Sunday, April 28, 2024

-->

समुदायमा कांग्रेस, मधेशमा कांग्रेस

प्रदीप गिरि भन्नुहुन्थ्यो– स्थापनाकालदेखि नै नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेश नै हो। कांग्रेसले आदर्श र विचारधाराको क्षेत्रमा तयारी गर्नुपर्ने छ। मधेशलाई सम्बोधन गर्दै भन्नुपर्ने अनेक छन्।

समुदायमा कांग्रेस मधेशमा कांग्रेस

हाम्रा ‘समुदाय’ राज्य र बजारसँगको रफ्तारमा धेरै पछि परिसकेको छन्। जबकि कुनै पनि देशमा सहभागितामूलक समुन्नतिका लागि त्यहाँका समुदायहरू राज्य र बजारसँगै दौडिनै पर्छ। अर्थात् समुदाय सक्षम, सशक्त र सक्रिय हुनुपर्छ। सशक्त र सक्षम समुदायको सक्रियताले नै समुन्नतिको बाटो पहिल्याउने हो। हामीकहाँ भने यो यथार्थलाई राजनीतिज्ञहरूले विल्कुलै अनदेखा गरेका छन्। 

राजनीतिक प्रतिवेदनहरूमा यदाकदा समेटिने समुदायहरू व्यवहारतः बहिष्कृतजस्तै छन्। समुदायलाई प्राथमिकतामा राखेर सोच्ने राजनीतिक चेत लुप्तप्रायः छ। राज्य र बजारबाट समुदाय अलगथलग छन्। समुन्नतिका हरेक विषयमा जोडिने राज्यपक्ष बजारबाट नियन्त्रित र निर्देशित छ, समुदाय उपेक्षित छ। 

बजारबाट राजस्व असुली गर्ने ध्याउन्नमा राज्यपक्ष समुदायप्रतिको जिम्मेवारीबाट पन्छिएको छ। हामीले केचाहिँ बुझ्नुपर्छ भने जबसम्म राज्य र बजारसँग समुदायको सन्तुलित हिस्सेदारी हुँदैन तबसम्म जुनै पनि समुदाय पछि नै परिरहन्छ। अर्थात् देशमा सन्तुलित समुन्नति हुन सक्दैन। त्यसैले सन्तुलित समुन्नतिका लागि हामीले समुदाय, बजार र राज्यबीच तालमेल मिलाउनै पर्छ। 

यो पृष्ठभूमिसँगै अब जोडिऔँ, अहिले चर्चा र बहसमा रहेको नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानसँग। नेपाली कांग्रेसले थालेको ‘समुदायमा कांग्रेस’ अभियानकै भरमा यो विषय (समुदाय)लाई उसले प्राथमिकतामा राखेको भनिहाल्नु त अलि पक्षधरता देखिएला। तर ‘समुदायमा कांग्रेस’ अभियानले समुदायप्रति उसको बरताव र समुदायको अपेक्षाबारे तुलनात्मक समीक्षाको ढोका खोलेको छ भन्दा तटस्थ नै होला। यो अभियानले आजभोलिमै समुदायलाई बजार र राज्यकै रफ्तारमा कुदाइहाल्ने त होइन। तर कम्तिमा नेपाली कांग्रेसका राजनीतिज्ञलाई समुदायबारे घोत्लिएर नसोचिरहन र यथास्थितिमै रहिरहन भने पक्कै नदेला।

आक्रोशसँगै अंकुराएको आशा
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान देशव्यापी भए पनि यो लेखन मधेशको पेरिफेरिमा केन्द्रित छ। अभियानका क्रममा मधेशका बस्तीमा पुग्दा त्यहाँ हामीले जनताका अनुहारमा आक्रोश देख्यौँ। तिनैका आँखामा आशाका भाव पनि भेट्यौँ। उनीहरूको आक्रोश र आशा मिश्रित प्रश्न र टिप्पणी कांग्रेस पार्टीसँग सम्बन्धित त थिए नै, साथसाथै अभियानको नेतृत्व गरिरहेका कांग्रेस महामन्त्री गगन थापासँग पनि कैयौँ ठाउँमा उनीहरूको ‘नाराजगी’ पोखिइएको थियो। यद्यपि ती नाराजगीभित्र गगनप्रति आशा र भरोसाका भावहरू भरिएका थिए।

बाहिरबाट झट्ट हेर्दा मधेश भन्नेबित्तिकै हाम्रो आँखाअगाडि विभेदको विम्ब आउँछ। जब भित्र पसिन्छ, तब यहाँ अभाव, तनाव र दबाबलगायत धेरै आयाम थपिन थाल्छन्। यी विम्बरूपी अवस्था यहाँका समुदायका सहज दिनचर्याका लागि अत्यावश्यक सेवा–सुविधाको अनुपलब्धताका कारण निम्तिएका हुन्। 

