Sunday, April 28, 2024

-->

काठमाडौँको डुबान– खोला बस्तीमा पस्यो कि बस्ती खोलामा बस्यो?

‘पहिले नदी–खोला जति चौडा हुन्थे, त्यसलाई खुम्च्याएर दायाँ र बायाँ दुवैतिर घर बन्न थाले। अरू संरचना बने। सडक बने। अनि साँघुरिएका नदी–खोलाले पनि बग्ने ठाउँ खोजे।’

काठमाडौँको डुबान– खोला बस्तीमा पस्यो कि बस्ती खोलामा बस्यो 
बाढीले डुबानमा परेको काठमाडौँको थापाथलीस्थित सुकुमवासीबस्ती। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– सोमबार रातिदेखि मंगलबार बिहानसम्म भएको भारी वर्षाले थापाथलीस्थित सुकुमवासी बस्तीको निद्रा बिथोलिदियो। खासमा यो बस्तीको निद्रा बिथोलिएको सोमबार मात्र होइन, धेरै दिन, धेरै हप्ता भइसकेको छ। जबदेखि मनसुन शुरू भयो, यो बस्ती कोसिस गर्दागर्दै पनि ढुक्कले निदाउन सकिरहेको छैन।

सोमबार रातिदेखिको वर्षाले काठमाडौँमा नदी र खोला किनारका कैयौँ बस्ती डुबानमा परे। मंगलबार बिहान त करिडोरका सडकबाटै नदी–खोला बगिरहेका थिए। यस्तो त्रासदीमा बागमती किनारको यो सुकुमवासी बस्ती निदाउन सक्ने कुरै भएन। 

“पानी परेपछि सुत्ने कुरै भएन, आँखा झिमिक्क पनि गर्न सकिन्न। बालबच्चा सुताएर आफू बागमती हेर्न लाग्नुपर्छ। कतिबेला नदी पसेर बगाउला भन्ने डर लागिरहन्छ,” रातभर त्रासमा बिताएका थापाथली बस्तीका चन्द्रबहादुर लामाले मंगलबार गुनासो सुनाए।

चन्द्रबहादुर मात्र नभई थापाथलीको सुकुमवासी बस्तीका १३३ घर परिवारको कथाव्यथा ठ्याक्कै यस्तै छ। जब आकाश गडगडाउँछ, उनीहरूको मनमा त्यसैगरी त्रासको ढ्यांग्रो बज्छ। करिब दुई दशकदेखि थापाथलीमा बस्दै आएका चन्द्रबहादुरले बर्सेनि बाढी र डुबानको त्रास देखेका छन्। त्यसैले पानी पर्नसाथै उनको निद्रा बिथोलिन्छ। 

“सरकारले हामीहरू जस्ता बेसहारालाई बेलैमा व्यवस्थापन गरिदिएको भए सायद यस्तो त्रासमा बाँच्नु पर्दैनथ्यो कि?” उनले भने, “हामीलाई धेरैले धेरै लाञ्छना लाउँछन्, हामी कसरी बाँचिरहेका छौँ भनेर हेर्न पानी परेका बेला आउनुपर्छ। पानी नपरेका बेला डोजर लिएर आउनेलाई हाम्रो पीडा के थाहा!” 

बागमती किनारका सुकुमवासी बस्तीको कथा यस्तै छ। बागमतीमा पानीको सतह बढ्न थालेसँगै उनीहरूको मन त्रस्त हुन थाल्छ। 

“यसरी बस्ने रहर त हाम्रो पनि होइन,” सुकुमवासी बस्तीको टहरामा भेटिएका ईश्वर लामाले भने, “सरकारलाई यो सब थाहा छ, तर उनीहरू सधैँ थाहा नपाए झैँ गर्छन्।” 

ईश्वरका छिमेकी महेन्द्र यादवको त टहरा डुबानमा परेर भत्किएको छ। मंगलबार दिउँसो यादव टहरामा एक्लै भेटिए। बागमती पसेपछि छिमेकीले उनलाई अर्को ठाउँमा सारेका रहेछन्। “न मरिजानु न गरिखानु भएका छौँ। सुकुमवासी बस्तीका समस्या कसैलाई वास्ता छैन। बागमती गन्हाउने बेला डोजर ल्याएर आउँछन्, अहिले आएर बस्ती कस्तो छ बुझ्नुपर्‍यो,” ईश्वरले भने। 

यो पनि – वर्षात‍्को आगमनसँगै महानगरका सडक धराप बन्दै (भिडिओ)

बस्तीका सुकुमवासी मंगलबार दिनभर बागमतीमा पानीको सतह घटेपछि टहराभित्र पस्ने, बढेपछि फेरि बाहिर आउने गरिरहेका थिए। डुबानमा परेकाहरूलाई छिमेकीले मिलेर आश्रय दिइरहेको स्थानीय मीनकुमार रानाले बताए। “पानी माथितिर पर्छ, हामी तल्लो क्षेत्रका डुबानमा पर्छौं। यही हाम्रो दैनिकी,” उनले भने। 

