनले भने, “कसैसँग उहाँको असन्तुष्टि छैन। सबैलाई उहाँको सम्मान उत्तिकै छ।” 

खाँणको रिहाइले कसैलाई फाइदा र घाटा नहुने भन्दै यादव उनले पार्टीको लागि काम गर्ने बताउँछन्। अदालतले उनलाई न्याय दिएको तर कांग्रेस पनि सहभागी भएको सरकारले अन्याय गरेको उनको भनाइ छ। 

“निर्दोष मानिसलाई राज्यले फसाएको हो। तर न्यायालयले न्याय दिएको छ,” यादव भन्छन्, “भर्खरै रिहा हुनुभएको छ। के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा उहाँले सबै कुरा अध्ययन गर्नुहुन्छ। अहिले नै कसैप्रति आग्रह वा पूर्वाग्रह छैन।”


सम्बन्धित सामग्री