मधेशमा लागुऔषध, गर्भपतन, दहेजजस्ता सामाजिक समस्या अथाह छन्। पिउनका लागि पानी, खेतीकिसानीका लागि मल, सिँचाइ, बिउ, आधारभूत सेवायुक्त स्वास्थ्य संस्था, पर्याप्त शैक्षिक संस्थाको अभाव छ। तस्करीलगायत आपराधिक गतिविधिको जगजगी छ। बेरोजगारले काम खोज्न थातथलोबाट बसाइँ सर्नुपर्ने अवस्थाका कारण गाउँसमुदाय तनावमा छन्। सीमाञ्चल आडैमा बसोबास गरिरहेकाहरू दोहोरो दबाबमा छन्। 

महामन्त्री गगनलाई भोक्ताकै आँगनमा पुगेर यी यावत् समस्याबारे अनुभूत गर्ने मौका जुर्‍यो। उनले अभियानका दौरान कैयौँ समुदायमा आफूले यहाँका समस्या सूक्ष्म रूपमा पहिचान गर्न पाएको जाहेर पनि गरे। र, समाधानका सम्भावित उपाय औँल्याउँदै अबका दिनमा यहाँका समुदायलाई मन मुटुमा राखेर अघि बढ्ने उनको प्रण पनि मधेशले महसुस गर्‍यो। त्यसैले त यहाँको समुदायले भोलिका दिनमा कांग्रेसको संलग्नतामा बन्ने नीति, नियम र योजनामा गगनको प्रण झल्किने अपेक्षा राखेको छ। संघीय राजधानीले कुनै पनि निर्णय लिँदा मधेशका सबै समुदायको अनुहार सम्झिनेछ भन्ने भरोसा व्यक्त गरेको छ मधेशले।

गल्ती नगरून्
मधेशको अपेक्षा कांग्रेसको नेतृत्वमा पूरा गराउने सवालमा महामन्त्री थापाले थुप्रै चुनौती चिर्न सक्नुपर्ने हुन्छ। सबैभन्दा चिन्ताको कुरा, कांग्रेसले मधेशमा आफूलाई गठबन्धनभित्रै हराइदिएको छ। शुरूआतमै मधेशमा कांग्रेसको वास्तविक ‘वजूद’ पुनर्जागृत गर्नुपर्ने छ। गठबन्धनको गलपासोमा उनिन पुगेको कांग्रेस यहाँका समुदायका दैनन्दिनसँग जोडिएका मुद्दामा पनि मौनप्रायः छ। केन्द्रका नेताहरू त टाढा थिए रे, बोलेनन्। यहीँकै नेता भनिएका पनि मधेशीका समस्यामा बोलिदिएका छैनन्।

आफूलाई ठूलो पार्टीको ठान्ने कांग्रेस नेताहरूलाई दुःख लाग्ला, तर सत्य के हो भने राष्ट्रिय राजनीतिमा मात्र नभई कांग्रेसभित्रै पनि अहिले सक्रिय भनिएका पहिलो र दोस्रो पुस्ताका मधेशका नेताहरूको नगण्य प्रभाव छ। राष्ट्रिय राजनीतिमा आफूहरूको महत्त्व र सान्दर्भिकता दर्साउन सक्ने नेता मधेशमा कांग्रेसले जन्माउनै सकेको छैन। अहिले मधेशले सुशासन, समुन्नति र सम्मानसँगै पुरानो कांग्रेस (मधेशलाई मनैदेखि मानेको)मा नयाँ नेता खोजेको छ। र जसले देशकै नेतृत्व गरोस् भन्ने पनि चाह राखेको छ, जुन पात्र निःसन्देह कांग्रेस महामन्त्री गगन हुन्। किनकि यहाँको समुदायले अभियानका दौरान गगनमाथि भरोसा व्यक्त गरेर उनलाई देशकै प्रमुख नेताको रूपमा अनुमोदन गरेको बुझ्न सकिन्छ।

कांग्रेसका नेता–कार्यकर्ता र शुभेच्छुकले मात्र नभई अन्य पार्टीका नेताले पनि गगनप्रति आशा र भरोसा जताइरहेका छन्। अभियानका दौरान गगन वीरगन्जमा हुँदा जसपाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद प्रदीप यादवले समेत गगनलाई भावी प्रधानमन्त्रीका रूपमा देख्न चाहेको अभिव्यक्ति दिए। यसको अर्थ गगनसँग राजनीतिक उडान भर्न मधेशको आकाश खुला रहेको बुझिन्छ। अब बस्, गगन स्वयंले मधेशको खुला आकाशमा छाउने प्रयत्न गरून्।