बस्ती र सडकमा कसरी पसे नदी–खोला?
काठमाडौँका नदी किनारमा रहेका सुकुमवासी बस्ती मात्र होइन, अरू धेरै बस्तीसमेत सोमबार रातिको वर्षापछि डुबानमा परे। पार्टीका कार्यालय भवन डुबे। सरकारले नै बनाइदिएका तरकारी बजार डुबे। पक्की घर नै जलमग्न भए। सुरक्षित हुन कतिपयले रातारात घर छाडे।

सोमबार रातिदेखि मंगलबार बिहानसम्म निरन्तर भारी वर्षा हुँदा काठमाडौँ उपत्यकाभित्र बागमती नदीसँगै विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव ह्वात्तै बढ्यो। नदी र खोला करिडोरका सडकमै बग्न थाले। करिडोरमा रहेका घरभित्रै पानी पस्यो। रुद्रमती किनारका कालोपुल, सेतोपुल, अनामनगर लगायतका क्षेत्रमा डुबानको समस्या धेरै देखियो। 

यी बस्ती किन डुबानमा परे? शहरी योजनाका जानकारहरू नदी–खोलाको प्राकृतिक बहाव क्षेत्रलाई मिचेर बस्ती बसेका र कैयौँ संरचना बनाइएका कारण डुबानको समस्या निम्तिइरहेको बताउँछन्। उनीहरूका भनाइमा नदी–खोलाको क्षेत्र साँघुरो पारेर बस्ती र संरचना बनाउँदै जाँदा प्राकृतिक बहाव साँघुरो भएपछि यो समस्या आएको हो।

नदी–खोलाको बहाव र डुबान समस्याबारे जानकार बुद्धिनारायण श्रेष्ठ नदी–खोलालाई स्वाभाविक बहावका लागि आवश्यक पर्ने क्षेत्र मिचेर बहाव नै साँघुरो बनाइँदा काठमाडौँका धेरै ठाउँ डुबानमा परेको बताउँछन्। उनको भनाइमा बर्सेनि यो समस्या बढ्दो क्रममा छ। 

“काठमाडौँका खोला किनारमा पहिले वाल लगाइएको थिएन, पछि वाल लगाउन थालियो र नदी तथा खोला साँघुरो बनाइयो। स्वाभाविक लयमा हिँड्ने नदी–खोला यसरी बाँधिदिएपछि आफ्नो लयमा हिँड्न पाएनन्,” उनले भने, “पहिले नदी–खोला जति चौडा हुन्थे, त्यसलाई खुम्च्याएर दायाँ र बायाँ दुबैतिर घर बन्न थाले। सडक बने। यी र यस्ता कुराले नदी र खोलाको क्षेत्र साँघुरो बन्यो।”

यही कारण बर्खाको समयमा धेरै पानी पर्दा नदी–खोला ओभरफ्लो हुने, त्यही नै बस्तीमा पुगेर विनाश गर्ने श्रेष्ठ बताउँछन्। “नदी र खोलाको प्राकृतिक बहावमाथि अतिक्रमण नगरिएको भए आफ्नै लयमा बग्थे, डुबान कम हुन्थ्यो,” उनले भने, “नदी–खोला किनारमै, अझ पहिले नदी–खोला हिँडेको ठाउँमै सडक, घर, छाप्रो निर्माण गरेकाले ठूलो वर्षा हुँदा त्यहाँ ओभरफ्लो हुन थाल्यो। जब पानीले निकास पाउँदैन, पस्ने बस्तीमै हो, सडक र घरमै हो।” 

काठमाडौँ उपत्यकाका नदी–खोला किनारमा दायाँ र बायाँ दुवैतर्फ बसेका बस्तीले नदी–खोला साँघुरो पार्दै लगेका छन्। नदी उकासको जग्गासमेत भू–माफियाहरूले चलखेल गरेर व्यक्तिको नाममा दर्ता गर्दा सार्वजनिक सम्पत्ति मात्र विनाश भएको छैन, त्यसले बाढी र डुबानका समस्या पनि बढाइरहेको छ। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय नदी–खोला किनारमा भू–माफियाले हडपेका र अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान शुरू गरे पनि त्यो काम चुनौतीपूर्ण देखिन्छ।

जस्तो, अनामनगर क्षेत्रमा सोमबार राति घरको तल्लो तला नै डुबानमा परेपछि माथिल्लो तलामा आश्रय लिएको बताउँदै एक घरधनीले सुनाए, “जग्गा राम्रो देखेर किन्यौँ, घर बनायौँ। बर्खा लागेपछि तल्लो तलामा सुत्नै डरमर्दो हुन्छ।” 


सम्बन्धित सामग्री