मधेशले गगनलाई देशकै प्रमुख नेतामा अनुमोदन गरिरहँदा उनले पनि मधेशमा कुशल नेतृत्वको खडेरी पर्न नदिनेतर्फ सोच्नै पर्ने भएको छ। उनले कुराकानीहरूमा संकेत गरेअनुसार यसतर्फ विचार पुर्‍याइसकेका पनि छन्। विगतमा कांग्रेसका लागि मधेश राजनीतिको उर्वर भूमि त बन्यो, तर उस्तै उर्वरता कायम राखिरहन रैथाने बिउको (स्थानीय नेतृत्वको) संरक्षण र संवर्द्धन गर्नेतर्फ उसले ध्यान दिएन। फलतः मधेशमा कांग्रेस नेतृत्व फस्टाएन। र, पार्टी कमजोर हुँदै गयो। 

कांग्रेसमा दलाली र चाप्लुसी प्रवृत्ति बढ्दो छ। प्रायः नेता पनि चापलुसहरूलाई नै अघि बढाउन र अवसर दिन उद्धत देखिन्छन्। दलाल र चापलुसको एक किसिमको सिन्डिकेट नै छ मधेशमा, जसलाई तोड्न खोज्दा अनेक अवरोधको सामना गर्नुपर्ने अवस्था छ। यस्तोमा सबैलाई जोडेर राख्न गगनका निम्ति सहज पक्कै छैन। 

‘जो बड़े नेताओं की चापलूसी करेंगे,
याद रखना, वही कलको बड़े नेता बनेंगे।’

हामीकहाँ प्रचलनमा रहेको यो शेरलाई गलत साबित गर्नुपर्ने चुनौती गगनले सामना गर्नुपर्ने निश्चित छ। यो मामिलामा गगनले भने गल्ती नगर्नेमा मधेश आशावादी छ। 

पुराना पुस्ताको पुनर्संघर्ष 
कांग्रेसभित्रको ठेकेदारी प्रथा मधेशको झनै ठुलो रोग हो। लोकतन्त्रका लागि अनेकन् संघर्ष गरेका मधेशका कांग्रेस नेताहरू अहिले त्यही संघर्षको ब्याजको स्याज खान छिनाझपटीमै लिन छन्। र यसलाई आफ्नो एकाधिकारझै ठानेका छन्। राजनीतिक परिवर्तनलाई आफ्नै पेवा ठानेर खास जिम्मेवारी र कर्तव्यबाट विमुख भएका छन्। राजनीतिक परिवर्तनसँगै अनेकन् पक्षमा आएका बदलावबारे सायद उनीहरूलाई अझै बोध भइसकेको छैन। 

पुराना पुस्ताका नेताहरूले के मनन गर्नु जरुरी छ भने अझै पनि संघर्षको लक्ष्यप्रति दायित्वबोध नहुने हो भने उनीहरू संलग्न आन्दोलनले ल्याएका उपलब्धि पनि लुटिने खतरा बढ्नेछ। हिजोसम्म राजनीतिक परिवर्तनका नायक भनिनेहरू भोलि खलनायकमा तबदिल हुनसक्ने सम्भावना उत्तिकै छ। त्यसैले परिवर्तनका लागि गरिएका संघर्षको मूल्य जोगाउन पुराना पुस्ताले आवश्यक परे फेरि संघर्ष गर्नुपर्ने भइदिएको छ। खासगरी ‘समुदायमा कांग्रेस’ अभियानले यसतर्फको आवश्यकता बोध गराएको बुझ्न सकिन्छ। 

मेरो बुझाइमा यो अभियान समुदायसम्म पुग्ने र उनीहरूको सुखदुख बुझ्ने पुनः प्रतिबद्धताको प्रारम्भिक पाइला हो। निरन्तरता रह्यो भने कांग्रेस समुदाय सन्निकट रहला पनि। विद्यमान प्रकृति, शैली र स्वरूप हेर्दा यो अभियानले अहिले नै कांग्रेस सबै समुदायमा भिजिहाल्ने भने देखिँदैन। समुदायमा घुलमिल हुन यो महत्त्वपूर्ण कडी भने साबित भएको छ।

त्यसैले समुदायमा पुरापुर घुल्न अब कांग्रेसले औपचारिक/अनौपचारिक रूपमा यस्ता अभियानलाई निरन्तरता दिन सक्नुपर्छ। ती अभियानमा कम्तिमा २०४६ सालयता कांग्रेसमा रहेर विभिन्न जिम्मेवार तहमा काम गरिसकेका नेता–कार्यकर्ताको सहभागिता अनिवार्य रहनुपर्छ। त्यो किनभने देशको विद्यमान अवस्थाको धेरथोर भागीदार उनीहरू पनि हुन्। राम्रा काम गरेका भए प्रशंसा र गलत गरेका भए गिलासिकवा गर्ने मौका समुदायलाई उनीहरूले दिनै पर्छ। जुन कांग्रेसका पुराना पुस्ता र आम जनताबीच आपसमा मन माझ्ने एउटा उपयुक्त थलोसमेत हुन सक्छ।

अन्त्यमा,
यही फागुन ७ गतेदेखि नेपाली कांग्रेसको महासमिति बैठक हुँदैछ। जुन पार्टीको नीति महाधिवेशन पनि हो। यसमा महामन्त्री गगनले यो अभियानका दौरान मधेशमा आफूले लिएका जायजाबारे सांगठनिक प्रतिवेदनमार्फत प्रस्तुत गरेको हेर्न/सुन्न मधेश प्रदेशका सबै समुदाय आतुर छन्। मधेशले चाहेको छ– कांग्रेसले अब मधेशमा हिजोका दिनमा जस्तो गल्ती नगरोस्। 

प्रदीप गिरि भन्नुहुन्थ्यो– ‘स्थापनाकालदेखि आजसम्म नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेश नै हो। कांग्रेसले आदर्श र विचारधाराको क्षेत्रमा तयारी गर्नुपर्ने छ। मधेशलाई सम्बोधन गरेर भन्नुपर्ने कुरा अनेक छन्। मधेशी जनसमुदायलाई आफ्नो मधेशप्रतिको विचारधाराबाट चित्त बुझाउन सक्नुपर्छ।’ गिरिले भनेझैँ कांग्रेसको आदर्श र विचारधारालाई मधेशका समुदायसम्म पुर्‍याउन जरुरी छ। जुन कामका लागि नेपाली कांग्रेसभित्र गगन र विश्वप्रकाशलगायतका दुर्दृष्टि राख्ने नेता नायक हुन सक्छन्। मधेशलाई स्पष्ट दृष्टिले हेर्ने र संगठनलाई समावेशी बनाउने गरी पार्टीलाई चलायमान बनाउन गगन–विश्वको पुस्ता भरोसायोग्य पनि छ।

हिजोका दिनमा कांग्रेसले मधेशका हकमा संघीयता र आरक्षणबारे स्पष्ट निर्णय गरेको थियो। कांग्रेसले नै विधिवत् रूपमा संघीय राज्य र मधेशी आरक्षणको कुरो सबैभन्दा पहिले उठाएको थियो। जुन कुराको घोषणा गर्ने नैतिक अधिकार कांग्रेसलाई छ। प्रदीप गिरिकै शब्दमा भन्दा–कांग्रेसले यो कुरा एक कदम अगाडि बढेर घरका छत, छाना र धरहरासमेत चढेर सिंगो देशलाई सुनाउन चुक्नु हुँदैन।

कतिपय कांग्रेसका नेता–कार्यकर्ताले महामन्त्री गगनलाई प्रदीप गिरिको विरासत थाम्न सक्ने नेताका रूपमा पनि चित्रित गरिरहेका छन्। अभियानका दौरान कांग्रेसका थुप्रै नेता–कार्यकर्ताबाट सार्वजनिक रूपमै सो भाव व्यक्त भइसकेको छ। मधेशलाई सबैभन्दा नजिकबाट बुझेका र मधेशले पनि मानेका प्रदीप गिरिको स्थानमा राखिनु स्वयं महामन्त्री गगनका लागि पनि गौरवको विषय हुनुपर्छ। 

कांग्रेसले मधेशप्रतिको जिम्मेवारी र कर्तव्य बिर्सेपछि उदाएका नयाँ दलहरूबाट यहाँको समुदायले धोखा पाइसकेको छ। नयाँ दलहरूसँग उनीहरूको आक्रोश झनै तीव्र छ। उनीहरूप्रतिको बढ्दो वितृष्णालाई कांग्रेसले अब राजनीतिक ‘मौका छोप्ने’ अवसर मात्र बनाउनु हुँदैन। बरु यसअघि मधेशको भरोसामाथि खरो उत्रन नसक्दा देशैले बेहोर्नुपरेको असहजताबारे आत्मबोध गर्दै मधेशको समुन्नतिलाई पनि आफ्नो कर्तव्य ठान्नुपर्छ। जुन गगन–विश्व पुस्ता चाँडै नेतृत्वमा नआउने हो भने सम्भव देखिँदैन।


झा नेपाली कांग्रेसका युवा नेता हुन्।


सम्बन्धित सामग्री